ओली-मेकियावेली र मार्क्सवाद

तानाशाही आफैँ नै तानाशाहा होइनन् तर जुन व्यवस्थालाई राजनीतिक तथा सामजिक तनावहरूलाई विस्फोट हुन नदिनका लागि तानाशाहाको खाँचो पर्छ, तानाशही त त्यो व्यवस्था पो हो । इडुआर्दो ग्यालिआनो–सत्ता र शक्ति पृ. १५३

आज संसारभरि एक पटक फेरि रास्ट्रवादको खतरा मडारिन थालेको छ । डोनाल्ड ट्रम्पले खस्किदो जीवनस्तरलाई दोस्रो विश्वयुद्ध पछिको बैभवशाली स्तरमा पुर्याउन अमेरिकालाई फेरि महान् बनाउँने घोषणा गरे, सोभियत सङ्घको विघटनपछि रुसलाई फेरि भलादमिर पुटिनले महान् बनाउने, चिनियाहरूको ऐतिहासिक सभ्यताको आधारमा सि जिन फिङले चीनलाई महान् बनाउने, भारत वर्षको सभ्यताको आधारमा मोदीले भारतलाई महान् बनाउँने र तमाम् ऋषिमुनिदेखि परम्परा र हिन्दुत्वको आधारमा सुखी नेपाली समृद्ध नेपाल अर्थात नेपाललाई ओलीले महान् बनाउँने जस्ता तर्क र बौद्धिक बिमर्शको स्थान यतिबेला राजनीतिको केन्द्रभागमै देखिन्छन् । ओलीलाई मार्क्स, लेनिन र माओको उत्तराधिकारीको रुपमा होइन की निश्चित वंश, परम्परा र धर्मको जगमा रास्ट्रवादको अभ्यास गर्न खोजेको एकथरी बुझाइँ छ । कम्युनिस्ट झण्डा, नारा र रङ्गमा उदाएका ओली कसरी यस्तो अन्धरास्ट्रवादी हुनसक्छन् । के उनी मार्क्सवाद बाहेक अन्य कुनै जीवन दर्शनबाट त प्रभावित छैनन् । यी प्रश्नबारे ओली, मेकियावेली र मार्क्सवाद शिर्षकमा छोटो छलफल गरिएको छ ।

(क) मेकियावेली

निकोलो मेकियावेली एउटा इटालियन कुटनीतिज्ञ, दार्शनिक, राजनीतिज्ञ र लेखक थिए । उनको जन्म मे ३, १४६९ मा इटालीको फ्लोरेन्समा भएको थियो भने मृत्युु जुन २१, १५२७ मा भएको थियो । उनी पश्चिमा दार्शनिकहरू बिशेषतः एरिस्टोटल, प्लेटो, लियोनार्दो द भिच्छी लगायतका दार्शनिकहरूद्वारा प्रभावित थिए । पुर्नजागरणकालीन इटालीका एक प्रमुख व्यक्तिको रुपमा रहेका मेकियावेलीको ख्याती उनको प्रमुख रचना द प्रीन्सबाट हुन गएको देखिन्छ । द प्रीन्स त्यहाँको तत्कालिन राज्यमा देखिएको अस्थिरता र गडबडी पछि यो अवस्थालाई समाल्न राजा (शासक) ले कसरी काम गर्नुपर्छ भन्नेबारे बिधिशास्त्रीय सिद्धातमा आधारित रचना हो । उनलाई युरोपका चाणक्यको रुपमा लिइन्थ्यो जसअनुसार शासक जहिल्यै कुटिल हुन जरुरी हुन्छ, राज्यलाई आवश्यक पर्दा साम, दाम, दण्ड, भेद सबैको प्रयोग गर्न निपूण हुनुपर्छ ।

मेकियावेली सोच्दथे कि राजाले आफ्ना प्रजालाई कहिल्यै बिरोधी हुन दिनु हुन्न । उनी भन्दथे कि प्रजालाई मित्रभावपूर्ण व्यवहार गरेर राज्यमा खुशियाली फैलिन्छ सोच्नु गलत हो । यदि राजाले प्रजापति उदारभव र दयाशिलता देखाउँदै जाने हो भने यसैको फाइदा उठाउँदै प्रजाहरू राजा र राज्यको विरुद्धमा जानसक्ने हुन्छन् । शासकले गर्ने मित्रभव केवल राजनीतिक हतियारको रुपमा मात्र गर्नुपर्छ जसद्वारा राज्यमा स्थिरता कायम गर्न सकियोस् र शासनको आयु बढाउँन सकियोस् । राजा धर्मप्रति आस्थावान होस् वा नहोस् तर देखावटी रुपमा धार्मिक जस्तो देखिनु पर्छ । उनका अनुसार आम मानिसहरू (प्रजाहरू) प्रायः लालची, स्वार्थी र धूर्त हुन्छन्, त्यस्ता मानिसहरू राजाको उन्नति, प्रगति र उपकारलाई भुलिदिन्छन् त्यसकारण राजाले कुनैपनि काम गर्दा प्रजालाई सोधेर गर्नु हुँदैन बरू दमनको तरिकाबाट नियन्त्रण गर्नुपर्छ अर्थात it is better for prince to be feared than to be loved. शासकहरू आवश्यकता अनुसार कुटिल, क्रुर र अनाचारी समेत हुनुपर्छ । राम्रो लक्ष्य प्राप्तिका लागि कहिलेकाँही अनैतिक शाधनको समेत प्रयोग गर्नुपर्छ यसले तत्कालका लागि प्रजाहरू क्रुद्ध भएपनि यसको सकारात्मक परिणाम देखिएपछि राजाले प्रयोग गरेको अनैतिक साधनबारे जनताले भविश्यमा क्षमा गरिदिन्छन् ।

राजाले आफ्नो व्यक्तिगत छविको चिन्ता गर्नु हुँदैन किन कि उसको मुख्य दायित्व भनेको राज्यको रछा गर्नु हो । शासकको सच्चरित्रता सामान्य धार्मिक गुणद्वारा परिभाषित हुन सक्दैन । उसले धर्मचारी राजज्ञान wisdom रणनीति strategy शक्ति strength बहादुरी bravery र निस्ठुरता ruthlessness द्वारा काम गर्नु पर्छ । मेकियावेली राजाको योग्यताको चर्चा गर्दै criminal virtue शब्दको समेत प्रयोग गर्छन् । राज्यको सुरक्षाका लागि नाँपतौल सहित सन्तुलित अपराधिक कृत्यसमेत अपरिहार्य हुन्छ । उनको यो सिद्धातले राजनैतिक नैतिकताको विपरीत उपयोगितावाद र औचित्यतामा विश्वास गर्छ ।

मेकियावेलीले शासकको कर्तव्य वा आचरण सम्बन्धि आफ्नो विधिशास्त्रलाई यसरी उल्लेख गरेका छन् (१) अधिकाधिक शक्तिको आर्जन अर्थात शक्ति नै सत्य हो might is right त्यसैले शासकको मुख्य काम भनेको नै शक्ति आर्जन गर्नु हो (२) साम, दाम, दण्ड र भेदको प्रयोग अर्थात राजाद्वारा आफ्ना प्रजा र छिमेकी राज्यलाई दिएको वचन तबसम्म मात्र मान्नु पर्छ जवसम्म आफ्नो हित हुन्छ । (३) शेर र स्याल दुबैको जस्तै गुणको धारण गर्नुपर्छ अर्थात स्यालको जस्तो चाल र भेडालाई डराउनका लागि शेरको जस्तो शक्ति हुनुपर्छ । आफ्नो स्यालको जस्तो चाललाई छुपाएर उच्च कोटीको राजाको जस्तो बहुरुपी हुनुपर्छ आवश्यक परेको बेला आफ्नै वचन भङ्ग गर्दै स्यालको जस्तो चालद्वारा काम लिनुपर्छ । (४) क्रुरताको एकसाथ प्रदर्शन अर्थात क्रुर दन्ड सजाय गर्दा बारम्बार होइन एकसाथ गर्नुपर्छ जसले शासकको अनुहार क्रुर नदेखियोस् । ( ५) राष्ट्रिय सेनाको गठन गर्नुपर्छ भाडाको सेनालाई कहिल्यै विश्वास गर्नु हुँदैन (६) कानुनको कठोरतापूर्वक पालन गर्नुपर्छ जसले कानुन भङ्गगर्नेलाई सदैव भएमा राख्न सकियोस् । (७) सैनिक शक्तिको निरन्तर बिस्तार गर्दै युद्धको स्थिति बनाइराख्नु पर्छ जसले सैनिक मात्र होइन साधारण नागरिकमा समेत अनुशासन, देशभक्ति, आन्तरिक एकता र कठोर जीवनको आदत बनाइराख्छ र राज्य बिरुद्ध हुनसक्ने प्रजाको बिरोधलाई अन्त मोड्न सकिन्छ । (८) भयमुक्त आचरण नबनाउनु अर्थात शासक यस्तो हुनुपर्छ की जहाँ प्रजाहरूले प्रेम पनि गरून् र डराइँ पनि राखून् । (९) निपूर्णता र योग्यताको प्रोत्साहन अर्थात् पुरस्कार, उपाधी र पद प्रदान गर्ने कार्य स्वयम् राजाले गर्नुपर्छ र दण्ड आदि अप्रीय कार्यको पालना आफ्ना अधिकारीहरूद्वारा गर्नुपर्छ । (१०) छिमेकी राज्यलाई प्रलोभन र वलद्वारा सन्तुलित बनाइराख्नु पर्छ आदि ।

माथि हामीले मेकियावेलीको विधिशास्त्रबारे जे जति चर्चा गयौँ निश्चय नै राजनीतिक शास्त्र एउटा बिज्ञान हो, बिज्ञान हुनुको नाताले यसका केही निश्चित रुल एण्ड रेगुलेशनहरू छन् अझ माक्र्सवादी भास्यमा त यो एउटा वर्गबिज्ञान नै हो । तर मुलूकको राजनीतिमा पछिल्लो समयमा ‘राजनीतिमा जे पनि सम्भावना हुन्छ’ भनेर एउटा विकृत परिभाषाद्वारा यसलाई बुझाउँन खोजिएको छ । मानौँ नैतिकता, इमान र प्रतिबद्धको कुनै मूल्य नै छैन यी केवल ओठेभक्तिका लागि मात्र महत्वपूर्ण छन् । जसरी नेपालमा संसदीय व्यवस्थामा एकपछि अर्को बिकृतिकरण देखिए यसले देशको जीवनमा त निकै गम्भीर असर पारेकै छ साथै समाजसेवी, राजनीतिज्ञ र अभियन्ताहरू समेत नागरिकको नजरमा अविश्वसनीय बन्दै गएको देखिन्छ । परोपकार, समाजसेवा र उन्नत दिशानिर्देशका लागि राजनीति होइन की अवसर, नाफा र शक्तिका लागि सत्तामा टिकिरहन जे पनि गर्न सकिन्छ मुख्य कुरो शक्ति हो भन्ने सोंचाई कुनै मार्क्सवादी मान्यता नभई चाणक्य र मेकियावेलीको उपयोगितावादी सिद्धान्त हो । प्रम ओलीले पछिल्लो पटक संविधान निर्माण प्रक्रियादेखि सिके रावत, मधेशवादी पार्टी, प्रचण्डसँगको पार्टी एकता र चारबुदे गोप्य सहमति हुँदै नेकपा सँगको तीनबुँदे सहमति सम्म आइपुग्दा कैयौँ यस्ता सम्झौता गरे जुन एउटा पनि सोही बमोजिम कार्यान्वन भएको देखिन्न । यसले प्रष्ट गर्दछ की उनको बैचारिक धरातल द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी होइन की र उपयोगितावाद, युरो कम्युनिज्म र कानुनी मार्क्सवादी अवसरवादी घालमेलवादमा आधारित देखिन्छ ।

(ख) ओलीको उदय

कुनै मानिस आफैँमा खराब वा महान् हुँदैन । मानिसको स्वभावलाई विभिन्न पक्षहरूले प्रभाब पारिरहेको हुन्छ, उ जन्मेको परिवार, समाज, समय, सङ्गत र वातावरण नै यस्ता तत्वहरू हुन् जसले मानिसको जिन्दगीको गोरेटोलाई समेत निर्धारण गर्न सक्दछन् । उनै रत्नाकर डाँकू कालान्तरमा व्यास कहलिएका थिए । प्रम ओली यतिबेला नेपाली राजनीति र विद्यमान प्रणालीको मियो जस्तै देखिन्छन् । आफ्नै साथी, सहपाठी र सहयात्रीसँगको चिसोपन त छँदै छ विभिन्न आन्तरिक तथा वाह्य शक्तिकेन्द्र सँगको असन्तुलित सम्बन्धका सकसहरू पनि उत्तिकै पेँचिला देखिन्छन् । उनको जीवनका कैयौँ दुर्वल पक्षका वाबजुद उनी संसदीय प्रणालीका कुशल खेलाडी भने अवश्य हुन् । नेतृत्वमा हुनुपर्ने द्रुत निर्णय क्षमता र आफ्नो भविश्यको गोरेटो बारे आफ्ना समकालीन अन्य गुटको तुलनामा प्रष्टता देखिन्छ । सामान्य किसान परिवारमा जन्मेहुर्केको, उच्च शिक्षाको अध्ययन पूरा हुन नपाएको र एउटा भुइँ तहको मान्छे कसरी देशको कार्यकारी नेतृत्वसम्म पनि पुग्न सक्छ भन्ने कुराको एउटा दृश्य उदाहरण हुन् ओली । तर संसारका हरेक मानिस जस्तै उनलाई एकको दुइमा बाडेर हेर्दा कैयौँ दुर्वल पक्षहरू पनि नभएका होइनन् । हुन त सबल र दुर्वल, राम्रो र नराम्रो, उकाली र ओराली, ठीक र बेठिक, उच र निच यस्ता कैयौँ प्रवर्गहरू छन् जसलाई हामी मार्क्सवादीहरू वस्तु, व्यक्ति र पदार्थको अस्तित्वमा स्वभाविक रुपमा यस्ता पक्षहरू हुन्छन् तर यसको प्रधान प्रवृत्ति के हो त्यो मुख्य प्रश्न हो भन्ने ठान्छौँ ।

निर्दलीय पञ्चायती व्यवस्थाको शोषण, उत्पीडन र चरम दमनको सन्नाटाबीच २०२८ को झापाली विद्रोहसँग अविभाज्य सम्बन्ध छ प्रम ओलीको । क्रान्तिको तयारी, शुरुआत र पहलमा ओली नै निर्णायक थिए वा थिएनन्, उनको बैचारिक सुझबुझ परिपक्व थियो वा थिएन, उनी आफैँ झापाली बिद्रोहका प्राकृतिक हकदार हुन वा परिबन्धले जेल जीवन जिउनु परेको हो यी सब कुराहरू इतिहासको अध्ययन र बिमर्शको विषय होलान् तर तत्कालिन क्रान्तिमा व्यक्ति हत्याको अभियोगमा जेल सजाए भने उनले भुक्तान गर्नु नै पर्यो । मान्छेको जीवनका कतिपय घटनाक्रमले उसको स्वभावमाथि अवश्य पनि प्रभाव त पार्छ नै । आज ओलीमा विपक्षीहरूप्रति जुन घृणा, असहिष्णुता र बदलाभाव जसरी बेलाबखत प्रकट हुन्छ र कहिलेकाँही त भुइँमै खस्छ पनि, संभवत यो नै उनको जेल जीवनले सिर्जित मनोविज्ञानको उपज होला कि ?

वहुदलीय व्यवस्थाको पुनस्थापना पछि देशको गृह प्रशासन हात पारेका ओलीको राजनीतिक उचाइँको प्रारम्भ त्यहीँबाट भए पनि उनको शक्ति यात्राको अन्य परिवेश र घटनाको नजर अन्दाज भने गर्न मिल्दैन । एकातिर मदन भण्डारीको निधन, विपक्षी काँङ्ग्रेसको सत्ता राजनीतिमा चरम दवदवा र अर्कातिर माओवादी जनयुद्धको उठान तथा बिस्तारसँगै तत्कालीन एमाले एक प्रकारले चेपुवामा पर्दै आएको थियो । कैयौँ क्रान्तिकारी कार्यकर्ताहरू जनयुद्धमा सहभगी हुन थालेपछि एमाले पार्टीको साङ्गठनिक क्षयिकरण निश्चित जस्तै हुन थालेको थियो । संविधान सभाको प्रक्रियासम्म आइपुग्दा मुलूकका कतिपय गम्भीर मुद्दाहरूमा एमालेमा अकर्मण्यता हावी थियो । अबको बटमलाइन राजतन्त्र की गणतन्त्र ? एकात्मकता की सङ्घीयता ? शाही सेनालाई लोकतान्त्रिकरण गर्ने की जनमुक्ति सेनालाई राष्ट्रिय सुरक्षाको जिम्मा दिने ? माओवादीसँग सहकार्य बढाउँने कि काँङ्ग्रेससँग ? यस्ता यति धेरै परिदृश्य छन् जहाँ एमालेले आफ्नो सन्तुलित भूमिकाको नाउँमा प्रकारान्तरणले भन्ने हो भने नपुसकता प्रदर्शन गरिरहेको थियो, जसलाई नेपालका धेरै बुद्धिजीवीहरूले एमालेको लिङ्ग पहिचान भएन है भनेर टिप्पणी गर्थे । ठीक यहि परिवेशमा बलियो जनयुद्धकालिन जनआधार र अग्रगामी एजेन्डासहित माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि नेपालको वाम आन्दोलनको आधिकारिक धरोहरको रहने एमाले वा माओवादी ? भन्ने मनोविज्ञान जबर्जस्त हुर्किदै गएको थियो । यस्तो परिस्थितिमा नेका लगायतका शक्तिहरूसँग सहकार्य गर्दै माओवादीलाई निशस्त्रीकरण गर्न दबाव सिर्जना गर्ने र आइपर्दा भौतिक मुडभेटमा पनि उत्रने नीति बमोजिम ओलीकै रुचीमा ‘युथफोर्स’ नामक अर्धफौजी संरचना बनाइयो । माओवादीको निशस्त्रीकरण सङ्गै युथफोर्सको पनि उपयोगिता सकियो । यसरी हेर्दा ओलीको उदय नै माओवादीसँगको भिड्ने मनोविज्ञानको जगमा भएको थियो भन्दा अन्यथा नहोला । ‘माओवादीहरू वनका बादरहरू हुन् तालिम दिएपछि सुध्रिन्छन् कि भनेको सुध्रेनन् ।’ यो उनको माओवादीप्रतिको सश्लेसित अभिव्यक्ति हो । महाकाली सन्धिपछि नै पार्टीभित्र समानान्तर गुट चलाउने ओलीको हैसियत बनेको र पछि त्यो मदन भण्डारी फाउन्डेसनको रुपमा झाँङ्गिदै गएपछि पार्टी सत्ताको नेतृत्वमा पुग्न सहज भएको विश्लेसन छ ओलीका समकालीन एवम् वामपन्थी नेता आर के मैनालीको । प्रचण्डसँगको पार्टी एकता कुनै माक्र्सवादी लेनिनवादी बिचार, सिद्धान्त, रणनीति, कार्यनीति र कार्यक्रममा आधारित थिएन यो त ओलीका लागि शेर र स्यालको चाल जस्तो आफ्नो स्वार्थ पूरा भैसकेपछि आफ्नै वचन भङ्ग गर्ने मेकियावेली दर्शनको नेपाली आयाम मात्र थियो । उता प्रचण्डका लागि भने त्यो एकता ‘सकिन्छ एमालेलाई निल्ने, नसकिए एमालेसँग मिल्ने’ परस्पर उपयोगितावादी र पूर्वघोषित अवसरवादी राजनीतिको भद्दा प्रयोग थियो र अन्ततः स्वार्थहरूको उपयोगिता सकिने बित्तिकै एउटै पार्टी रहन्नथ्यो र रहेन पनि ।

पश्चिमा दर्शनको इतिहासमा एउटा बहस छ, सामान्यतया जतिसुकै राम्रा शासकहरू पनि शक्ति र सत्तामा पुगे पुगेपछि किन यसको दुरुपयोग गर्छन् भन्नेबारे । साढे तीन हजार बर्ष पहिले प्लेटोले आफ्नो चर्चित रचना the republika मा यसबारे बिस्तृत व्याख्या गरेका छन् । प्लेटोका अनुसार जब शासकहरू संसारिक जीवन जिउँछन्, विवाह गर्छन् र सन्तान जन्माउँछन् यसको दवाव र प्रभावमा परेर उनीहरू सत्ताको दुरुपयोग गर्न बाध्य हुन्छन् यसबाट बच्न उनीहरू लामो समयसम्म ब्राह्माचार्य बस्नुपर्छ र अबिबाहित रहनु पर्छ जसलाई प्लेटो परिवारको साम्यवाद र आदर्श राजाको परिकल्पनाद्वारा हल गर्ने अवधारणा अघि सार्छन् । यो सिद्धान्तको विपरीत एउटा अर्को पनि अवधारणा छ जब शासकहरू अबिबाहित हुन्छन्, सन्तान र पारिवारिक जिम्मेवारी हुँदैन यसले उनीहरूलाई मुलूक र नागरिकप्रति उत्तरदायित्व बिहीन बनाइदिन्छ, भोलीको समाज के कसो होला भन्ने बारे उनीहरू बेमतलव रहन्छन् । जब ओली मुलूकका गम्भीर समस्या र नागरिकको पिडामा तीखो ब्याङ्ग्य गर्छन्, मानिसको पिडामाथि रोमान्स गरिरहे जस्तो क्रूरता प्रदर्शन गरेको भान हुन्छ । विपक्षीलाई तीखो प्राहर गर्छन्, कहिलेकाँही त लाग्छ उनलाई भविश्य र आउँदो पुस्तासँग कुनै सरोकार छैन, बाचुन्जेल सत्ताको भोग गर्ने हो भन्ने सोंच नै उनको जीवन दर्शन हो ।

(ग) मार्क्सवाद

मार्क्सवादका तीन सङ्घटक अङ्गहरू छन् – दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद । यी तीन ओटै अङ्गहरूको कुल योग नै मार्क्सवाद हो । यसले प्रकृति, समाज र चिन्तनलाई गति, अन्तर्विरोध र वर्गसापेक्षतामा हेर्छ । निजी सम्पत्तिको विकास र वर्गको उदयसङ्गै वर्गीय अधिनायकत्वको साधनको रुपमा राज्यसत्ताको उत्पत्ति र बिकास भएको हो भन्छ । वर्गसङ्घर्षको कहिले शान्तिपूर्ण र कहिले सशस्त्र सङ्घर्षको प्रक्रियामा क्रान्तिकारी हिंसाको सार्वभौम अस्तित्वलाई पनि मार्क्सवादले स्वीकार गर्छ ।

संसदीय व्यवस्था र प्रतिनिधित्वमूलक लोकतन्त्रले केही राजनीतिक स्वतन्त्रताहरू दिए पनि पूर्ण मानव स्वतन्त्रता र मुक्तिका लागि समाजवादी लोकतन्त्र अपरिहार्य छ ।

नेपालमा विगत लामो समयदेखि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन लोकप्रिय र प्रभावि रहँदै आएको छ । कैयौँ पटक संसदीय व्यवस्थाको सरकारमा कम्युनिस्टहरूको सहभागिता हुँदै आए पनि कम्युनिस्ट बिचार, नीति तथा कार्यक्रमको कार्वान्वयन र आधारभूत वर्गको मुक्तिको प्रश्न एउटा चुनावी नारा बन्न गएको छ । कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टी बीचको सिमारेखा मेटिएको छ । यसको पछाडि राज्यसत्ता, वर्गसङ्घर्ष र सर्वहारा क्रान्तिलाई हेर्ने सन्दर्भमा भडुवा बिकासवादी चिन्तन र प्रवृत्ति मुख्य समस्याको रुपमा रहँदै आएको छ ।

बुर्जुवा राज्यप्रणाली र समाजवादी राज्यप्रणालीमा राज्यसत्ताका तीन अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई हेर्ने, बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा आधारभूत भिन्नता हुन्छ । व्यवस्थापिकाले कानुन बनाउँने, सरकारले यसको कार्यान्वयन गर्ने र न्यायपालिकाले कानुन र संविधानको व्याख्या गर्ने र यी तीन ओटै अङ्गहरू बीच नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुसार शक्ति पृथक्किकरण गर्ने कुरा पश्चिमा दार्शनिक मनटेस्क्युले सैद्धान्तिककरण गरेको कुरा हो । यो कुनै राज्यसत्ता सम्बन्धि मार्क्सवादी र समाजवादी अवधारणा होइन । यो अमेरिकी मोडेलको सङ्घीयता भएको देशमा उपयुक्त भए पनि पुँजीवादी लोकतन्त्रका यो भन्दा भिन्न रुप र मोडेल भएका अन्य कैयौँ देशहरूमा असफल र दुरुपयोग भएको छ । नेपालको संसदमा कानुन बनाउँने देखि बजेट पास गर्नेसम्म सांसदहरूलाई पर्याप्त भुक्न दिइन्छ जब कुनै बिल निर्णयार्थ प्रस्तुत गरिन्छ अनि अन्तमा सभामुखले हुन्छ भन्नेहरू हुन्छ भन्नु होला र हुन्न भन्नेहरू हुन्न भन्नु होला भनेर निरंकुश ढङ्गले निर्णय लिइन्छ । यसैलाई उनीहरू लोकतन्त्रको उच्चतम् प्रयोग ठान्छन् । जसलाई लेनिनले उहिल्यै ‘खसिको टाउको झुण्ड्यायर कुकुरको मासु बेच्ने पसल’ भनी सक्नु भएको थियो । त्यस्तै अदालतलाई पुँजीवादी लोकतन्त्रमा स्वतन्त्र न्यायपालिका भनिन्छ । सर्वप्रथम त विभिन्न वर्ग र वर्ग स्वार्थमा आधारित समाजबाट अलग र वर्गनिरपेक्ष न्यायपालिका भन्ने कुरा सैद्धान्तिक रुपमै गलत छ भने अर्कोतिर न्यायाधीशहरूको नियुक्ति प्रक्रिया हेर्दा पनि उनीहरू सत्ता र शक्तिको प्रभावबाट अलग हुनै नसक्ने कुरा तमाम तथ्यहरूले पुष्टि गरिरहेका छन् । यसको विपरीत समाजवादी राज्यको व्यवस्थापिकाले जनताका गहनतम् विषयमा साँच्चिकै बहस, छलफल र निर्णय लिन्छ, न्यायपालिका जनउत्तरदायी जनअनुमोदित र जनपक्षीय हुन्छ । पुँजीवादी न्यायप्रणालीमा न्याय भन्ने कुरा खरिदबिक्रीको बस्तु जस्तो हुन्छ भने समाजवादमा सत्यतथ्यको आधरमा न्यायीक निरुपण गर्नु न्यायलयको कर्तव्य हुन्छ । त्यसरी नै कार्यपालिकामाथि जननियन्त्रण र जनहस्तक्षेप हुनुका साथै प्रत्याआह्वानको परिपाटी हुन्छ र आफ्नो कर्तव्यबाट बिमुख हुने बित्तिकै जनप्रतिनिधिलाई कुनै पनि बेला फिर्ता बोलाउन सकिन्छ । पुँजीवादी लोकतन्त्र जस्तो पाँच वर्ष पुग्नै पर्ने हुँदैन । नेपालका संसदवादी कम्युनिस्टहरूले राज्यसत्ता सम्बन्धी जुन समाजवादी अवधारणाहरू छन् त्यसको ठीक विपरीत बुर्जुवा अवधारणालाई अँगाल्दै आएका छन् यो नै उनीहरूको मार्क्सवाद हो ।

र अन्तमा :

कार्लमार्क्सको एउटा सुप्रसिद्ध भनाइ उदृढ गर्दै बिट मारौँ है : ‘हेगेलले एक पटक भनेका थिए विश्व इतिहासमा सबै अत्यन्त महत्वपूर्ण घटनाहरू र पात्रहरू दुई पटक दोहोरिन्छन् । तर उनले यस्तो भन्न छुटाएछन् : पहिलो पटक दुखान्त नाटकको रुपमा र दोस्रो पटक प्रहसनको रुपमा । जस्तो कि दाँतेको ठाउँमा कोसिदियर, रोब्स पियरेको ठाउँमा लुई वला, १७९३–१७९५ को पर्वत दलको ठाउँमा १८४८–१८५१ को पर्वत दल र काकाको ठाउँमा भतिजा । कार्लमार्क्स –लुई बोनापार्टको अठारौँ ब्रुमेर हिन्दी पृ. १३ राहुल फाउन्डेसन २००६ लखनउ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :