मापदण्ड विपरीत सञ्चालित हस्पिटल बन्द नगरे जनकारवाही गर्ने नेकपाको चेतावनी

मापदण्ड विपरीत सञ्चालित हस्पिटल बन्द नगरे जनकारवाही गर्ने नेकपाको चेतावनी

प्युठान : विगत ४ वर्षदेखि मापदण्ड विपरीत सञ्चालन भइरहेको हस्पिटल मापदण्डको रुपमा वैधानिकता प्राप्त नगरेसम्म बन्द गर्न नेपाल कम्युनिस्ट पार्टी प्युठानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ ।

प्युठान नगरपालिका वडा नं. ८ स्थित धर्मावती वाग्दुलामा सञ्चालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा.लि. २०७४/३/१ गतेदेखि मापदण्ड विपरीत सञ्चालन भएकोले बन्द गर्न आग्रह गरिएको नेकपा प्युठानका सेक्रेटरी अजयद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं. ८ धर्मावती वाग्दुलामा रहेको स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा.लि. मिति २०७४/३/१ गतेदेखि नविकरण नभइ चलिरहेको (सेवा प्रवाह गरिरहेको) ले निजको वैधानिकता माथि सेवाग्राहीबाट व्यापक रुपमा जनगुनासो आइरहेकोले हाम्रो पार्टीले सम्बन्धित निकायमा बुझ्दा मापदण्ड अनुरुप नभएकोले वैधानिक हुन नसकेको प्रष्ट भएको छ । मानव स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा गम्भीर रुपमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दा पनि त्यो सम्बन्धि कुनै कारवाही प्रक्रिया अगाडि नबढाइएकोले यहि विज्ञप्तिमार्फत हस्पिटल सञ्चालकलाई सम्पूर्ण काम कारवाही रोकी वैधानिक नहुँदासम्मको लागि बन्द गर्न आग्रह गर्दछौँ । अन्यथा जनस्तरबाट हुने सङ्घर्षको परिणाम स्वयम् पक्षले व्यहोर्ने कुराको जानकारी गराउदछौँ ।’

त्यस्तै विज्ञप्तिमा पार्टीले यस्ता प्रकृतिका भ्रष्टाचार, अनियमितताका विरुद्ध सामाजिक बहिस्कार र जनकारवाही सशक्त ढङ्गले अगाडि बढाएकोले भ्रष्टाचार विरुद्धको अभियानलाई सहयोग र समर्थन गर्न पनि बुद्धिजीवी, पत्रकार, समाजसेवी, मानव अधिकारकर्मी, कानुन व्यवसायी सबैलाई अनुरोध गरेको छ ।

उता स्वर्गद्वारी लाइफ केयर हस्पिटल वाग्दुलाका व्यवस्थापनको क्षेत्र सम्हालिरहेका व्यवस्थापक वसन्त जिसिले भने हस्पिटलको सम्पूर्ण डकुमेन्ट प्रदेशमा पेस गरेकाले छिट्टै मापदण्ड अनुसार स्वीकृति प्राप्त हुने र त्यतिञ्जेलसम्म पनि हस्पिटल सञ्चालन गरिरहने जानकारी दिएका छन् ।

स्वर्गद्वारी लाइफ केयर हस्पिटल विगत करिब १० वर्ष देखि सञ्चालन भएको र प्रत्येक महिना हस्पिटलको प्रतिवेदन पेस हुने र प्रतिवेदन र मापदण्डको आधारमा प्रत्येक वर्ष स्वीकृति प्राप्त गर्नुपर्ने भए पनि हाल ४ वर्ष (२०७४/३/१) देखि हालसम्म स्वीकृति विना सञ्चालन भइरहेको छ । यसले जनस्वास्थ्य जस्तो सम्वेदनशील विषयमा हस्पिटल सञ्चालक गम्भीर नभए जस्तो देखिएको छ, भने स्थानीय प्रशासन मौन छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :