कमरेड ओम गुरुङ जातीय मुक्ति आन्दाेलनमा ‘सर्वमान्य नेता’ हुनुहुन्थ्याे : गजुरेल

कमरेड ओम गुरुङ जातीय मुक्ति आन्दाेलनमा ‘सर्वमान्य नेता’ हुनुहुन्थ्याे : गजुरेल

काठमाडौँ : तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा.ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल गाैरवले कमरेड ओम गुुरुङकाे बहुआयामिक व्यक्तित्वकाे बारेमा चर्चा गर्नुभएकाे छ ।

कमरेड ओम गुरुङकाे वामपन्थी, कम्युनिस्ट क्रान्तिकारी र जातीय मुक्ति आन्दाेलनकाे अग्रणी नेतृत्व र व्यक्तित्वमाथि चर्चा गर्दै नेता गजुरेलले जातीय मुक्ति आन्दाेलनलाई वर्गीय आन्दाेलनसँग एकाकार गरेर लैजाने र वर्गीय (सर्वहारा वर्ग) नेतृत्वमा जातीय मुक्तिकाे मुद्दालाई अगाडि बढाउने सवालमा कमरेड गुरुङले महत्वपुर्ण याेगदान गरेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ” जातीय मुक्ति आन्दाेलनकाे क्षेत्रमा उहाँ ‘प्राधिकार’ प्राप्त नेता हुनुहुन्थ्याे । उहाँ सर्वमान्य नेता हुनुहुन्थ्याे ।

पछिल्लाे समय विचार र राजनीतिमा निष्ठा र आदर्श खस्किदै गएकाे अवस्थामा बहुआयामिक व्यक्तित्वकाे धनी कमरेड ओम गुरुङ निरन्तर क्रान्तिकारी धारमा उभिनु र निस्वार्थ अनि निष्ठापुर्वक वर्गीय र जातीय मुक्ति आन्दाेलनमा उभिनुले आम मुक्तिकामी याेद्धाहरुलाई उर्जा र प्रेरणा मिलेकाे छ ।”

मार्क्सवादकाे सारवस्तु भनेकाे संसार (समाज) बुझ्नेभन्दा पनि बदल्ने कुरा मुख्य भएकाे भन्दै नेता गजुरेलले वर्गीय र जातीय मुक्ति आन्दाेलनकाे उहाँकाे सपना र आदर्श पूरा गर्न ठाेस संकल्प गर्नु नै उहाँप्रतिकाे सच्चा श्रद्धाञ्जली हुनेमा उहाँले जाेड दिनुभयाे ।

कमरेड ओम गुरुङकाे फाेटाेमा माल्यार्पण गरी सुरु भएकाे कार्यक्रमकाे अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन पार्टीका अर्का नेता हरिभक्त कडेल प्रतीकले गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता सुरेश आलेमगर, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढा, परशुराम तामाङले कमरेड ओम गुरुङको समग्र व्यक्तित्व र कृतित्व र नेपालकाे कम्युनिस्ट क्रान्तिकारी आन्दाेलन तथा जातीय मुक्ति आन्दाेलनमा पुर्याउनु भएकाे याेगदानकाे विषयमा महत्वपुर्ण चर्चा गर्नु भएकाे थियाे ।

कार्यक्रममा कमरेड ओम गुरुङकी संगिनी अमृता गुरुङलगायत परिवारका सदस्यहरु, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कार्यकर्ताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :