विदेशी रिजाउने शिक्षा विधेयक खारेज गर्नुपर्छ : वक्ताहरू

विदेशी रिजाउने शिक्षा विधेयक खारेज गर्नुपर्छ : वक्ताहरू

काठमाडौँ : सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी) ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशी रिजाउने विधेयक भएको समेत आरोप लगाएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले सरकारले विधेयक नभएर शिक्षा ऐन ल्याउनु पर्ने धारणा राखेका छन् । सो विधेयक अवैज्ञानिक र जनविरोधी मात्रै नभएर त्यसले देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् । लोहनीले शिक्षाविद विद्यानाथ कोइरालाले पुराना शिक्षकहरूलाई हटाएर प्रविधिसँग भिज्नसक्ने शिक्षक भर्ति गर्नुपर्ने विचारको प्रतिवाद गर्दै भने,“कोइराला जीको कुराप्रति मेरो असहमति छ, एआई भनेको मनिसद्वारा नै निर्मित भएकाले सिक्ने र सिकाउने वातावरण भए जो पनि अपग्रेट र ट्रेण्ड हुनसक्छ र सकिन्छ ।

कानुनविद प्रा.डा.युवराज सङ्ग्रौलाले वर्तमान शिक्षा विधेयक नेपाली मौलिकतालाई अन्त्य गर्न विदेशी योजनामा आएको दाबी गरेका छन् । सङ्ग्रौलाले उच्च शिक्षा विधेयकको सन्दर्भमा विश्वविद्यालयहरुलाई केन्द्र र प्रदेश भनेर विभाजनको रेखा कोरेर अझ कमजोर बनाउने नीति लिएको बताउँदै भने,“काठमाडौं भन्दा बाहिर केन्द्रीय विश्वविद्यालय विस्तार गर्न नपाउने र भएकालाई पनि प्रदेशमा समेट्ने भन्ने अर्को गम्भिर विषयले दुरदराजका गरिव जनताको छोराछारीले केन्द्रीय विश्वविद्यालयमा पढन नपाउने भन्ने मनोविज्ञान बन्नु दुर्भाग्य हो ।” संग्रौलाले पञ्चायती व्यवस्था खराब भएपनि त्यस समयको शिक्षाले राष्ट्रियता, जीवन उपयोगी सीप तथा राष्ट्रको सूचना, ज्ञान र बुद्धी निमार्ण गर्ने तीनवटा न्युनतम व्यवस्था गरेको स्मरण गर्दै वर्तमान शिक्षा विदेशीको सेवा गर्ने किसीमको भएको दाबी गरे । वर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठले सबैभन्दा पहिले एकरातमै एनओसी दिने भन्ने घोषणाले उनको नियत स्पष्ट भएकोसमेत बताए ।

प्रा.डा.विद्यानाथ कोइरालाले वर्तमाना शिक्षा विधेयक देश र जनताको पक्षमा भन्दा पनि खास कसको पक्षमा हो भन्ने नै प्रष्ट नभएको धारणा राखे । राजनीतिक दलहरुले आफ्ना घोषणा पत्रहरुमा राम्रा राम्रा शब्दहरु खर्चने, ठूलठूला राजनीतिक तथा दार्शनिक जार्गनहरुको प्रयोग गर्ने तर व्यवहारमा केही पनि नगर्ने भएको आरोप लगाए ।

अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेलले वर्तमान शिक्षा विधेयकले नेपाली जनताको हितमा भन्दा विदेशी रिजाउने किसिमको भएको धारणा राख्दै भने, “यो शिक्षा विधेयकले युवाहरुलाई झन विदेश पलायन हुन बाध्य बनाउने किसिमको छ, यसको विरोध गर्नुपर्छ ।”

क्रान्तिकारीका संयोजक मिलन राईले वर्तमान शिक्षा विधेयक जनमुखि नरहेको र त्यसलाई रोक्न आफूहरुले छिट्टै आन्दोलनको घोषणा गर्ने बताए । शिक्षाको सम्पूर्ण जिम्मा राज्यले नलिउन्जेलसम्म आफूहरुले संघर्ष जारी राख्ने चेतावनी दिए ।हिसानका उपाध्यक्ष रामहरी शिलवालले नीजि शिक्षालयहरु ब्यापरी भएको आरोप लाग्ने गरेप्रति रोष व्यक्त गर्दै भने,“देशको शिक्षालाई आजको अवस्थामा पुर्याउन हामीहरुको ठूलो योगदन छ,यसको चर्चा गर्नु पर्दैन ? माफियासम्म भन्ने कुरा गलत छ ।” ‘आफूहरु निजीलाई सार्बजनिक गर्न तयार रहेको तर सरकारले हाम्रो लगानी भने सुरक्षित गर्नु पर्छ ।’ सिलवालले थपे ।

प्रा.डा.जगदिशचन्द्र भण्डारीले शिक्षा विधेयकको मुल जारो नै गलत भएकाले त्यसको जरा नै उखालेर फाल्नु पर्ने धारणा व्यक्त गरे । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रमेश रुपाखेतिले देशमा वैज्ञानिक समाजवादी शिक्षा लागु नभएसम्म देशको शिक्षामा सोचे अनुसारको परिवर्तन नहुने ठोकुवा गरे ।

प्याव्सनका वरिष्ट उपाध्यक्ष टिआर ढकालले देशमा जबसम्म विद्यार्थीहरुको भविष्य सुनिश्ति हुने वातावरण बनाइदैन र देशको शिक्षा नीतिलाई ब्यवहारीक बनाइँदैन तबसम्म विद्यार्थी पलायन हुने क्रम बढ्ने धारणा व्यक्त गरे ।अखिल नेपाल राष्ट्रि शिक्षक संगठनका अध्यक्ष विजय रत्न बज्राचार्यले शिक्षा सेवामा लामो अनुभवकोको चर्चा गर्दै, नेपालमा निजी शिक्षालाई सञ्चालन गर्ने नीति लागु हुँदा ताकाको स्मरण गर्दै भने,“त्यसबेला नेपालमा निजी विद्यालयहरु खुल्ने बाटो गलत थियो र त्यो सावित भयो ।” तरुण माविका प्रधानाध्यापक बाबुराम न्यौपानेले सार्बजनिक शिक्षामा शुधार गरिएको खण्डमा निजी शिक्षा आफै विस्थापन हुने धारणा व्यक्त गरे । विश्व निकेतनका प्रधानाध्यापक हेरम्भराज कडेलले अखिल (क्रान्तिकारी) ले वर्तमान शिक्षामा देखिएको समस्याको निकासका लागि कार्यक्रम निकै सान्दर्भिक भएको बताउँदै, विगतमा बन्द, हड्ताल र तालाबन्दी वाला भाष्य परिवर्तनको अनुभूति भएको बताए ।

चामुण्डा माविका प्रधानाध्यापक गुणराज आचार्यले सार्बजनिक शिक्षाको सुधारका लागि राज्यको त्यति ध्यान नपुगेको र शिक्षकहरुलाई दोष दिएर कोही पनि उम्कन नमिल्ने बताए । अखिल (क्रान्तिकारी) का सहसंयोजक विरेन्द्र शाहले संचालन गरेको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य लाल बहादुर विसीले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहसंयोजक पेशल दाहालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :