राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न (फोटोफिचर)

राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न (फोटोफिचर)

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतमा सम्पन्न भएको एकता भेलाले जितेन्द्र दाहाल संयोजक र प्रकाश बस्नेत सहसंयोजक रहेको ५१ सदस्यीय केन्द्रीय संगठन समिति निर्माण गरेको छ ।


एकता भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले प्रतिक्रियावादीहरु र दक्षिणपन्थी अवसरवाद नाङ्गो रुपमा आएको यो बेला देशमा क्रान्तिको अपरिहार्यता अझ बढेर गएको विचार व्यक्त गर्नुभयो । उहाँले नयाँ जनसत्ताको जनपेक्षा र आवश्यकतालाई परिपुर्ति गर्नको निम्ति नै दुई क्रान्तिकारी पार्टी बीच एकता भएको चर्चा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तमाम समस्याहरु हल गर्ने दिशामा आफ्ना नीति तथा कार्यक्रमहरु तय गर्न पनि महासंघका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

एकता भेलालाई सम्बोधन गर्दै पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले अब राष्ट्रिय उद्योगी र व्यवसायीहरुले पनि क्रान्तिको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था आएको बताउनु भयो । साना उद्योगीदेखि राष्ट्रिय पुँजीपति वर्गसम्मलाई क्रान्तिको झण्डामुनि गोलबन्द गर्दै लैजाने कार्यभार महासंघले पूरा गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।


त्यसैगरी पार्टीका अर्को कार्यालय सदस्य रामसिंह श्रीसले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा नगरेसम्म उद्योगी व्यापारी, व्यवसायी कसैका पनि समस्याहरु समाधान नहुने भन्दै साना, मझौलादेखि ठूलो उद्योगी, व्यपारी र व्यवसायीहरु क्रान्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औल्याउनु भयो ।


त्यसैगरी पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन र दिनेश शर्मा सागरले पनि महत्वपूर्ण वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।


जितेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन प्रकाश बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :