क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न, महाधिवेशन २ कात्तिक काठमाडौँमा गरिने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न, महाधिवेशन २ कात्तिक काठमाडौँमा गरिने

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा उद्घाटन गर्ने निर्णय गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक असार ११ गतेदेखि असार १६ गतेसम्म ६ दिन चलेको थियो ।

उक्त महाधिवेशनबाट पार्टीको नयाँ कार्यदिशा र कार्यनीतिको विकासका लागि १९ वटा दस्तावेजहरू प्रस्तुत भएका छन् । ती दस्तावेजहरू छलफल र बहसका लागि तल्ला कमिटीहरूमा पठाउने सो पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ । बैठकमा प्रस्तुत गरिएका दस्तावेजहरू केन्द्रीय सदस्यहरूको समूह बनाएर छलफल गरिएको थियो । समूहमा उठेका विषयहरू समूह नेताहरूले प्रस्तुत गरेका थिए । विभिन्न १० वटा समूह बनाएर दस्तावेजहरूमाथि छलफल चलाइएको थियो ।

राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पार्टीका संयोजक किरण, समानान्तर राजनीतिक प्रस्ताव सहसंयोजक कञ्चन, सामरिक कार्यदिशासम्बन्धी प्रस्ताव दिपक, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी प्रस्ताव गौरव, नेपालको कम्युनिस्ट आन्दोलनसम्बन्धी प्रस्ताव सुदर्शन, सांगठानिक प्रस्ताव राजवीर, विज्ञान तथा प्रविधि सम्बन्धी प्रस्ताव प्रवीर, धर्म र संस्कृतिबारे प्रस्ताव प्रितम, जलवायुसम्बन्धी प्रस्ताव सहसंयोजक असिम, आर्थिक तथा उत्पादन सम्बन्धी नीति एसटी, दलित सम्बन्धी नीति आजाद, आदिवासी जनजाति सम्बन्धी नीति प्रभाकिरण र पार्टी विधान प्रस्ताव सहसंयोजक कञ्चनले प्रस्तुत गरेका थिए ।

बैठकमा केही फरक मतहरू पनि प्रस्तुत भएका थिए । कार्यनीति सम्बन्धमा राजवीर, जनजाति नीति तथा जातीय क्षेत्रीय स्वायत्तताबारे रामबहादुर बुढा, जनयुद्ध, माओवाद/विचारधाराबारे असिम र राज्य पुनसंरचनाबारे कुमोदको फरक प्रस्ताव समेत प्रस्तुत भएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा प्रस्तुत ती प्रस्तावहरूलाई तीनवटा विधि मार्फत् महाधिवेशनबाट नयाँ संश्लेषणमा पुर्याउने निर्णय गरेको छ ।

सहमतीय विधि, जनवादी–केन्द्रीयता र द्वन्द्वात्मक भौतिकवादी विधि अर्थात् एकता–सङ्घर्ष–रुपान्तरण, मुख्यतः रुपान्तरणको विधिबाट नयाँ आधारमा नयाँ एकताको ठाउँमा पुगेर नेपाली क्रान्तिको मार्गदिशा तय गर्ने गरी पार्टीको कार्यदिशा र कार्यनीतिको विकास गर्ने उद्देश्य राखिएको छ । व्यवस्थित र मैत्रीपूर्ण वैचारिक सङ्घर्ष सञ्चालन गर्नका निमित्त बैठकले ‘विचारधारा’ नामको पत्रिका सञ्चालन गर्ने समेत निर्णय गरेको छ भने औपचारिक तथा अनौपचारिक रूपमा पार्टीभित्र फोरम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

पार्टीको विचार र राजनीतिको विषयमा सामाजिक सञ्जालमा लेख्न र बहस गर्न प्रतिबन्ध लगाइएको छ । र, निश्चित मापदण्ड तथा आधारसंहिता बनाएको छ । बैठकले प्रतिनिधि, पर्यवेक्षक छनौट, व्यवस्थापन, प्रचार/प्रसारका लागि विभिन्न समिति र उपसमितिहरू बनाउने पनि निर्णय गरेको छ ।

महाधिवेशनलाई लक्षित गरेर छरिएर रहेका विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, व्यक्ति, समूहलाई पनि एकतामा आउन विशेष आग्रहसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :