नेकपा घोराही उप–महानगरद्वारा मृतक विष्णु शाहको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेकपा घोराही उप–महानगरद्वारा मृतक विष्णु शाहको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत घोराही उप–महानगर कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेकपा घोराही उप–महानगरपालिका वडा नं. ९ का सेक्रेटरी शुरेस शाहकी ममतामयी आमा मृतक विष्णु शाहको १३ औँ दिनको स्मृतिमा शनिबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथिसमेत रहेका नेकपाका केन्द्रीय सदस्य शितलले मृतक विष्णु शाहप्रति पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । साथै उनले मृतक आमाका शोकसन्तप्त परिवारजन, पार्टीपङ्क्ति लगायत सम्पूर्ण इष्टमित्रप्रति गहिरो समवेदनासमेत व्यक्त गरे । उनले मृतक विष्णु शाह जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म निरन्तर वर्गसङ्घर्षमा लामबद्ध भएको साथै उहाले आफ्ना होनहार सन्तानहरूलाई फेरिपनि क्रान्तिकारी आन्दोलनमा होमिन प्रेरित गर्न सफल हुनुभएको भन्दै नेता शितलले उहाँ एक सफल क्रान्तिकारी आमा भएको समेत प्रष्ट पारे ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा दाङका सेक्रेटरी प्रदिप, नेकपा दाङका कार्यालय सदस्य एवम् घोराही उप–महानगरका इन्चार्ज निर्मल, राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य मङ्गल थारुको आतिथ्य रहेको थियो । नेकपा घोराही उप–महानगर कमिटी सदस्य रीता शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य शिवले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य मङ्गल थारुले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए भने घर परिवारको तर्फबाट श्रद्धाञ्जली मन्तव्य नरेश जङ्ग राणाले राखेका थिए । श्रद्धाञ्जली कार्यक्रममा नेकपा दाङका कार्यालय सदस्य बिकाश लगायत नेकपा दाङका नेता–कार्यकर्ता, जवस÷मोर्चाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

मृतक विष्णु शाहको २०७८/१०/४ गतेका दिन ७५ बर्षको उमेरमा दुःखद् निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :