क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

मङ्गलबार पार्टी संयोजक किरणले शोक वक्तव्यमार्फत पार्टीका सचिवालय सदस्य बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. ९ रिस्मी निवासी नारायण सापकोटा ‘प्रकाश’ को वीर अस्पतालमा उपचारको क्रममा ४९ वर्षको उमेरमा भएको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘बागलुङ जिल्लाकोे गलकोट नगरपालिका वडा नं. ९ रिस्मी निवासी नारायण सापकोटा कमरेड प्रकाशको हिजो २०८१ जेठ २८ गते ४९ वर्षको उमेरमा वीर अस्पतालमा असामयिक निधन भएको छ । विद्यार्थी जीवनदेखि नै अनेरास्ववियुु (छैटौँ) बाट राजनीतिमा प्रवेश गर्नुभएका क. प्रकाश अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष, तत्कालीन नेकपा (मशाल) का पोलिटब्युरो सदस्य हुँदै पछिल्लो चरणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य हुनुहुन्थ्यो ।’

शोक वक्तव्यमा अगाडि भनिएको छ, ‘उहाँको निधनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकजना कर्मठ सदस्य र श्रमजीवि नेपाली जनताले आफ्नो एकजना इमान्दार नेता गुमाएको छ । उहाँ लामो समयदेखि ब्रेन ट्युमरको उपचारमा संलग्न हुनुहुन्थ्यो । उहाँका श्रीमति र दुई छोरीहरु हुनुहुन्छ । उहाँको निधनबाट हाम्रो पार्टी तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति हुन गएको छ ।’

शोक वक्तव्यको अन्त्यमा भनिएको छ, ‘दुःखको यस घडीमा हाम्रो पार्टी क. प्रकाशप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका श्रीमति एवम् छोरीहरुसहित सम्पूर्ण परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :