नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इञ्चार्ज एटम बिसीले दलाल संसदीय पुँजीवादी व्यवस्थालाई फ्याकेर वैज्ञानिक समाजवाद ल्याउनको लागि नै सहिदहरूले आफ्नो ज्यानको बलिदानी दिएका हुन् । प्रचण्ड र बाबुरामहरूलाई सहिदका सपनाको हत्या गरी यहि व्यवस्थाको मतियार बन्दै एमसीसी जस्ता राष्ट्रघाती सम्झौतामा ल्याप्चे ठोक्नका लागि सहादत भएका होइनन् भन्दै आफ्नो पार्टीले यो दलाल संसदीय व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढिरहेको छ । त्यसै क्रममा पार्टीले “वैज्ञानिक समाजवाद ठीक कि दलाल संसदवाद ठीक ?” भन्ने विषयमा जनताको जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठाएको छ । यदि दलालहरूले त्यो आवाजलाई नसुनेर कुल्चेर अगाडि बढ्ने कुचेष्ठा गरेको खण्डमा दलालका विरूद्धको जनताको लडाइँ उच्च बन्दै जानेछ र त्यो आन्दोलनको आधीबेहरीले एमसीसीलगायतका सम्पूर्ण राष्ट्रघाती सन्धिहरू र यो दलाल संसदीय व्यवस्थालाई समेत खारेज गर्दै जनताको जनगणतन्त्र वैज्ञानिक समाजवाद स्थापना गर्नेछ र त्यो व्यवस्थाले मात्र सहिदका सपना पूरा गर्नेछ त्यसैले सहिद तथा बेपत्ता परिवारको पनि सङ्घर्षमा महत्वपूर्ण योगदान र सहयोग रहनेछ भन्ने कुरा बताए ।

सहिद तथा बेपत्ता परिवारको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै सहिद तथा बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य एैना धमाला ‘योजना’ ले जनयुद्धको नेतृत्वले गद्दारी गर्दै पार्टी, क्रान्ति, देश र जनतालाई धोका दिएको कारण सहिदका सपनाहरू अधूरै रहेका छन् भने सहिदका ति अधुरा सपना पूरा गर्ने सङ्घर्षको योजना एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढिरहेकोले नेकपालाई धन्यवाद दिँदै सफलताको शुभकामना दिए । साथै हामी हाम्रो बाँकी जीवन पनि क्रान्ति सफल गर्दै सहिदका सपना साकार पार्नलाई कुनै कसर बाँकी नराखेर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ भने ।

सहिदप्रति श्रद्धाञ्जलीबाट सुरू गरिएको कार्यक्रममा सुर्खेत भ्याली भित्रका एक दर्जन सहिद तथा बेपत्ता परिवारको सहभागिता रहेको थियो भने जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य जगदिशनाथ योगी, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य तुलराज तिरूवा, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य मायाराम न्यौपाने, अखिल नेपाल शिक्षक सङ्गठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, जनपत्रकार सङ्गठन सुर्खेतका अध्यक्ष सिद्धबहादुर खड्का, पार्टी बिशेष समिति सदस्य हिमाल, पार्टी जिल्ला समिति सदस्य बिनोद लामा लगायतको उपस्थिति रहेको थियो । उपस्थित सहिद तथा बेपत्ता परिवारहरूलाई सभाध्यक्ष र प्रमुख अतिथिबाट खादाको साथमा अविराबरण गरी अभिनन्दन गरिएको उक्त कार्यक्रमको सञ्चालन रगवीर विश्वकर्माले गरे भने पार्टी बिशेष समिति सदस्य तथा वीरेन्द्रनगर नगरपालिका इञ्चार्ज यामराजको अध्यक्षतामा सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :