पार्टी एकताको ऐतिहासिक कदम

पार्टी एकताको ऐतिहासिक कदम

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताको ऐतिहासिक घोषणा भएको छ । नेपालमा अधुरो क्रान्ति सम्पन्न गर्ने तथा देश र उत्पीडित वर्गका जनतालाई मुक्त पार्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने दृढता र प्रतिबद्धतासहित यही २४ गते संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर आगामी वैशाख १८ गते मे दिवसको दिन पार्टी एकता गर्ने घोषणा गरिएको हो । विगतमा क्रान्तिको नेतृत्व गरेको मूल नेतृत्वको आत्मसमर्पण, पलायन र टुट, फुट एवम् विभाजनका कारण सफल हुन नसकेको मालेमावादी क्रान्ति दुई क्रान्तिकारी पार्टीबीचको एकताले सफल बन्नने आशा र अपेक्षा उत्पीडित वर्गले गरेको छ । त्यसैले यसलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ । उत्पीडित वर्गको यो अपेक्षा, आशा र आवश्यकता अब जनयुद्धको उत्तराधिकारी नयाँ पार्टीले गर्नैपर्छ ।

दुई क्रान्तिकारी पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आमकार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम, क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य, पुँजीवादी अधिनायकत्वका विरुद्ध सर्वहारा अधिनायकत्व, सर्वहारा अन्तर्राष्ट्रियतावाद, आत्मनिर्णयको अधिकारसहित उत्पीडित राष्ट्रियता तथा क्षेत्रको स्वशासन, महान् जनयुद्धको ऐतिहासिक भूमिका र महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई आफूरूबीच एकताका प्रमुख आधारहरू रहेको घोषणा गरेका छन् ।

दुई पार्टीले आफूहरूबीचको एकता प्रक्रियामा नेपाली शोषित–उत्पीडित तथा संसारका श्रमजीवी तथा उत्पीडित जनताको धड्कन अभिव्यक्त भएको भन्दै खुसी र विश्वास व्यक्त गरेका छन् । दुई पार्टीले विभिन्न क्रान्तिकारी पार्टी, समूह, व्यक्तिहरू र संसदीय संशोधनवादी भ्रममा रहेका अन्य क्रान्तिकारी कम्युनिस्टहरूलाई पनि एकताको महान् प्रक्रियामा लामबद्ध हुन हार्दिक आह्वान गरेका छन् ।

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन एकताबद्ध हुँदा जस्तासुकै ठूला चुनौतीहरू पनि पार लगाउँदै विजयको दिशातिर अघि बढेको सुन्दर र गौरवशाली इतिहास छ । विसं दुई हजारको चालीसको दशकसम्म नेपालको कम्युनिस्ट आन्दोलन कयौँ धारा, समूह र गुटहरूमा विभाजित भएर छिन्नभिन्न हुँदा २००६ सालमा स्थापना भएर २०२८ सालमा झापाबाट उदाएको क्रान्तिको ज्योति निभ्ने खतरा बढ्दै गएको अनुभूति हुँदै गएको थियो तर निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिमा आबद्ध नेकपा मशाल, नेकपा मसाल, चौथो महाधिवेशनकै लामा समूहसहित चार कम्युनिस्ट पार्टी÷समूहबीचको मोर्चा, जनआन्दोलनमा क्रान्तिकारी शक्तिको पराजय, संसद्वादीहरू हाबी भएर राजतन्त्रसँग भएको सम्झौता र धोकापछि त्यसअघि निर्मित उक्त क्रान्तिकारी मोर्चाकै भ्रूणमा २०४७ सालमा निर्मित नेकपा एकताकेन्द्र र त्यसबाट संशोधनवादी, अवसरवादी लामा समूहको पलायनपछि पुनर्गठित नेकपा (माओवादी) ले नै नेपालको क्रान्तिकारी आन्दोलनलाई अघि बढाएको थियो । नेपालमा राजतन्त्रको अन्त्य गरिनु, दलाल पुँजीवादीहरूले कब्जा गरे पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुमा मालेमाको आलोकमा भएको महान् जनयुद्धको नै महत्वपूर्ण र निर्णायक योगदान छ र त्यो क्रान्तिकारी एकताको जगमा टिकेको र अघि बढेको क्रान्तिकारी सङ्घर्षको ऐतिहासिक महत्व छ ।

नेकपा (माओवादी) को चुनबाङ बैठकदेखि विस्तृत शान्तिसम्झौता हुँदै संविधानसभासम्म आइपुग्दा नेपालको क्रान्तिकारी आन्दोलनको विकसित रूप मालेमामा आधारित जनयुद्धको मूल नेतृत्वमा क्रान्तिकारी ऊर्जा समाप्त भएर सम्झौता हुँदै पलायन र आत्मसमर्पणको प्रलयकारी स्खलनको शृङ्खला आरम्भ भएपछि नेपालको कम्युनिस्ट आन्दोलनले फेरि टुट, फुट, विभाजनको अनन्त शृङ्खला बेहोरेको छ । यति बेला महान् जनयुद्धबाट आएको क्रान्तिकारी शक्तिबाट दर्जन हाराहारी विभाजन भइसकेका छन् र कयौँ समूहहरू दलाल पुँजीवादका असली सेवक बनेर क्रान्तिको बाधक तत्वमा परिणत भइसकेका छन् । स्वयम् जनयुद्धका नायक कहलिएका प्रचण्ड, बाबुराम, रामबहादुर थापाहरू प्रतिक्रान्तिका मतियार र दलाल पुँजीवादका रक्षकमा भ्रष्टीकृत बनिसकेका छन् । यस्तो अवस्थामा हरेक विद्रोह र पुनर्गठनमा क्रान्तिको झन्डा धुलोमा खस्न नदिएर क्रान्तिकारी मालेमावादी आन्दोलनको रक्षा र विकासमा जुटेका दुई पार्टीबीच एकता हुनु मुर्झाइरहेको विश्व–कम्युनिस्ट आन्दोलनको खडेरीमा पानीको थोपा सिँचन हुनु हो । यसले विश्वसर्वहारा वर्गलाई आशाको सञ्चार गराएको छ भने प्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी, संसदीय संशोधनवादी तप्काको थाप्लोमा भुतभुते खनिएको छ ।

दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीले कम्युनिस्ट आन्दोलनको व्यापक समीक्षा गर्दै नयाँ शिराबाट क्रान्तिकारी कार्यदिशा, क्रान्तिको रणनीति र कार्यक्रमहरू तय गर्नु छ र इतिहासबाट पाठ सिक्दै अघि बढ्नु आवश्यक छ । इतिहासले वर्तमान र भविष्यका लागि पाठ मात्र सिकाउँदैन, कहिलेकहीँ इतिहासले न्यायालयको काम पनि गर्छ । नेपालका क्रान्तिकारी मालेमावादीहरूलाई अब इतिहासतिर हेरेर बस्ने छूट छैन । महान् दार्शनिक एवम् माक्र्सवादी गुरु कार्ल माक्र्सले भन्नुभएझैँ संसारलाई बुझ्ने र व्याख्या गर्ने काम त अरूले पनि गरिसकेका छन्, अब गर्नुपर्ने भनेको यसलाई बदल्ने हो । अरूलाई बदल्नका लागि पहिला आफू बदलिनुपर्छ र यो महत्वपूर्ण र ऐतिहासिक जिम्मेवारी क्रान्तिकारी शक्तिको काँधमा आएको छ । सबैले आआफ्ना सीमाहरु समाप्त पार्दै क्रान्ति र मुक्तिलाई एक मात्र लक्ष्य बनाउनुपर्छ र विभिन्न धारा र समूहमा विभक्त क्रान्तिकारीहरूलाई पनि यही मालेमावादी क्रान्तिकारी धारामा गोलबद्ध गर्दै निर्णायक क्रान्ति छेड्नु अपरिहार्य बनेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :