नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न

पार्टीद्वारा बलामीका रचना प्रकाशित गर्ने, छोरीहरूलाई अध्ययनको व्यवस्था मिलाउने र अक्षयकोष स्थापना गरी पुरस्कार वितरण गर्ने घोषणा

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न

काठमाडौँ : नेकपा (बहुमत) केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।

पार्टीका संयोजक कञ्चनले नेपालको कम्युनिस्ट आन्दोलनमा सरल र इमानदार छवि निर्माण गरेका पार्टी केन्द्रीय सदस्य बलामीको मृत्यु कमरेड माओले भनेझैँ पहाडभन्दा गह्रौँ रहेको बताए । बलामीको जीवन नेपाली श्रमिक–उत्पीडित अमजनताको जस्तै पीडा र अभावमा बितेको स्मरण गराउँदै संयोजक कञ्चनले बलामीभन्दा कमजोर चेतना र क्षमता भएका कयौँ पार्टीनेता र कार्यकर्ताहरूले सत्ताभोग गरे पनि उनले कहिल्यै व्यक्तिगत जीवनको वैभवका बारेमा नसोचेकाले नै मृत्यु हुने समयमा बस्ने घरबाससमेत नभएको यथार्थ प्रस्तुत गरे । बलामीले पार्टीको वैचारिक–राजनीतिक प्रशिक्षणजस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको स्मरण गराउँदै संयोजक कञ्चनले उनलाई अरू कुनै पनि विचार र पार्टीले नभएर वैज्ञानिक समाजवाद स्थापना गर्ने सुस्पष्ट कार्यदिशा र कार्यक्रम निर्माण गरेको नेकपा (बहुमत) नै मन परेकाले जीवनको अन्तिम समयमा पनि क्रान्तिकारी विचार र दर्शन बोकेर नै मृत्युवरण गरेको प्रस्ट पारे ।

देशको अवस्था चित्रण गर्दै संयोजक कञ्चनले जनता लुट्ने वित्तीय संस्थाहरूलार्ई खारेज गरी सरकारी स्वामित्वका तीनवटा बैङ्कलाई सेवामुखी बनाएर देशभर पुर्याउनुपर्ने पनि बताए । वित्तीय अराजकताका कारण बलामीजस्तै लाखौँ जनता अकालमै मर्नुपरेको भन्दै उनले वैज्ञानिक समाजवाद स्थापना गरेर सबै श्रमिक जनताको अभाव र पीडा समाप्त पार्न वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाउनुपर्ने धारणा राखे ।

संयोजक कञ्चनले जनताको समृद्धिका लागि भनिएका लघुवित्त तथा कमर्सियल बैङ्कहरू जनताका काल बन्दै गएको, हेर्दा १७/१८ प्रतिशत देखाए पनि ब्याजमा स्याज गरेर वास्तविक रूपमा ४० देखि ४५ प्रतिशतसम्म असुल्ने गरेका कारण जनतालाई घरबारविहीन हुँदै अत्महत्या गर्न बाध्य बनाउने लुटेराहरूलाई लखेट्नुपर्ने धारणा राखे ।

उनले बलामीजस्ता इमानदार क्रान्तिकारी योद्धाहरूको सपना पूरा नहुनुमा व्यवस्था दोषी रहेको र वैज्ञानिक समाजवादी व्यवस्थाको लडाइँमा सबै क्रान्तिकारी एकजुट हुनुपर्नेमा जोड दिए ।

संयोजक कञ्चनले पार्टीले बलामीको ‘अवैध गर्भ’ कथासङ्ग्रहको पुनः प्रकाशन गर्ने, फुटकर लेखरचनाको सङ्ग्रह प्रकाशन गर्ने, पैसा नभएर विद्यालयमा पढ्नसमेत नपाएका छोरीहरूको अध्ययनका लागि सहयोग गर्ने र थोरै रकमको भए पनि बलामीका नाममा अक्षयकोष स्थापना गरी पुरस्कार वितरण गर्ने पार्टी प्रस्ताव प्रस्तुत गरे ।

पार्टीका प्रवक्ता सुदर्शनले नेपालमा क्रान्ति गर्ने एक मात्र पार्टी नेकपा (बहुमत) भएको भन्ने पूर्ण विश्वास लिएका नेता बलामीको निधनले क्रान्तकारी आन्दोलनलाई अपूरणीय क्षति भएको बताए । बलामीले कम्युनिस्ट नामधारी अरू पार्टीले नेपालको क्रान्तिलाई पूर्णता नदिएको भन्दै आफ्नो पार्टीमा समाहित भएको स्मरण गराउँदै प्रवक्ता सुदर्शनले भने, ‘बलामी कमरेड हाम्रो पार्टीको सही विचार र दृष्टिकोण भएकैले आकर्षित हुनुभयो । मेरो बाँकी समय अब नेकपा (बहुमत) को माध्यमबाट क्रान्तिलाई सुम्पिन्छु भनेर लाग्नुभएको थियो ।’ प्रवक्ता सुदर्शनले नेता बलामीबाट इमानदारी, सरलता र निर्भीकताको पाठ सबैले सिक्नुपर्ने धारणा पनि राखे ।

नेकपा (बहुमत) का कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले बलामीको राजनीतिक यात्राको चर्चा गर्दै उनी कम्युनिस्ट आन्दोलनका एक असल र इमानदार सिपाही भएको बताए । ‘बलामी कमरेड २०३३/३४ बाट कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो । तुल्सीलाल हुँदै मालेबाट राजनीतिक यात्रा अघि बढाउनुभएको थियो । एमाले विभाजनमा फेरि मालेतिर लाग्नुभयो । नेकपा एकीकृत बन्दा मजदुर सङ्गठनको अध्यक्ष, एकीकृत फेरि फुट्दा उहाँ सीपी नेतृत्वको मालेतिर लाग्नुभयो । माले विचार र सिद्धान्तमा अस्पष्ट भएको भन्दै स्वतन्त्र बस्नुभयो । अहिले नेकपा (बहुमत) को विचार र कार्यदिशासँग सहमत हुनुभयो’, दीपकले भने, अत्यन्त कठिनाइका बीच पनि कमरेड बलामीमा कम्युनिस्ट आन्दोलनप्रति चिन्ता थियो । अभाव र सङ्कटका बीचमा पनि उहाँले कम्युनिस्ट नैतिकता जोगाउनुभयो । उहाँले जस्तोसुकै सङ्कट पनि झेल्नुभयो । कहिल्यै पनि लाभको अपेक्षा गर्नुभएन । उहाँबाट कम्युनिस्ट क्रान्तिकारीहरूले नैतिकताको पाठ सिक्नुपर्छ ।’

पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले बलामीको सरल जीवनशैली र सर्वहारा वर्गीय चरित्र अनुकरणीय रहेको बताए । लोहनीले ६० वर्षीय बलामी क्रान्तिकारी पार्टीको खोजी गर्दै बहुमतमा आएको र छोटो समयमा पार्टीलाई आफ्ना अनुभव सुम्पेर गएको बताए । कम्युनिस्टको मृत्यु अत्यन्त गह्रुँगो हुने भन्दै लोहनीले बलामी नयाँ र सर्वहारा संस्कृति बहन गरेका उदाहरणीय व्यक्तित्व रहेको धारणा राखे ।

कार्यक्रममा बलामीकी जीवनसँगिनी सुशीला, छोरी आकृति, पार्टी सचिवालय सदस्यहरू, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, केन्द्रीय सल्लाहकार समितिका सस्यहरू, जवस, मोर्चा, भूगोल र विभिन्न क्षेत्रका बौद्धिकहरूको सहभागिता थियो । सभामा सहभागी सबैले बलामीको तस्बिरमा माल्यार्पण र अबिरार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :