नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को राष्ट्रिय भेला असारमा

मिलन राईको संयोजकत्वमा ७५ सदस्यीय आयोजक समिति गठन

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को राष्ट्रिय भेला असारमा

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आगामी असारमा राष्ट्रिय भेला गर्ने भएको छ । अखिल क्रान्तिकारीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी सङ्गठनका संयोजक मिलन राईले दए ।

पत्रकार सम्मेलनमा यही जेठ ११ र १२ गते बसेको अखिल क्रान्तिकारीको विशेष बैठकले मिलन राईको संयोजकत्वमा वीरेन्द्र शाह र रूपा बुढामगर सहसंयोजक रहेको ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको जानकारी पनि दिइयो । भेलाका लागि ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु सङ्गठन र सङ्घर्षको दिशामा अघि बढाैँ’ नारा तय गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो ।

यसैगरी, राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा सङ्घर्ष गर्ने, जेल जीवन बिताइरहेका विकास राईलगायतको रिहा, जनक शिक्षा सामग्री केन्द्रको बेथिति र भ्रष्टाचारको नियमन गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनेलगायतका माग पनि सङ्गठनले अघि सारेको छ ।

क्रान्तिकारीले महँगी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुका साथै आयल निगममा विभिन्न बहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न माग पनि गरेको छ ।

यसैगरी आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाही गर्न र मौका परीक्षाका लागि लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

पत्रकार सम्मेलनमा क्रान्तिकारीका संयोजक मिलन राईले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए । उनलेसङ्गठले १९९७ सालदेखि आजसम्म विद्यार्थीको समस्या समाधान गर्दै आएको पनि प्रस्ट पारे ।

उनले ठूला पार्टीमा जस्तै विद्यार्थीमा पनि संसद्परस्त र संसद्वादीहरूको विभाजन भएको सुनाए । संसद्‌बाट मुलुक र जनताको हित नहुने भएकाले वैज्ञानिक समावदाका लागि निरन्तर क्रान्तिमा अघि बढ्नुपर्ने बताए ।

संसदीय व्यवस्थाविरुद्ध जान हुँदैन भन्दा विप्लव–प्रकाण्डले पार्टी विभाजन गरेको संयोजक राईले बताए । क्रान्तिकारी आन्दोलनले नै क्रान्तिकारी विरासतलाई जोगाउँदै आएको भन्दै उनले संसद्‌वादलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनले भने, ‘एकताभन्दा विभाजन नमिठो भए पनि लक्ष्य प्राप्तिका लागि विद्रोह गरेर पार्टी पुनर्गठन गर्नुपर्ने बाध्यता आयो । यो इतिहासले हामीलाई दिएको नयाँ जिम्मेवारी हो ।’

कार्यक्रममा सङ्गठनका सहसंयोजक वीरेन्द्र शाहले पछिल्लो समयमा राज्यको अवस्था डामाडोल भएको बताए । सबै सरकारी विद्यालयहरूको अवस्था अत्यन्त्तै नाजुक देखिएको उनले बताए । उनले भने, ‘अझै पनि सरकारी क्षेत्रका विद्यालयमा सबै सुविधा पाएका छैनन् । सजिलै शिक्षा लिन पाउँदैनन् ।’ कुनै पनि विश्वविद्यालयमा शैक्षिक क्यालेन्डरअनुसार पढाइ नभएको उनको भनाइ थियो ।

विश्वविद्यालयमा कर्मचारी तथा विद्यार्थी कसैले पनि हलचल नगरेको उनले बताए । ‘विश्वविद्यालय मसानघाटजस्तो सुनसान छ । विद्यार्थीहरू आफ्नाबारेमा मात्र सोच्छन् । बाहिरका बारेमा केही सोचेका छैनन्’, उनले भने । सबै मानिसमा व्यक्तिगत चिन्तन हाबी भएको र व्यक्तिवादी सोचाइले देशको विकास नुहने उनले बताए । उनले भने, ‘व्यक्तिगत सोचाइले देशको भलो हुँदैन । देशको भलो भए मात्र व्यक्तिको भलाइ हुन्छ ।’ कार्यक्रममा सङ्गनकी सहसंयोजक रूपा बुढामगरले पनि नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासत आफ्नो सङ्गठनले निर्वाह गरेको बताइन् ।

अखिल क्रान्तिकारले मङ्गलबार पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

त्याग, समर्पण र बलिदानको पर्याय, प्रतिपक्षी विद्यार्थी आन्दोलनको नेता सङ्गठन हाम्रो गौरवशाली सङ्गठन संसद्‌वाद, सुधारवाद, अवसरवाद, दक्षिणपन्थी संशोधनवाद र प्रतिक्रियावादसँग भीषण सङ्घर्ष गर्दै न्याय मुक्ति र समानताका लागि सङ्घर्षशील सङ्गठन हो । आफ्नो क्रान्तिकारी चरित्रलाई जीवित राख्न संसद्‌वाद र सुधारवादविरुद्ध फेरि एकपटक विद्रोह अनिवार्य बन्न गएपछि क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी चरित्र र भूमिकामा पुनर्गठन गरेका छौँ । पुनर्गठनपश्चात् हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) को विशेष बैठक २०७९ जेठ ११ र १२ गते काठमाडौँमा क. मिलन राईको अध्यक्षतामा बस्यो । बैठकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक क. कञ्चन प्रमुख अतिथिका रूपमा र पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता क. सुदर्शन र पार्टी सचिवालय सदस्य तथा सङ्गठनका फ्याक्सन इन्चार्ज क. समरजङ्गलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरू सम्प्रेषणका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) बैठकले क. मिलन राईको संयोजकत्वमा कमरेड वीरेन्द्र शाह र क. रूपा बुढामगर सहसंयोजक रहने गरी ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।

२) महान् सहिद क. सनराइजको स्मृति दिवसका अवसरमा २०७९ असार १२, १३ र १४ गते काठमाडौँमा ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु सङ्गठन र सङ्घर्षको दिशामा अघि बढौँ’ भन्ने मूल नारासहित विशेष राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

३) बैठकले सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य महान सहिद क. प्रज्वलको परिवारलाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

४) बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

५) बैठकले लामो समयदेखि जेल जीवन बिताइरहनुभएका सङ्गठनका केन्द्रीय सचिवालय सदस्य क. विकास राईलगायत सम्पूर्ण राजनीतिक बन्दीहरूको यथाशीघ्र रिहाइका लागि जोडदार माग गरेको छ ।

६) जनक शिक्षा सामग्री केन्द्रको बेथिति र भ्रष्टाचारको नियमन गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन जोडदार माग गरेको छ ।

७) वैदेशिक विश्वविद्यालयबाट सम्बन्धन लिएको भनी सञ्चालित कलेजहरूको वैज्ञानिक र एकरूपतामा शुल्क निर्धारण गर्न, कम्तीमा २०% विद्यार्थीलाई जेहेन्दार तथा आरक्षणमा छात्रवृत्ति उपलब्ध गराउन, विद्यार्थी सङ्ख्या ठोस गर्नुका साथै अध्ययनअध्यापन गुणस्तर कायम गर्न अनुगमनका साथै नियमन गर्न माग गरेको छ ।

८) निजी विद्यालयमा भर्ना, शुल्क, वार्षिक पाठ्यपुस्तक परिवर्तनलगायत विषयमा गरिरहेको अनियमितताको अनुगमन गर्नुका साथै छात्रवृत्ति वितरणलाई पारदर्शी गर्न जोडदार माग गरेको छ ।

९) आकासिएको महँगी नियन्त्रण गर्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुका साथै आयल निगममा विभित्र बहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कार्बाही गर्न जोडदार माग गरेको छ ।

१०) आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।

११) मौका परीक्षाको माग गर्दै लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्न जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :