क्रान्तिकारी युवा संगठन, नेपालको राष्ट्रिय भेला सम्पन्न, संयाेजकमा हरिश भट्ट

क्रान्तिकारी युवा संगठन, नेपालको राष्ट्रिय भेला सम्पन्न, संयाेजकमा हरिश भट्ट

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकताको राष्ट्रिय भेला सम्पन्न भएको छ । एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ राखेको छ । भेलाले हरिश भट्टको संयोजकत्वमा ८५ सदस्यीय अधिवेशन आयोजक समिति निर्माण गरेको छ ।

एकता भेलाबाट निर्मित कमिटीलाई बधाई दिँदै पार्टीका कार्यालय सदस्य तथा युवा संगठनका फ्रयाक्सन इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूलाई लिएर युवाहरूलाई संघर्षमा उत्रन निर्देशन दिए । उनले दलाल संसदीय व्यवस्थाले गरेका जनघात, राष्ट्रघात, भ्रष्टाचार, सुदखोर, मिटरब्याजी, माफियाहरूका विरुद्ध क्रान्तिकारी युवाहरूले सडकमा सशक्त उपस्थिति देखाउनु पर्ने, सडक संघर्ष चर्काउनुपर्ने आवश्यकता औल्याए ।

नव निर्मित कमिटीको तर्फबाट प्रतिबद्धता मन्तव्य राख्दै क्रान्तिकारी युवा संगठन, नेपालका संयोजक हरिश भट्टले पार्टी, क्रान्ति र आन्दोलनले सुम्पिएको जिम्मेवारीमा आफू र सिङ्गो संगठनलाई सशक्त रुपमा उतार्ने प्रतिबद्धता जनाए ।

एकताको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैध्य ‘किरण’, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा युवाका फ्र्याक्सन इन्चार्ज दिपक, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरूले शुभ-कामना तथा वैचारिक राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । एकता भेलाको उद्घाटन सत्र मङ्गलबार काठमाडौँको नयाँ बसपार्कस्थित तमु हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :