क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य प्रकाशको श्रद्धाञ्जली सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य प्रकाशको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सचिवालय सदस्य प्रकाशको निधनको १३ औँ दिनमा आयोजित कार्यक्रमलाई पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य ‘किरण’ लगायत वक्ताहरूले प्रकाशको क्रान्तिकारी व्यक्तित्व र उहाँले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको विषयमा चर्चा गरेका थिए ।

पार्टीका सचिवालय सदस्य प्रकाशको फोटोमा माल्यार्पणसहित सुरू भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य रामबहादुर बुढाले गरेका थिए । श्रद्धाञ्जली मन्तव्य राख्दै पार्टी संयोजक मोहन वैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक जना असल, जुझारू र लगनशील राम्रो सम्भावना बोकेको युवालाई अल्पायुमै गुमाउनु पर्दा पार्टी र आन्दोलनमा ठूलो क्षति पुगेको बताए । उनले कमरेड प्रकाशले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान, उहाँले देखेका सपना र अधुरा सङ्घर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरूले पूरा गर्ने र नेपालमा नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर छाडिने प्रतिबद्धता पनि व्यक्त गरे ।

केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ का ससुरासमेत रहनु भएका पार्टीका कार्यालय सदस्य कृष्णराज पौडेलले भावुक हुँदै प्रकाशको क्रान्तिप्रतिको निष्ठा र इमान्दारिता, प्रतिबद्धता र जुझारूपनको बारेमा प्रकाश पारे । उनले पद, पैसा र प्रतिष्ठाको लागि कहिल्यै आशक्ति नदेखाएको, खुल्ला, स्पष्ट र इमान्दारिता उहाँबाट सिक्नुपर्ने गुणहरूको बारेमा जोड दिए ।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा (मशाल) का प्रवक्ता रामप्रकाश पुरी, प्रकाशका सहपाठी तथा जनता समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्मा लगायतका नेताहरूले पनि नारायण सापकोटा प्रकाशको समग्र राजनीतिक तथा सांगठानिक व्यक्तित्वका बारेमा विशेष चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रमका सञ्चालक रामबहादुर बुढाले नारायण सापकोटा ‘प्रकाश’ को संक्षिप्त राजनीतिक तथा सांगठानिक जीवनी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :