जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको निर्णय

जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने अखिल क्रान्तिकारीको निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले जनप्रतिनिधि, नेता र मन्त्रीको लगानीमा सञ्चालित विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । बैठकले विदेशी विश्वविद्यालयको अनुमतिबाट नेपालमा सञ्चालित कलेजको बेथिति, सीटीईभीटीभित्रका चरम बेथिति, निजी विद्यालयले गरेको शुल्क वृद्धि, कमिसनका लागि बर्सेनि पाठ्यपुस्तकका प्रकाशक परिवर्तन गरेर विद्यार्थी तथा अभिभावकमाथि आर्थिक शोषण गर्ने विद्यालयविरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ ।

बैठकले दुईमहिने विशेष अभियान सञ्चालन गरेर शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा व्यापक जनसङ्घर्ष सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सङ्घर्षका क्रममा शिक्षा क्षेत्रमा देखिएका समस्याबारे व्यापक छलफल र अन्तरक्रिया गर्ने, विश्वविद्यालयको प्रश्नपत्र नेपाली भाषामा समेत तयार गर्न सङ्घर्ष गर्ने, शैक्षिक क्यालेन्डर र नियमित पठनपाठन गराउन माग राखेर आन्दोलन चर्काउने निर्णय भएको जनाइएको छ ।

बैठकको प्रमुख आतिथ्य नेकपा (बहुमत) का संयोजक कञ्चनले गरेका थिए । बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ र पार्टी सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंह ‘समरजङ्ग’ अतिथिका रूपमा उपस्थित थिए । पार्टी संयोजक कञ्चन, कार्यालय सदस्य दीपक र सचिवालय सदस्य समरजङ्गले विद्यार्थी आन्दोलनको महत्व, दिशा र कार्यभारका बारेमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

सङ्गठनकी महासचिव रूपा बुढामगरले बैठकले आगामी शैक्षिक सङ्घर्ष र सङ्गठन सम्बन्धमा विभिन्न निर्णय गरेको जानकारी दिइन् । बैठकले सङ्गठनको केन्द्रीय सचिवको जिम्मेवारी दीपक बिष्ट र कोषाध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्तेतलाई दिने निर्णय गरेको जनाइएको छ । बैठकले सङ्ठनको केन्द्रीय कार्यालय सदस्यमा नवीन खड्का, डीबी शाही, गोविन्द बिष्ट, सुरेन्द्र धानुक, रमेश सुनार, प्रेमप्रशान्त बोहरा, विकल्प खत्री, हरि बिष्ट र निराजन किराँतीलाई चयन गरेको छ ।

बैठकले सङ्गठनका लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहरा केन्द्रीय कार्यालयअन्तर्गत रहने निर्णय गरेको छ । लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य इन्दु वलीलाई दिइएको छ । बैठकले सङ्गठनका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियन २०७९ मा सहभागी भएर विजयी भएकाहरूलाई अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :