‘सिङ्गै क्रान्ति बाँकी छ, हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ’ : अध्यक्ष किरण

‘सिङ्गै क्रान्ति बाँकी छ, हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ’ : अध्यक्ष किरण

काठमाडौँ : दलाल संसदीय व्यवस्थाका विरुद्धको संघर्षको प्रक्रियामा पक्राउ परी कारागार मुक्त हुनुभएका क्रान्तिकारी कमरेडहरु दिपक विष्ट, मनिराज राई, सन्तोष तामाङ, विशाल राई, नरेन्द्र तामाङ र मुस्कान राईलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत तथा क्रान्तिकारी अभिनन्दन गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टी कार्यालय सदस्य तथा प्रवक्ता कञ्चन, कार्यालय सदस्यहरु सुदर्शन, अटल, बसन्त, दिपक लगायतका नेताहरुले कारागारमुक्त कमरेडहरुलाई खादा र अबीर लगाएर स्वागत तथा अभिनन्दन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले क्रान्तिको बेला जेल अनिवार्य हुने भन्दै सच्चा क्रान्तिकारीहरुले क्रान्तिको प्रक्रियामा दुःख कस्ट गर्दै आउनु परेको र महान जनयुद्धको प्रक्रियामा पनि धेरै धेरै कमरेडहरुले त्याग, वीरता र बलिदानका कीर्तिमानहरु स्थापित गरेको चर्चा गर्नुभयो ।

जनयुद्धयता आन्दोलनको प्रक्रियामा देश र जनतालाई मुक्त गर्ने अभियानमा थुप्रै कमरेडहरु जेल पर्नुभयो र उहाँहरु मुक्त हुने क्रम जारी रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, “अझै पनि २१ जना कमरेडहरु जेलमै हुनुहुन्छ । उहाँहरु पनि चाँडै मुक्त हुनु हुनेछ ।”

क्रान्तिकारीहरुको जेल जीवन सार्थक र मूल्यवान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “क्रान्ति अझै पूरा भएको छैन । सिंगै क्रान्ति बाँकी नै छ । क्रान्ति सम्पन्न गर्नका निम्ति यस्तो त्याग र वीरताले निश्चित रुपमा हामीलाई अगाडि बढ्नको निम्ति मार्गदर्शन गर्छ, गरेको छ । त्याग र वीरताको जगमा खडा भएर नेपालमा क्रान्ति सम्पन्न गर्ने छौं ।” उहाँले अगाडि भन्नुभयो, “नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारीहरु र अवसरवादीहरु फरक फरक ध्रुवीकृत हुँदै गइरहेका छन् । हामी जेल पर्दा पार्टी नेतृत्वले गरेको बद्मासी थाहा थिएन । के भयो के भयो भन्ने लागेको थियो । जेलबाट मुक्त भएपछि सबै कुरा थाहा पाइयो । फुट विभाजन किन र कसरी हुँदै आएको छ, र क्रान्तिकारीहरुको फेरि कसरी एकता हुँदै आएको छ भन्ने बारेमा गम्भीरतापूर्वक अध्ययन गर्नु हुनेछ ।”

उहाँले अगाडि भन्नुभयो, “क्रान्तिलाई पूरा गर्न दृढतापूर्वक अगाडि बढ्नुपर्छ । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउँदै क्रान्ति सम्पन्न गर्ने दिशामा लाग्नु पर्दछ । क्रान्तिको लागि वस्तुगत परिस्थिति दिनप्रतिदिन तयार हुँदै गइरहेको छ । आत्मगत अवस्था सुदृढ तुल्याउन आवश्यक छ ।”

‘कम्युनिस्ट सरकार छ, थुप्रै साथीहरु सरकारमा छन्, सत्तामा छन् । तर जनताका समस्याहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सस्याहरु समाधान हुन सकेका छैनन् । हिजोका प्रतिक्रियावादीहरु र संसदवादी कम्युनिस्ट पार्टीहरुबीच खासै अन्तर देखिएको छनोकरशाही दलला पुँजीपति वर्ग र पुरानो सामन्तवर्गीय सत्तालाई जोगाउँदै जाने स्थिति देखिन्छ, उहाँले भन्नुभयो, “हिजो हामीले जनु वर्गका विरुद्ध संघर्ष गर्दै आएका थियौं, आज कम्युनिस्ट भनाउँदाहरु र दशवर्षको जनयुद्धमा सहभागी भएका हाम्रै भूतपूर्व कमरेडहरु पुरानै राज्यसत्तालाई जोगाउने प्रक्रियामा गइराखेका छन् । त्यसको दृढतापूर्वक विरोध गर्दै अगाडि बढ्नु पर्दछ ।”

कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनले गर्नुभएको थियो भने कार्यक्रममा कारागारमुक्त भएर आउनु भएका राजबन्दी कमरेडहरु दिपक विस्ट र मनिराम राईले जेलको अनुभूति राख्नुभएको थियो । उहाँहरुले निरन्तर क्रान्तिको पक्षमा उभिने प्रतिबद्धता समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :