क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

सन्दर्भ : २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

डाँडाकटेरी (रामेछाप) : दोरम्बा हत्काकाण्डको २१ औँ स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ ।

पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिदहरूको सालिकमा अबिर र माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

महान् सहिदहरूको स्मृति सभामा सम्बोधन गर्दै प्रमुख अतिथि अटलले नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि नबढेसम्म सहिदहरूको सपना पूरा नहुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले महान् सहिदहरूका अधुरा सपना र सङ्घर्ष पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठले सहिदका सपना पूरा गर्ने अस्त्र भनेकै क्रान्ति भएकाले क्रान्तिको अभिभारा पूरा गर्न महान् सहिदहरू सधैँ ऊर्जा र उत्प्रेरणा बनिरहने बताए । उनले दोरम्बा हत्याकाण्डमा जीवन बलिदान गर्ने सहिदहरूले क्रान्तिकारीहरूलाई ऊर्जा प्रदान गरिरहेको बताए ।

त्यसैगरी पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक शरद रसाइलीले सहिद परिवारको निर्देशन भएमा आफूहरू फेरि पनि बलिदानका निम्ति तयार रहेको बताए । उनले सहिद र सहिद परिवारसँग क्रान्तिका लागि आशीर्वाद लिन आएको भन्दै क्रान्तिबिना सहिदहरूको सपना पूरा नहुने स्पष्ट पारे ।

सहिद परिवारका तर्फबाट डम्बर थापामगरले हिजो जनयुद्ध लडेको माओवादीको एक हिस्सा यही दलाल संसदीय व्यवस्थाको वरिपरि गोलचक्कर मार्न पुगेको र माओवादी आन्दोलनमा आएको टुटफुट र विभाजनले सहिद र सहिद परिवारहरूको सम्मान नभएको धारणा राखे ।
उनले क्रान्तिबिना सहिदहरूको सपना पूरा नहुने र त्यसका लागि सहिद परिवारहरूलाई पनि सङ्गठित गर्नुपर्ने पनि बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको आयोजनामा सम्पन्न स्मृति सभाको अध्यक्षता पार्टीका जिल्ला इन्चार्ज लाङ्घाली मगरले र सञ्चालन पार्टीका जिल्ला संयोजक कृष्ण सेवाले गरेका थिए ।

कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा ललितपुर जिल्ला संयोजक कगेन्द्र, केन्द्रीय सदस्यहरू केशव ढलकोटी, गोविन्द काफ्ले, अर्जुन राउत, सुरेश तामाङलगाययत पार्टी जिम्म समितिका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।

कार्यक्रममा सहिद परिवारहरूका तर्फबाट भक्तबहादुर थामी, डम्बर थापामागर, कान्छीमाया तामाङ, हरि दाहाल, मेन्दो तामाङ, मायादेवी तामाङ, सुन्तली मोक्तान, अमर मोक्तान, तम्मा थामी, चम्पा चुनुवाङ, कपिल गिरी, फूलमाया लुहारलगायतको उपस्थिति थियो । कार्यक्रममा सहिद परिवारलाई खादा लगाएर सम्मान गरिएको थियो ।

जनयुद्धरत नेकपा (माओवादी) र शाही सरकारबीच २०६० साल साउन ३२ गते दाङको हापुरेमा द्विपक्षीय वार्ता भइरहेको समयमा शाही सेनाका मेजर राममणि पोखरेल नेतृत्वको जत्थाले दोरम्बामा पार्टी एरियाको बैठकको तयारी गरिरहेका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ ‘पुष्प’ सहित २१ जना माओवादी नेता–कार्यकर्तालाई डोरीले बाँधेर डाँडाकटेरी पुर्याई निर्ममतापूर्वक हत्या गरेको थियो । क्रान्तिकारी माओवादीहरूले उक्त दिनलाई दोरम्बा हत्याकाण्ड स्मृति दिवसका रूपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :