क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस भब्य रूपमा मनाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस भब्य रूपमा मनाउने

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले ३५ औँ संयुक्त जनआन्दोलन दिवसलाई भब्य रूपमा सम्पन्न गर्ने जनाएको छ । बि.स. २०४६ सालको जनआन्दोलनको स्मृतिमा प्रदेश राजधानी भालुवाङमा संयुक्त जनआन्दोलन दिवस मनाउन पार्टीले यसअघि प्रदेशस्तरमा जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो ।

२०८० चैत्र २४ गते हुने संयुक्त जनआन्दोलन दिवस बिशेष जनसभालाई भब्य एवम् ब्यवस्थित बनाउन नवलपरासी पार्टीले जनपरिचालन लगायत बिभिन्न निर्णय लिएको पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी गराएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको मङ्गलबार बर्दघाटमा सम्पन्न जिल्ला सचिवालयको विस्तारित बैठकले जनआन्दोलन दिवसलाई सङ्घर्षको रूपमा मनाउने निर्णय गरेको उनको भनाई छ ।

सो अवसरमा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को झल्को दिने गरेर पार्टीले प्रदेशस्तरमा जनसभा आयोजना गरेको हुँदा त्यसलाई सफल बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । जिल्ला सचिवालय बैठकले दिवस मनाउनका लागि पार्टीका प्रदेश सदस्य तथा थारु अगुवा दुर्गा नारायण थारुको संयोजकत्वमा जिल्लास्तरको आर्थिक समिति समेत गठन गरेको जनाएको छ । समितिको सदस्यहरूका प्रदेश सदस्यहरू रामचन्द्र पोखरेल, ज्ञानबहादुर केसी, सुर्यप्रसाद सापकोटा, क्रान्तिकारी युवा सङ्गठनका संयोजक तरुण श्रीस लगायत रहेका छन् ।

उक्त अवसरमा पार्टीका जिल्ला सहसंयोजक गणेशबहादुर ढकाल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जनआन्दोलन दिवस बिशेष अभियानलाई सफल बनाउन बिभिन्न सुझावहरू दिएका थिए । बैठकले चैत २४ गते भालुवाङ जाऔँ ! जनआन्दोलन दिवस सफल पारौँ !! भन्ने नारालाई अभियानका रूपमा प्रचार गर्न प्रचार टोली समेत गठन गरेको हो । अभियानमा जनवर्गीय तथा मोर्चा सङ्गठनलाई ब्यापक रूपमा परिचालन गर्ने पार्टीका जिल्ला संयोजक पाण्डेले जानकारी दिए ।

तात्कालिन समयमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले  ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ गठन गरी आफ्नै किसिमले आन्दोलन उठान गरेका थिए । २०४६ सालको चैत २४ लाई जनआन्दोलन उत्कर्षमा पुगेको दिनमा रूपमा लिने गरिन्छ । त्योबेला राजतन्त्रको विरोध गर्दै काठमाडौँको दरबारमार्गमा रहेको महेन्द्रको सालिक ढाल्न खोज्दा ४ जनाले शहादत्त प्राप्त गरेका थिए । चैत २४ गतेका दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सबैतिरबाट जति जुलुसहरू टुडिखेलतिर जम्मा हुँदै गर्दा, त्यतिबेला राजतन्त्र मुर्दावाद, गणतन्त्र जिन्दावादको नारा लगाइएको थियो । तर, चैत २६ गतेको दिन पञ्चायतको मात्रै अन्त्य गरीकन संवैधानिक राजतन्त्रका निम्ति सम्झौता भएपछि ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ ले त्यसको चौतर्फी बिरोध गरेको थियो । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ मा नेकपा मसाल, नेकपा मशाल, सर्वहारा श्रमिक सङ्गठन नेपाल, नेकपा मालेमा र शम्भुराम श्रेष्ठ समूहको सक्रियता रहेको थियो । यसको प्रवक्ता डा. बाबुराम भट्टराई रहेको सम्बद्धहरू बताउँछन् । त्यस्तै आउँदो चैत ५ गते जनयुद्धमा सहादत प्राप्त गर्ने सांस्कृतिकर्मीहरूको स्मृतिमा सांस्कृतिक प्रतिरोध दिवस समेत मनाइने संयोजक पाण्डेले जानकारी गराए ।

जनयुद्धले तीव्र गति लिँदै गरेको समयमा काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन सत्ताले च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना जनसंस्कृतिकर्मीलाई अमानवीय, क्रूर र बीभत्स तरिकाले हत्या गरेको थियो ।

हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका प्रहरीहरूले घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिँदै हत्या गरेको स्मृतिमा सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :