नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) ले पोखरामा गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज पोखरामा प्रदर्शन गरेको छ ।

पोखराको मियापाटन चोकमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावादलगायत नारा लगाइएको थियो ।

विरोधसभामा नेकपा (बहुमत) कास्की जिल्ला सदस्य तथा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी राजेश लम्सालले सम्बोधन गरेका थिए ।

मङ्गलबार दिउँसो पोखराको पृथ्वीचोकमा सिठी जुलुस निकालेर प्रदर्शन गरेको नेकपा (बहुमत) कास्कीले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गतका आन्दोलनका सबै कार्यक्रम गरिने जनाएको छ ।

पेट्रोलियम पदार्थमा भएको पटकपटकको मूल्यवृद्धिका कारण जनताको जनजीविकामा चरम सङ्कट उत्पन्न भएको भन्दै नेकपा (बहुमत) ले सङ्घर्ष सञ्चालन गर्दै आएको छ । यसअघि जेठ १० गते सिठी जुलुस र १२ गते छड्के जुलुससहित कोणसभा सम्पन्न भइसकेका छन् । अब १४ गते देशभरका आयल निगम कार्यलय घेराउ, १६ गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र देशभर मुख्यमन्त्री निवासमा धर्ना, १८ गते सिंहदरबार र पालिका कार्यालयमा धर्ना, २० गते मशाल जुलुस र २२ गते एक घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :