माओ : नौलो जनवाद र नेपाल सन्दर्भ

माओ : नौलो जनवाद र नेपाल सन्दर्भ

२६ डिसेम्बर चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक अध्यक्ष माओको जन्मदिन । उहाँको जन्मजयन्तीका सन्दर्भमा संसारभरिका क्रान्तिकारीहरू र नेपालका क्रान्तिकारी, कम्युनिस्ट र वामवृत्तमा माओ दिवस मनाउने, माओका सैद्धान्तिक र व्यावहारिक योगदानहरूको चर्चा–परिचर्चा गर्ने र त्याग तथा समर्पणको प्रतिबद्धता व्यक्त गर्दै वर्गसङ्घर्षको प्रक्रियामा अगाडि बढ्ने प्रण गरिन्छ । हुनत माओका योगदानहरूको चियोचर्चा संसारभरिका तथाकथित कम्युनिस्टहरूदेखि लोकतन्त्रवादीहरूले समेत गर्छन् तर उनीहरू आत्मसातीकरण, विकास र प्रयोग तथा रक्षा गर्ने कुरालाई उपहास गर्छन् । यो नै असली माओवादी क्रान्तिकारीहरूबीचको आधारभूत भिन्नता पनि हो । हामीले माओको जन्मजयन्ती मनाइरहँदा उनले मार्क्सवाद–लेनिनवादको थप विकासमा पुर्याएका योगदानहरू, नौलो जनवादको राजनीतिक कार्यदिशाको वर्तमान उपयोगिता र नेपाल सन्दर्भलाई सङ्क्षिप्तमा जोडेर चर्चा गर्नु नै सही होला ।

लेखक : शेरबहादुर विश्वकर्मा

क) माओ र उनका योग्दानहरू

चीनको हुनान प्रान्तमा २६ डिसेम्बर १९९५ मा एउटा सामान्य निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकमध्येका १ जना हुन् । पार्टीभित्रको दुई लाइन सङ्घर्षमा विजय प्राप्त गर्दै खासगरी जापानी साम्राज्यवादबाट चिनियाँ राष्ट्र र जनतालाई मुक्त गर्ने र च्याङ काइसेकजस्ता प्रतिक्रियावादी शासकमाथिको विजय अभियान हुँदै चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको प्रारूप र प्रयोगको समेत उनले नेतृत्व गरे । उनी एक विचारक, सङ्गठक र सैन्य रणनीतिकारसमेत हुन् ।

मार्क्सवाद–लेनिनवादका तीन सङ्घटक अङ्ग छन्– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । यी तीनवटै अवयवमा उनको नेतृत्वमा योगदान पुर्याएपछि त्यसको विचारधारात्मक संश्लेसण गर्दै सर्वप्रथम पेरू कम्युनिस्ट पार्टी साइनिङपाथले माओका योगदानहरूलाई सार्वभौम सिद्धान्तका रूपमा माओवाद संश्लेषण गरेको हो । आज माओवादलाई मार्क्सवाद–लेनिनवादमा नयाँ र उच्च चरणका रूपमा स्विकारिँदै आएको छ । माओवादको स्वीकारोक्तिबिना आजको क्रान्ति र अन्तरविरोधको सही निदान, परिचालन र समाधान गर्न सम्भव पनि छैन । तर यसो भनिरहँदा माओपछि विचारको संश्लेषण र थप विकास गर्न जरुरी छँदै छैन भन्ने होइन ।

माओले दर्शनशास्त्रका क्षेत्रमा ज्ञानसिद्धान्तलाई दर्शनशास्त्रसँग जोड्नुभएको छ । सही र वैज्ञानिक ज्ञान तीन किसिमका सामाजिक व्यवहारहरू : उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगका बीचबाट हासिल हुन्छ र ज्ञानका दुई छलाङ (इन्द्रियग्राह्य ज्ञानबाट तर्कसङ्गत ज्ञानको प्रक्रिया) को संश्लेषण गर्नुभयो । मार्क्सवादी दर्शनशास्त्रको एउटा मुख्य विधि— भौतिकवादी द्वन्द्ववाद– का तीन नियमहरूबारे विपरीतहरूको एकताको नियम नै आधारभूत नियम हो । बाँकी गुणबाट मात्रामा रूपान्तरण त विपरीतहरूकै एकता हो र निषेधको निषेध भन्ने नियम त हुनै सक्तैन भन्नुभएको छ । प्रोफेसर याङ सियान चेनको दुई एकमा समायोजनको सिद्घान्तको खण्डन गर्दै एकको दुईमा विभाजनको नियम अघि सार्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विजयपछि पार्टी र सत्ताभित्र तीन खराबी र पाँच खराबीजस्ता प्रवृत्ति पैदा भएपछि उहाँले सर्वहारा सांस्कृतिक क्रान्ति वा सत्ता कब्जापछि हुनसक्ने सम्भावित प्रतिक्रान्ति र आदतीय रूढिवादि सत्ताविरुद्ध क्रान्तिको निरन्तरताको सिद्धान्त अगाडि सार्नुभयो । हामीले नेपालमा क्रान्तिको विजयपछि सर्वहारा सांस्कतिक क्रान्तिको झन्डालाई अझ माथि उठाउँदै प्रतिक्रान्तिमाथि विजय हासिल गर्न सङ्कल्प गर्नु पर्दछ ।

राजनीतिक अर्थशास्त्रका क्षेत्रमा माओले चिनियाँ समाज र उत्पादन सम्बन्धको मार्क्सवादसम्मत व्याख्या गर्नुभयो । चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको छ । आन्तरिक रूपमा सामन्तवाद, नोकरशाही पुँजीवाद र दलाल पुँजीवाद मुख्य दुस्मन हुन् । यो अन्तरविरोधलाई हल गर्न नौलो जनवाद– नयाँ जनवादको राजनीतिक कार्यक्रम अघि सार्नुभयो । नौलो जनवाद भनेको मजदुर–किसान एकता र संयुक्त अधिनायकत्वमा आधारित, कम्युनिस्ट पार्टीको नेतृत्व र राष्ट्रिय औद्योगिक पुँजी निर्माण तथा समाजवादको पूर्वाधार निर्माण गर्ने सङ्क्रमणकालीन सत्ता हो भन्दै पुरानो जनवाद र नयाँ जनवादका आधारभूत अन्तर र सीमारेखा खिच्नुभयो । सर्वहारा सांस्कृतिक क्रान्तिको पुर्वसन्ध्यामा उत्पादक शक्तिको सिद्धान्तसहित अगाड आएका पुँजीवादपन्थीहरूलाई विचारधारात्मक सङ्घर्षमा परास्त गर्दै क्रान्तिलाई पकड र उत्पादन बढाऊ, राजनीतिक कमान्डमा अर्थतन्त्र भन्ने मान्यता अघि सार्नुभयो । लेनिनको निधनपछि जसरी सोभियत सङ्घमा समाजवादको विकास र प्रयोग गरियो । यसको आलोचनात्मक अध्ययन गर्दै माओले चिनियाँ अर्थव्यवस्था सुदृढ गर्नुभयो । चिनियाँ विशेषतासहितको समाजवाद आज जुन समृद्धि र बिन्दुमा आइपुगेको छ यसका लागि अनुकूल हुने राजनीतिक वातावरणको जग नै उहाँले हाल्नुभएको हो । एकथरी बुद्घिजीवीहरूले भनेजस्तो चिनियाँ अर्थतन्त्र आजको स्थिति हुनुमा जसरी देङ स्याओ पिङलाई स्मरण गरिन्छ, यो कुनै देङको योगदान नभई यसको प्रारूप नै माओले निर्माण गर्नुभएको हो । देङले त तत्कालीन विश्वको नवउदारवादी सिद्घान्तमा आधारित खुल्ला बजार अर्थनीतिको वेगलाई पक्रेका मात्र हुन् । स्मरण रहोस्, नवउदारवाद र खुला बजार अर्थनीति देङको नयाँ रचना नभई उनीभन्दा कैयौँ पहिले शास्त्रीय अर्थशास्त्रीहरूले नै व्याख्या गरिसकेका थिए । यसैलाई देङको नयाँ थ्योरी भन्दै बढाइचढाइ गर्नु अवसरवादीहरूको अज्ञानता, बेइमानी र महान् माओको अपमान गर्ने धृष्टता मात्रै हो ।

वैज्ञानिक समाजवादका क्षेत्रमा मुख्य गरी कृषिप्रधान देश चीनमा गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा विकास गर्नुभयो । छापामार सङ्घर्षद्वारा रक्षा, सन्तुलन र प्रत्याक्रमणको तीन चरण हुँदै क्रान्तिको विजय हुनसक्ने, चिनियाँ क्रान्ति रुसको क्रान्तिको अन्धनक्कल नहुने र यो आफ्नो विशेषतामा अघि बढ्ने निष्कर्ष निकाल्नुभयो । क्रान्तिका लागि पार्टी, सेना र संयुक्त मोर्चालाई तीन जादुगरी हतियारका रूपमा परिभाषित गर्दै यसको अभावमा क्रान्तिको विजय असम्भव हुने ठहर गर्नुभयो । यसरी माओले माक्र्सवादका तीनवटै सङ्घटक अङ्गहरूमा थप विकास, प्रयोग र नयाँ उचाइमा उठाउनुभएकाले उहाँका योगदानहरू सार्वभौम, अमर र अजर छन् ।

ख) नौलो जनवाद

स्वाभाविक रूपमा नौलो जनवाद– नयाँ जनवाद (New democracy) भन्नेबित्तिकै जनवाद/प्रजातन्त्र, लोकतन्त्र/गणतन्त्र/जनतन्त्र हरू दुई प्रकारका छन् : नयाँ जनवाद र पुरानो जनवाद भन्ने कुरा स्वतः बुझ्न सकिन्छ । जतिबेला युरोप र अमेरिकामा खासगरि बेलायतमा बाफबाट चल्ने इन्जिनको आविष्कार भयो र औद्योगिक क्रान्तिहरू सम्पन्न भए । प्रगतिशील र औद्योगिक उत्पादन सम्बन्धको विकासमा युरोपको राजतन्त्र र सामन्तवाद मुख्य तगारो हुन थालेपछि पुँजीपति वर्गको नेतृत्वमा नै सामन्तवादको अन्त्य गर्ने, क्रान्तिकारी भूमिसुधार (नेपालमा काङ्ग्रेसले १४ सालतिर भूमिसुधार र बिर्ता उन्मूलन कार्यक्रम ल्याएको थियो भने पछि २१ सालमा राजाले भूमिसुधार लागू गरेका थिए तर अहिलेसम्म बनेको कुनै कम्युनिस्ट सरकारले भूमिसुधारबारे नारा दिएपनि लागू गरेनन् ।) राजाहरूका टाउका काट्ने देखि प्रतिनिधित्वमूलक लोकतन्त्र र संसदीय व्यवस्थाहरूको स्थापना गरिएको थियो । सशस्त्र क्रान्तिको नेतृत्व स्वयम् पुँजीपति वर्गले गरेको थियो । यसको मुख्य आर्थिक चरित्रसमेत औद्योगिक पुँजीपतिहरूको आपसी प्रतिस्पर्धामा आधारित थियो । १६४९ को क्रमवेलको नेतृत्वमा चाल्र्स द्वितीयको घाँटी रेटेको देखि अमेरिकी स्वतन्त्रता सङ्ग्राम, लुई चौधौँ र लुई सोह्राैँविरुद्घ भएको फ्रान्सेली क्रान्ति हुँदै पछिल्लो समयमा भारतीय स्वतन्त्रता आन्दोलन र नेपालमा बीपीको २००७ सालको विद्रोहलाई यस श्रेणीमा राख्न सकिन्छ, यसलाई नै पुरानो प्रकारको जनवादी क्रान्ति मानिन्छ ।

१९ औँ शताब्दीको उत्तराद्र्धमा जतिबेला माक्र्स पुँजीको विषद् अध्ययन गर्दै थिए, मार्क्सको जीवनकालमा नै पुँजीवादको प्रगतिशील र प्रतिस्पर्धी चरित्र– सिन्डिकेट, कार्टेलिङ र ट्रस्टजस्ता एकाधिकारी पुँजीवादका प्रारम्भिक कोपिलाहरूले लिँदै थिए । यसलाई मार्क्सले पुँजीवाद एकाधिकारवादमा परिणत हुने कुराको अनुमान गर्नुभएको थियो । पछि जब सन् १९१६ मा लेनिनले ‘साम्राज्यवाद पुँजीवादको उच्च चरण’ भनेर एउटा थेसिस पनि लेख्नुभयो । त्यो बेलासम्म पुँजीवाद साम्राज्यवादमा बदलिइसकेको थियो । पहिले पुँजीवादी क्रान्तिको नेतृत्व गरेर स्वतन्त्रता प्राप्त गरेका देशहरू नै साना र पिछडिएका देशहरूमाथि उपनिवेश कायम गर्न थाले । ठीक यो अवस्थामा माओले चिनियाँ समाजको विश्लेषण गर्दै चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा गरिने क्रान्तिको चरित्र नौलो जनवाद हुने अवधारणा अघि सार्नुभयो । आन्तरिक रूपमा सामन्तवाद र बाह्य रूपमा साम्राज्यवादी उत्पीडनविरुद्घ लड्दै जनवाद र राष्ट्रिय स्वाधीनताको समाधान गर्नु नयाँ जनवादी क्रान्तिका दुई कार्यभार हुन गए । यस्तो क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गर्न सक्दैनथ्यो किनकि पुँजीवादले आफ्नो प्रगतिशील चरित्र गुमाउँदै ऊ साम्राज्यवादमा परिणत भैसकेको थियो । यसको नेतृत्व अब सीधै सर्वहारा मजदुर वर्गको प्रतिनिधि कम्युनिस्ट पार्टीले गर्नुपथ्र्यो र उसले राष्ट्रिय पुँजीवादको विकास गर्दै समाजवादी क्रान्तिमा सङ्क्रमणको नेतृत्वसमेत गर्नुपर्ने भयो । यसैलाई नौलो जनवाद भनिन्छ ।

ग) नेपाल सन्दर्भ

नेपालमा पुष्पलालको समयदेखि नै अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक भन्दै यहाँ गरिने क्रान्तिको स्वरूप नौलो जनवादी हुने कुरा भनियो । नेपालको उत्पादन सम्बन्धको चरित्र आधारभूत रूपमा चिनियाँ विश्लेषणसँग मिल्दोजुल्दो छ भन्दै जनयुद्घसमेत भयो र हामीले जनयुद्घलाई विजयसम्म पुर्याउन सकेनौँ । यसपछि नै नेपालको अधुरो क्रान्तिलाई पूर्णता दिन विचार र कार्यदिशामा थप सश्लेषणको खाँचो महसुस भएको हो । यसबारे थप स्पष्टताका लागि केही तथ्य र तर्कका आधारमा नेपालमा अब गरिने क्रान्तिको कार्यक्रम नौलो जनवाद वा समाजवादमध्ये कुन सही र नौलो जनवाद किन असान्दर्भिक भन्नेबारे विमर्श गर्नु जरुरी छ ।

१) नौलो जनवादको राजनीतिक कार्यक्रम माओले सन् १९४० मा चिनियाँ राष्ट्रिय प्रतिरोध युद्घको समयमा अघि सारेको थेसिस हो । सन् १९४० को समय र आजको समयमा कैँयौ अन्तरहरू–फेरबदलहरू देखिएका छन् । वस्तुलाई गति र परिवर्तनको प्रवाहमा बुझ्ने मार्क्सवादीहरूले यो अन्तराललाई हृदयङ्गम गर्न जरुरी हुन्छ ।

२) चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा पुगेछि सन् १९४९ देखि लागू गरिएको नौलो जनवाद १९५६ वरिपरि नौलो जनवादको सुदृढीकरण वा समाजवादमा सङ्क्रमण भन्ने विषयमा बहस भयो र त्यसपछि समाजवादको दिशामा चिनियाँ राज्यसत्ता अगाडि बढ्यो । स्वयम् चीनमा पनि करिब ६ वर्षजति मात्रै लागू गरिएको/चीनमै पनि राम्रोसँग लागू हुन नसकेको कार्यक्रमको सान्दर्भिकता अझै छ र नेपालमा अनिवार्य रूपमा नयाँ जनवादको चरण पार गर्नैपर्छ भन्ठान्नु रूढिवाद र परम्परावाद हो ।

३) चीनमा प्रयोग गर्न खोजिएको नौलो जनवादसम्बन्धी कार्यक्रमको सिलसिलामा निजी स्वामित्वमा आधारित उत्पादन सम्बन्धले तीन खराबी र पाँच खराबीका भ्रुणहरू पैदा गर्यो र अन्ततः सांस्कृतिक क्रान्ति निकै पेचिलो हुँदै गएर जनवादी राज्यसत्ता प्रतिक्रान्तिको आधार बन्न गयो ।

४) नौलो जनवादसम्बन्धी अवधारणा अगाडि ल्याउँदा विज्ञान–प्रविधि–उत्पादन शक्तिको विकास निकै पिछडिएको थियो । वस्तुहरूको ओसार–प्रसारका लागि सामान्य ट्याक्टरलगायत साधनको समेत अभाव थियो । चीनको भूगोल र जनसङ्ख्या विशाल थियो । भोकमरी, अशिक्षाका समस्याहरू निकै जटिल थिए । माओको मुख्य सरोकार नै कृषिमा आधारित अर्थव्यवस्थालाई कसरी औधोगिकीकरण गर्ने र भोकमारीबाट चिनियाँ जनतालाई मुक्त गर्न उत्पादकत्वमा व्रृढि कसरी गर्ने भन्ने थियो । यस्तो स्थितिमा त्यहाँको राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवादी उत्पीडनबाट पीडित थियो तर आज परिस्थिति फेरिएको छ । प्रविधिका हिसाबले बायो इन्जिनियरिङदेखि आर्टिफिसियल इन्टेलिजेन्सको विकास भएको छ । भोकमारीको समस्या अहिले विश्वमै छैन भन्दा हुन्छ । यसरी हेर्दा फुक्काफाल उत्पादन र राष्ट्रिय पुँजीको विकास गर्न नौलो जनवाद नै चाहिन्छ भन्ने छैन । आजको विकसित र पछिल्लो प्रविधिका आधारमा समाजवादअन्तर्गत पनि राष्ट्रिय पुँजी प्रवद्र्घन गर्न सम्भव छ ।

५) चीनमा नौलो जनवादको अवधारणा ल्याउँदा राष्ट्रिय पुँजीपतिहरूको हिस्सा ठूलो थियो । (नेपालको जीडीपीमा औद्योगिक क्षेत्रको ६ प्रतिशतको योगदान छ) राष्ट्रिय पुँजीवाद झन्डै दलाल पुँजीवादमा बदलिएको छ । जुन वर्गको सङ्ख्या नै नगण्य छ, उसैसँग साझेदारी गरेर क्रान्तिको विजय हुने कुरा व्यावहारिक दृष्टिले पनि वस्तुसंगत भएन ।

६) सन् १९८२ मा अर्थशास्त्री फ्रायडमेन, बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर, अमेरिकी राष्टपति रेमन्ड रेगनलगायतको अगुवाइमा विश्व आधारभूत रूपमा नवउदारवाद र भूमण्डलीकरणको प्रक्रियामा प्रवेश गर्यो । नेपालमा पाँचाँै पञ्चवर्षीय योजना २०४२ मा (Structural adjustment program— SAP) ले प्रवेश पाएपछि नेपाल भूमण्डलीकृत पुँजीवादको अङ्ग बन्न पुग्यो । यहाँको उद्योग, व्यापार, वाणिज्य, शिक्षा, स्वाथ्य, संविधान र ऐनहरूसमेत एड्जस्टमेन्ट गर्दै लग्नुपर्ने भयो तर ठीक यस्तै अवस्था माओकालीन चीनमा थिएन । हामीले नेपालमा कस्तो राजनीतिक कार्यक्रम अघि सार्ने भन्ने कुरा आजको विश्वपरिस्थिति र साम्राज्यावादको बदलिएको चरित्रले पनि निर्धारण गर्छ । माओकालीन चीनमा दलाल पुँजीवादी उत्पीडन भए पनि त्यसको चरित्र अहिलेजस्तो भूमण्डलीकृत थिएन ।

७) प्रचण्ड, बाबुरामबाट अलग भएपछि तत्कालीन नेकपा (माओवादी) को कमलादीमा सम्पन्न सातौँ महाधिवेशनले सर्वप्रथम नेपालको उत्पादन सम्बन्धको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक हो भन्ने पुरानो स्कुललाई परिमार्जन गर्दै अर्धसामन्ती, नवऔपनिवेशिक र बहुधु्रवीय विश्वव्यवस्था भनेर पारित गर्यो । अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पादन सम्बन्धसँगको प्रधान अन्तरविरोध हल गर्न छापामार सङ्घर्ष : दीर्घकालीन जनयुद्घको सामरिक कार्यदिशाको खाँचो पर्छ जो हामीले झन्डै दस वर्ष नेपालमा प्रयोग पनि गर्यौँ । अब नेपालको उत्पादन सम्बन्धको चरित्र अर्धउपनिवेशको सट्टा नवऔपनिवेशिक र प्रधान अन्तरविरोधको केन्द्रमा सामन्तवाद र राजतन्त्रको ठाउँमा दलाल पुँजीवाद भनिसकेपछि यसलाई नौलो जनवादको पुरानै कार्यक्रम र दीर्घकालीन जनयुद्घको फौजी कार्यदिशाले हल गर्न खोज्नु वस्तुलाई गति, अन्तरविरोध र विकासको प्रक्रियाबाट अलग गरेर बुझ्नु वा यसलाई ठीक ढङ्गले बुझ्न नसक्ने जडता र यान्त्रिकताको समस्या हुन जान्छ र यसले क्रान्तिको सेवा किमार्थ गर्न सक्त्तैन ।

८) यसरी नेपालमा नौलो जनवादको असान्दर्भिकताबारे हामीले जुन प्रश्नहरू गर्यौँ यसको अर्थ यहाँ सामन्ती तथा साम्राज्यावादी उत्पीडन, विशेषतः १८१६ को सुघौली सन्धि र १९५० को नेपाल–भारत मैत्री सन्धिलगायत तमाम असमान र औपनिवेशिक सम्झौताहरूबाट मुलुक स्वाधीन भैसक्यो भन्ने होइन । महिलाहरूमाथि भैरहेका लैङ्गिक उत्पीडन, दलित/श्रमिक समुदायहरूमाथि भैरहेका छुवाछूत र विभेददेखि सामन्ती उत्पादन सम्बन्धमा आधारित श्रम सम्बन्धलगायत सामन्तवादका थुप्रै अवशेषहरू बाँकी छन् । क्रान्तिकारी वैज्ञानिक भूमिसुधार अझै हुनसकेको छैन । गाउँहरूमा खेतीपातीमा प्रयोग हुने काठको हलो र यन्त्रको सट्टा अझै गोरु जोत्ने दासयुगीन उत्पादनका साधनबाट समाज माथि उठ्न बाँकी छ । यी सबै सामन्ती उत्पीडन र उत्पादन सम्बन्धसँग सम्बन्धित छन् र पुँजीवादी जनवादी क्रान्ति (नौलो जनवाद) का ऐतिहासिक कार्यभार अझै पूरा भएका छैनन् । तर यो सामन्ती प्रवृत्ति नै मुख्य र डोमिनेन्ट भूमिकामा छैन । श्रमका सामन्ती स्वरूपका ठाउँमा जनसङ्ख्याको ठ्लो हिस्सा ज्यालादारी श्रममा आश्रित छ । वस्तुहरूको उत्पादन आफ्नो उपभोगका लागि भन्दा पनि विनिमय र नाफाका लागि गर्ने क्रम बढ्दो छ । देशको अर्थतन्त्र परम्परागत सामन्ती बालीप्रथामा होइन, आयातित वस्तुमा भन्सार महसुल, आन्तरिक राजस्व सङ्कलन, विप्रेषण र एडीबी, वल्र्ड बैङ्क तथा आईएमएफमा निर्भर छ । देशको शासकीय भूमिकाबाट राजा हटेपछि सत्ताको बागडोर दलालहरूको हातमा पुगेको छ । स्थानीय सामन्तहरू, डिट्ठा, बिचारी, जिमुवाल, राजारजौटाको हातबाट केही फटाहाहरूको हातमा गाउ्रँको शासन बदलिएको छ । धनी र गरिबबीचको आय असमानता चुलिँदो छ । नेपालका कम्युनिस्ट पार्टीहरूदेखि संसद्‌वादी पार्टीका घोषणापत्र र उनीहरूले बनाएको संविधानमा समेत उनीहरू समाजवाद उल्लेख गर्न विवश छन् । उपरोक्त तथ्य र तर्कका आधारमा हेर्दा अब नेपालको समाजवादी क्रान्तिको प्रक्रियामा नै पुँजीवादी जनवादी क्रान्तिका केही बाँकी कार्यभार पूरा गर्दै समाजवादको बाटोमा अघि बढ्नु नै सही हुन्छ । निश्चय नै अबको समाजवादका प्रारूपहरू के हुन् र यो कसरी हासिल हुन्छ भन्नेबारे हामीले राष्ट्रिय बहसको सृष्टि गर्नु पर्दछ । यो नै माओ र संसारभरिका माक्र्सवादी विचारहरूप्रतिको सच्चा सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :