साहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ

साहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ

हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो । यसका सिद्धान्त र विचारहरू क्रान्तिकारी छन् । यसको कार्यदिशा सही र वस्तुवादी रहेको छ भने त्यसको प्रयोगकर्ता नेता तथा कार्यकर्ताको कार्यशैली तथा कार्यतरिका पनि सिद्धान्ततः क्रान्तिकारी नै छ । यसको लक्ष्य–उद्देश्य देश र जनतालाई दलाल संसदीय व्यवस्थाबाट मुक्त गर्ने महान् क्रान्तिकारी अभिभारामा अन्तरनिहित रहेको छ । पार्टीलाई यो गौरवपूर्ण अवस्थासम्म पुर्याउन हामीले विभिन्न आरोह–अवरोह, हाँसो–रोदन तथा डरलग्दा कठिनाइ र उदेकलाग्दा समयहरू झेल्नुपरेको थियो । कतिपय मानिसलाई यो कुरा सरल र सहज लाग्न सक्छ, यो बिल्कुल सही होइन । हामीलाई यो पनि थाहा छ– आगामी दिनमा योभन्दा कैयौँ गुणा कठिन दिनहरू पनि आउनेछन् । यो क्रान्तिकारी पार्टीले झेल्ने अनिवार्य मामिला हो । त्यसका लागि तयार भएर मात्र हामीले हाम्रा लक्ष्य–उद्देश्य हासिल गर्न सक्नेछौँ । त्यसैले भन्ने गरिन्छ– क्रान्ति कुनै भोजभतेर लगाउनु होइन, बरु यो एउटा वर्गले अर्को वर्गलाई बलपूर्वक विस्थापित गर्ने मामिला हो । यसले आफ्नो बाटोमा असाधारण परिस्थितिको सिर्जना गर्दछ र त्यसको समाधानको उपाय पनि निकाल्छ । नेपालको सात दशक लामो प्रजातान्त्रिक तथा वाम आन्दोलनका क्रममा राजयसत्ताद्वारा हजारौँ मानिसहरूको सहादत भएको छ भने त्यत्तिकै सङ्ख्यामा बेपत्ता पारिएका छन् । यी आन्दोलन तथा सङ्घर्षबाट नेपाली समाजको मात्रात्मक परिवर्तन पनि भएकै छ । यो पनि साँचो कुरा हो– मात्रात्मक परिवर्तनको तुलनामा जनताले झन् ठूला सास्तीहरू बेहोर्नु परेको छ । त्यो पनि आफ्नै त्याग र बलिदानबाट स्थापना भएको सत्ता र सरकारबाट । हामीले २०४६ को जनआन्दोलनपछि समाजमा व्याप्त विकृति र विसङ्गति तथा भ्रष्टाचार र बेथितिका विरुद्ध वर्गसङ्घर्ष सञ्चालन गर्यौँ । यस सिलसिलामा सरकारी दमन र प्रतिरोधका अनन्य शृङ्खलापछि २०५२ फागुन १ देखि माओवादीको नेतृत्वमा जनयुद्धको ऐतिहासिक प्रक्रिया अगाडि बढ्यो । एक दशक लामो जनयुद्धमा माओवादीको नेतृत्वमा नेपाली जनताले नेपालको एकीकृत र केन्द्रीकृत सामन्ती शासन व्यवस्थालाई तहसनहस बनाए । थुपै्र बलिदानका कीर्तिमानहरू स्थापित गरिए । विजयको सन्निकट पुगेको जनयुद्ध प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादका कारण फेरि रणनीतिक रक्षामा फर्किनुपर्यो । पार्टीमा दुई लाइन सङ्घर्ष अस्वस्थ मात्र भएन, शत्रुतापूर्ण अवस्थामा पुग्यो जसको परिणाम पार्टी विभाजन र पुनर्गठनका शृङ्खलाहरूले झन्डै एक दशक समय लियो । भनिन्छ, हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । तर राजनीतिक विज्ञानमा निरन्तर अगाडि बढ्ने मात्र होइन, लक्ष्य–उद्देश्यको नजिक पुगेर फेरि फर्केर शून्यबाट अर्थात् एक पाइलाबाट सुरु गर्नु पर्दछ । राजनीतिक यात्रालाई हेर्दा उस्तै लागे पनि क्रान्तिकारी ज्ञान–सीप, अनुभव र समाजको अवस्था नयाँ ठाउँमा गतिवान् भैरहेको हुन्छ । यो हामीले भोगेर आएको सत्य हो । कैयौँ प्रतिकूलता र अप्ठ्याराहरूका बीचमा पनि हामीले सत्य ओकल्ने कुरालाई कहिल्यै छाडेनाैँ । फलतः आज हाम्रो निष्कर्ष वैज्ञानिक र वस्तुवादी साबित भएको छ । कुनै बेला हाम्रा निष्कर्षहरूलाई हाँसोमा उडाउनेहरू आज निधार खुम्च्याएर सोच्न बाध्य भएका छन् । कैयौँ तत्वहरूले त हाम्राविरुद्ध विभिन्न षड्यन्त्रहरू पनि गरिरहेका छन् । राजनीतिक विज्ञानमा यसप्रकारका घटनाक्रमहरू निरन्तर चलिरहन्छन् । यसबाट आत्तिएर भाग्ने कुरा आउँदैन, बरु षड्यन्त्रलाई भण्डाफोर गर्दै सत्यलाई हजार बार साबित गर्न तयार रहनुपर्छ, चाहे आफ्नो भागमा मृत्यु किन नआओस् ।

भौतिक तथा वैचारिक दृष्टिले कैयौँ प्रतिकूलता र अप्ठ्याराहरू झेलेर आएको हाम्रो पार्टी एउटा शक्तिशाली पार्टीमा रूपान्तरण र विकसित हुँदै क्रान्तिको मार्गमा निरन्तर अगाडि बढिरहेको छ । प्रतिकूलता र अप्ठ्याराहरूले भौतिक रूपमा कठिनाइ भए पनि क्रान्तिकारीहरूलाई अझ स्पातिलो बनाउन मद्दत गर्दछ । बोल्सेबिक पार्टी तथा रुसी क्रान्तिका नेता, समाजवादका पहिलो प्रयोगकर्ता जोसेफ स्टालिनको भनाइमा ‘कम्युनिस्टहरू विशेष धातुले बनेका हुन्छन् ।’ यो भनाइ साँच्चिकै महान् छ । हामीले आफूलाई सोही कोर्समा निरन्तर अभ्यस्त तुल्याउँदै पार्टीलाई एक्काईसौ शताब्दीको बोल्सेभिकीकरण गर्नु आजको आवश्यकता बनेको छ । त्यसप्रकारको पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद–साम्यवादको महान् लक्ष्यमा पुग्नका लागि आज हाम्रो पार्टीीले आमजनतालाई साहसपूर्वक पार्टीको वरिपरि गोलबन्द गर्ने हिम्मत गर्नुपर्छ । त्यसका लागि पार्टीले निम्नकुरामा विशेष ध्यान केन्द्रित गर्नु आवश्यक छ–

पहिलो– विचार/राजनीतिबारे आमजनतालाई प्रशिक्षित गर्ने

हाम्रो पार्टी मालेमावादी विज्ञानमा आधारित कम्युनिस्ट पार्टी हो । यसका अन्तरवस्तुहरू सर्वहारा अन्तर्राष्ट्रियतावाद, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्त र महान् सर्वहारा सांस्कृतिक क्रान्तिहरू हुन् । यी पक्षहरूले पार्टीलाई एकपछि अर्को नयाँ र क्रान्तिकारीपनमा विकसित गर्दै लगिरहेका हुन्छन् भने वर्गसङ्घर्षलाई विकास र विजयसम्म पुर्याउँदै अधिनायकत्वको तहमा विकसित गरिरहेका हुन्छन् । यो विचार÷राजनीतिले आमउत्पीडित श्रमिक वर्गलाई मुक्ति र परिवर्तनका लागि निरन्तर क्रान्तिमा सहभागी भैरहनु पर्दछ भन्ने मान्यतालाई स्थापित र प्रशिक्षित गरिरहेको हुन्छ । चुनौतीलाई अवसरमा बदल्ने, हरेक प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्ने, अँध्यारो परिस्थितिमा उज्ज्वल भविष्य देख्ने, कठिनभन्दा कठिन परिस्थितिमा पनि क्रान्तिकारी आशावादसहित अगाडि बढिरहने तथा मुक्ति र परिवर्तनका लागि जस्तोसुकै चुनौती पनि झेल्नसक्ने क्षमताको विकास मालेमावादी विचार÷राजनीतिले गराउँछ । पार्टी सञ्चालनमा जनवादी–केन्द्रीयताको सिद्धान्त जसको सजीव प्रयोगले पार्टी सङ्गठनलाई रचनात्मक र सिर्जनशील बन्न मद्दत गर्दछ । यस अर्थमा कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पार्टीभन्दा फरक हुन्छ ।

दोस्रो– पार्टी कार्यदिशालाई जनतासम्म पुर्याउने

हाम्रो पार्टी कार्यदिशा साँच्ची नै नयाँ, क्रान्तिकारी र वस्तुवादी रहेको छ । कुन अर्थमा भने पहिलो– यो २० औँ शताब्दीका महान् कम्युनिस्ट क्रान्ति तथा प्रतिक्रान्तिका गहनतम् शिक्षाबाट निर्देशित रहेको छ । दोस्रो– विश्वपँुजीवादले कम्युनिस्ट विचार/राजनीतिका विरुद्ध विकास गरेका राजनीतिक र सामरिक विचार तथा योजनाहरूका विरुद्ध आफ्नो श्रेष्ठता कायम गर्ने कुरामा अन्तरनिहित रहेको छ । तेस्रो– वर्तमान दुनियाँमा विकास भएका विज्ञान–प्रविधि तथा सूचना–सञ्चारको विकासले पैदा गरेको ग्लोबलाइजेसन र चौथो, तत्कालीन जनयुद्धका नेतृत्व प्रचण्ड–बाबुरामहरूमा देखापरेको आत्मसमर्पण तथा विसर्जनवादको समस्या । यिनै मूलभूत कारणहरू हुन् जसले गर्दा हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गरेको छ । यो कार्यदिशाले समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा मालेमावादको रक्षा, प्रयोग र विकासमा योगदान गरेको छ । वर्तमान विश्वमा स्थापित भएका सर्वहारा क्रान्तिका दुई मोडेलहरू– अल्पकालीन सशस्त्र विद्रोहको रुसी मोडेल र दीर्घकालीन जनयुद्धको चिनियाँ मोडेल प्रमुख रूपमा रहेका छन् । कमरेड माओको निधनपछि दुनियाँमा यी दुवै क्रान्तिका मोडेलहरू कतै पनि सफल भएका छैनन् । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलनमा यिनै दुई कार्यदिशाको वरिपरि मात्र बहस केन्द्रित भएको छ । अफसोच ! नेपालका कुनै पनि कम्युनिस्ट नेताहरूले नयाँ कार्यदिशाको खोज गर्ने आँट गर्न सकेनन् वा गरेनन्, बरु यो वा त्यो बहानामा संसदीय कम्युनिस्ट बन्ने प्रक्रिया नै बोलवाला रहन पुग्यो । त्यस्तै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि नयाँ कार्यदिशाको खोज, अध्ययन–अनुसन्धानबारे खासै बहस भएको पाइँदैन । आरसीपी यूएसएले अबको क्रान्ति चौथो क्रान्ति हुने बताए पनि आफ्नो पार्टी कार्यदिशाको खासै चर्चा गरेको पाइँदैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा नेपाली कम्युनिस्ट आन्दोलनमा खडेरी भैरहेको कार्यदिशासम्बन्धी मामिलालाई हाम्रो पार्टीले हल गर्ने प्रयत्नका रूपमा एकीकृत जनक्रान्तिको कार्यदिशाको जन्म र प्रयोगसँगै विकास भैरहेको छ । हाम्रो पार्टी कार्यदिशाको विशेषतालाई पार्टीको आठौँ महाधिवेशनले निम्नअनुसार संश्लेषण गरेको छ–

१) गाउँ र सहरको दूरी घट्दै जानु । २) मध्यम वर्गको विकास र विस्तार हुनु । ३) दलाल पुँजीवादसँग नेपाली जनताको प्रधान अन्तरविरोध हुनु । ४) नेपाली समाजको बनोट मिश्रित हुनु । ५) राष्ट्रवादी शक्तिको देशमा पहुँच हुनु । ६) सूचना–सञ्चार तथा विज्ञान प्रविधिको विकास हुनु । ७) दुई विशाल भूगेल र जनसङ्ख्याका बीचमा अवस्थित भूपरिवेष्ठत देश । यी विशेषताहरू आजका तथ्यहरू हुन् । तथ्यहरूमा नटेकेर केवल शास्त्रीय रूपमा तयार गरिने कार्यदिशाले पार्टी र जनतालाई जीवन्त बनाउन सक्दैन । यसर्थमा हाम्रो पार्टी कार्यदिशा जनताको मुक्ति र परिवर्तनका लागि नयाँ, क्रान्तिकारी र वस्तुवादी रहेको छ । पार्टीले यो कुरालाई आमजनतासम्म पुर्याउन पूरा जोड लगाउनुपर्छ ।

तेस्रो, विभिन्न जनवर्गलाई सङ्गठित गरी परिचालन गर्ने

नेपाली समाजको विशेषता बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक रहेको छ । यसभित्र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायहरूका विभिन्न समस्याहरू रहेका छन् । सारतः ती समस्याहरू भनेका वर्गीय समस्याहरू नै हुन् र तिनको समाधान पनी वर्गीय रूपमा नै गरिनु पर्दछ । दलित र मुस्लिम समुदाय अहिले पनि दोस्रो दर्जाका नागरिकका रूपमा राज्यद्वारा अपमानित भएर बाँचिरहेका छन् । आधा जनसङ्ख्या ओगटेका महिलाहरू अहिले पनि सामन्ती प्रथाको उत्पीडन झेल्न विवश छन् । युवा, विद्यार्थी, मजदुर, किसानका समस्याहरू पनि विकराल रहेका छन् । यी समस्याहरू मूलतः वर्गीय समस्या भएकाले यसको समाधान पनि वर्गीय मुक्तिसँग अभिन्न रूपले जोडिएको ऐतिहासक तथ्यलाई पार्टीले प्रशिक्षित गर्दै उनीहरूलाई साहसपूर्वक सङ्गठित गरी परिचालन गर्नुपर्छ । आज एकथरी मानिसहरू जातीय सवाललाई चर्को स्वरमा उठइरहेका छन् । उनीहरूको तर्क छ– खस आर्यन उत्पीडनबाट मुक्ति पाउन जातीय सत्ताको आवश्यकता छ । त्यसप्रकारको तर्कले देशलई अनन्तसम्म मुठभेडमा मात्र लैजान्छ किनकि एउटा जातिले अर्को जातिमाथि गरिने शासन समस्याको समाधान होइन । वर्तमान जातीय तथा विभिन्न जनवर्गका समस्याहरूलाई सूत्रबद्ध गर्नु त्यसका समाधानका लागि पार्टीले अगाडि सारेको सैद्धान्तिक विषयहरूलाई प्रयोगको तहमा उठाउनु पार्टीको कर्तव्य रहेको तथ्यलाई गहिरो गरी अध्ययन र अध्यापन गराइनुपर्छ ।

चौथो– वर्तमान व्यवस्थाको भण्डाफोर गर्ने

दलाल संसदीय व्यवस्था विश्वमा असफलसिद्ध विश्वव्यवस्था हो जसले सीमित पुँजीपति वर्गको पक्षपोषण गर्दछ भने आमश्रमिक वर्गमाथि विभिन्न उत्पीडन लाद्ने गर्दछ । दलाल संसद्वादी पार्टीका नेताहरू राजनीतिक÷वैचारिक रूपले संसदीय व्यवस्थाको विषद व्याख्यासहित पक्षपोषण गर्ने, सम्झौताका नाममा विभिन्न राष्ट्रघात र जनघात गर्ने, आर्थिक रूपले भ्रष्टाचार र कमिसनखोरीलाई संस्थागत गर्ने, सांस्कृतिक रूपले विभिन्न विकृति र विसङ्गति सिर्जना र वैदेशिक संस्कृति आयातित गर्ने, सामाजिक रूपले विभेदको रेखा कोर्ने यसको आमविशेषता बनेको छ । समाजवादी सत्ताको अस्थायी पराजयपछि यसले आफूलाई निर्विकल्प व्यवस्थाका रूपमा बताउँदै जनतामाथि शोषण र उत्पीडनका लागि नयाँ–नयाँ तरिका अवलम्बन गर्दै आएको छ । आज देशमा जे–जति समस्याहरू देखापरिरहेका छन्, त्यसका पछाडि संसदीय व्यवस्था नै मूल रूपले जिम्मेवार रहेको छ । भ्रष्टाचार र तस्करी बढ्नु, देशको आयात र निर्यातमा ठुलो असन्तुलन आउनु, बेरोजगारी समस्या भयावह बन्नु, शिक्षा र स्वास्थ्यका क्षेत्रमा डरलाग्दो माफियातन्त्र हाबी हुनु, महँगी र कमिसनखोरले जनताको ढाड सेक्नु, लागूपदार्थ दुव्र्यसनी बढ्दै जानु, विभिन्न राष्ट्रघाती सम्झौताहरूको चाङ लाग्दै जानु र जनताका तमाम प्रकारका समस्याहरूप्रति राज्य संवेदनहीन बन्दै जानुले वर्तमान संसदीय व्यवस्थाको आमचरित्रलाई व्यक्त गर्दछ । दलालहरूको यसप्रकारको तर्कमाथि आफूलाई कम्युनिस्ट बताउने नयाँ जोगीहरूले यो यवस्थालाई परम्परागत संसदीय व्यवस्था नभई समावेशी प्रजातन्त्रको सार बोकेको व्याख्यासहित जनतामाथि थोपरिरहेको उत्पीडनको तथ्यलाई आमजनताको तहमा प्रस्ट गर्नका लागि पार्टीले निरन्तर र योजनाबद्ध पहलकदमी लिइरहनु पर्दछ ।

पाँचौँ– वैज्ञानिक समाजवाद स्थापनालाई अर्जुनदृष्टि बनाउने

हाम्रो पार्टीको देश र जनताको मुक्ति र परिवर्तनबाहेक अरू कुनै स्वार्थ छैन । यसका साथै देश र जनताको मुक्ति र परिवर्तन केवल वैज्ञानिक समाजवाद–साम्यवादको स्थापनाद्वारा मात्र सम्भव छ भन्ने कुरामा शतप्रतिशत विश्वास राख्छ । यो कम्युनिस्ट पार्टीको आमसिद्धान्त र कार्यक्रम नै हो तर आफूलाई कम्युनिस्ट बताउने केही पार्टीहरू आज साम्राज्यवाद तथा दलाल पुँजीवादका पिछलग्गु बन्दै जनतामाथि शोषण–उत्पीडन गर्न पुगेका छन् र यही बाटोबाट समाजवाद–साम्यवाद आउने कुरा बताइरहेका छन् । यो कम्युनिस्ट पार्टीका लागि निकै लज्जाको विषय हो । यो नयाँ विषय भने अवश्य पनि होइन । संसारभर रहेका संशोधनवादी अथवा संसदीय कम्युनिस्टहरूको चरित्रले यही अवस्थालाई प्रमाणित गरिरहेको छ । अझ दुःखको कुरा के रहेको छ भने उनीहरू सच्चा कम्युनिस्टका विरुद्ध उग्रवामपन्थीको आरोप लगाउँदै पुँजीवादीहरूको दमन अभियानमा एक कदमअगाडि बढेर आफ्नो वास्तविक चरित्रको प्रदर्शन गर्न पुग्छन् । उनीहरू जनतालाई झुक्याउन कम्युनिस्ट भएको स्वाङ गर्दछन् भने आफ्ना विदेशी मालिकका सामु प्रजातान्त्रिक बाटोमा रहेको बताउँछन् । यसप्रकारको द्वैध विचार बोकेका तर सारमा संसदीय कम्युनिस्टहरूका विरुद्ध निर्मम वैचारिक सङ्घर्षबाट नाङ्गेझार पार्नुपर्दछ र मालेमावादी विज्ञानको जगमा दलाल पुँजीवादका विरुद्ध वर्गसङ्घर्ष सञ्चालन गर्दै कम्युनिस्ट विचार र धारलाई स्पातिलो बनाएर मात्र वैज्ञानिक समाजवाद–साम्यवादको महान् लक्ष्य–उद्देश्यलाई प्राप्त गर्न सकिनेछ । पार्टीले यो ऐतिहासिक अभिभारा पूरा गर्न साहस र दृढताका साथ आममुक्तिकामी जनतालाई प्रशिक्षित गर्नुपर्छ ।

छैटौँ– जनताको जीवनस्तर उठाउन पहलकदमी लिने

हामीले जनतालाई राजनीतिक–वैचारिक दृष्टिले स्वाधीन र आर्थिक दृष्टिले आत्मनिर्भर वनाउन जोड लगाउनु पर्दछ । हाम्रो पार्टीको के नीति रहेको छ भने पार्टीलाई कम्युनिस्ट बनाइरहने र आमजनतालाई समृद्ध र धनी बनाउने । बीसौ शताब्दीका कम्युनिस्ट पार्टीले आफूलाई निरन्तर कम्युनिस्ट बन्न र बनाउन नसक्दा डरलाग्दो प्रतिक्रान्ति झेल्नुपरेको तीतो यथार्थ हाम्रासामु रहेको छ । त्यसलाई ध्यान दिँदै कम्युनिस्ट पार्टीलाई निरन्तर क्रान्तिको माध्यमबाट कम्युनिस्ट बनाइराख्ने र जनतालाई समृद्ध र धनी बनाउने नीति अवलम्बन गर्नुपर्छ । हाल हाम्रो देश र जनताको अवस्था परनिर्भरतामा आधारित रहेको छ । विकास निर्माण, खाद्यान्न, यातायात, लत्ताकपडा, फलफूल, औषधी तथा अन्य विभिन्न दैनिक आवश्यकताका सामग्रीहरूमा पूर्णतः विदेशबाट आयात गर्नु परिरहेको छ । राष्ट्रिय उद्योग–धन्दाहरू निजीकरणका नाममा धराशायी बनेका कारण आयातको तुलनामा निर्यात नगन्य मात्रमा रहेको छ । सिङ्गो देश बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानामा बदलिएको छ । परिणामतः नेपाली युवाहरू विश्वका विभिन्न मुलुकहरूमा भिक माग्न बाध्य पारिएका छन् । हामीले आजैदेखि सचेचततापूर्वक यसको अन्त्य गर्नका लागि पहलकदमी लिन आवश्यक छ । त्यसका लागि पार्टीले आमजनतालाई राजनीतिक/वैचारिक र भौतिक रूपले आत्मनिर्भर बनाउन ठोस योजनासहित पहलकदमी लिन आवश्यक भएको छ ।

साताैँ– जनसंस्कृति अवलम्बन गर्ने

पार्टीले आफ्ना महान् समाजवादी–साम्यवादी लक्ष्यहरू हासिल गर्न आफ्नो विचार/राजनीति, कार्यदिशासहितका मूल्यहरूमा दृढ रहँदै जनताको संस्कृति अवलम्बन गर्ने कुरालाई बिर्सनु हुँदैन । संस्कृति श्रमद्वारा निर्धारण गरिएको हुन्छ । हाम्रो देशको संस्कृति भनेको स्वावलम्बी, मिलनसार, भ्रातृत्वप्रर्ण र श्रमलाई आदर–सम्मान गर्ने रहेको छ । यसका साथै आफूभन्दा ठूलालाई आदर र सम्मान गर्ने तथा सानालाई माया गर्ने, दुःख–सुखमा एकअर्काको सहयोगी बन्ने, देशको स्वाधीनता र विकासका लागि एकताबद्ध हुने तथा नम्र र विवेकशील बन्ने नेपाली संस्कृतिका केही महत्वपूर्ण विशेषताहरू हुन । हाम्रो पार्टीले नेपाल राष्ट्र र जनताको यो संस्कृतिलाई गम्भीरतापूर्वक आत्मसात र इमानदारीपुर्वक पालना र प्रयोग गर्दै विकास गर्न र आयातित गरिएका वैदेशिक संस्कृतिको भन्डाफोर र खारेज गर्नु आजको राष्ट्रिय आवश्यकता बनेको छ । कथित पश्चिमी सभ्यता र संस्कृतिलाई क्रान्ति देख्ने र आफ्नो सभ्यता र संस्कृतिलाई अपमानित गर्ने दलाल संसदीय चरित्रका विरुद्ध सङ्घर्ष गर्न पार्टीले आमजनतालाई प्रशिक्षित गर्नुपर्छ ।

निष्कर्ष

उल्लिखित सामान्य आधारभूत सैद्धान्तिक र व्यावहारिक मामिलाहरूको जगमा खडा भएर मात्र हामीले आमउत्पीडित जनवर्गलाई सङ्गठित र परिचालन गर्न सक्छौँ । सिद्धान्तको खोक्रो रटानले मात्र इतिहासमा कहीँ पनि क्रान्तिकारी आन्दोलन सफल भएको छैन र हुँदैन पनि । क्रान्तिकारी आन्दोलनको सञ्चालन, विजय र रक्षाका लागि वैज्ञानिक र वस्तुवादी विचार÷राजनीति, सही कार्यदिशा र कार्यनीति तथा त्यसको प्रयोगका लागि क्रान्तिकारी सङ्गठन र त्यसले जनतालाई सङ्गठित र परिचालनका लागि निर्माण गर्ने योजना अपरिहार्य रहेको हुन्छ । विचार÷रजनीति, कार्यदिशा र कार्यनीति, आफ्नै शक्ति, पारस्परिक भाइचारा सम्बन्ध एवम् कूटनीतिक मोर्चा तथा नेता–कार्यकर्ता र जनताबीचको त्रिकोणात्मक सम्बन्ध र शृङ्खलाको मिलान गर्न सक्नु नै क्रान्तिको विजयका आधारभूत सर्तहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :