विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रहको पक्षमा व्यापक बहस’

विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

प्युठान : वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह भन्ने मूल नारासहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएको छ । जिल्ला तहमा दलाल संसदीय शिक्षा प्रणाली की वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रहको विषयमा व्यापक बहस सुरु भएको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको निर्णय अनुसार “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान देशभर सञ्चालन भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा रोल्पा, प्युठान इन्चार्ज एवम् अभियानका कमाण्डर केशव कवर ‘प्रदिप’ ले जानकारी दिए । अभियानको क्रममा जिल्लाका सबै क्याम्पस र केही मुख्य माविहरूमा शिक्षक तथा विद्यार्थीहरू बीच अभियानको विषयमा अन्तरक्रिया र मुल इकाई कमिटी निर्माण गरिएको अभियानका कमाण्डर कवरले बताए । उनले रातोखबर प्रतिनिधिसँग कुरा गर्दै भने, “अहिले देशमा दलाल संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न र वैज्ञानिक, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्न क्रान्तिकारी जुझारु युवा विद्यार्थीहरूको सचेत पहलको अपरिहार्य आवश्यकता रहेको छ ।” अब नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रहको विषयमा युवा विद्यार्थीहरूले गाउँगाउँमा बस्ती तथा हरेक समुदाय स्तरमा बहस छेड्नुपर्ने उनले बताए ।

अभियानको क्रममा आजसम्म जिल्लाको मुक्ति मा.वि. रातामाटा, अमर क्याम्पस वाजिपुर, अमर मा.वि. भिङ्ग्री, माण्डवी मा.वि. नयाँगाउ, गौमुखी क्याम्पस मच्छि, बाल शिक्षा मा.वि. मच्छि, क्षेत्र बिकास मा.वि. पुण्यखोला, त्यस्तै प्युठान क्याम्पस खलङ्गा, महेन्द्र मा.वि. खलङ्गा लगायतका दर्जनौँ क्याम्पस तथा माविहरूमा कार्यक्रम सम्पन्न गर्दै मुल इकाई कमिटी निर्माण भैसकेको अखिल क्रान्तिकारी प्युठानका अध्यक्ष गगन गिरीले बताए । अभियानमा जिल्ला पार्टीको पनि सहयोग रहेको नेकपा प्युठानका सेक्रेटेरी अजयले जानकारी दिए । उनले नेपालमा शिक्षा दुई प्रकारको रहेकाले हुनेखानेहरूको शिक्षा र हुँदाखानेहरूको शिक्षाको बीचको खाडल मेटाउँदै शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताए । शिक्षा भनेको राज्यको दायित्व र जनताको अधिकार भएको उनले बताए ।

अभियानमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा रोल्पा, प्युठान इन्चार्ज केशव कवर ‘प्रदिप’ को कमाण्डमा सङ्गठनका रोल्पा जिल्ला उपाध्यक्ष सिस्कुमार, दाङका कोषाध्यक्ष चुुडामणी र बाँकेका सचिवालय सदस्य कर्माबहादुर बोहरा सहितको टोली खटिएको प्युठानका अध्यक्ष गगन गिरीले जानकारी दिए । अभियान प्युठानमा सकिएपछि लगत्तै अर्घाखाँची, गुल्मी हुदै पाल्पासम्म पुग्ने अभियान टिम कमाण्डर केशव कवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :