नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

नेकपा (बहुमत) को गण्डक ब्युरोस्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गण्डक ब्युरोको आयोजनामा आज कास्कीको पोखरामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्य तथा पार्टी प्रवत्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

गण्डक ब्युरोअन्तर्गतका पार्टीका जिम्मेवार सदस्यहरूसहित भएको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा संयोजक कञ्चनले पार्टीको कार्यदिशा, कार्यनिति र कार्यक्रमका विषयमा प्रस्ट पार्दै वैज्ञानिक समाजवाद प्राप्तिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । यस्तै संयोजक कञ्चनले विप्लवबाट छुट्नुपरेका कारणहरू उल्लेख गर्दै उनले विप्लवमा वैचारिक नपुंशकता देखापरेको र नीतिगत कुराहरूमा कुहिरोको कागजस्तो भएको प्रस्ट पारे । उनले लामो समयसम्म विप्लवबाटै क्रान्ति सम्पन्न होस् भन्ने आफ्नो चाहना रहे पनि विप्लव बहसबाट पन्छिएर आफ्नो निषेधात्मक अभिधूतवादी विचार देखाएका कारण त्यो सम्भब नरहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा पार्टीका प्रवक्ता सुदर्शनले पार्टीको राजनीतिक, सैद्धान्तिक विषयहरू प्रस्तुत गरेका थिए । प्रवक्ता सुदर्शनले क्रान्तिको बाटो खोज्दै जाँदा सबै सहयात्रीहरू सँगै गन्तव्यमा पुग्छन् भन्न नसकिने बताउँदै विप्लवसँग आफूहरूले विचारधारात्मक रूपमा नै विद्रोह गरेर पार्टी पुनर्गठन गर्नुपरेको उल्लेख गरे । त्यस्तै उनले विप्लवभित्र दार्शनिक रूपमा सारसङ्ग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, साङ्गठनिक रूपमा निषेधात्मक अभिधूतवादी, आर्थिक रूपमा जुझारु अर्थवाद, आत्मसुरक्षावादका साथै स्वच्छन्दतावाद देखापरेको बताए । उनले विप्लव समाजवादतर्फ नभई महलको राजा हुँदै सत्तामोहतर्फ ढल्किएको प्रस्ट पारे ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा (बहुमत) का गण्डक ब्युरो इन्चार्ज रूपेश, नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की र स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुली, अनन्त, दलबहादुरलगायतको उपस्थिति रहेको थियो । गण्डक ब्युरो इन्चार्ज रूपेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई गोकुल पराजुलीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य सुजनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :