२८ औँ जनयुद्ध दिवसको महत्व

२८ औँ जनयुद्ध दिवसको महत्व

नेपाली जनताले नेकपा (माओवादी) को नेतृत्वमा उत्पीडित वर्गको मुक्तिका खातिर हतियारबद्ध सङ्घर्ष– जनयुद्ध आरम्भ गरेको २८ वर्ष लागेको छ । अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाल र नेपाली जनतालाई सम्पूर्ण उत्पीडन, शोषण, दोहनबाट मुक्ति दिलाएर नेपालमा जनगणतन्त्र स्थापना गर्ने र वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने महान् उद्देश्य र कार्यसहित आरम्भ गरिएको जनयुद्धका दस वर्षमा नेपाली जनताले सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद, विस्तारवाद तथा समग्र प्रतिक्रियावादी सत्ताले लादेका सम्पूर्ण शोषण र दोहनका विरुद्ध ठूलो त्याग, शौर्य र बलिदानका साथ प्रतिरोध गर्यो । महान् जनयुद्धका क्रममा जनयुद्ध लडिरहेका जनताका तर्फबाट १० हजारको हाराहारीमा बलिदान भयो भने हजारौँ योद्धालाई बेपत्ता बनाइयो । हजारौँको सङ्ख्यामा घाइते, अपाङ्ग र अङ्गभङ्ग भए । नेपाली जनताले आफ्नै बलबुताले लडेको जनयुद्धले अढाइ सय वर्षदेखि नेपाली जनतामाथि ढलिमली गरिरहेको सामन्ती राजतन्त्रको अन्त्य गर्यो ।

जनयुद्धले नेपालको असी प्रतिशतभन्दा बढी भूभागमा जनसत्ता स्थापना गर्यो भने हजारौँ जनमुक्ति सेना निर्माण गर्यो । महान् माओको निधनपछि मुर्झाइरहेको मालेमावादी सशस्त्र सङ्घर्ष अर्थात् जनयुद्धबाट कहीँकतै नयाँ, वैज्ञानिक समाजवादी सत्ता स्थापना हुन नसकिरहेको अवस्थामा नेपालमा आरम्भ भएको जनयुद्धलाई संसारकै श्रमजीवी वर्गले हिमालयको देशबाट फर्फराइरहेको लालसत्ताको उपमा दिएका थिए ।

जनयुद्ध विजयी भइरहेको अवस्थामा जनयुद्धको मुख्य नेतृत्वमा आएको वैचारिक विचलनका कारण जनयुद्धलाई पूर्ण रूपमा विजयी हुनै नदिई समाप्त भएको घोषणा गरियो । फलस्वरूप नेतृत्वको एउटा मुख्य तप्का जनतामाथि दमन, शोषण र व्यभिचार लादिरहेको साम्राज्यवादद्वारा निर्देशित–परिचालित दलाल पुँजीवादी सत्तामा विलय भयो ।

यस किसिमको अवसरवादी, संशोधनवादी नेतृत्वसँग विद्रोह गरी क्रान्तिकारीहरूले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न नयाँ आन्दोलन सञ्चालन गरिरहेका छन् र संसदीय संशोधनवादसँग विद्रोह गरी नेकपा (बहुमत) को पुनर्गठनपछि विभिन्न धारामा विभक्त मालेमावादी क्रान्तिकारीहरूबीच एकता, ध्रुवीकरण सुरु भएको छ । नेपाली जनतालाई अब नयाँ शिराबाट उठ्दै गरेको क्रान्तिकारी आन्दोलनले जनयुद्धका बाँकी कार्यभार पूरा गर्दै नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने आशा र विश्वास पलाउँदै गएको छ ।

महान् जनयुद्ध सुरु हुनुअघि तत्कालीन नेकपा (माओवादी) ले जनतासामु सातवटा प्रतिबद्धता व्यक्त गरेको थियो । त्यही प्रतिबद्धताकै विश्वासमा देशका समग्र श्रमिक–उत्पीडित र उपेक्षित जनसमुदाय जनयुद्धमा लामबद्ध भएका थिए । जनयुद्धको मूल नेतृत्वले जनतासामु गरिएका ती प्रतिबद्धता बिर्सियो, भुल्यो, धोका दियो र वर्गघात गर्यो । फलस्वरूप जनयुद्धले निर्धारित लक्ष्य पूरा गर्न सकेन । तत्कालीन माओवादीले जनतासामु गरेका प्रतिबद्धताहरूमा आफ्नो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादको शिक्षामा आधारित हुने, देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने र माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजेय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गरिएको थियो । त्यसैगरी जनयुद्धको थालनीको पार्टीको योजना ’राज्यसत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित रहने उद्घोष गरिएको थियो । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य रहेको र त्यही कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायत सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । पार्टीले सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा प्रतिबद्धता जनाएको थियो । एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा आफूहरू दृढ रहेको बताइएको थियो । जनयुद्ध जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न नदिइने उद्घोषसाथ अघि बढाइएको थियो । त्यसैगरी जनयुद्ध सबै प्रकारका निम्नपुँजीवादी, सङ्कीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

जनयुद्ध आरम्भ गर्नुअघि पार्टीले आफ्नो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहने सार्वजनिक गर्दै नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग रहेको र यसले विश्वक्रान्तिको सेवा गर्ने प्रस्ट पारेको थियो । पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउने, नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढ्ने, क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) को विकासमा अझ बढी सहयोग पु¥याउने अठोट पनि सार्वजनिक गरेको थियो ।

त्यसैगरी जनयुद्धको योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहने प्रस्ट पार्दै अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण गर्ने र त्यसलाई सञ्चालन गर्दै पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्ने, पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने विश्वास व्यक्त गरिएको थियो । जनयुद्धको योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने, पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष सञ्चालन गरिने, कृषि क्रान्तिलाई मेरुदण्ड मानी श्रमजीवी जनससमुदाय, मुख्यतः गरिब किसाहरूमाथि भर पर्ने र कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा नपर्ने अठोट पनि त्यस क्रममा व्यक्त गरिएको थियो ।

नेकपा (माओवादी) ले जनयुद्ध आरम्भ गर्नुअघि युद्ध आफ्नै नियमअनुसार सरल रेखामा नभएर जटिल बक्ररेखामा अघि बढ्ने घोषणा गर्दै लेनिनको ‘क्रान्ति आफैँले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिलं परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात गरेर जाने उद्घोष पनि गरेको थियो । त्यसैगरी जित र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने, खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको–नियमलाई ठीक ढङ्गले समात्ने दृढता पनि सातबुँदे प्रतिबद्धतामा व्यक्त गरिएको थियो ।

तर जनयुद्धका सम्पूर्ण प्रतिबद्धता लत्याउँदै र आफैँ गरेको उद्घोष धुलोमा फ्याल्दै जनयुद्धको मूल नेतृत्वले जनयुद्धबाट क्रमशः भाग्दै सेना, सत्ता, न्यायालय, जनकम्युनलाई ध्वस्त बनाएपछि क्रान्तिकारीहरूले संशोधनवादमा डुब्दै गएको पार्टीबाट विद्रोह गरे र त्यसको पछिल्लो चरणमा संसदीय संशोधनवादसँग विद्रोह गरी नेकपा (बहुमत) निर्माण भएको छ । नेकपा (बहुमत) ले सबैखाले साम्राज्यवादी, दलाल पुँजीवादी, विसर्जनवादी, संसदीय संशोधनवादी विभ्रमहरूबाट मुक्त हुँदै नयाँ शिराबाट क्रान्तिकारी धु्रवीकरण, मालेमावादी क्रान्तिकारीहरूबीच पार्टी एकता र नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाउने उद्घोषका साथ सरकारलाई ४४ बुँदे मागपत्र पनि प्रस्तुत गरेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या सम्बोधन गर्दै अघि बढ्ने जनयुद्धको नयाँ शृङ्खलाले नै जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्न सकिन्छ । यस सन्दर्भमा महान् जनयुद्धका महान् सहिद, बेपत्ता योद्धा, घाइते अपाङ्गहरूको स्मृति, सम्मान र नयाँ कार्यदिशासहित देश र जनताका समस्या समाधान गर्न वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाउनु नै जनयुद्धको नयाँ कार्यभार हो । यो कार्यभारले नै २८ औँ जनयुद्ध दिवसको अर्थ, महत्व र औचित्य दर्साउँछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :