२५ औँ सांस्कृतिक प्रतिरोध दिवस र वैज्ञानिक समाजवादको सपना

२५ औँ सांस्कृतिक प्रतिरोध दिवस र वैज्ञानिक समाजवादको सपना

नेपालका क्रान्तिकारी माओवादीहरूले चैत ५ गते २५ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाएका छन् । नेकपा (बहुमत) ले काभ्रेको अनेकोट, काठमाडौँ र देशका विभिन्न स्थानमा प्रतिरोध दिवस मनाएको छ । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले चैत सात गते काठमाडौँमा आयोजना गरेको ‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयक विशेष अन्तरक्रिया/गोष्ठी तथा ‘वैज्ञानिक समाजवादका आधारहरू’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टी प्रवक्ता एवम् मञ्चका संरक्षक सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल ‘गौरव’ लगायत माओवादी नेताले मालेमाको सही प्रयोग र सबै जनसङ्घर्ष, जनयुद्ध र जनक्रान्तिहरूमा महान् सहिदले देखाएको बाटोमा निरन्तर लागेर र जनयुद्धका बाँकी कार्यभार पूरा गरेर मात्र वैज्ञानिक समाजवाद स्थापना हुने र त्यो बाटोमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेर दलाल पुँजीवादी सत्ताका विरुद्ध प्रतिरोध सङ्घर्ष जारी राख्ने आशावादी उद्घोष गरे । यसबाट पनि के निष्कर्ष निकाल्न सकिन्छ भने साम्राज्यवाद र दलाल पुँजीवादी शोषण, दोहन र लूटविरुद्ध निरन्तर क्रान्तिको माध्यमबाट मात्र वैज्ञानिक समाजवाद स्थापना हुने र महान् सहिदहरूका सपना पूरा हुनेमा दुईमत छैन ।

सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धका उदात्त क्रान्तिकारी सपनाहरूको रक्षाको एउटा उचाइ हो । ज्यूँदा सपनाहरू भर्भराउँदो अवस्थामा रहेको, ती सपनाले पुरानो सत्तासँग प्रतिरोध गरेर निर्माण गरेको नयाँ र उदात्त संस्कृतिबोध गराउने विशेष दिवस हो यो । त्यसैले सांस्कृतिक प्रतिरोध दिवस नेपालका सम्पूर्ण प्रतिरोधी सांस्कृतिक चेतना, महान् सांस्कृतिक सहिदहरू र बलिदानको संस्कृतिको समुच्च रूप हो । यो क्रान्तिकारी मालेमावादी आदर्श हो । यो आदर्श बोकेकाहरूले त यसलाई अवलम्बन गरिरहेकै छन्, बोकेका छौँ भन्नेहरूले पनि यो त्याग, शौर्य, प्रतिरोध र बलिदानको संस्कृति अर्थात् महान् जनयुद्ध र जनक्रान्तिहरूले निर्माण गरेको उच्च संस्कृतिमाथि आँच आउने काम गर्न मिल्दैन । त्याग, शौर्य र बलिदानको संस्कृतिलाई त्यागेर सत्ताभोगमा लीन भएकाहरू, क्रान्तिमार्गबाट बरालिएकाहरू र आदर्शच्यूत हुँदै संसद्वाद, संसदीय संशोधनवादी बनेकाहरूलाई यी गौरवशाली पर्वहरूको नाम लिने र त्यसलाई भँजाएर अर्थोपार्जनको अपराधकर्म गर्ने अधिकार छैन ।

सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धले जन्माएको नयाँ जनपर्व वा जनदिवस हो । सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सचेत तप्काले फासिवादी सत्तासँग निर्भयपूर्वक लडेर बलिदान गरेको दिन हो सांस्कृतिक प्रतिरोध दिवस । जनयुद्धले जन्माएका वा स्थापना गरेका नयाँ पर्वहरूमा फागुन १ नयाँ वर्ष, फागुन १४–२१ सहिद सप्ताह, चैत ५ सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ बलिदान दिवस, साउन ३२ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, पुस १९ बेथान वीरता दिवस, जेठ १३ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मुख्य छन् । यी सबै बलिदान र प्रतिरोधले निर्माण गरेका दिवसहरू हुन् । यी सबै निरन्तर क्रान्तिसँग सम्बन्धित दिवस हुन् । यी दिवस संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादी, दलाल, गद्दार र कायरहरूले होइन, क्रान्तिकारीहरूले मनाउने जनपर्वहरू हुन् । जारी वर्गसङ्घर्षले इतिहासका सबै विद्रोह, आन्दोलन, सङ्घर्ष, युद्ध र क्रान्तिहरूलाई क्रान्तिको बाँकी कार्यभार र ऊर्जाका रूपमा ग्रहण र आत्मसात गरेकाले यी पर्वहरू जनपर्व र दिवसहरू हुन् । त्यसैले जनपर्वहरूमाथि, महान् सहिदका सपनामाथि, श्रमिक वर्गको आशा र आकाङ्क्षामाथि तुसारापात गर्ने अधिकार कसैलाई छैन, दिनु हुँदैन । क्रान्तिकारी जनताको आशामाथि तुसारापात गर्नेहरू जनताका वैरी हुन् । तिनलाई महान् सहिदहरूको नाउँ लिने कुनै अधिकार छैन । अझ सांस्कृतिक प्रतिरोध दिवस त निहत्था जनताका छोराछोरीहरूले सशस्त्र वैरीहरूसँग प्रतिरोध गरेर निर्माण गरेको पर्व हो । वर्गवैरीहरूको पाउमा लम्पसार परेर प्रतिरोध संस्कृतिलाई धुलोमा मिसाउने र त्यही ताक हेरेर बसेकाहरूले यो दिवस उच्चारण गर्ने अधिकार पनि राख्दैनन् । सांस्कृतिक प्रतिरोध दिवसमा व्यक्त प्रतिबद्धता र त्यससँगै वैज्ञानिक समाजवादको अपरिहार्यता विषयमा मालेमावादी नेतृत्वले व्यक्त गरेका विचारहरूले नेपालका क्रान्तिकारीहरूलाई ध्रुवीकृत हुन र सहिदका सपना पूरा गर्ने दिशातिर कार्यक्रम बनाएर शीघ्रतापूर्वक अघि बढ्न उत्प्रेरित गरेका छन् ।

जनयुद्धले तीव्र गति लिँदै गरेको समयमा काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन आततायी सत्ताले च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना जनसंस्कृतिकर्मीलाई अमानवीय, क्रूर र बीभत्स तरिकाले आगो लगाएर र गोली हानेर हत्या गरेको थियो । हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका जनसंस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका अनुचरहरूले कलाकार बसेको घरमा आगो लगाए । तैपनि उनीहरूले आत्मसमर्पण गरेनन् । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । बाहिरबाट एमालेनामक प्रतिक्रियावादी तत्वको आवरणमा प्रहरीहरूले कलाकारहरूलाई आत्मसमर्पण गर्न उर्दी जारी गरिरहे । कलाकारहरूले मानेनन्, प्रतिरोध गरिरहे । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका अनुयायीहरूले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि जनताका कलाकारले पुरानो, आततायी सत्तासमक्ष आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । क्रान्तिकारी आन्दोलनको इतिहासमा यो सत्य पेरिस कम्युनका कम्युनार्डहरूको प्रतिरोधी चेतना र दोरम्बा नरसंहारका महान् योद्धाको महान् बलिदान र प्रतिरोधझैँ मुटुका धड्कनहरूमा अमिट भएर बसेको छ । निरन्तर क्रान्ति र वैज्ञानिक समाजवादका लागि ठूलो ऊर्जा बनेर बसेको छ ।

निःशस्त्र जनकलाकारहरूलाई प्रतिक्रियावादी शक्तिसँग लड्ने यो ऊर्जा महान् जनयुद्धले प्रदान गरेको थियो । जनयुद्धले उत्पीडित, श्रमिक, सर्वहारा वर्गलाई मुक्त गर्छ भन्ने अटल विश्वास थियो क्रान्तिकारी संस्कृतिकर्मीहरूमा । मालेमावाद नै मुक्तिको एक मात्र दर्शन, विचार, राजनीति र कला हो भन्नेमा विश्वस्त थिए योद्धाहरू । यही विश्वासले अनेकोटमा जनकलाकारहरूलाई सत्ताको बर्बर दमन, आगो र गोलीसँग लड्नसक्ने शक्ति प्रदान गरेको थियो । यही शक्तिले नै मस्त बिस्टदेखि इच्छुक, अन्जान विरही, पुष्पराज चौधरी, शारदा श्रेष्ठ, चुनु गुरुङ, शिव श्रेष्ठ, हर्षबहादुर मल्ल ‘प्रभात’, रोहित कोइराला, देवकुमार आचार्य ‘डी कौडिन्य’, कौशिला तमु, दिलमाया बम्जन, रक्तिमलगायत एक सय ६० भन्दा बढी जनताका कलाकार, स्रष्टा, संस्कृतिकर्मीहरूलाई सत्ताको हत्यासंस्कृतिका विरुद्ध लड्न, प्रतिरोध गर्न र बलिदान गर्ने जोस, जाँगर, विश्वास, शक्ति र ऊर्जा प्राप्त भएको थियो । यो ऊर्जाले देशभर क्रान्तिकारीहरूमा प्रतिरोधी रक्तसञ्चार उत्पन्न भएको थियो । त्यसैले त्यो प्रतिरोध दिवसका रूपमा स्थापित बन्न सफल भएको थियो । जनताका छोराछोरीहरूको त्याग र बलिदान नयाँ पर्वका रूपमा विकसित भएको थियो । त्यही शौर्य र बलिदानको संस्कृतिका उत्तराधिकारीहरूले काठमाडौँमा उभिएर फेरि वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्ने उद्घोष गरेका छन् । यो नयाँ संस्कृतिलाई कायम राख्नु क्रान्तिकारहिरूको कर्तव्य र दायित्व हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :