राष्ट्रघाती एमसीसीविरुद्ध लड्ने कमरेडहरूसँगै घाइते हुँदा

राष्ट्रघाती एमसीसीविरुद्ध लड्ने कमरेडहरूसँगै घाइते हुँदा

२०७८/८/२६ गते बिहान हतारहतार उठेर सबै साथीहरूलाई फोन गरेँ । राष्ट्रघाती सम्झौता गरी नेपालमा एमसीसी भित्र्याउने योजनाअनुरूप २८ गते देउवा सरकारले संसद् बैठक बोलायको थियो । एमसीसी नेपालमा लागू हुन दिनु हुन्न भन्ने हाम्रो पार्टीको धारणा विगतदेखि स्पष्ट आइसकेको छ । एमससी विकास योजनाको परियोजना मात्र नभएर अमेरिकी सेना नेपालमा आएर हाम्रो प्राकृतिक स्रोत–साधनमाथि कब्जा गरी हामी नेपालीलाई गुलाम बनाउन चाहन्छ । यो कुरा जनताले पनि बुझिसकेको हो तर हाम्रो देशका दलाल र राष्ट्रघातीहरूले बुझेर पनि नेपाल आमालाई विदेशीको हातमा सुम्पिएर हाम्रो अस्मितामाथि खेल्न चाहन्छन । मलाई मानसिक तनाव थियो– हामीले भनेअनुरूप जनताको उपस्थिति होला कि नहोला ! २६ गते राती अबेरसम्म भोलिको तयारीका बारेमा फोन सम्पर्कमा थिएँ । एकहाते सानो माइक पनि किनेकी थिएँ । सबै साथीलाई आवश्यक छलफल र योजनाबारे सम्झाएर २७ गते बिहान ९ बजे निस्किएँ । ११ बजे कमरेड प्रबिनलाई भेटेर सल्लाह गर्यौँ । पछि प्रकाश कमरेडलाई सम्पर्क गरी सम्बन्धित प्वाइन्टमा पुगियो ।

लेखक : विदुषी

हामीलाई सुरक्षामा पनि विशेष ध्यान दिनुहोला भन्ने निर्देशन थियो पार्टीको । म चनाखो भएर हिँडिरहेकी थिएँ जब हामी एमसीएको कार्यालयनजिक पुग्याैँ प्रहरीको अवरोध थियो । हामीले त्यो अवरोधलाई शान्तिपूर्ण रूपमा पार गर्ने कोसिस गरिरहेका थियौँ । त्यतिकैमा हाम्रा तर्फबाट ३ जना भाइहरूले ‘बढी उत्तेजित भएर लठ्ठी हान्न थाल्यो’ भन्नुभयो । प्रहरीमाथि यस्तो नगर्न भन्दाभन्दै मलाई साथीहरूले कुल्चिएर मेरो हातको माइक टुक्राटुक्रा भयो । पार्टी केन्द्रीय सचिवालय सदस्य आदरणीय दाइ धर्मेन्द्र बास्तोला, चिरन, खुमा दिदीलगायत नेताहरू हामीसँगै हुनुहुथ्यो । माइला दाइको जुलुस आउन बाँकी थियो । मलाई डर थियो– हाम्रा साथीहरूको उत्तेजना देखेर प्रहरीले लाठी प्रहार गर्यो भने हाम्रा नेताहरूलाई जोगाउन सकिन्छ कि सकिन्न भन्ने । म साउन्ड सिस्टम राखेको ट्याक्सीमाथि चढेर साथीहरूलाई उत्तेजित भएर प्रहार नगर्न अनुरोध गरेँ । त्यसपछि ओम पुन दाइले माइक लिएर भीड नियन्त्रण गर्नुभयो । लगत्तै माइला दाइको जुलुस पनि त्यहाँ प्रवेश गर्यो । सी आकारमा बसेको प्रहरीको टिमलाई शान्तिपूर्ण तरिकाले आईमा परिणत गर्नुभयो । २७ गतेको हाम्रो कार्यक्रम सफल र शान्तिपूर्ण भयो । हामी फर्कियौँ ।

उपत्यकामा उपलब्ध युवाका सबै केन्द्रीय सदस्य र सबैसँग भोलिको तयारीका बारेमा छलफल गरी छुट्टियौँ । २८ गते १ बजे हामी संसद् भवनको ३ नं गेटमा जम्मा भएका थियौँ । सम्भावित खतरा र त्यसबाट कम्ती क्षतिमा हाम्रो योजना सफल बनाउने योजनामा हामी तयार थियौँ । गेटमा जाने ५ जना साथीहरू १० बजेदेखि तयार हुनुहुन्थ्यो कमरेड प्रविनको नेतृत्वमा । जुलुसको सुरक्षाको जिम्मा हामीलाई थियो र स्वास्थ्यकर्मीहरूको टिम पनि तयारी अवस्थामा थियो । पत्रकार मित्रहरू पनि क्यामेरा लिएर तयार हुनुहुन्थ्यो । १२ बजेपछि विद्यार्थी भाइबहिनीहरूको उपस्थिति देखेर मन हर्षले झन् बलियो हुँदै गयो । बढीभन्दा बढी विद्यार्थी जम्मा गराउन सफल सबै जिमरवार कमरेडहरूलाई मनमनै धन्यवाद दिएँ । हामीसँग हाम्रो पार्टीका तर्फबाट धर्मेन्द्र दाइ, ओम पुन दाइ हुनुहुन्थ्यो । जवसका नेताहरू हुनुहुन्थ्यो । ठीक १ बजे जुलुस अगाडि बढ्यो । साथीहरूको आक्रोश थामिनसक्नुको थियो । समाज डेन्टलको गेटमा ठूलाठूला फलामका डिभाइडर राखेर प्रहरी मित्रहरू तैनाथ हुनुहुन्थ्यो । हामी अगाडि बढ्यौँ । हाम्रो प्रकाश कमरेडसँग सल्लाह भएको थियो । हातले साङ्लो बनाएर अगाडि घेरा तोड्दै बढ्ने तर हाम्रा युवा कमरेड, विद्यार्थीलगायत सबै युवा कमरेडहरू अगाडि बढेर फलामका ठूलाठूला डिभाइडरहरू भत्काइहाल्नुभयो । त्यहाँनेर प्रहरी असफल भयोे । जुलुसको दाहिनेतिर म थिएँ । मैले अरू साथीहरूको सहारामा २ वटा डिभाइडरहरू तल ओरालोतिर फालेँ । जुलुसको देब्रेतिर प्रकाशलगायत कमरेडहरू हुनुहुन्थ्यो । हामी अगाडि गेट ३ नं. को ५ मिटर नजिक थियौँ । लाठीचार्ज गर भन्ने आदेश आयो । त्यसपछि अन्धाधुन्ध लाठी हान्न थाल्यो । म साथीहरूलाई प्रहरीमाथि प्रहार नगर्न भन्दै थिएँ । साथीहरू पछाडि फर्केर भाग्न थाल्नुभयो । मलाई लडाएर सबैले मिच्नुभयोे । मैले केही सोच्नै सकिनँ । एकछिन अक्क न बक्कजस्ती भएँ । उठेर हेर्दा प्रहरीले ममाथि लाठी चार्ज गरिरहेको थियो । नहान्न भनेँ । फर्किएर यता हेर्दा प्रकाश शाही कमरेड मलाई जोगाउँदै प्रहरीमाथि नै लाठी हानिरहनुभएको थियो ।

पछि म बिस्तारै अगाडि बढेँ । सबै साथी तितरबितर भइसक्नुभएको थियो । बल्लबल्ल सडक पेटीमा निस्किएर पुरानोबानेश्वरतिर अगाडि बढेँ । विद्यार्थीका एक भाइले भने– प्रकाश दाइ घाइते हुनुभयो । तारा दिदी पनि घाइते हुनुभयोे । त्यसपछि मैले फेरि साथीहरूलाई तल झर्न आह्वान गर्दै नारा लगाउन भनेँ । प्रकाश कमरेडलाई फोन गरेँ । ठीक छु कमरेड, भाइ हुनुहुन्छ मसँग भन्नुभयो । म फेरि यता साथीहरूलाई नाराजुलुस गर्न भन्दै दुखाइलाई सामान्यीकरण करण गर्न खोजेँ । सिभिल अस्पतालका भाइहरूको टिम पनि आएको रहेछ । कस्तो छ हजूरलाई, अस्पताल जाऊँ भन्नुभयो । तर मलाई अस्पताल जान उचित लागेन । घाउ थिएन, चोट थियो । त्यो म सहन सक्ने थिएँ । म आफैँ छोडेर हिँड्दा भाइबहिनीहरूको मनोबल गिर्छजस्तो लाग्यो । उता प्रकाण्ड कमरेड भएको स्थानमा पनि झडप भएको र उहाँ घाइते भएको कुरा आयो । सिभिल अस्पतालका स्वास्थ्यकर्मी भाइ हेमको टिमलाई अस्पतालको आकस्मिक कक्षमा गएर घाइते कमरेडहरूको उद्धार र उपचार गर्न भनेँ । मेडिकलबाट पेन किलर ल्याएर खाएँ, अलि कम भयोे तर मेरो खुट्टा र पाखुरा सुन्निएर असहज हुँदै थियो । सीसीएम कमरेड, अन्जन दाइ आएर कस्तो छ भनी सोध्नुभयो । म लडेको देखेर सङ्गठनका कमरेडले मलाई उठाउन खोज्दा उहाँलाई पनि पिटेछ । दाइले सुनाउनुभयोे । विद्यार्थीका नरेन्द्र कमरेडले १५ जना भाइलाई कालो झन्डा दिएर गेटमा पठाउने कुरा गर्नुभयो । भाइ गोविन्दको नेतृत्वमा ३ नं गेटमा फेरि पठायौँ । बिहान १० बजेदेखि तयारी अवस्थामा बसेको प्रविन कमरेडको टिमबाट प्रविनले फोन गरी हामी भित्र जान सक्छौँ, जान्छौँ दिदी भनिरहनुभएको थियो । अहिले त्यो निर्देशन हामीलाई छैन, नजानू भनेँ । प्रविन कमरेडको त्यो साहस देखेर खुसी लागिरहेको थियो । पछि कृष्ण कमरेडले फोन गरेर भन्नुभयो– प्रविन, महेन्द्रलगायत गिरफ्तार हुनुभयो । कृष्ण कमरेडको साहसलाई सलाम गरेँ । हाम्रो नाराजुलुस जारी थियो । पुरानो बानेश्वरतिरबाट एउटा स्कारपियो आयो । पछाडि एम्बुलेन्स थियो । म अगाडि गएँ र गाडी रोक्न अनुरोध गरेँ । गाडीको देब्रेतिर सिसा खुला थियो । भित्र हेर्दा बाबुराम हुनुहुँदो रहेछ । मैले हातले थुतेर बाहिर तान्छु भनी सोच्दासोच्दै सिसा बन्द भयो । साथीहरूले घेरा हालेर कालो झन्डा देखाउनुभयो ।

प्रहरीको घेरा हाम्रोभन्दा ठूलो बन्यो । हेर्दाहेर्दै गाडी अगाडि बढ्यो र ३ नं गेटभित्र छिर्यो । पछि ओम दाइले फोन गर्नुभयो– विदुषी, सदन स्थगित भयोे रे । मन्त्री संसद्‌बाट बाहिरिँदैछन् ३ नं गेटबाट । छिटो आउनुहोस् ।

झन्डा झिकेर हामी गयौँ । प्रविनको टिम, विद्यार्थीका मदन केसी भाइको टिम र पछि गएको गोविन्द भाइको टिम गिरफ्तार भइसकेका थिए । उता तारा बहिनी सिभिल अस्पतालमा उपचार गराइरहनुभएको थियो । प्रकाश कमरेडले पनि म ठीक छु भनिरहनुभएको थियो ।

रविन भाइलाई १० जना विद्यार्थी भाइबहिनी मसँग पठाउनू, म अगाडि गेटमा जान्छु भनेँ र म अगाडि बढेँ । ओम दाइ र क्रान्तिकारी माओवादीका विद्यार्थी अध्यक्ष हरिकृष्ण गजुरेल सँगै हुनुहुथ्यो । म दौडिएर उहाँहरूनजिकै गएँ । विद्यार्थीकी एकजना बहिनी, लोकेश जोसी र हस्त भाइ देखिए ।

गाडी निस्कियो । अरू गाडीहरू पनि लस्करै थिए । ओम दाइले विदुषी, अगाडि बढौँ र झन्डा देखाऊँ भन्नुभयो । हामी अगाडि दौडिएर झन्डा देखायौँ । प्रहरीले दाइलाई झ्यापझुप समायो । मैले दाइलाई तान्न कोसिस गरिरहेँ । लोकेश, हस्त, म, अर्की बहिनी, दाइ सबैलाई समाई गाडीमा कोचिहाल्यो । हामी गाडीमा पनि नारा लगाउँदै गयौँ । तीनकुने प्रहरी चौकीभित्र लगेर झारियो । त्यहाँ त हाम्रा विद्यार्थी, युवा भाइबहिनीहरू नाराजुलुस गरिरहनुभएको रहेछ । हामीलाई स्वागत गर्नुभयो । विद्यार्थीबाट ३०/३१ युवा, ५ जना किसान, अध्यक्ष १जना, ओम दाइलगायत हामी ४०/४१ जना रहेछौँ । अरू पार्टी र मोर्चाका कमरेडहरू पनि हुनुहुन्थ्यो । मेरा हातखुट्टा खुब दुखिरहेको थिए । मलाई पछाडि बस्न पनि समस्या भयो । उभिन पनि समस्या भयो । समस्या झन्झन् बढ्यो । पछि प्रकाश कमरेड र चिरन दाइ आउनुभयो । डीएसपी पनि आए । हामीलाई थोरै प्रक्रिया पूरा गरी छोडिदिन्छु भने । माइला दाइ र उमङ्ग पनि आउनुभयोे । माईला दाइले प्रकाश कमरेडसँग विदुषीलाई कस्तो छ भनी सोधेको सुनेँ । हर्षले आँखा रसाए । हाम्रो नेतृत्वलाई हाम्रो कति धेरै चासो र चिन्ता हुन्छ ! त्यही भएर त हामी बलिदान गर्न पनि तयार हुन्छौँ ।

महेन्द्र भाइको आँखामाथि चोट थियो । रगत आइरहेको थियो । पाटन दाइलाई फोन गरी सुनाएँ । महेन्द्र भाइले सामान्य कुरा हो दिदी, त्यति चोट छैन भन्नुभयो । मेरो दुखिरहेको घाउ कम भएको अनुभूति भयो । मलाई विचारभन्दा ठूलो शक्ति र ठूलो मलम, विचारभन्दा ठूलो औषधी केही छैन भन्ने लाग्यो । ओम दाइ र लोकेश भाइको अगाडि मैले भनेँ, ‘बुबाआमाको, गुरुगुरुआमाको कहिल्यै कुटाइ खानु परेन किनकि म पढाइमा अब्बल थिएँ र ज्ञानी पनि । श्रीमान्सँग सदैव साथीजस्तो, बुबा र मम्मीजस्तो, दाइ, भाइ, दिदी, बैनीको व्यवहार र भूमिकामा छु । हाम्रो झगडा विरलै मात्र हुन्छ । पिट्ने कुरा मानवीय चेतना नभएको पशुले गर्ने काम हो तर आज मैले पिटाइ खाएँ । यसमा मलाई पीडा थियो बढी ।

केही साथीले भन्नुभयो– तपाईंले आराम गर्नुपथ्र्यो तर मैले भनेँ– आराम गर्न गएको भए हाम्रा साथीहरूको मनोभावना कमजोर हुन्थ्यो । त्यसैले म गइनँ । घाइते भएर पनि मोर्चामा खटिरहनु एक प्रेरणा पनि हो । हरि कमरेडलाई पनि खुब पिट्यो भन्ने कुरा सुनाउनुभयो भित्र । माइला दाइले आवश्यक छलफल गरेपछि हामी छुटेर बासस्थानतिर लाग्यौँ ।

मलम, तातो तेल, कालो चुक सबै विधि गरेँ । अर्को पेन किलर पनि खाएँ तर दुखाइ कम भएन । म रातभर पनि सुत्न सकिनँ । तीनचार दिनसम्म लगातार झन् बढी दुखिरहेको छ । मलाई साथीहरूले फोन र एसएमएसमार्फत चासो र चिन्ता व्यक्त गरिरहनुभएको छ । सबैमा हार्दिक नमन भन्न चाहन्छु । गर्नुपर्ने औषधी सबै गरिसकेकी छु । कमरेडहरू, यो मोर्चा र कामबाट म थप बलिई भएकी छु । राष्ट्रियता, जनजीविका, स्वाभिमान, सबैखाले विभेद अन्त्य गरेर सुन्दर समाज निर्माण गर्ने कुरामा कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता गर्छु । कमरेडहरू आज ६/७ लठ्ठी खाएकी छु । आगामी दिनहरूमा ६/७ गोली खान तयार छु । तपाईंहरू सबैको अनुरोधमा यति कोर्ने जमर्काे गरेँ ।

सायद आज मसँग हाम्रो प्रिय नेता, साथी, हाम्रो बुबा हुनुभएको भए खुब गर्व गर्नुहुन्थ्यो होला । मेरो अगाडि मलाई के खान्छेउ, कहाँ दुख्यो भनी मायाले सम्झाउनुहुन्थ्यो होला । आफ्ना साथीहरूलाई फोन गरेर र भेटेर गर्वसाथ सुनाउनुहुथ्यो होला– मेरी छोरीले पनि प्रहरीको पिटाइ खाएर आइन् । त्यो पल र क्षणहरूको कल्पना गरिरहेकी छु । आज पनि मलाई बस्न र हिँड्न समस्या भैरहेको छ तर पनि पार्टीका योजनाहरूमा तपाईंहरूसँगै काँधमा काँध, हातमा हात मिलाउने साहस बढेको छ ।

(लेखक युवा सङ्गठन नेपालकी केन्द्रीय महासचिव हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :