माओवादी क्रान्तिकारीहरू एक भएर प्रतिरोध गर

माओवादी क्रान्तिकारीहरू एक भएर प्रतिरोध गर

नेपालमा क्रान्तिकारी आन्दोलनका विरुद्ध फेरि प्रतिक्रियावादी शक्तिहरूले गम्भीर ढङ्गले टाउको उठाउन खोजेका छन् । एकातिरबाट राजतन्त्रका पक्षपातीहरू, नयाँ शक्तिका रूपमा प्रायोजित शक्तिहरू र पछिल्लो समयमा कानुनी रूपमै जनयुद्धका उपलब्धि र नेतृत्वका विरुद्ध षड्यन्त्रपूर्ण उजुरी र फैसला लिएर आएका प्रतिक्रान्तिकारी हर्कतका विरुद्ध क्रान्तिकारी माओवादीहरूलाई एक भएर प्रतिरोध गर्ने र विघटित जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिकारी ध्रुवीकरणसहित नयाँ शिराबाट विद्रोह जारी राख्नुपर्ने अवस्था उत्पन्न गराइदिएको छ । मङ्गलबार आठ माओवादी दल र नेतृत्वबीचको बैठक र छलफलपछि जारी विज्ञप्तिमा उल्लिखित चेतावनीपूर्ण भाषाले बिग्रिएका माओवादीहरू रूपान्तरित भएर क्रान्तिकारी माओवादीहरूको नेतृत्वमा क्रान्तिमार्गमा अघि बढ्नुको विकल्प नरहेको सन्देश प्रवाह गरेको छ । आठ दलको विज्ञप्तिले श्रमिक जनता र जनयुद्धमा लामबद्ध शक्तिमा एउटा राम्रो सन्देश पनि प्रवाह गरेको छ । यो सकारात्मक कुरा हो ।

नेपालमा दस वर्षसम्म जारी जनयुद्ध विघटनको परिणाम आज जनयुद्धको मूल नेतृत्वदेखि क्रान्तिकारी धाराका पार्टीहरू हुँदै सहिद, बेपत्ता योद्धाका परिवार, घाइते, अपाङ्ग, श्रमिक जनता सबैले बेहोरिरहेका छन् । नेपालका प्रतिक्रियावादी शक्तिहरू जनयुद्धमा भएको बलिदानलाई हियाउँदै जनयुद्धलाई आतङ्क साबित गर्न न्वारानदेखिको बल लगाएर संसारभरका प्रतिक्रियावादी शक्तिहरूलाई गुहारिरहेका छन् भने जनयुद्ध विघटन गरेर सत्तामा पुगेका पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरू आफैँमाथि प्रतिक्रियावादी सत्ताको लाठी प्रहार नभएसम्म चेत्नेवाला देखिँदैनन् । नेकपा (बहुमत) सहित जनयुद्धबाट आएका क्रान्तिकारी माओवादीको पहलमा क्रान्तिकारी एकता र ध्रुवीकरणको पहल हुँदै गरेको अवस्थामा फेरि प्रतिक्रियावादीहरूले टाउको उठाएका छन् र सबै माओवादी र माओवादी जनयुद्धलाई नै आतङ्ककारी साबित गराउन अदालतको सहारा लिएका छन् । पुष्पकमल दाहालले केही वर्षअघि जनयुद्धमा मारिएका पाँच हजारको जिम्मा आफूले लिने भनी दिएको अभिव्यक्तिलाई आधार बनाएर केही आईएनजीओ र एनजीओसमेतको उक्साहटमा केही पात्रहरू प्रचण्डलाई देखाएर क्रान्तिकारी माओवादीहरूलाई नै तर्साउने र जनयुद्धबाट प्राप्त सीमित उपलब्धिहरू पनि समाप्त पार्ने षड्यन्त्रमा लागेको देखिन्छ । अदालतले प्रचण्डका विरुद्ध जारी गरेको आदेश त्यसैको एउटा प्रमाण हो । सम्पूर्ण न्यायप्रेमी नेपालीले यसप्रकारका हर्कतहरूको सचेततापूर्वक प्रतिरोध गर्नुपर्छ ।

प्रचण्ड–बाबुराम–बादलहरू जनयुद्धबाट थाकेर, हारेर र प्रतिक्रियावादी शक्तिको योजना र षड्यन्त्रमा परेर प्रतिक्रियावादी व्यवस्थाको शरणमा नपरेको भए यति बेला नेपालमा जनवादी गणतन्त्र हुँदै समाजवादी सत्ताको अभ्यास हुँदै गरेको हुने थियो भन्ने अनुमान लगाउन कुनै गाह्रो छैन किनकि संसारकै प्रतिक्रियावादी शक्तिहरूले पनि नेपालको असी प्रतिशत भूभागमा माओवादी जनसत्ता स्थापना भएको स्वीकार गरिसकेका थिए । राजधानीभित्रै माओवादी प्रवेश गरेर कतिपय चौकीहरू कब्जा गरिसकेको अवस्था थियो । शाहीसेनाका अधिकांश ब्यारेक, जिल्ला सदरमुकामहरू, सशस्त्रका ब्यारेकहरू धमाधम जनताको उत्साहजनक उपस्थितिमा माओवादी जनमुक्ति सेनाले कब्जा गरिरहेको अवस्था थियो । जनता राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई लिएर आततायी सत्ता र संसद्वादी जालझेल तथा षड्यन्त्रका विरुद्ध जनयुद्धमा उत्साहजनक सहभागिता जनाएर बलिदानका लागि तत्पर थिए । दस हजार हाराहारी योद्धाले जनताका तर्फबाट बलिदान गरिसकेको र तीस हजारभन्दा बढी जनमुक्ति सेना, जनसत्ता, जनन्यायालय स्थापना भइसकेको अवस्था थियो । जनयुद्धको मुख्य नेतृत्व जनयुद्धबाट पलायन हुँदा जनताले रगत बगाएर हासिल गरेका सबै उपलब्धिहरू गुमेर केवल नाम मात्रको गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्र नामको दलाल पुँजीवादी सत्ता स्थापना हुन पुगेको छ । मूल नेतृत्वले गरेको कमजोरीका कारण जनमुक्ति सेना आफ्नो सम्पूर्ण उपलब्धि गुमाएर हतियारसमेत छोडेर रुँदै घर फर्किएको थियो । सम्पूर्ण समस्याको समाधान दिन आरम्भ गरिएको जनयुद्ध अन्ततः केही नेताहरूको पलायन र लहडका कारण क्षणभरमा तासको घरझैँ भताभुङ्ग हुन पुगेको थियो ।

जनयुद्धको समाप्तिपछि माओवादी धारा हेर्दाहेर्दै कयौँ भँगाला र धारहरूमा विभाजित र खण्डित भयो । बाबुराम भट्टराईहरू मालेमा नै छाडेर बुर्जुवा धार समात्दै दलाल पुँजीवादको खम्बा बनेर अघि बढे । उनीहरूमाथि जनताले दलाल र गद्दारको अभियोग दर्ता गरेको छ । पुष्पकमल दाहालहरूलगायत एउटा समूह जनयुद्धको नेतृत्वको दाबी त गरिरहेको छ तर ऊ पनि दलाल पुँजीवादकै यात्रामा रमाइरहेको छ र क्रमशः विघटनको सिकार बनिरहेको छ । रामबहादुर थापालगायत एउटा समूह एमालेमा गएर विलीन भएको छ भने विप्लव प्रकारान्तरले संसदीय संशोधनवादी बाटोमा पतन भएर विगतप्रति पश्चाताप गर्ने अवस्थामा पुगेका छन् । यति बेला कञ्चन–सुदर्शन नेतृत्वको नेकपा (बहुमत) र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मात्र जनयुद्धका असली उत्तराधिकारी हुन् र विद्रोही मशालसहित तीन पार्टीबीच क्रान्तिकारी एकता र ध्रुवीकरणको पहलले मूर्त रूप लिइरहँदा विघटित जनयुद्ध र यसको मर्म नयाँ शिराबाट उठ्न लागेको आभास भएकै छ ।

यसै सन्दर्भमा मङ्गलबार नेकपा (बहुमत), क्रान्तिकारी माओवादी, माओवादी केन्द्रसहित दलका मुख्य नेतृत्वको बैठक बसी जनयुद्धका उपलब्धि उल्ट्याउने गरी शान्ति सम्झौताविरुद्धका गतिविधिको प्रतिवाद गर्ने निर्णय सार्वजनिक गरेको छ । आठ माओवादी दलको यो निर्णयले सहिद–बेपत्ता योद्धाका परिवार र श्रमिक जनसमुदायमा थोरै भए पनि आशा सञ्चार गरेको छ । यो बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाललगायतको सहभागिता र संयुक्त रूपमा जारी सत्ताषड्यन्त्रको प्रतिरोध गर्ने चेतावनीपूर्ण विज्ञप्ति माओवादी आन्दोलन विघटनको दिशामा गइरहेको र माओवादी कमजोर र छिन्नभिन्न भएको अवस्था पारेर इतिहास नै उल्ट्याउने गरी भएका निर्णयहरूका विरुद्धको एउटा साङ्केतिक विद्रोह हो । नाम मात्रको भए पनि सत्तसीन माओवादी र क्रान्तिकारी माओवादीहरूबीचको यो मोर्चाले जनतामा क्रान्तिकारी आशावाद सञ्चार गर्दै जनयुद्धलाई नयाँ शिराबाट अघि बढाउने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्न केही मात्रामा भए पनि सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :