वैज्ञानिक समाजवाद नै किन ?

वैज्ञानिक समाजवाद नै किन ?

(१) मार्क्सवादी राजनैतिक अर्थशास्त्रमा एउटा सिद्धान्त छ labour theory of value अर्थात मूल्यको श्रम सिद्धान्त। यस अनुसार संसारमा मानवीय आवश्यकता/तृप्ति परिपूर्तिका लागि जे जति बस्तु वा सेवाहरू रचना भएका छन् यिनका दुई प्रकारका मूल्य हुन्छन् : उपयोग मूल्य अर्थात बस्तुको उपयोगमा आउने गुण र बिनिमय मूल्य अर्थात क्रय बिक्रयको क्रममा माग र पूर्तिको सिद्धान्त अनुसार कायम हुने बजार मूल्य ।जस्तो कि नदीको किनारको बालुवा वा जङ्गलमा रहेको रुखमा जबसम्म मानवीय श्रम मिसिँदैन नि तबसम्म न त त्यसको बिनिमय मूल्य हुन्छ न त त्यसले मानवीय तृप्ति पूरा गर्न उपयोगिता नै सिर्जना गर्न सक्छ । यसरी प्रकृति आमा हो भने मानिसको श्रमशक्ति बुवा। प्रकृति र श्रमको समागम बिना कुनै बस्तुमा उपयोगिता पैदा गर्न असम्भव छ। तर शास्त्रीय अर्थशास्त्रले भने बस्तुको रूप परिवर्तन गरेर, समय परिवर्तन गरेर र स्थान परिवर्तन गरेर उपयोगिता पैदा गर्न सकिन्छ भन्छ जुन सरासर झूट हो जहाँ श्रमको निर्णायक भूमिकालाई लुकाइएको छ। मार्क्स एङ्गेल्सले त वानरबाट नरवानर बन्ने प्रक्रियामा श्रमको भूमिका भनेर निकै वैज्ञानिक व्याख्यासमेत गर्नु भएको छ । मान्छेको बाणिको प्रस्फुटन नै अन्ततः मानिसको श्रमसिल प्रयत्नकै प्रतिफल थियो । यहाँनेर हामी थोरै स्पष्ट के मा हुनुपर्छ भने सामान्यतया हामीले गर्ने दैनिक काम / क्रियाकलापहरू श्रम जस्तो लागेपनि पुँजीवादी उत्पादन प्रणालीमा भने हामीले गर्ने सबै कामहरू श्रम अन्तर्गत पर्दैनन् । जुन काम ज्यालाका निमित्त गरिन्छ त्यो नै श्रम हो है । कुनै शिक्षकले आफ्ना बच्चाहरूलाई पढाउनु, हामीले आफ्नो सेभिङ्ग आफैँ गर्नु वा आफ्नै मनोरञ्जनका लागि कलाकारले गाउनु श्रम होइन । जब यीनै कामहरू निश्चित ज्याला प्राप्तिका लागि गरिन्छ अनि मात्र यसलाई श्रम भन्न सकिन्छ । यसरी संसारको हरेक बस्तु रचनामा श्रम निर्णायक छ तर बस्तुको असली/ प्राकृतिक रचनाकार जुन श्रमिक वर्ग हो उ यसको स्वामित्वबाट बन्चित छ। हामी बिचार गरौँ तपाईंको बारीमा तपाईंको श्रम र पसिना खर्चेर उत्पादन गरेको कुनै फलफूल, तरकरी वा कृषिजन्य फसलको स्वामी कोही अरू नै छ र तपाईंले त्यसको आफूखुसी उपभोग गर्न पाउनु हुन्न वा उत्पादनको थोरै भाग मात्र पाउनु हुन्छ भने यो प्रणालीलाई कसरी न्यायपूर्ण मान्न सकिन्छ। जो खास उत्पादक हो उसैलाई त्यसको स्वामी हुन दिनुपर्छ भन्ने मान्यता, प्रणाली, सिद्धान्त र व्यवस्था नै समजवाद हो ।

(२) सामाजवाद पनि थरिथरिका छन् र थिए । मार्क्स एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र सन् १८४८ मा समाजवादलाई पनि विभिन्न श्रेणिमा राख्नु भएको छ जस्तो कि सामन्ती समाजवाद, निम्नपुँजीवादी समाजवाद, जर्मन अथवा सच्चा समाजवाद, रुढिवादी अथवा पुँजीवादी समाजवाद, आलोचनात्मक; काल्पनिक समाजवाद र साम्यवाद। नेपालमा पुरातनवादी राप्रपा, काँङ्ग्रेस, एमालेदेखि तमाम क्रान्तिकारी शक्तिहरू सबैले आ-आफ्ना दस्तावेजहरूमा समाजवाद लेख्न भने कसैले छुटाएका छैनन् । हुँदाहुँदा संविधानको पेटबोलिमा समेत मुलुकको अर्थतन्त्र समाजवाद उन्मुख हुने भनेर लेखिएको छ। मानौँ समाजवाद एउटा यस्तो टोपी हो जसलाई लगाउँदा लगाउँदै त्यो फाटेर त्यसको आकारप्रकार नै नचिनिने गरि बदलिसकेको जस्तो प्रतित हुन थालेको छ । यतिबेला संसारभरका जनतन्त्रवादीहरू देखि निरंकुश र कुख्यात सैनिक शासकहरूले समेत आफूलाई समाजवादी भएको स्वाङ रच्नु परेको छ। हुनत मार्क्स अघि पनि रोबर्ट ओबेन, थोमस मुर , सेन्ट साइमन जस्ता समाजवादी थिए तर तिनिहरू काल्पनिक समाजवादीहरू थिए न कि वैज्ञानिक ।

(३) सामजवादलाई हामीले केवल समाजवाद भनेर पुग्दैन वैज्ञानिक सामाजवाद नै भन्नुपर्छ । यसो भन्नुको पछाडि दुइटा कारणहरू छन् एक ,यो समाज विकासको ऐतिहासिक भौतिकवादी सिद्धान्त र मान्यतामा आधारित छ यस अनुसार आजसम्मको मानव सभ्यताको इतिहासलाई आदिम साम्यवाद, दासयुग, सामन्तवादी युग र पुँजीवादी युग गरि चार ओटा उत्पादन प्रणालीमा बिभक्त गर्दै यसपछि वैज्ञानिक साम्यवादको परिकल्पना गरिएको छ। यसरी एउटा युगलाई बिस्थापित गरि अर्को युग आउने क्रममा ऐतिहासिक भौतिकवादी मान्यता बमोजिम उत्पादक शक्ति (श्रम, श्रमको औजार र श्रमको वस्तु) उत्पादन सम्बन्ध (उत्पादनका औजारमाथिको स्वामित्वको रूप) बीचको आपसी अन्तरसम्बन्ध र अन्तरविरोधले मुख्य भूमिका खेलेको हुन्छ। विकास उन्मुख उत्पादक शक्ति र पिछडिएको यथास्थितिवादी उत्पादन सम्बन्ध बीचको अंतर्विरोधको क्रान्तिकारी समाधानको प्रकृयाद्वारा नै पुरानो व्यवस्थाको बिस्थापन र नयाँ समाज व्यवस्थाको उदय हुने हो । हुनत आदर्शवादी बिचारकहरूले पनि आजसम्मको युगलाई सत्ययुग, त्रेता युग, द्वापर युग र कलियुग हुँदै पुन सत्य युगको परिकल्पना गरेका छन्। तर उनीहरूले एउटा युगको अन्त्य र नयाँ युगको आगमनका पछाडि कुन चाहीँ तत्व र नियमले काम गरेको हुन्छ भन्ने कुरामा उनीहरू नाजवाफ छ्न्।मार्क्सवादी दृस्टिकोण अनुसार वर्गसंघर्ष, बल प्रयोगको सिद्धान्त, मेहेनतकस वर्गको अधिनायकत्व, समाजवाद र साम्यवाद नै समाजवाद प्राप्तिको अपरिहार्य बाटो हो । दुई, आजको युग विज्ञान – प्रविधि/सुचना प्रविधिको युग हो । यो भनेको इतिहासमा कहिल्यै नदेखिएको उत्पादक शक्तिको विकासको अभूतपूर्व र माथिल्लो चरण पनि हो । मार्क्स लेनिनले जुन समाजवादी क्रान्तिको बिचारधारात्मक सश्लेसण गरे त्यो तत्कालिन युरोपमा भएको औद्योगिक क्रान्ति, बाफबाट चल्ने इन्जिनको आबिस्कार, रेलरोडको व्यापक बिस्तार र टेलि कम्युनिकेसनमा आधारित थियो। तर पछिल्ला दुई सय वर्षको इतिहास हेर्दा आज हामी चौथो औद्योगिक क्रान्तिको चरणमा छौँ । आर्टिफिसियल इनटेलिजेन्स, नानो टेक्नोलोजी र बायो इन्जिनियरिङ जस्ता एकीकृत प्रविधिको चरणमा छौँ । यसले आर्थिक उत्पादकत्वमा अतुलनीय स्केलमा वृद्धि ल्याएको छ । यो पछिल्लो बिकासक्रमलाई मुख्य आधार बनाएर नै अबको समाजवादी क्रान्ति र व्यवस्था निर्माण गर्ने सोंच नै वैज्ञानिक समाजवाद हो ।

(४) अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक मुलूकको प्रधान अन्तरविरोध हल गर्न नौलो जनवादी क्रान्तिको राजनैतिक कार्यक्रम सहित गाउँले शहर घेर्ने दीर्घकालीन जनयुद्धको रणनीति अनुसार माओले चिनियाँ क्रान्तिको सन्दर्भमा यसको बिकास र प्रयोग गर्नु भयो । नौलो जनवाद कम्युनिस्ट पार्टीको अगुवाइमा मजदुर किसान र राष्ट्रिय पुँजीपति वर्ग सहितको सयुक्त अधिनायकत्वमा आधारित हुन्छ । तरआज यो कार्यक्रम असान्दर्भिक भैसकेको छ । एकातिर सन १९३६ को वरिपरी माओले अगाडि सारेको यो बाटो क्रान्तिको बिजय पछिको छ वर्षपछि तुरुन्तै बदल्नु परेको थियो अर्थात यो कार्यक्रम चिनमै पनि ठिक ढंगले लागू हुन सकेको देखिएन भने अर्कातिर नौलो जनवादको प्रयोगले नै चीनमा प्रतिक्रान्तिको भौतिक परिवेश तयार गरेको मानिन्छ । सँगसँगै हामीले ख्याल गर्नुपर्ने सवाल के पनि हो भने समयका दृस्टिले पनि १९३६ को भन्दा अहिले उत्पादक शक्तिमा निकै फेरबदल आएको छ । हामीले बस्तुलाई गति र अन्तर्विरोधमा हेर्ने भनेको पनि यहिँनेर हो। तर नेपालमा राजतन्त्र अन्त्य भए पनि सामन्तवादका कतिपय अवशेस अझैँ छन् र यसलाई समाजवादी क्रान्तिकै प्रकृयामा हल गरिनुपर्छ।

(५) नेपाली समाजको आजको उत्पादन सम्बन्धको मुख्य चरित्र अर्ध सामन्ती र नव औपनिवेशिक मानिँदै आएको छ र देशको मुख्य अन्तरबिरोध दलाल पुँजीवादी उत्पादन सम्बन्धसँग छ । नेपाल जस्ता तेस्रो र बिकासोन्मुख मुलूकको मुख्य समस्या नै यहीँ हो। नेपालको जनसंख्याको एक तिहाई हिस्सा विश्व पुँजी बजारमा ज्याला थाप्छ । अर्थतन्त्रको ठूलो हिस्सा आयातित बस्तु माथिको भन्सार महसुलमा आधारित देखिन्छ । कुल ग्राह्स्थ उत्पादनमा प्राथमिक र द्वितिय क्षेत्रको योगदान निकै कम र असन्तुलित छ । राष्ट्रिय पुँजीपतिको योगदान नगन्य छ । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति लगायत समग्र समाज दिनप्रतिदिन दलालीकरण हुँदै गइरहेको छ। तर यो जे जस्तो भइरहेको छ अन्ततः यो सिङ्गो समाजको पुँजीवादीकरण नै हो। तर यो मार्क्सकालिन युरोपको जस्तो औद्योगिक, प्रतिस्पर्धात्मक र प्रगतिशील पुँजीवाद चाहीँ होइन र भूमण्डलिकृत पुँजीवादको आजको दुनियाँमा त्यो खाले प्रगतिशील पुँजीवादको बिकास हुन पनि सक्दैन। यो स्थितिलाई हेर्दा के भन्न सकिन्छ भने नेपालमा हुने अबको क्रान्तिको मुख्य स्वरुप समाजवादी नै हुनुपर्छ। ऐतिहासिक बिकासको चरण अनुसार पनि पुँजीवाद पछि अपरिहार्य रूपमा आउने युग नै समाजवाद हो।

(६) आज बिश्वमा लिबेरल डिमोक्रेसीको नाममा जसरी संरचनागत समायोजन गरियो यसले थप मानवीय संकट निम्त्याएको छ। धनी र निरपेक्ष गरिबी बीचको आय असमानता निकै डरलाग्दो छ। नाफा र बजारका निम्ति हुने नव धनाड्य वर्गको प्रतिस्पर्धाको परिणाम पर्यावरणीय क्षयिकरणको प्रकृया तिब्र भएको छ । जलबायु परिवर्तन र हरितगृह ग्यासको उत्सर्जनको कारण पृथ्वीको औसत तापमान बढ्दै जाँदा मानबजातिकै अस्तित्व माथि प्रश्न चिन्ह खडा भएको छ । यसले हाम्रा अगाडि बिनास वा समाजवाद भन्ने प्रश्न खडा गरिदिएको छ भने अर्कातिर स्वयम् साम्म्राज्यवादी चिन्तकहरूसमेत आफैँले इतिहासको अन्त्य र अन्तिम मान्छे भनेर गरेको सश्लेसनमा नयाँ संकट मडारिन थालेपछि एक पटक पुनः पुँजीवादको भविष्यबारे नयाँ ढंगले सोच्नु पर्ने ठाउँमा आइपुगेको देखिन्छ । पछिल्लो महामारीको रूपमा आएको कोरोना, यसको व्यवस्थापन र यस सन्दर्भमा देखिएका सकारात्मक नकारात्मक परिदृश्यले अब बिश्वका अगाडि समाजवाद अपरिहार्य विकल्प बन्न गएको छ।

(७) सामान्यतया हरेक व्यक्तिको क्षमता अनुसारको काम र काम अनुसारको माम समाजवादी आर्थिक बितरणको सिद्धान्त हो। यति हुँदाहुँदै पनि यसलाई निरपेक्ष रूपमा बुझिँनु हुँदैन । देश, काल र परिस्थितिको आधारमा समाजवादको विकास र प्रयोग गर्दै मानबजातिलाई आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा पुर्याउनु यसको अन्तिम ध्येय हो। मार्क्सले तत्कालिन युरोपका केही उत्पीडित जातिहरूको पहिचान र मान्यतालाई समाजवाद भन्नु भएको थियो भने लेनिनले त रसियन क्रान्तिपछि “सिङ्गो देशको विद्युतिकरण नै समाजवाद हो” भन्नु भएको थियो। हाम्रो सन्दर्भमा नेपाल अहिले पन्ध्रौँ आवधिक योजनामा अगाडि बढिरहँदा मुलूक अल्पबिकसित देशको सुचिबाट अझैँ माथि उक्लिन नसकेर संसारका निर्धनतम देशकै सुचीमा छ। वार्षिक व्यापार घाटा निकै असन्तुलित र वार्षिक बजेटकै हाराहारीमा छ। परम्परागत पेशा, ज्ञान, सीप र कलाहरू अतिक्रमित र बिस्थापित भएका छन्। कृषि भूमिमा द्वैत स्वामित्वका कारण उत्पादन र उत्पादकत्व घट्दै गएको छ। जिडिपिमा उद्योगको योगदान पाँच प्रतिशातमा खुम्चिनु निकै डरलाग्दो स्थिति हो। समग्रमा भन्दा देश परनिर्भरताको पराकाष्ठामा पुगेको देखिन्छ। यसरी हेर्दा समावादको मुख्य बिशेषता न्यायपूर्ण बितरण भए पनि हाम्रो सन्दर्भमा समाजवादको पहिलो कार्यभार भनेको “निजी र सार्वजनिक क्षेत्रको सन्तुलित साझेदारी सहित स्वाधिन, आत्मनिर्भर, राष्ट्रिय, औधोगिक र उत्पादनशिल पुँजी निर्माणका लागि दलालपुँजीको राष्ट्रियकरण” हो। यसो गर्दा कृषि र उद्योगलाई सँगसँगै अगाडि लिएर जाने दुई खुट्टे अर्थनीति अङ्गाल्नु पर्छ यो नै आजको रास्ट्रवाद/देशभक्ति पनि हो।

(८) समाजवादको प्रयोगमा खासगरी बिसौँ शताब्दीमा स्वयम् कम्युनिस्ट पार्टीकै कमान्ड, कन्ट्रोल र क्याप्चरिङ जस्तो जुनस्थित देखियो यसले गर्दा कैयौं महान् र गुणात्मक उपलब्धिका बाबजुद बुर्जुवा र संशोधनवादीहरूले समाजवादी बिचरधारा माथि नै प्रश्न उठाउँने मौका पाए र आज दुनियाँमा वैज्ञानिक समाजवाद कुनै पनि देशमा शक्ति र सत्तामा छैन। सार्वजनिक सम्पत्तिको केन्द्रिकरण राज्य संचालकहरूमा हुँदै जाँदा कम्युनिस्ट पार्टीभित्रै नयाँ वर्गउत्थान भएर समाजवादी सत्ताहरू ढल्दै गए । यो घटनाक्रमको सम्यक शिक्षासहित अबको वैज्ञानिक समाजवादी व्यवस्थामा कस्तो आर्थिक दृष्टिकोण अबलम्बन गरिन्छ त्यो नै महत्वपूर्ण हुनेछ। त्यसका लागि राज्यसत्ताको कार्यकारी नेतृत्वलाई एउटा आदर्शको रूपमा स्थापित गर्दै उसको क्षमता बमोजिम काम र जिम्मेवारी तथा नेतृत्वको भौतिक आवश्यकताको सापेक्ष परिपूर्ति राज्यले नै गर्ने नीति हुनुपर्छ जसले गर्दा शक्तिमा भएको बेला राज्य शक्तिको दुरुपयोग गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न सकियोस् ।

(९) पुँजीवाद र समाजवादका कैयौँ पक्षमा आधारभूत भिन्नताहरू छन्। पुँजीवादी उत्पादन प्रणालीमा बस्तु तथा सेवाहरूलाई आर्थिक र गैर आर्थिक बस्तुको रूपमा बिभाजन गरिएको हुन्छ । आर्थिक बस्तु त्यो हो जसले मानवीय आवश्यकता पूर्ति गर्नुका साथै नाफा पैदा गर्छ।पुँजीवादमा त्यो बस्तु उत्पादन गरिन्छ जसले नाफा अर्थात अतिरिक्त मूल्य पैदा गर्छ। हरेक सीप, क्षमता र योग्यताको निर्धारण बजारमा हुने माग र पूर्तिको अन्तर्कृयाले गर्छ। बस्तु तथा सेवाको उत्पादन र उपभोगमा सामाजिक, सांस्कृतिक र नैतिक मूल्यहरूको कुनै गुन्जायस रहन्न।मानवीय श्रम मात्र होइन स्वयम् मान्छे समेत बजारको क्रय बिक्रयका लागि तयार गरिएको माल हो। यसको ठिक विपरीत समाजवाद योजनाबद्ध उत्पादन प्रणाली हो। के उत्पादन गर्ने, कति उत्पादन गर्ने भन्ने कुरा समाज र राज्यको आवश्यकताद्वारा निर्धारण हुन्छ न कि नाफाका लागि। कुनै बस्तु वा सेवाहरूको उत्पादनले जतिसुकै नाफा दिने भए पनि यदि त्यो बस्तु नागरिकको जीवन र सामाजिक जीवनको प्रतिकूल हुन्छ भने त्यस्तो बस्तुको उत्पादन र बिनिमयमा रोक लगाइन्छ किनकि समाजवादी आर्थिक प्रणाली भनेको नाफामा भन्दा पनि समाजको कल्याण र मानव केन्द्रित दृस्टिकोण हो। जबकी पुँजीवाद नाफामा आधारित प्रणाली भएकोले लागुऔसध दुर्ब्यसनी, जाँडरक्सीको निर्बाद खरिदबिक्री देखि बेश्यालयसम्म खुलेआम छुट दिइन्छ र यौन, प्रेम र सौन्दर्य समेत खरिदबिक्रीको बस्तु हुनजान्छ।

(१०) निरन्तर बेरोजगारी पुँजीवादको अर्को विशेषता हो। नाफाका निम्ति पुँजिपतिहरूबीच आपसी प्रतिस्पर्धाका क्रममा आफ्नो बस्तु तथा सेवालाई सस्तो बनाउन प्रति इकाई उत्पादन लागत घटाउनु पर्ने हुन्छ अनिमात्र नाफालाई अधिकतम बनाउन सकिन्छ । एकातिर सस्तो श्रम खोज्नु पर्ने हुन्छ त्यसका लागि अतिरिक्त मूल्यको निरपेक्ष र सापेक्ष शोषण बढाउँदै लिनुपर्ने हुन्छ भने अर्कातिर पुँजीपतिहरूले आफ्नो नाफालाई अधिकतम बनाउन यन्त्र, मेशिन र प्रविधिमा निरन्तर विकास गर्दै लिनु पर्ने हुन्छ । यसरी पुँजीवादमा हुने प्रविधिको विकासले रोजगरीको पुरानो सन्तुलन भत्काई दिन्छ , श्रमिकहरू अझ बेरोजगारी हुँदै जान्छन् जसलाई प्राविधिक बेरोजगारी भन्ने गरिन्छ। यसैलाई पुँजीवादी अर्थशास्त्रीहरू के दाबी गर्छन् भने आज संसारमा कोही धनी छ भने उ श्रमिक वर्गको अतिरिक्त श्रम शोषण गरेर नभै आफ्नो खोज अनुसन्धान र प्रविधिमा गरिएको आबिस्कारले हो जसलाई एच एफ नाइट लगायतका अर्थशास्त्रीहरूले इन्नोभेसन थेरी अफ प्रोफिट भनी व्याख्या गरेका छन्। युरोप अमेरिका लगायतका विकसित अर्थतन्त्रको बेरोजगारीको मुख्य चरित्र नै यस्तो देखिन्छ।

वास्तवमा बेरोजगारी भनेको मानवीय श्रम र पुँजी बीचको कम्बिनेशन असन्तुलित हुनु हो। जबसम्म पुँजीवाद रहन्छ तबसम्म यो समस्या रहिरहन्छ। जब समाजवाद लागू हुन्छ नि यो प्रणाली भनेकै योजनाबद्ध अर्थ प्रणाली हो यसको पहिलो शुरुवात शोभियत संघले बिश्वमा सन् १९२८ मा गरेको थियो। तीसको दशकमा पुँजीवादी व्यवस्थामा महामन्दी आउँदा रूस र जर्मनी जस्ता देशहरू यसको बिनासकारी मारबाट सुरक्षित रहेका थिए। योजनाबद्ध प्रणालीमा के उत्पादन गर्ने, कति उत्पादन गर्ने, पुँजी र श्रमको कम्बिनेशन कसरी गर्ने तथा भएको जनसंख्यालाई कुन कामका लागि कति बितरण गर्ने भन्ने कुरा राज्यको योजनाअनुसार गरिन्छ जहाँ बेरोजगारीको सम्भावना रहँदैन। यसको बिपरीत पुँजीवाद भनेको नाफाका लागि गरिने आराजक उत्पादन प्रणाली भएकोले जहिल्यै बेरोजगारीको समस्या रहिरहन्छ यसको दिगो समाधान समाजवाद बाहेक अरू ढंगले छैन।

(११) पुँजीवादको सबै भन्दा क्रुर पक्ष भनेको यो प्रणालीमा आवधिक रूपमा आइरहने आर्थिक संकट हो जसलाई पुँजीवादी अर्थशास्त्रीहरू ट्रेड साइकिल अर्थात व्यापार चक्र भन्न मन पराउछन्। पुँजीवादमा आइरहने आवधिक संकटको अस्तित्व उनीहरूले पनि स्वीकार गरेका छन्। तर उनीहरू यसलाई यो प्रणालीको अस्थायी डिस अर्डर ठान्छन् र यो संरचनाभित्रै दीर्घकालमा एड्जस्मेन्ट हुन्छ भन्ने मान्यता राख्छन्।

संकटका चार चरण हुन्छन् : मन्दी -संकट -पुनस्र्त्थान र संमृद्धि। यो निरन्तर साइकलको पाङ्ग्रा जस्तो घुमी रहन्छ। यसरी पुँजीवादमा निरन्तर संकट किन आइरहन्छ त भन्ने प्रश्नमा उनीहरूको के तर्क छ भने मानिसहरूले आफ्नो भविष्यमा आइपर्ने ज्ञय र अज्ञय प्रकारका जोखिमहरूको अनुमान गरेका हुन्छन्। भविष्यको सम्भाबित जोखिमबाट जोगिन उपभोक्ता/श्रमिकहरूले आफ्नो आयको केहि भाग बचत गर्छन् अर्थात आफ्नो आम्दानीको सबै हिस्सा खर्च गर्दैनन् र बचतको प्रबृति बढ्दै जाँदा बजारमा प्रभावकारी मागको कमि हुन गई आर्थिक संकट आउँछ भन्छन् । हामीले यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने पुँजीवाद भनेको नाफाका लागि बिस्तारित पुनरुत्पादन गरिरहनु पर्ने प्रणाली हो। यस अनुसार मु-मा-मु यसको शुत्र हो। मुद्रा लगानी गर्ने, माल उत्पादन गर्ने र अझ पहिले भन्दा बढी मुद्राका लागि उत्पादन गर्नु यसको तरिका हो जसलाई बिस्तारित पुनरुत्पादन भनिन्छ यो बिना यो प्रणाली बाच्नै सक्दैन वा पुँजीवाद पुँजीवाद रहन सक्दैन ।

यसरी बिस्तारित पुनरुपादनको प्रक्रियामा मुट्ठिभर पुँजीपतिहरूको हातमा उत्पादनका औजारहरूको केन्द्रिकरण हुँदै जाँदा उपभोक्ताहरूको खर्चयोग्य आम्दानी घट्छ र आम्दानी घटेपछि माग पनि घट्छ, माग घटेपछि पूर्ति पनि घट्छ अर्थात उत्पादन घट्छ, उत्पादन घट्दा रोजगारी कटौती हुन्छ र समग्रमा भन्दा पुरानो सन्तुलन भत्किन्छ। मार्क्सका अनुसार उत्पादनको सामूहिक चरित्र र उपभोगको निजी चरित्र नै पुँजीवादी संकटको खास कारण हो यसलाई अति उत्पादन वा उत्पादनको अराजक प्रणालीको संकट पनि भनिन्छ। पुँजीवादी व्यवस्थाको यो संकटलाई टार्न उनीहरू युद्धसमेत गर्छन्, पहिलो बिश्व युद्ध र दोस्रो विश्वयुद्ध यसैका द्योतक हुन् । आज अमेरिकी साम्म्राज्यवादले इरान, इराक, अफगानिस्तान, सिरिया लगायत बिश्वभरी मच्चाइरहेको सैन्य आतंक आफ्नो अन्तरनिहीत आर्थिक संकटलाई टार्नकै लागि हो। नाफाको दौडमा बजारको माग र क्रयशक्ति भन्दा बढी हुने उत्पादनको खपतका लागि ठूलो माछाले सानो माछलाई खाने अर्थात माछाले नै माछालाई निल्ने जीव बिज्ञानको नियम यो व्यवस्थाको अन्तर्निहीत चरित्र हो ।

(१२) नेपाल कृषि प्रधान देश हो भनिन्छ । कुल जनसंख्याको झण्डै सत्तरी प्रतिशात हिस्सा अहिले पनि निर्वाहमुखी र गुजारातन्त्र खेतीमा आशृत रहेको मानिन्छ तर जिडिपिमा कृषिको योगदान अर्थतन्त्रको एक तिहाई हिस्साभन्दा कम छ। यस क्षेत्रमा क्रान्तिकारी रुपान्तरण गरी कृषि उत्पादकत्व वृद्धि हुनसक्ने भारी सम्भावना हुँदाहुँदै पनि केही समस्याहरू छन् जस्तो कि कृषियोग्य भुमि माथिको द्वैत स्वामित्वको समस्या हल हुन सकेको छैन, खण्डिकरण हुँदै जाँदा अझ बढी सानो पैमानामा खेती गर्नुपर्ने स्थिति छ, उचित सिचाई, बीउ, मल ढुवानी र बजारको समस्या यथावत छ। नेपाल बिश्वब्यापार संगठन, बिमिस्टेक र साफ्टा लगायतका क्षेत्रीय र अन्तरास्ट्रिय संस्थाको सदस्य भैसकेपछि नेपालजस्ता देशहरूको कृषि उत्पादनले अन्तरास्ट्रिय बजारमा पहुँच स्थापित गर्ने र रोजगारी सिर्जना गरि गरिबी न्युनिकरणमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको थियो। तर परिणाम त्यसको ठिक बिपरीत देखिएको छ। बिदेशी कृषि उत्पादनको ओइरो लागेको छ, व्यवसायीकरण र बिदेशी पुँजी र प्रविधि भित्र्याउने नाममा भूमिको दलालीकरण र बिचौलियाकरण तीब्र हुँदै छ। यो समस्याबाट पार पाउन, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न खेतियोग्य भूमिको राजकियकरण गरि बृहत् पैमानामा खेती गर्न सहकारीकरण र कृषिजन्य कच्चापदार्थको औद्योगिकिकरण जरुरी छ । यसो गर्न समाजवादी व्यवस्था नै चाहिन्छ, दलाल पुँजीले त यी समस्याहरूलाई समाधान गर्ने नभै अझ बिकराल रूप लिएर आउने नै हो।

(१३) आज पुँजीवाद जुन ठाउँ र स्थितिमा छ उसले समाजवादका कैयौँ असल कुराहरूलाई आन्तरिकीकरण गरेर नै त्यो सम्भव भएको हो।लेसिज फेयर पलिसी पुँजीवादको सारभूत चरित्र हुँदाहुँदै पनि पछिल्लो समयमा उनीहरूले खासखास परिस्थितिमा राज्यद्वारा हस्तक्षेप गर्ने, सामाजिक सुरक्षामा वृद्धि गर्ने, स्वास्थ्य शिक्षाको जिम्मेदारी राज्यले लिने लगायतका कामहरू गर्दै गएको देखिन्छ । यो सङ्गै पुँजीवादीहरूको समाजवाद प्रतिको मुख्य प्रश्न नै के छ भने समाजवादले शुरुमा तिब्र आर्थिक वृद्धि गर्ने भए पनि यो केन्द्रिकृत प्रणाली भएकोले बिकासको निश्चित बिन्दुमा पुगेपछि यसको बृद्धिदर घट्दै गएर ऋणात्मक समेत हुँदै जान्छ र अन्ततः यो व्यवस्थाले समग्र भार थेग्न नसकेर ढल्छ, शोभियत सङ्घ रुस लागायतका समाजवादी सत्ताहरू त्यसरी नै ढलेका हुन्। तर हामीलाई के लाग्छ भने रुसमा त पुँजीवाद ढलेको हो समाजवाद होइन ।स्टालिनको निधनपछि बिसौँ महाधिबेशनबाट नै शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र सबै जनताको पार्टी तथा सत्ता भनेर ख्रुश्चोभी संशोधनवाद आइसकेको थियो ।नब्बेको दशकमा भएको शोभियत सङ्घको पतन त अन्ततः बजार तथा लिबेरलअर्थतन्त्रको नै पतन हो न कि समाजवादको। तर यसो भनिरहँदा समाजवादको प्रयोगमा कम्युनिस्टहरूबाट कुनै कमजोरी भएका छैनन् भन्ने होइन खासगरी व्यक्तिको निजत्व र सामूहिकताको सन्तुलन, समाजवादी व्यवस्थामा वर्ग, वर्गसंघर्ष र राज्यको बिलोपिकरणको दिशामा भएका केही प्रयोगहरू र भौतिक विज्ञानमा भएका पछिल्ला खोज र अनुसन्धानको आधारमा बिचारको बिकास एवम् सश्लेसन गर्ने प्रश्नमा गम्भीर र बिचारणीय प्रश्नहरू नउठेका होइनन्।

अन्तमा पाठकबृन्द ! आइन्स्टाइनको एउटाभनाइ राखौँ है !

“मानिस एक्लो प्राणी हुनको साथसाथै सामजिक प्राणी पनि हो। एक्लो प्राणीको हैसियतले उसले आफ्नो र उसका नजिकका आफन्तहरूको अस्तित्व रक्षा गर्न, आफ्ना निजी इच्छाहरूलाई तृप्ति गर्न र आफ्ना अन्तरनिहीत क्षमताहरूको विकास गर्ने कोसिस गर्छ । सामाजिक प्राणीको हैसियतले उसले आफ्ना सहमानवहरूबाट मान्यता र स्नेह प्राप्त गर्न, उनीहरूका सुखहरूमा भागिदार बन्न, दुःखमा उनीहरूलाई सान्तवना दिन र उनीहरूका रहनसहनका अवस्थाहरूमा सुधार ल्याउन कोसिस् गर्छ ।… व्यक्ति आफैँ सोच्न, अनुभूति गर्न, कार्य गर्न त समर्थ हुन्छ तर आफ्नो शारीरीक, बौद्धिक र सम्बेगात्मक अस्तित्वका लागि उ समाजमाथि कति धेरै निर्भर रहन्छ भने समाजको ढाँचा बाहिर उसको अस्तित्वको कल्पना गर्न र उसलाई बुझ्न असम्भव छ । समाज नै त्यस्तो बस्तु हो जसले मानिसहरूलाई भोजन, पोशाक, घर, काम गर्ने औजारहरू, बिचारका स्वरुपहरू र बिचारका धेरैजसो विषयहरू जुटाइदिन्छ; उसको जीवन ‘समाज’ भन्ने स्यानो शब्दको पछिल्तिर लुकेर रहेका विगत र वर्तमानका दशौँ लाख मानिसहरूको श्रम र प्राप्तिहरूबाट सम्भव भएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :