सिर्जनानगरबाट नयाँ संस्कृति सिकौँ : सिंह

सिर्जनानगरबाट नयाँ संस्कृति सिकौँ : सिंह

सिर्जनानगर (रामेछाप) : नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज, श्रमिक, महिला, स्रष्टाहरूको सम्मान र सिर्जनात्मक काम गरी नयाँ संस्कार निर्माण अभियान सञ्चालन गरिएकाले माक्र्सवादीहरूले सिर्जनानगरबाट सिक्नुपर्ने धारणा उनले राखेका हुन् ।

नेपालको सरकारमा भारत, अमेरिका, चीनका प्रतिनिधिहरू रहेको औँल्याउँदै नेता सिंहले दलाल पुँजीवादले साम्राज्यवादलाई देश लुट्न भित्र्याएको र करोड हाराहारी युवाहरूलाई भने विदेशतिर धकेलेको पनि बताए । राजनीति, विचार, दर्शन, संस्कृति सबैतिर साम्राज्यवाद र दलाल पुँजीवादको हावा चलिरहेको अवस्थामा माक्र्सवादी विचारसँग तादात्म्य मिलाएर मौलिक जनसंस्कृति निर्माण आरम्भ गरिनु आफैँमा उदाहरणीय रहेको नेता सिंहको भनाइ थियो ।

राणाशासनविरुद्ध गठित मुक्ति सेनाका योद्धा, रक्षा दलका सदस्य, स्थानीय सामन्ती शोषणविरोधी किसान आन्दोलनका अगुवा एवम् स्रष्टा हितप्रसाद उपाध्याय सुवेदी र सामाजिक अभियन्ता जूनमाया सुवेदीको स्मृति र सम्मानमा १७ वर्षअघि स्थापित साहित्यिक–सांस्कृतिक संस्था हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानद्वारा आयोजित स्मृति सभाका प्रमुख अतिथि नेकपा (बहुमत) का युवा नेता सिंहले हित–जून ललितकला कक्षको अवलोकन पनि गरे ।

कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू केबी मल्ल, रणबहादुर विक, पार्टीका रामेछाप जिल्ला इन्चार्ज अग्रीम, संयोजक उजिर, महिलानेत्री सीता गौतम, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज गगन, जिल्ला सेक्रेटरी लाङ्घालीलगायत वक्ताले सांस्कृतिक रूपान्तरण र वैचारिक बहसमा संस्थाले गरेका कामको प्रशंसा गर्दै दुई पार्टीबीचको एकताले नेपालको क्रान्तिकारी आन्दोलनलाई सार्थक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । हित–जून साहित्य प्रतिष्ठानले १५ वर्षदेखि सांस्कृतिक रुपान्तरणका पक्षमा सञ्चालन गर्दै आएको अभियानको प्रशंसा गर्दै पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य भीमप्रसाद चापागाईंले अग्रज, महिला, श्रमिक र स्रष्टाप्रतिको सम्मान अत्यन्त सराहनीय, अनुकरणीय र प्रशंसनीय रहेको बताए । उनले यो अभियानलाई देशव्यापी प्रचारप्रसार गर्नुपर्ने धारणा पनि राखे ।

कवि हितप्रसाद उपाध्यायको ४१ औँ र जूनमाया सुवेदीको दसौँ स्मृति दिवसका क्रममा नेकपा (बहुमत) का सचिवालय सदस्य समरजङ्गले यस वर्ष असल बुहारी घोषित निर्जला दाहाल सुवेदी–आमा फत्तकुमारी सुवेदीलाई दोसल्ला ओढाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी असामयिक अवस्थामै जीवन गुमाएका श्रमिक दिलमान दमाईकी जीवसँगिनी मिठु दमिनीलाई नगद तीन हजारसहित दोसल्ला र सम्मानपत्रका साथै अन्तरजातीय वैवाहिक सम्बन्धलाई समाजमा स्थापित गर्ने लवहरि सुवेदी–सुनिता श्रेष्ठ दम्पतीलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेका थिए । यस वर्ष कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने स्वस्तिका खड्का, राजकुमार सुवेदी र वियाङ्का कार्कीलाई प्रतिभा सम्मानपत्रसहित तीन हजार दुई सय नगद प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा जनवादी कलाकार एवम् पार्टी सल्लाहकार ढुण्डीराज अधिकारी (संयोजक), पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् स्रष्टाहरू केबी मल्ल र रणबहादुर विक थिए ।

प्रतिष्ठानले १७ वर्षदेखि पुष्पलाल–गङ्गालाल जन्मस्थल भँगेरीमा हरेक वर्ष चैत २४ गते जनआन्दोलन दिवस मनाउँदै आएको छ भने दुई लालको सालिकसमेत निर्माण गराएको छ । यस वर्ष नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) रामेछापसँग सहकार्य गरेर संयुक्त रूपमा जनआन्दोलन दिवस मनाइएको आयोजक संस्थाका अध्यक्ष अशोक सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :