भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

भूमाफियाविरुद्ध कडा बन्दै नेकपा (बहुमत) कास्की

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले पोखरा महानगरपालिका २१ फोक्सिङकोटमा रहेको ९६ रोपनी जग्गा मुठीभर भूमाफियाले कब्जा गरेको भन्दै त्यसका विरुद्ध उक्त वडाका अध्यक्ष दीपक सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

पोखरा महानगर इन्चार्ज रवीन्द्र राई र सेक्रेटरी यम भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त जग्गामा कुनै प्रोजेक्ट सञ्चालन गर्ने उद्देश्यका साथ विन प्रा.लि. र किसानहरूबीच भएको सम्झौताअनुरूप स्थानीय जनतालाई रोजगार प्रदान गर्ने, गाउँको विकासमा पूर्ण साथसहयोग गर्ने साथै उक्त योजना पाँच वर्षभित्र सञ्चालनमा नआएको खण्डमा स्थानीय जनताको जग्गा पुरानै मूल्यमा फिर्ता गर्ने सहमति भएको उल्लेख छ ।

नेकपा (बहुमत) ले किसानको जग्गा फिर्ता गर्न स्थानीय सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ भने उक्त कार्य नगरेमा, जग्गा किनबेच गर्ने तथा अन्य प्रयोजनका लागि दुरुपयोग गर्ने–गराउने गरेको पाइएमा आफूहरू भूमाफियाका विरुद्ध कडा सङ्घर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

तत्कालीन गाविस हुँदा विन प्रा.लि. र जग्गाधनीका बीचमा कुनै प्रोजेक्ट सञ्चालन गर्नका लागि भएको सम्झौताअनुरूप २१ वर्षसम्म पनि कुनै कार्य नभएको र जग्गा बाँझै रहेको हुँदा किसानहरूले पार्टीसँग प्रालिले गरेको सम्झौताअनुरूप जग्गा फिर्ता गराइदिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :