जनपक्षीय पत्रकारिताका कार्यभार

जनपक्षीय पत्रकारिताका कार्यभार

चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक अध्यक्ष माओले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूको भूमिकालाई आन्दोलनको आवश्यकताअनुसार चार कर्ताका रूपमा परिभाषित गर्नुभएको थियो : उत्पादनकर्ता, सङ्गठनकर्ता, सङ्घर्षकर्ता र प्रचारकर्ता । यी चारवटा भूमिकामध्ये कुन बढी महत्वपूर्ण र अग्रभागमा हुन्छ भन्ने कुरा क्रान्तिकारी आन्दोलनको आवश्यकता, क्रान्तिको कार्यदिशा, यस क्रममा पार्टीले अङ्गिकार गर्ने तत्कालीन सङ्घर्षको स्थिति र स्वरूपले निर्धारण गर्दछ । नेपालमा दलाल पुँजीवादी उत्पादन सम्बन्धसँगको प्रधान अन्तरविरोधलाई हल गर्ने सन्दर्भमा हामीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि सार्दै वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य निर्धारण गरेका छौँ । पछिल्लो समय खासगरी असीको दशकयता पुँजीवादी साम्राज्यवादको फेरिएको स्वरूप, उत्पादक शक्तिको क्षेत्रमा विकसित सूचना प्रविधि तथा विज्ञान प्रविधिको पछिल्लो विकासक्रम र नेपाली क्रान्तिका विगतकालीन प्रयोगहरूलाई यथोचित मूल्याङ्कन गर्दै अघि सारिएको एकीकृत जनक्रान्तिको सिद्धान्तका विभिन्न सातवटा आधारभूत विशेषतामध्ये सूचना प्रविधिको विश्वव्यापी भूमिका र तरङ्गलाई पनि प्रस्तुत कार्यदिशाले आत्मसाथ गरेको छ । यहीँनेर विचारणीय पक्ष के छ भने एकथरी मानिसहरूले विज्ञान प्रविधिको विकासलाई मान्छे, सामाजिक सङ्घर्ष र उत्पादन प्रणालीबाट असम्बन्धित विषयका रूपमा पस्किँदै अन्ततः र सारतः सामाजिक क्रान्तिमा सचेत मानवीय प्रयत्नको भूमिकालाई अस्वीकार गरेको देखिन्छ ।

माओले भन्नुभएजस्तै चार कर्तामध्ये प्रचारकर्ताको मुख्य भूमिकामा रहेको प्रचारमोर्चा र जनपत्रकार सङ्गठन नेपालले आजको जनपक्षीय पत्रकारिताको माध्यमबाट आफ्नो जिम्मेवारीलाई कसरी सशक्त र प्रभावकारी बनाउने ? जनतालाई सत्यतथ्य सूचना र जानकारीद्वारा कसरी सुसज्जित गर्ने ? सूचना, समाचार, शिक्षा, उत्प्रेरणा र खबरदारीको दायित्व पूरा गर्दै यस क्षेत्रमा देखिएका विकृति र मुख्यतः सूचना साम्राज्यको जनविरोधी चरित्रलाई कसरी ठीक ढङ्गले मुकाबिला गर्ने ? र अन्ततः नेपाल र विश्वव्यापी रूपमा दृष्टिक्षितिजमा देखापरिरहेको समाजवादी क्रान्तिका पक्षमा व्यापक जनमत कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे यो छोटो आलेखद्वारा प्रकाश पार्न खोजिएको छ ।

(क) विचारधारात्मक र राजनीतिक कार्यभार

निश्चय नै हामीले पत्रकारिता र कलमको मोर्चाद्वारा क्रान्ति र समाजवादको सेवा गर्ने पर्दछ । तर हामीले पत्रकारिता मात्रै गर्नु हुँदैन जनपत्रकारिता नै गर्नुपर्दछ । हामीलाई सबै मान्छेहरू आखिर जनता नै त हुन् भन्ने लागे पनि यी शब्दहरूको अन्तरवस्तुमा नै भिन्नताहरू छन् । एउटा दैनिक रूपमा ज्यालाका लागि आफ्नो श्रमशक्ति बिक्री गरिरहेको स्वतन्त्र मजदुरदेखि राज्यको माथिल्लो ओहोदामा विराजमान शासक, नोकरशाह र पुँजीपति सबै मानिस हुन् तर यिनीहरू सबै जनता र श्रमजीवी होइनन् । समाजमा वर्ग छ, वर्गीय शोषण र स्वार्थहरू छन्, ती स्वार्थहरूलाई प्रतिबिम्बन गर्ने सामाजिक, आर्थिक संरचना र परिपाटीहरू पनि छन् । यसरी सिङ्गो मानव समाज विभिन्न वर्गहरूमा विभक्त भएको छ र वर्गहरूका बीच विशेषतः उत्पीडित र उत्पीडकबीच झन्डै साढे पाँच हजार वर्षदेखि परस्पर विपरीत स्वार्थबीच वर्गसङ्घर्ष चल्दै आएको छ । यसलाई माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रको पछिल्लो संशोधनमा आजसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भन्नुभएको थियो । यसरी समाजमा निरन्तर चलिरहने वर्गसङ्घर्षका क्रममा नै सूचना र समाचारका विभिन्न साधन हुँदै आजको इन्टरनेट क्रान्तिको चरणमा विकास हुन पुगेको छ जसलाई अर्थशास्त्रीहरूले चौथो औद्योगिक क्रान्तिको संज्ञा दिएका छन् । यी परम्परागत र विकसित साधन, प्रविधि र ज्ञानको प्रयोग गर्दै सामाजिक सङ्घर्षमा भाग लिनु, उत्पीडित जनता र राष्ट्रका पक्षमा हुने आन्दोलनको सेवा गर्नु, अन्याय–अत्याचार, भ्रष्टाचार, विकृति, विसङ्गतिको चिरफार गर्नु र सारतः पुरानो उत्पादन सम्बन्धको ठाउँमा प्रगतिशील उत्पादन सम्बन्धको विकास गर्दै उत्पादक शक्तिको एउटा सक्रिय तत्वका रूपमा रहेको श्रम शक्तिको विकासको उचित वातावरणका लागि प्रचारात्मक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पत्रकारिता आर्थात् जनपत्रकारिता गर्नु हाम्रो मुख्य काम हुनु पर्दछ ।

पत्रकारिता आन्दोलनमा केही भाष्य र अवधारणाहरू छन् जस्तो कि पत्रकारितालाई स्वतन्त्र, पेसागत पत्रकारिता र मिसन पत्रकारिता भनेर दुई भागमा छुट्ट्याइएको छ । हो, पत्रकारहरू स्वतन्त्र, निष्पक्ष र गैरराजनीतिक हुनै पर्दछ । त्यसैले त यसलाई राज्यको चौथो अङ्ग मानिएको छ । तर उनीहरू पनि यही समाजकै अङ्गहरू हुन् । पत्रकारहरूको पनि वर्ग र राष्ट्रियता हुन्छ । समाजका हरेक नागरिकसरह पत्रकारहरूले पनि राजनीतिक आस्था राख्न पाउनु पर्दछ । विडम्बना त के देखिन्छ भने जसले पत्रकारहरू स्वतन्त्र र पत्रकारिता व्यावसायिक हुनुपर्छ भनिरहेका छन्, उनीहरू नै सबभन्दा राजनीतीकृत हुँदै गएको देखिन्छ । राजनीतिक नियुक्ति र आर्थिक प्रलोभनका लागि सत्यको तोडमोड उनीहरू नै गरिरहेका छन् । पत्रकार महासङ्घजस्तो नागरिक अगुवा संस्थामा सदस्यता वितरणदेखि निर्वाचनप्रक्रियसम्म संसदीय निर्वाचनभन्दा पनि तल्लो र भद्दा हुँदै गएको छ । योसँगै हामीले ख्याल गर्नुपर्ने विषय र सबैभन्दा सोचनीय प्रश्न भनेको के स्वतन्त्र र व्यावसायिक पत्रकारिता उद्देश्यविहीन, निरुद्देश्य र मिसनविहीन हुनसक्छ ? के पत्रकारिता वर्ग र राष्ट्रियताभन्दा अलग र निरपेक्ष हुन्छ ? के पत्रकारहरूको सामाजिक उत्तरदायित्व हुनु हुँदैन ? के पेसागत पत्रकारिता र मिसन पत्रकारिता आफैँमा अलग र असम्बन्धित छन् ? यी प्रश्नहरूलाई मसिनो गरी केलाएर हेर्दा के भन्न सकिन्छ भने स्वतन्त्र पत्रकारिताको पनि खास उद्देश्य र मिसन हुन्छ भने जसलाई हामी मिसन पत्रकारिता भन्छौँ त्यसको पनि व्यावसायिकता हुन्छ । बरु जसले स्वतन्त्र पत्रकारिताको वकालत गर्दछन् उनीहरूको नै कथनी र करनीमा निकै ठूलो बेमेल छ । उनीहरूले आफ्नो अन्तरनिहित मिसन लुकाइरहेका छन् वा छद्मभेषी रूपमा प्रयोग गरिरहेका छन् । त्यसैले त आज साम्राज्यवादीहरूले आफ्नो जीडपीको ठूलो हिस्सा यो क्षेत्रमा खर्च गरिरहेका छन् । प्रथम विश्वयुद्धदेखि इराक, इरान, सिरिया हुँदै अफगानिस्तान युद्धसम्म आफ्नो सैन्य आक्रमणलाई जायज ठहर्याउन निकै ठूलो धनराशि प्रचारात्मक क्षेत्रमा खर्च गरेका छन् । एउटा सैनिक तानाशाहदेखि ठूलाठूला भ्रष्टाचारजन्य स्क्यान्डलहरूले समेत आफ्ना जनविरोधी अपराध धोइपखाली गर्नसमेत मिडियामा लगानी गर्ने र आफ्नो निहित स्वार्थ रक्षार्थ यसको दुरुपयोग गर्नेदेखि नाफा र व्यावसायिकताका नाममा अश्लील र विकृत संस्कृतिको प्रसार हुँदै आएको छ । यसको भन्डाफोर गर्नु र पत्रकारिताको जे र जस्तो प्राकृतिक चरित्र छ त्यसलाई स्वीकार गर्दै अगाडि बढ्नु हाम्रो जिम्मेवारी हुनुपर्दछ ।

नेपालमा सात दशकयता संसदीय चरित्रको लोकतन्त्र उपयोग गरिँदै आएको छ । तीनतीनपटकको संसदीय अभ्यासमा शान्ति, स्थिरता र समृद्धि केवल चुनावी नारासिवाय अरू केही नभएको कुरा छर्लङ्ग भैसकेको छ । सरकार गिराउन र बनाउन तथाकथित जनप्रतिनिधिहरूलाई खसीबोकाजस्तो किनबेच गर्ने, विदेश भ्रमण गर्न लगाउने, बिरामी हुन लगाउने, पार्टीहरूबीच फुट र विभाजन शृङ्खलाबद्ध हुनेदेखि राष्ट्रघात र देशको सार्वभौमिकताविरोधी सम्झौताहरू हुँदै आएका छन् । १८१६ को सुगौली सन्धि, १९५० को नेपाल–भारत असमान सन्धि, गोर्खा भर्तीको खारेजी, सीमा अतिक्रमणको अन्त्य, असमान व्यापार ताथ पारबहनका विषयमा ओकल्दै सत्तासीन भएका पार्टी र नेताहरू सत्ता र सरकारमा टिकिरहनकै लागि नयाँनयाँ देशविरोधी दलाल साबित हुँदैछन् । आर्थिक हिसाबले हेर्दा पनि गरिबी, भ्रष्टाचार, महँगी, मुद्रास्फीति, व्यापारघाटा, जनशक्तिको विदेश पलायन, रेमिटेन्समा निर्भर परनिर्भर अर्थतन्त्र, बढ्दो प्रतिव्यक्ति सार्वजनिक र विदेशी ऋणभार, जीडीपीमा खस्कँदो उद्योगको योगदान, मुलुकको अर्थतन्त्रको चारित्रिक विशेषता बन्दै गएका छन् । स्वास्थ्य र शिक्षाजस्तो राज्यको अनिवार्य जिम्मेवारीभित्र पर्ने विषयहरू निजी क्षेत्रको कमाइखाने भाँडो भएका छन् । आयातित वस्तु तथा सेवाहरूमा अन्तःशुल्क कर र भन्सार लगाएर राज्यले आफ्नो चालू खर्च थेगिरहेको छ । भूमिमाथिको सामन्ती सम्बन्ध, द्वैध स्वामित्व, खण्डीकरण र भूमाफियाहरूको पकड हुँदै जनसङ्ख्याको ठूलो हिस्सा सुकुमबासी हनु, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा उल्लेख्य सुधार नहुनु, अझै पनि पुख्र्याैली सम्पत्तिमा छोराछोरीको समान अधिकार स्थापित नहुनु यो क्षेत्रका समस्याहरू रहँदै आएका छन् । यी विषयमा आवश्यक परिवर्तन गरी भूमि र श्रमवीचको अन्तरविरोध हल गर्न नसक्नु संसदीय लोकतन्त्रको असफलताको द्योतक हो । यसबाट अल्पकालीन र दीर्घकालीन रूपमा पार पाउन यो व्यवस्थाको भन्डाफोर गर्नु, समस्याहरूबारे जनतालाई सुसज्जित गर्नु र आवश्यक विचारविमर्शका लागि जोड दिनु हामी जनपक्षीय पत्रकारहरूको राजनीतिक जिम्मेवारी हो ।

एउटा स्वतन्त्र पत्रकारले सामाजिक–सांस्कृतिक विकृतिविरुद्ध प्रहार गर्न सक्ला, गरिब, दुःखी र पीडितका चित्कारहरूको कलात्मक बयान गर्न सक्ला तर ऊ यी चित्कारहरू पैदा गर्ने संरचनागत कारण बदल्ने अभियन्ता बन्न सक्तैन ।

यतिबेला विश्व र नेपालमा पनि समाजवादका पक्षमा जनताको भावना मुखरित हुँदै गएको छ । पुँजीवाद विशेषतः नवउदारवादी पुँजीवाद र भूमण्डलीकृत साम्राज्यवादमा पुनः सङ्कटको चक्र मडारिँदै गएको छ । खासगरी कोरोना व्यवस्थापनमा शक्तिराष्ट्रहरूको स्वास्थ्यप्रणालीमा जुन अक्षमता देखियो यो अन्ततः सिङ्गै पुँजीवादी प्रणालीकै अक्षमताका रूपमा विश्वभरि नराम्ररी नाङ्गो रूपमा प्रस्टिएको छ । आय असमानता बढ््दो छ । प्राकृतिक स्रोतको दोहन विनाशकारी तहमा पुगेको छ । सामाजिक र सांस्कृतिक क्षेत्रमा निकै ठूला विचलनहरू देखिँदैछन् । यो समग्र स्थितिलाई हेर्दा वैकल्पिक व्यवस्थाका रूपमा समाजवाद अपरिहार्यजस्तो प्रतित हुन थालेको छ तर यस क्षेत्रमा मुख्यतः नेपालमा समाजवाद एउटा फेसनका रूपमा सबैले आआफ्ना घोषणापत्रमा लेख्नैपर्ने जस्तो देखिएको छ । समाजवाद के हो, यसले नागरिकको जीवनमा नयाँ कुरा के दिन्छ भनेर खोज–अनुसन्धान गर्नु र विषयलाई जनताले बुझ्ने गरी सरलीकृत गर्दै प्रस्ट्याउनु हाम्रो विचारधारात्मक अभिभारा हो । साथै हामीले भन्दै आएको समाजवाद आउँछ कसरी ? वैज्ञानिक समाजवाद भन्नु र समाजवाद मात्र भन्नुमा के अन्तर छ ? के संसदीय व्यवस्थालाई शान्तिपूर्ण ढङ्गले स्वतस्फूर्त रूपमा समाजवादमा पुर्याउन सकिन्छ ? के जनमतसङ्ग्रहको कार्यनीतिले समाजवादी सणनीतिसँग तादात्म्य राख्छ ? भन्ने विषयमा प्रस्टता पार्नु र एउटै वाक्यमा भन्दा समाजवादका पक्षमा जनमत निर्माण गर्नु हाम्रो वैचारिक कार्यभार हो ।

(ख) सङ्गठनात्मक कार्यभार

कुनै खास कामका निम्ति मिसन मात्र राम्रो हुनु सफलताका लागि पर्याप्त मान्न सकिन्न । राम्रो उद्देश्य प्राप्तिका लागि तदनुरूपको सङ्गठन, सङ्गठनात्मक प्रणाली र पद्धति पनि चाहिन्छ । पार्टीमाथिको प्रतिबन्धपछि एउटा शुभेच्छुक संस्था र आस्थाका आधारमा कैयौँ जनपक्षीय पत्रकारहरूमाथि मुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना तथा धरपकड गर्ने काम निरन्तर भैरह्यो जसले लक्ष्यको तुलनामा सङ्गठन निर्माण र सुदृढीकरण निकै अपर्याप्त हुन गएको छ भने अर्कोतिर समग्र पत्रकारिता आन्दोलनको विकाससँगै स्वयम् पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारिताकै क्षेत्रमा पनि केही समस्या उत्पन्न भएका छन् । सँगसँगै आजको आवश्यकताको उचाइअनुसार जनपत्रकार सङ्गठन नेपालको सङ्ख्यात्मक वृद्धि पनि हुन सकिरहेको छैन । यो स्थितिमा एकातिर एक गाउँपालिका एक जनपत्रकारसहित समाजका विभिन्न महत्वपूर्ण क्षेत्रहरूमा हाम्रो उपस्थिति हुने गरी सङ्गठनको सङ्ख्यात्मक वृद्धिलाई जोड दिनुपर्छ भने अर्कातिर सङ्गठनमा आबद्ध सदस्यहरूलाई निरन्तरको आधारभूत तालिम र प्रशिक्षण दिँदै उच्च र मध्यम तहको विधागत र विषयगत प्रशिक्षणलाई आआफ्नो ठाउँमा सञ्चालन गर्नुपर्दछ । सङ्गठन निर्माण र विस्तार गर्दा पत्रकारिता गरिरहेका, पत्रकारिता पढिरहेका र पत्रकारितामा रुचि र जिज्ञासा राख्ने पिँढीबाट उत्पादन गर्ने, विभिन्न प्रगतिशील भूमिकामा रहेका पत्रकारहरूलाई रूपान्तरित गर्दै सङ्गठित गर्ने हाम्रो नीतिका आधारमा आगामी केही समयपछि कम्तीमा एक हजारजनाको साङ्गठनिक लक्ष्यसहित अगाडि बढ्नु हाम्रो सङ्गठनात्मक कार्यभार हुनेछ ।

(ग) अर्थोपार्जनसम्बन्धी कार्यभार

जनपत्रकार सङ्गठन नेपाल श्रमजीवी पत्रकारहरूको पेसागत सङ्गठन हो । पेसागत सङ्गठन हुनुको कारणले सङ्गठनका हरेक सदस्य कुनै न कुनै रूपमा निश्चित सञ्चार गृह÷मिडियाहरूसँग आबद्ध हँुदै जीविकोपार्जन गर्न र त्यसका लागि हामीले छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता र अनलाइन पत्रकारितालाई सँगसँगै सञ्चालन गर्दै लग्ने नीति लिनुपर्दछ । परम्परागत प्रविधिलाई पनि नछोड्ने र आधुनिक प्रविधिमा जोड दिनेबारे ध्यान पुर्याउनुपर्छ । यसो गर्दा कामको प्रभावकारिता, सुगमता र लागतका दृष्टिले पनि अनलाइन माध्यम नै मुख्य भूमिकामा हुने भएकाले यसको सङ्ख्यात्मक वृद्धि गर्दै एक जिल्ला एक अनलाइन मिडिया हुने गरी सोच्नुपर्छ । पत्रकारहरू उत्पादन गर्ने लक्ष्य राखेर हामीले थुप्रै पत्रकारलाई प्रशिक्षित गर्दा पनि उनीहरूको निरन्तरता र पत्रकारितामा टिकिरहने चुनौती नै सङ्गठनात्क क्षेत्रको एक मुख्य समस्या र सिकाइ पनि हो । यसलाई हल गर्न मिडियाकर्मी सँगसँगै मिडिया पनि अनिवार्य सर्त बनाउँदै मिडियाको सङ्ख्यात्मक वृद्धिका लागि सम्भाव्यता अध्ययन गर्दै योजना निर्माण गर्नुपर्छ भने अकातिर हामीले सञ्चालन गर्ने मिडियाहरूमा व्यक्तिगत स्वामित्वभन्दा सामूहिक र संस्थागत एवम् सहकारी प्रणालीमा आधारित आर्थिक दृष्टिकोणसहित पत्रकारिता गर्नु हाम्रो आर्थिक कार्यभार बनाउनुपर्छ । साथै मिडियामा विदेशी लगानी र विज्ञापनका नाममा सञ्चारमाध्यमद्वारा हुने मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताविरोधी हर्कतलाई निस्तेज गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्दछ ।

(घ) समसामयिक कार्यभार

सामान्यतया पत्रकारितालाई आवाजविहीनहरूको आवाज भन्ने गरिन्छ । समाजमा जो आर्थिक, राजनीतिक रूपमा शक्तिविहीन छन् उनीहरूको आवाजलाई प्रवाहीकरण गर्नु मिडियाको धर्म हो भन्ने कुरालाई सैद्धान्तिक दृष्टिले स्वीकार गरिए पनि व्यवहारमा निकै समस्याहरू छन् । सञ्चार गृहमा लगानी कुन वर्गको छ, उसैको नीति निर्माणदेखि कार्यक्रमको उत्पादन र प्रसारणमा समेत निर्णायक भूमिका हुने कुरा स्वतः छ । नेपालका मिडियाहरूको ठूलो हिस्सामा सीमित धनाढ्य वर्ग, कर्पोरेट हाउस र तथाकथित प्रभुत्वशाली वर्गको लगानी छ । उनीहरूले उत्पादन गर्ने कार्यक्रम र सामग्रीहरू साँच्चिकै अर्थमा आवाजविहीनहरूको आवाज भन्दा पनि नाफामुखी, बजारमुखी र विज्ञापनमुखी नै देखिन्छ । समाजमा हुने घटनाबारे नागरिकलाई जानकारी गराउने र सुसूचित गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा निजी स्वामित्वमा सञ्चालित र नाफाका निम्ति बजारको अन्तरक्रियामा आधारित कर्पोरेट हाउसको हुन्छ, त्यहाँनेर स्वाभाविक रूपमा सूचनाद्वारा नागरिकलाई सुसूचित गर्नेभन्दा सूचनाको ‘मेनिपुलेसन’ हुन जान्छ । बजार भनेको यस्तो प्रक्रिया हो जहाँ हरेक वस्तु तथा सेवाहरूको क्रय–विक्रय नाफाका लागि गरिन्छ । जब हरेक वस्तु र सेवाको अन्तिम उद्देश्य नाफा प्राप्ति हुन्छ, त्यहाँ सत्यतथ्य भन्ने कुरा झूट हुन्छ । बजारको विशेषता नै कुनै वस्तु तथा सेवाहरूको उत्पादन र उपभोग सामाजिक र नैतिक हिसाबले सही कि गलत भन्दा पनि कुन वस्तु तथा सेवाले बढीभन्दा बढी नाफा दिन्छ त्यो नै सही र नैतिक भन्ने हुन्छ । त्यसकारण सही सूचना, सत्यतथ्य सूचना र आवाजविहीनहरूको आवाजका लागि सूचना प्रवाह गर्ने व्यक्तिले होइन, समाज र राज्यले मात्र सक्दछ भन्ने कुरालाई स्थापित गर्नुपर्दछ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको रक्षा र सूचनाको हकलाई नेपालमा पत्रकारिता आन्दोलनको मिसनका रूपमा बुझिँदै आएको छ, यसप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ र हुनैपर्छ तर समाजका सबै वस्तु र चेतनाको परिवर्तनको प्रवाहसँगै नेपाली पत्रकारिता जगत्को मिसन पनि फेरिनु जरुरी छ । जतिबेला मुलुकमा पार्टीहरूमाथि प्रतिबन्ध थियो, निर्दलीय पञ्चायती व्यवस्था थियो, समाचार लेखेकै कारण पत्रकारहरूमाथि मुद्दा लगाउने र जेल पुर्याउने अवस्था थियो तर अहिले संविधानले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई स्वीकार गरिसकेको छ भने अर्कोतिर मुलुकका मुद्दाहरू बदलिएका छन् । नेपाली समाज सात साल र छयालीस सालवरिपरि छैन, सामाजिक सशक्तीकरणको स्तर नयाँ चरणमा आइपुगेको छ र सबैले आफ्ना दस्ताबेजहरूमा समाजवादलाई गन्तव्यका रूपमा स्वीकार गरिसकेको स्थितिमा नेपालको पत्रकारिता आन्दोलनको आगामी मिसन समाजवाद हुनुपर्छ र हामीले यो दिशामा तर्कसङ्गत ढङ्गले छलफल, बहस र अन्तरक्रियालाई घनीभूत गर्नुपर्दछ ।

कुनै सार्वजनिक विषय वा घटनाबारे समाचार उत्पादन वा सम्प्रेषण गर्दा फाइभ डब्लू प्लस वान एचको नियमसँगै एबीसीको सिद्धान्त अवलम्बन गरिएको हुनुपर्छ । अर्थात् समाचार सत्यतथ्य, सन्तुलित र विश्वसनीय हुनुपर्दछ । तर यहाँनेर हामी प्रस्ट हुनुपर्ने विषय के छ भने जसलाई हामी सत्यतथ्य भन्छौँ त्यो वर्गीय हुन्छ । जसरी समाज भिन्न स्वार्थमा विभाजित हुन्छ तब एउटै घटनालाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोण पनि विभाजित हुन्छ । वर्गस्वार्थहरूको प्रभाव घटना विश्लेषण गर्ने प्रक्रियामा पनि पर्छ । नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्नु र त्यसका लागि कृष्ण सेनहरूले कलम चलाउनु मेहनतकस जनताका लागि सत्य थियो भने त्यही कुरा तत्कालीन सत्तासीन शासकहरूका लागि अपराध थियो र त कृष्ण सेनहरूलाई उनीहरूले हत्या गरे । समकालीन राजनीतिमा असफल र दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्नु परिवर्तनकारीहरूका लागि सत्य हो भने त्यही कुरा संसद्वादी दलालहरूका लागि गलत । यसरी हेर्दा के भन्न सकिन्छ भने सत्य भन्ने चीज सापेक्षित हुन्छ, निरपेक्ष हुँदैन । गतिशील हुन्छ, जड हुँदैन । वर्गस्वास्र्थमा आधारित हुन्छ, वर्गनिरपेक्ष हुँदैन । दिक, काल र परिस्थितिअनुसार र यसलाई परिभाषित गर्न सकिन्छ ।

अन्त्यमा

पत्रकार र पत्रकारिता यही समाजका उत्पादन हुन् । हरेक व्यक्ति पत्रकार हुनुअघि नागरिक हो । यसको अर्थ पत्रकारहरूको सामाजिक उत्तरदायित्व पनि उत्तिकै छ । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो जिम्मेवारी हो । एउटा कथित स्वतन्त्र पत्रकारले निर्मला पन्तको हत्याको विवरण सम्प्रेषण गर्न सक्छ तर उसले कानुनी कारबाही र बलात्कार उत्पादन गर्ने सामाजिक आर्थिक संरचना बदल्ने सामाजिक दायित्व निर्वाह गर्न सक्तैन । एउटा स्वतन्त्र पत्रकारले सामाजिक–सांस्कृतिक विकृतिविरुद्ध प्रहार गर्न सक्ला, गरिब, दुःखी र पीडितका चित्कारहरूको कलात्मक बयान गर्न सक्ला तर ऊ यी चित्कारहरू पैदा गर्ने संरचनागत कारण बदल्ने अभियन्ता बन्न सक्तैन । एउटा स्वतन्त्र पत्रकार हाम्रो मुलुकको सीमा क्षेत्रमा निरन्तर भइरहने अतिक्रमण र भारतले गरिरहने हस्तक्षेपको साङ्गोपाङ्ग विवरण त पस्किन सक्ला तर उसले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन र नागरिकमाथिको ज्यादती ठान्दै जनतालाई सुसज्जित गर्ने, आन्दोलित गर्ने र आवश्यक पर्दा अत्याचारविरुद्ध भौतिक प्रतिरोधमा उत्रिन अपिल गर्न सक्नेछैन जुन कुरा जनपक्षीय पत्रकारहरूले गर्नैपर्छ र त हामी आफूलाई सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताका अगुवा र सिपाही ठान्छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :