नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

पाल्पा : नेकपा पाल्पाद्वारा तानसेनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । पाल्पाको तानसेनमा गरिएको सम्मेलनमा १५ जना सहिद परिवारलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले झापा विद्रोहदेखि जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्मका सहिद तथा बेपत्ता योद्धाहरूको सपनाहरू पूरा नभएको भन्दै ती सपनाहरू वैज्ञानिक समाजवादमा मात्रै पूरा हुने बताइन् । उनले एकीकृत जनक्रान्ति सम्पन्न गर्न सहिद तथा बेपत्ता योद्धा परिवारको महत्वपूर्ण भूमिका हुने भन्दै सबै एक भएर संसदीय पुँजीवादी व्यवस्था अन्त्य गर्नुपर्ने बताइन् ।

सहिद परिवारको तर्फबाट बोल्दै आकाशले आफन्तहरूले संसदीय व्यवस्थाका लागि बलिदान नगरेको भन्दै सहिदहरूको सपनामाथि गद्दारी गरिएको बताए । उनले सहिदहरूका रगत खेर गएको भन्दै जनयुद्धमा बलिदान गर्ने सहिदहरूका सपनालाई धोका दिने गद्दारहरूविरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए ।

सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमको अवसरमा सहिद परिवार समाज पाल्पाको समेत गठन गरिएको छ । सहिद परिवारको आकाशको अध्यक्षतामा ७ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरिएको छ ।

सम्मान कार्यक्रमको अध्यक्ष सहिद परिवार आकाशको अध्यक्षता, जिल्ला जनसरकार प्रमुख मीन आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पाल्पामा हरेक बर्ष नेकपाले सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :