नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच सैद्धान्तिक विषयमा छलफल

नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच सैद्धान्तिक विषयमा छलफल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच आज सम्पन्न छलफल दुई सैद्धान्तिक एजेन्डामा केन्द्रित भएको छ । बागबजारमा सम्पन्न छलफलमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य मिलन सहभागी थिए भने क्रान्तिकारी माओवादीका तर्फबाट स्थायी समिति सदस्य सीपी गजुरेल र इन्द्रमोहन सिग्देल सहभागी थिए ।

नेकपाका प्रवक्ता प्रकाण्डका अनुसार आजको बैठक कम्युनिस्ट पार्टीहरूबीचको व्यापक ध्रुवीकरण र एकीकरण तथा रणनीतिक मोर्चाका आगामी कामहरूलाई थप प्रभावकारी र व्यवस्थित गर्नेबारे केन्द्रित रहेको थियो ।

नेपालको क्रान्ति, विश्व–परिस्थितिको मूल्याङ्कन, राजनीतिक एवम् फौजी कार्यदिशा, अन्तर्राष्ट्रिय पुँजीवादको वैज्ञानिक विश्लेषण, नेपाली समाजको दलाल पुँजीवादसँगको प्रमुख अन्तरविरोध र वैज्ञानिक दृष्टिबारे रहेका बुझाइहरूलाई छलफल, बहस र अध्ययनको प्रक्रियाद्वारा हल गर्ने उद्देश्यले यसअघि दुई पार्टीबीच सम्पन्न बैठकले कार्यदलसमेत गठन गरेको थियो ।

बैठकमा प्रवक्ता प्रकाण्डले पार्टीले अघि सारेका दर्शनशास्त्रका क्षेत्रमा द्वन्द्ववादको एक प्रमुख नियम विपरीतहरूबीचको एकत्व र सङ्घर्षको नियमलाई थप विकसित गर्दै सजातीय र घुलनशीलबीचको एकताका रूपमा पार्टीलाई बुझिनुपर्ने, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा आजको साम्राज्यवादलाई उत्तरसाम्राज्यवाद भन्नुका साथै समाजवादी उत्पादनप्रणालीमा पार्टीले अघि सारेका आर्थिक सिद्धान्तहरू, नेपाली क्रान्तिको आगामी कार्यदिशा वैज्ञानिक समाजवाद र सामरिक कार्यदिशा एकीकृत जनक्रान्तिको अपरिहार्यता, समाज रूपान्तरणमा कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वदायी भूमिका, क्रान्तिकारी आन्दोलनमा नेतृत्व निर्माण र विकास एवम् नेतृत्वको भूमिकासम्बन्धी मुख्य सैद्धान्तिक बहसहरूबारे आफ्नो व्याख्यात्मक धारणा राखेका थिए ।

क्रान्तिकारी माओवादीका तर्फबाट कार्यदलमा सहभागी सीपी गजुरेलले आफ्नो पार्टीको नीति, सैद्धान्तिक पक्षहरूबारे बुझाइ र नेपाली क्रान्तिको कार्यदिशाबारे आफ्नो पार्टीको धारणा राखेका थिए ।

मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको क्रान्तिकारी माओवादीले नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा नौलो जनवाद र सामरिक कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह मान्दै आएको छ । सन् १९३६ वरिपरि चिनियाँ क्रान्तिका नायक माओ त्सेतुङले तत्कालीन चिनियाँ समाजको वर्गविश्लेषण गर्दै नौलो जनवादको व्याख्या गर्नुभएको थियो भने १९५४ मा क्रान्ति सम्पन्न भएको छ वर्षपछि माओ स्वयम्ले नौलो जनवादअन्तर्गत राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रम लामो हुँदै जाँदा कम्युनिस्ट पार्टीभित्र वर्गउत्थान भएर प्रतिक्रान्ति हुने खतरा देखेपछि समाजवादको सङ्क्रमणको कार्यदिशा अवलम्बन गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले एकातिर १९३६ को समय र आजको विश्व–परिस्थितिमा व्यापक परिवर्तन आइरहेको तथा नौलो जनवादी कार्यक्रम लम्बिँदै जाँदा प्रतिक्रान्तिको पूर्वाधार बन्दै जाने चिनियाँ क्रान्तिको शिक्षालाई आत्मसात गर्दै नयाँ जनवादी क्रान्तिका कतिपय कार्यभार क्रान्तिकै प्रक्रियामा पूरा गर्दै नेपाली क्रान्तिको राजनीतिक कार्यक्रम सीधै वैज्ञानिक समाजवाद हुने बताउँदै आएको छ । नेपालको वर्तमान सन्दर्भ र समाजवादको नेपाली प्रारूपबारे नेकपाले निकट भविष्यमा आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ । नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) को कार्यदलको आजको छलफल प्रभावमूलक एवम् सकारात्मक रहेको र कार्यदलको अर्को बैठक छिट्टै बस्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :