बहुप्रतीक्षित क्रान्तिकारी ध्रुवीकरण र आशाको सञ्चार

बहुप्रतीक्षित क्रान्तिकारी ध्रुवीकरण र आशाको सञ्चार

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच ऐतिहासिक र बहुप्रतीक्षित एकता सम्पन्न भएपछि क्रान्तिकारी जनसमुदाय र क्रान्तिकारी शक्तिमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना हुने एउटा गहिरो आशा सञ्चार भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूले पुनर्गठित पार्टी घोषणासभामा– चेतनामा आएको परिवर्तन र आवश्यकताका कारण क्रान्तिकारी पार्टीहरूबीच एकता अभियान आरम्भ भएको र यो नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह रहेको भन्दै क्रान्ति सम्पन्न गरेरै छोड्ने प्रमुख दायित्व पुनर्गठित पार्टीको काँधमा आएको घोषणा पनि गरेका छन् । नेपाली जनताले इतिहासमा धेरै लामो समयसम्म विभिन्न स्वरूपका आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध र क्रान्तिमा भाग लिएर ठूल्ठूला बलिदानहरू गरेको भए पनि मूल नेतृत्वले निरन्तर दलाली, गद्दारी र धोका दिएकाले जनताले वास्तविक क्रान्ति र परिवर्तनको प्रत्याभूति गर्न नपाइरहेको अवस्थामा दुई क्रान्तिकारी शक्तिबीचको यो एकतालाई ऐतिहासिक आवश्यकताअनुसारको ऐतिहासिक कदमका रूपमा लिइएको छ । घोषणासभाका वक्ताहरूले दुई क्रान्तिकारी पार्टीबीचको एकता एउटा ऐतिहासिक कदम भए पनि यो नै सम्पूर्ण नभएकाले स्थापनाका उद्देश्य र आवश्यकतालाई परिपूर्ति गर्ने चुनौतीपूर्ण क्रान्तिको मार्गमा हिँडेर त्यसलाई पार लगाउनु महत्वपूर्ण रहेको बताउनुले क्रान्तिकारी शक्तिबीच एकता र ध्रुवीकरणको एउटा नयाँ र आशालाग्दो शृङ्खला आरम्भ भए पनि यसले तय गर्ने दिशा, योजना, कार्यक्रम, तदारुकता, इएमानदारी, त्याग, समर्पण र शौर्यले त्यसको मापन गर्नेमा दुईमत छैन । देश र जनताको अवस्था सबै क्षेत्रमा अत्यन्त दारुण, रुग्ण, जीर्ण र सङ्कटापन्न रहेकोमा क्रान्तिकारी शक्तिहरूबीच मतैक्य छ तर भूकम्पले जीर्ण बनाएको घर हेरेर धुरुधुरु रोएर मात्र समस्याको समाधान हुँदैन, त्यसबाट पार पाउनका लागि भग्नावशेषहरू हटाएर नयाँ जग आरम्भ गर्नु महत्वपूर्ण हुन्छ र त्यसका लागि कार्यदिशा, नीति, योजना र कार्यक्रमहरू तय हुनुपर्छ भन्नेमा पुनर्गठित पार्टी दृढ देखिन्छ । पाका, अनुभवी, इमानदार र स्थापित नेतृत्वको शक्तिशाली टिम निर्माण भएकाले जनताले नयाँ टिमलाई विश्वास गर्ने कुरामा दुईमत नभए पनि आफ्ना एजेन्डा लिएर जनतासामु पुग्नुपर्ने, जनताका विषयलाई इमानदारीसाथ दलाल सत्तासामु निरन्तर आन्दोलनका माध्यमबाट उजागर गर्नुपर्ने र माग पूरा नभएसम्म नथाकीकन लागिरहनुपर्ने जिम्मेवारी पनि पुनर्गठित पार्टीसँग छ ।

पार्टी एकता घोषणासभामा पुनर्गठित पार्टीका शीर्ष नेताहरूले एकतालाई पुराना चिन्तनहरूमाथिको विजय र क्रान्तिको उद्घोषको संज्ञा दिनु अत्यन्त सराहनीय र सकारात्मक पाटो हो । शीर्ष नेतृत्वपङ्क्तिबाट नयाँ पार्टी क्रान्तिकारी धारको मूल प्रवाह रहेको घोषणा हुनु, यो नयाँ किसिमको जनयुद्धको आरम्भ भएको उद्घोष गरिनु, विगतमा भएका सबै आन्दोलन, सङ्घर्ष र युद्धका अनुभवहरूको उत्तराधिकारी र जिम्मेवार रहेको निष्कर्ष प्रस्तुत गरिनु र घोषणासभामा उत्साहजनक जनसहभागिताका साथै नेतृत्वका सन्देशहरूको जोडदार समर्थन हुनुले क्रान्तिकारी शक्ति र समुदायका लागि आगामी दिनहरू अवश्य सुखद र खुसीका क्षण हुने कुरामा सन्देह छैन ।

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने क्रममै ऐतिहासिक दिन पारेर नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता घोषणा गरिएको छ । मे दिवसका दिन क्राकपा नेपालले जारी गरेको एकता घोषणा वक्तव्यमा भनिएको छ, ‘आखिर श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ताका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादको सर्वाेच्च चेतनाद्वारा सुसज्जित मानिसहरूबाट बनेको साम्यवादी दलबिना उनीहरूको मुक्ति असम्भव छ । यसका साथै त्यो अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभईकन कुनै आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । नेपाली साम्यवादी आन्दोलनमा एकता–सङ्घर्ष–रूपान्तरण कम भएको छ भने एकता–सङ्घर्ष–फुटबाट यो बढी आक्रान्त भएको छ । हामी यो महान् चाडका अवसरमा एकता–सङ्घर्ष–रूपान्तरणको प्रक्रियालाई हाबी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ यही प्रतिबद्धताले नै नेपालका क्रान्तिकारी वर्ग र जनसमुदायमा नयाँ ऊर्जा थपेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो एकता मालेमावादी सिद्धान्तमा आधारित रहेको सार्वजनिक गरेर क्रान्तिकारीहरूमा थप आशावाद जाग्रत गरेको छ ।

पार्टीको एकता अधिवेशन र एकता घोषणासभापछि पुनर्गठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३१ बुँदे समसामयिक प्रस्ताव जारी गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविका आफ्नो चासो, सरोकार र जिम्माको विषय रहेको दृढता व्यक्त गरेको छ । प्रस्तावमा वर्तमान दलाल संसदीय सत्ता र व्यवस्थाका विकल्पमा सङ्घीय जनगणतन्त्र नेपाल स्थापना हुनुपर्ने, देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको ढृढतापूर्वक रक्षा एवम् संवद्र्धन गर्नुपर्ने, देशको स्वाधीनता र सुरक्षाको प्रतिकूल रहेका एमसीसीलगायत कार्यक्रम र सम्झौताहरू तत्काल खारेज गरी कार्यान्वयनमा रोक लगाउनुपर्ने, मुलुकको राष्ट्रिय स्वाधीनताको प्रतिकूल नहुने गरी नेपाली नागरिकलाई सुलभ र सुगम ढङ्गले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुपर्ने, उत्पीडित जातिहरूलाई आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय स्वायत्तता र स्वशासनको व्यवस्था गर्नुपर्ने, आमाको नामबाट नागरिकता दिने कानुनलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, सामाजिक विकृतिका रूपमा रहेका बोक्सी, छाउपडी, दाइजोलगायत घरेलु हिंसाको पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने, जनताको स्वास्थ्योपचारको दायित्व लिनुपर्ने, देश र जनताको सर्वतोमुखी र बहुआयामिक विकासलाई अगाडि बढाउन नेपालको राष्ट्रिय सुरक्षाको खाका तयार गर्नुपर्ने, बेरोजगारी समस्याको अन्त्य गरी बिदेसिएका युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नुपर्ने र बेरोजगारहरूलाई जीवनयापनका लागि न्यूनतम भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी मजदुरहरूलाई आस्थाका आधारमा सङ्गठित भई सङ्घर्ष गर्ने अधिकारको सुनिश्चितता प्रदान गर्नुपर्ने, किसानहरूका लागि समयमै सस्तो र सहुलियत मूल्यमा मल–बिउको व्यवस्था गरी कृषिजन्य उपभोग्य वस्तुहरूमा देशलाई आत्मनिर्भर बनाउनुपर्ने, अल्पसङ्ख्यक, सीमान्तकृत र दुर्गम क्षेत्रका जनसमुदायका लागि विशेष योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने, दलितमाथि हुने भेदभाव र छुवाछूतलाई व्यवहारतः अन्त्य गर्नुपर्ने, ‘मिटरब्याज’ पीडित जनताको समस्या तत्काल समाधान गरी पीडक सूदखोरहरूलाई कडा कारबाही गर्नुपर्ने, राज्यका सबै अङ्ग र सबै संयन्त्रमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने, उद्योग, वाणिज्य र व्यापारका क्षेत्रमा कायम रहेको दलाल पुँजीवादी प्रणाली खारेज गरी राष्ट्रिय चरित्र भएका उद्योग, वाणिज्य र व्यापारलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने, वातावरणमा भएको प्रदूषण नियन्त्रण र रोकथाम गर्न दीर्घकालीन योजना तय गरी लागू गर्नुपर्ने, राजनीतिक पूर्वाग्रह राखेर विभिन्न झूट्टा मुद्दाहरूमा फसाएर कारागारमा राखिएका सम्पूर्ण राजबन्दीलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने, जनयुद्धकालीन मुद्दाहरूलाई ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ बाट समाधान गर्ने सहमतिलाई ढृढतापूर्वक तत्काल कार्यान्वयन गर्नुपर्ने, पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरूको सीमाङ्कन र नामाङ्कन हुनुपर्ने, राष्ट्रिय निकुञ्ज, सिकार आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षण क्षेत्रजस्ता प्राकृतिक स्रोत–साधनहरूमा स्थानीय जनता र समुदायको हितको संरक्षण गर्ने नीति कार्यान्वयन गर्नुपर्ने, न्यायालयमा भैरहेको ढिलासुस्ती, घूसखोरी, भ्रष्टाचार, बिचौलियाको प्रवेश, माफियाकरणजस्ता विकृति र विसङ्गतिको अन्त्य गरी निष्पक्ष एवम् सर्वसुलभ न्यायिक पहुँच पाउने व्यवस्था गर्नुपर्ने, विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा विकास एवम् प्रवद्र्धन गर्नुपर्ने, राज्यसत्ताको संरक्षणमा व्यापक रूपमा झाङ्गिएको भ्रष्टाचारमा संलग्नहरूलाई कडा कारबाही गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुहरूमा भएको महँगी नियन्त्रण गर्नुपर्ने, कालोबजारीमा संलग्नहरूलाई तत्काल कारबाही गर्नुपर्ने, देशमा भैरहेका अशान्ति, असुरक्षा, हत्या, बलात्कारजस्ता जघन्य अपराधहरूलाई नियन्त्रण गर्नुपर्ने, अपराधीहरूलाई कारबाही गरी पीडित पक्षलाई न्याय र क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भारतद्वारा देशका विभिन्न स्थानमा भएको सीमा अतिक्रमण र ज्यादतीको विरोध गर्नुपर्ने, सीमा अतिक्रमण रोक्नुपर्ने, विवादित क्षेत्रहरूको सीमा तत्काल नियमन हुनुपर्ने, भारतले प्रकाशित गरेको नेपालको नक्कली नक्सा खारेज गरी वास्तविक नेपालको नक्सा प्रयोग गर्नुपर्ने, बेलायत सरकारद्वारा ब्रिटिस गोर्खाहरूप्रति गरिएको अन्याय र असमान व्यवहारको अन्त्य गरी त्यसको न्यायोचित समाधान गर्नुपर्ने, रुस र युक्रेनबीच जारी अन्तरसाम्राज्यवादी युद्धको तत्काल अन्त्य हुनुपर्नेलगायत समसामयिक प्रस्ताव पारित गरेर नवगठित पार्टी देश, जनता र उत्पीडित वर्गका पक्षमा निरन्तर लागिरहेको छ र जिम्मेवार छ भन्ने प्रमाणित गरेको छ । घोषणासभामा ‘यो एकता प्रकारान्तरले जनयुद्धको उद्घोष हो’ भन्ने भनाइले जनयुद्ध सुरु हुनुपूर्व तत्कालीन माओवादीले सरकारसँग राखेको ४० सूत्रीय माग र त्यसपछिको अवस्थालाई स्मरण गराउँदै मुलुकले नयाँ सङ्घर्ष माग गरिरहेको पूर्वसङ्केत गरेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :