‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयाेजकमा कमल बुढा

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयाेजकमा कमल बुढा

काठमाडौँ : क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ को नामाकरण गरिएको छ ।

शनिबार सम्पन्न भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६५ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ । नवनिर्वाचित कमिटीको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु दिनेश शर्मा सागर, गम्भिर, सचिवालय सदस्य प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले शुभकामना मन्तव्यसहित वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

कमल बुढाको अध्यक्षता र नारायण पंगेनीको सञ्चालनमा सम्पन्न भेलालाई दामोदर खनालले स्वागत गरेका थिए ।

भेलामा कमल बुढाले प्रतिवेदन र रवि पाण्डेले विधान प्रस्तुत गरेका थिए । केही परिमार्जनसहित थप समृद्ध पार्ने गरी विधान र प्रतिवेदन पारित गरियो । विधान पारित भएपछि पार्टीको प्रचार प्रसार विभागका सचिव हुकुमबहादुर सिंहले सम्मेलन आयोजक समितिको प्यानल प्रस्तुत गरे पश्चात् ताली बजायर प्यानल पारित गरियो ।

नवनिर्वाचित कमिटीलाई भेलाका अतिथिहरु तत्कालीन क्रान्तिकारी पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा नवगठित क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार इन्द्र राउत र क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार अशोक सुवेदीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित कमिटीको तर्फबाट संयोजक कमल बुढाले प्रतिबद्धता मन्तव्य राखेपछि भेलाको समापन गरियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :