पार्टी एकताको चर्चा र वास्तविकता

संसारका सम्पूर्ण श्रमजीवी, सर्वहारा वर्ग एक हुनुपर्छ भन्ने कम्युनिस्टको मुख्य नारा, अभियान र आन्दोलन नै हो । त्यसैले सबै कम्युनिस्टहरू एक हुनुपर्छ भन्ने आशय पनि राम्रो हो तर पार्टी एकता वा क्रान्तिकारी ध्रुवीकरणका जति विषयहरू बाहिर आएका वा ल्याइएका छन्, ती सबै यथार्थ होइनन् । अधिकांश विषयमा यथार्थभन्दा भ्रम र प्रोपागान्डाको मात्रा बढी छ । अवसरवादीहरूले, फुटवादीहरूले, ताकछोपुवाहरूले एकताको हल्ला बढी गर्ने गर्छन् । अझ विचार, आस्था र निष्ठा समाप्त भएकाहरूलाई त एकताको हल्ला फिँजाएर कार्यकर्ताहरू जोगाउनु अनिवार्य सर्त बन्छ । त्यसैले एकताको आधार नै नबनी उनीहरू एकताको हल्ला फिँजाउने र समुदायमा भ्रम उत्पन्न गर्ने गर्छन् । पुष्पकमल दाहाल समूह यो मामिलामा अलि अघि नै छ । पार्टीमा सङ्कट आउन थाल्यो, विद्रोह हुन थाल्यो, नेता–कार्यकर्ता क्रान्तिकारी पार्टीमा जान थाले वा क्रान्तिप्रति आकर्षित भए भने त्यो पहिरो रोक्नका लागि पार्टी एकताको हल्ला चलाउने गरिएको छ र अहिले पनि त्यस्तै हल्लाहरू चलिरहेका छन् । पार्टी एकता वा क्रान्तिकारी ध्रुवीकरण आवश्यकता भए पनि वास्तविकतामा यी फगत हल्लाहरू हुन् । यिनको कुनै आधार छैन ।

माओवाद परित्याग गरेर दलाल पुँजीवादी शक्ति एमालेसँग पार्टी एकताका नाउँमा गठबन्धन बनाएको पुष्पकमल दाहाल नेतृत्वको समूह नेकपा (माओवादी केन्द्र) ले हठात् सम्मेलन बोलायो र महाधिवेशनमा रूपान्तरण गरेको हल्ला फिँजायो । यो त उसको निजी मामिला भयो । नेपाली जनताको चासो र चिन्ताको विषय भनेको त्यो समूहले जनसमुदाय र विशेषतः श्रमिक वर्गमा पारेको वैचारिक स्थिति, एकताको भ्रम र यथार्थको हो । मार्क्सवाद र लेनिनवादलाई पनि ओठेभक्तिमा मात्रै सीमित पारेर चार दशकदेखि वर्गसङ्घर्षको लाइन छोडी झापा विद्रोहप्रति समेत पश्चाताप गरेको समूहसँग जनयुद्धबाट आएको एउटा हिस्सालाई मिसाउँदा पुष्पकमल दाहालले कहिल्यै पनि क्रान्तिकारी शक्ति अर्थात् नेपाल कम्युनिस्ट पार्टीलाई शक्तिका रूपमा स्वीकारेनन् । उनले उल्टै आतङ्ककारी भन्दै केपी वलीलाई प्रतिबन्ध लगाउन सल्लाहसुझाव दिए । उनले समेत १२ जना योद्धाहरूको बलिदानका लागि नकारात्मक भूमिका निर्वाह गरे । उनकै समयमा पार्टीमाथि प्रतिबन्ध लगाइयो । अदालतले उनीहरूबीचको एकतालाई नै अवैध भनिदिएपछि बाध्य भएर पुनर्मुसिकोभवः भएको उक्त समूहले यतिबेला नेकपालगायत क्रान्तिकारी शक्तिसँग पार्टीएकता हुने र त्यसको नेतृत्व फेरि आफूले गर्ने हल्ला फैलाइरहेको छ । के यो अवस्थामा संसद्‌वादी समूह दाहालको पार्टीसँग एकता सम्भव छ ? आवश्यक छ ? यो विषय बहस र चासोका रूपमा उठिरहेको छ र समयमै यस विषयमा एउटा सही निष्कर्ष दिनुपर्छ ।

दाहाल समूहको सम्मेलन वा महाधिवेशनमा शुभकामना दिन पुगेका नेकपासँग दीर्घकालीन रणनीतिक संयुक्त मोर्चा बनाएको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवाहरूबीच र विशेषतः दाहालको समूहसँग पार्टी एकताका लागि सर्त राख्दै जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा व्यक्त गरिएको प्रतिबद्धतालाई पुनस्र्थापित गर्नुपर्ने, जनयुद्धको लक्ष्य अधुरो र अपूरो रहेकाले नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढ्ने कार्यक्रम पारित गर्नुपर्ने, राष्ट्रिय स्वाधीनताका विषयमा महत्वपूर्ण निर्णय लिई राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न जोड लगाउनुपर्ने, नेपालले गुमाएका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभागहरू नक्सामा मात्र नभएर वास्तविक रुपमा हासिल गर्न प्रतिबद्धता जनाउनुपर्ने विषय उठाए । यो त क्रान्तिकारी माओवादीको प्रस्ताव भयो । तुलनात्मक रूपमा यो राम्रै सुझाव पनि हो । नेपाली जनताले पनि संसद्‌वादी समूह माकेसँग यस्ता प्रस्ताव र प्रश्न गर्ने धेरै ठाउँ छन् । माकेसँग आज सिङ्गो समयले प्रश्न गरिरहेको छ– वर्गसङ्घर्षबाट नयाँ जनवाद हुँदै समाजवाद स्थापना गरी साम्यवादसम्म पुग्छौँ भनेर हतियार उठाइसकेपछि किन सर्वहारा वर्गलाई धोका दियौ ? किन दलाल पुँजीवादको बाहक बन्यौ ? किन अझै कम्युनिस्ट हौँ भन्ने भ्रम फिँजाइरहेका छौ ? तिमीलाई यो अधिकार कसले दियो ?

जनयुद्धमा ठूलो बलिदान, त्याग, शौर्य र समर्पण देखाएका नेपाली जनता र विशेषगरी श्रमिक वर्गले माओवादी नाउँ गरेका पार्टीहरू एक भएर जनयुद्धका अधुरा सपना पूरा गर्नुपर्छ भन्ने आकाङ्क्षा राख्नु स्वाभाविक मात्रै होइन, अत्यावश्यक पनि हो तर दाहाल आफैँले जनयुद्धका उपलब्धि समाप्त पारेर वर्गदुस्मनहरूसँग मिल्न गएकाले देश, जनता र श्रमिक–सर्वहारा वर्गप्रति आत्मालोचित भएर क्रान्तिकारी दर्शन, विचार, कार्यदिशा, राजनीति र कार्यक्रम तय नगरेसम्म एकता त परैको कुरा भयो, बहस पनि सम्भव हुने देखिँदैन । हिजो आफैँ सत्ता सञ्चालन गरिरहेको समयमा राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा क्रान्ति सञ्चालन गरेको क्रान्तिकारी पार्टीमाथि प्रतिबन्ध लगाउने, योद्धाहरूको हत्या गर्ने, सयौँ क्रान्तिकारीहरूलाई जेल, नेल र हिरासत भोग्न बाध्य बनाउने, झूट्टा मुद्दा लगाउने, इन्काउन्टरसमेतको योजना बनाउने तर आज कयौँ योद्धाहरूलाई जेलमै राखेर र झूट्टा मुद्दा लगाएकै अवस्थामा कसरी पार्टीएकताको विषय र बहस सान्दर्भिक हुन्छ ?

दाहालले पार्टीएकताका नाउँमा यसअघि गरेका प्रयोगहरूमध्ये एकताकेन्द्र निर्माणका लागि गरेको प्रयोगबाहेक अरू सबै निष्फल मात्र होइन, क्रान्तिका प्रत्युत्पादक बनेका छन् । नारायणकाजी समूहसँगको कथित एकताबाट प्रचण्डपथ र माओवाद गुमाएको तत्कालीन शक्तिशाली पार्टी माओवादीको मूल नेतृत्व अर्थात् पुष्पकमल दाहाल–बाबुराम भट्टराईले मालेमावादी विचार र जनताको रगत–पसिनाबाट निर्मित जनसत्ता, जनसेना, जनअदालत, रगतसँग साटिएका हतियार सबै प्रतिक्रियावादी वर्गलाई सुम्पिएर आत्मसमर्पण गरेपछि नै जनता निराश बन्ने अवस्था उत्पन्न भयो । विप्लवसहितका क्रान्तिकारी नेताहरूले समयमै दाहाल–भट्टराईहरूले धुलोमा फ्यालेको क्रान्तिको झन्डा नउठाएको भए नेपाली जनता अझै निराश बन्नुपर्ने र क्रान्ति अझै सुदूर भविष्यको विषय बन्ने थियो । क्रान्तिकारी नेताहरू बेलैमा सजग र सावधान भएकैले नेपालमा क्रान्तिको झिनो सम्भावना बचेको थियो र छोटै अवधिमा त्यो एकीकृत जनक्रान्तिकारीका रूपमा अघि बढिरहेको छ । संसद्‌वादीहरू विभिन्न बहानामा चुनावमा जित्नका लागि एकताको जाल फ्याँक्ने गर्छन् र आमजनसमुदायको मन बहकाउन थाल्छन् । अब नेपाली जनताले चाहेको चुनावी एकता होइन, दाहाल र वलीका बीचमा भएजस्तो कृत्रिम र सत्तास्वार्थ केन्द्रित एकता होइन, वास्तविक क्रान्तिकारी ध्रुवीकरण हो जुन ध्रुवीकरण, केन्द्रीकरण र एकताले दलाल पुँजीवादी सत्तालाई चिहानमा पुर्याउनेछ र त्यसको भग्नावशेषमा जनगणतन्त्र, वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नेछ । यसका लागि माओवादी केन्द्रले साँच्चै चेतेको हो, सुध्रिन खोजेको हो र इमानदार बन्न चाहेको हो भने एकीकृत जनक्रान्तिको कार्यदिशा र नेतृत्व स्वीकार गर्नुपर्छ । वैज्ञानिक समाजवाद मान्नुपर्छ । सशस्त्र क्रान्तिको कार्यदिशा पारित गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भनिसकेका छन्– एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद अर्थात् नेकपाको नीति, कार्यदिशा र नेतृत्व स्वीकार गर्नेहरूसँग मात्र एकता हुन्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :