देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था हो : कञ्चन

देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था हो : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘वर्तमान राजनैतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता कञ्चनले राजनीतिक अस्थिरता र संसदीय व्यवस्था नै समस्याको प्रमुख जड भएको बताएका हुन् ।

संसदीय व्यवस्था भएका विश्वका अरू देशहरूमा संसदीय प्रणालीमा दलको बहुमत हुने र सत्ता सञ्चालन गर्ने भए पनि नेपालमा संसदीय प्रणालीमा पार्टीहरुले बहुमत हासिल गर्न नसक्ने अवस्था रहेको भन्दै त्यसको परिणाम एकातिर अराजकता र अर्कोतिर निरङ्कुशता देखा परेर अस्थिरता उत्पन्न हुने गरेको उनले प्रष्ट पारे ।

‘अरू देशमा संसदीय प्रणालीमा पार्टीको बहुमत हुन्छ तर नेपालमा खासगरी किन यो संसदीय व्यवस्था अत्यन्तै अस्थिर छ भने यहाँ कसैको बहुमत हुन सक्दैन ।’ उनले भने, ‘संसदीय व्यवस्थाभित्र स्थिरता दिन कोसिस गरे पनि त्यहाँ कुनै पनि हालतमा बहुमत हुदैन, भइहाल्यो भने पनि नेपालको जुन अर्थ प्रणाली छ, आर्थिक आधार या उत्पादन सम्बन्ध छ, त्यसले अराजकता र निरङ्कुशता नै पैदा गर्छ । नेपालमा यो प्रकारको राजनैतिक चरित्र छ ।’

अहिले नेपालमा १५ महिनाको अवाधिमा ३ पटक सत्ता समीकरण परिवर्तन भएको उदाहरण दिँदै उनले भने, ‘यो अस्थिरताको पराकाष्ठा हो ।’ सत्ताधारी दलहरु नै यो व्यवस्थाले हुँदैन भन्दै भाषण गर्ने र फेरी पनि त्यहि व्यवस्थाभित्र कुर्सी टिकाउन र विदेसी शक्तिलाई खुसि पार्न नयाँ नयाँ समीकरण बनाउनमै लागिरहेको उनको भनाइ छ । साथै भोलि हेरौ‌, पर्सी हेरौ‌ भनेर या कामना गरेर यो अवस्था सुध्रिन नसक्ने भन्दै उनले यो व्यवस्थालाई नै आमुल परिवर्तन गर्न र संसदीय व्यवस्थाको पूर्णरुपले अन्त्य गर्न जरुरी रहेको प्रष्ट पारे ।

पछिल्लो चरणमा देशको स्वास्थ्य, शिक्षा, सांस्कृतिक मुल्यमान्यता, मानवीय जीवन चक्र र उत्पादन पद्दतिलगायतका सबै क्षेत्रमा केहि मुट्ठीभर मान्छेहरुको सिन्डिकेट र कर्टेल चलिरहेको समेत उनले ठोकुवा गरे । ‘यहाँ १२र१३ वटा ग्रुपहरू छन्, जस्तै सिजी ग्रुप, गोल्छा ग्रुप, सांघाई ग्रुप भन्ने छ, यी र यस्तै ग्रुप्रहरूको सम्पतिमाथिको करिब ७५ प्रतिशतभन्दा बढी होल्ड उनीहरूको कब्जामा छ ।’ उनले भने – ‘देशका उद्योग, व्यापार, बैङ्किङ, जमिन, स्वास्थ्य, शिक्षा क्षेत्र, उड्ड्यान क्षेत्र, कर्मचारी (नोकरशाही) क्षेत्र (न्याय र सुरक्षा प्रणाली) लगायतका क्षेत्रभित्र यी १२१३ वटा ग्रुपहरुको सिन्डिकेट छ । अरू कोहि नेपाली त्यहाँ छिर्न सक्दैन, यदि छिरिहालेछ भने पनि त्यसले स्वाभिमान तरिकाले काम गर्न सक्दैन र उ पनि त्यहाँ हिस्सेदार बन्छ ।’

साथै नेपालको संसदीय राजनीति पनि अहिले यस्तै ग्रुपहरूको प्रभावमा रहेको प्रष्ट पार्दै नेता कञ्चनले जनप्रतिनिधि भएर त्यहाँ गएको मान्छे पनि लाचार बनेर जनतालाई छक्याउने र झुक्याउने खेलमा लाग्ने गरेको बताए । प्रचण्डले अहिले वाम एकताको कुरा गरेको प्रसङ्ग निकाल्दै नेता कञ्चनले सोधे – ‘के हो त्यो वाम एकता भनेको– त्यो वाम एकता भनेको संसद्‌वादीहरूको एकता हो जसले आउँदो चुनावमा भोट जम्मा गरेर मलाई सहयोग गरोस भन्ने उद्देश्यबाहेक अरू केहि होइन ।’

४ बर्षपछि हुने चुनावको प्रचारमा दलहरू अहिले नै लागेको भन्दै यो अवस्थालाई उनले व्यवस्थाको सङ्कटको संज्ञा दिएका छन् । अहिलेको सरकार बनेपछि देशमा नोकरशाही दलाल पुँजीवादको पूर्णरूप देखिएको र यहि कारण देश सकिने अवस्थामा पुगेको उनले बताए ।

तसर्थ यस प्रकारको अवस्था अन्त्य गर्न राजनीतिक परिवर्तन अपरिहार्य भएको उनको तर्क छ । ‘दलालका बिरुद्ध सङ्घर्ष छेडेर देशभक्त जनवादी तथा क्रान्तिकारीहरूको सरकार बनाउनु पर्यो, संसदमा नभएका सबै पार्टीहरू जसले संसदीय व्यवस्थाको बिरोध गर्दछन र राष्ट्रिय स्वाधिनता चाहन्छन, यो संविधानको अन्त्य चाहन्छन र राष्ट्रिय पुँजीको बिकास र रक्षा चाहन्छन र जसले परिवर्तन चाहन्छन ति सबै पार्टीहरू मिलेर सडकबाट देशभक्त जनवादी तथा क्रान्तिकारी सरकार बनाउने र सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने प्रकृयाको बिकास गर्नुपर्यो ।’

कार्यक्रममा चिरण पुन, लोकनारायण सुवेदी, आर बी भन्डारी, अच्युत ज्ञवाली, राजु नेपाली, रतन भन्डारीले अन्तरक्रियाको विषयवस्तुमाथि आफ्नो धारणा राखेका थिए । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले आधार पत्र प्रस्तुत गरेको कार्यक्रमको अध्यक्षता चिन्तामणि शर्माले र सञ्चालन नारायण शर्माले गरेका थिए । कार्यक्रममा मनु विकले स्वागत मन्तव्य राखेकी थिइन् भने उदय रिजालले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :