अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सिन्धुलीमा अधिकारी

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सिन्धुलीमा अधिकारी

धुराबजार (सिन्धुली) : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सिन्धुलीको संयोजकमा रमेश अधिकारी चयन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको आठौँ पुनर्गठन दिवस कार्यक्रमपछि बुधबार धुराबजारमा आयोजित भेलाले अधिकारीको संयोजकत्वमा ईश्वरी राई, भोजराज बललगायत सदस्य रहेको महासङ्घको सम्मेलन आयोजक समिति चयन गरेको हो । भेलाले अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी पूर्वकेन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक सङ्घकी केन्द्रीय सदस्य प्रसिद्धा शर्मालाई महासङ्घको सल्लाहकार चयन गरेको छ ।

भेलामा सम्बोधन गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले असल कम्युनिस्ट बन्न सांस्कृतिक र वैचारिक रूपले चेतनशील र सभ्य बन्नुपर्ने धारणा राखे ।

संस्कृतिकर्मी र पार्टी सदस्यहरूबीच प्रशिक्षण मन्तव्य राख्दै सुवेदीले एकीकृत जनक्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना, रक्षा र विकास गर्न उर्वर र सुसांस्कृतिक क्रान्तिकारी, मालेमावादी चेतनाले युक्त नेता–कार्यकर्ता तयार हुनुपर्ने धारणा व्यक्त गरे । पुराना, खराब आदत र कुलतहरू परित्याग नगरी नयाँ, सभ्य र असल कम्युनिस्ट बन्न नसकिने उदाहरणहरू प्रस्तुत गर्दै उनले वैज्ञानिक समाजवाद– साम्यवाद विश्वसभ्यताको इतिहासमै सबैभन्दा उन्नत र सर्वोच्च सभ्यता भएकाले सभ्य मानिसहरूको समाज निर्माण गर्न सचेत पहल, प्रयत्न र मेहनत आवश्यक रहेको पनि बताए ।

प्रशिक्षण भेलामा प्रशिक्षण दिँदै नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली–रामेछाप इन्चार्ज भरत बम ‘रणवीर’ ले एकीकृत जनक्रान्तिको नवीनतम र विकसित कार्यदिशाले नेपाली क्रान्तिलाई विजयको दिशातर्फ उन्मुख गराएको बताए । नेपाल कम्युनिस्ट पार्टीले विकास गरेको कार्यदिशा र लिएको कार्यनीतिबाट अत्तालिएका कम्युनिस्ट नाउँधारी अवसरवादीहरूले पार्टीमाथि प्रतिबन्ध लगाएर हजारौँ नेता–कार्यकर्तालाई जेलनेल हाले पनि आखिर पुरानो सत्ता पराजित भएर प्रतबन्ध फुकुवा गर्न बाध्य भएको नेता रणवीरले बताए । असल कम्युनिस्टले नै असल समाज निर्माण गर्नसक्ने धारणा राख्दै नेता रणवीरले वैज्ञानिक समाजवाद सञ्चालन गर्नसक्ने क्षमतावान् नेता–कार्यकर्ता, शक्तिशाली पार्टी र जनताको बलियो चेतना निर्माण गर्नुपर्ने प्रस्ट पारे ।

विशेष समितिका सदस्य शशी राईले श्रम, मेहनत र इमानदारीले कम्युनिस्ट नेता–कार्यकर्तालाई इस्पात बनाउने बताए । कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ थियो । नेकपा पुनर्गठनको छोट्टै अवधिमा देशव्यापी विस्तार भएर राष्ट्रियता, जनतन्त्र, जनजीविकका विषयमा निरन्तर लागिरहेकाले जनताको विश्वास जित्न सफलत भएको नेकपा नेता राईले बताए ।

नेकपा सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोनले जिल्ला कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै क्रान्तिकारीहरू सबै क्षेत्रमा अब्बल हुनुपर्ने बताए । ‘क्रान्तिकारीहरूले जनताको विश्वास जित्नुपर्ने चुनौती बाँकी नै छ’, उनले भने, ‘अवसरवादी र प्रतिक्रियावादीहरूले जनतालाई दास बनाएका छन् । जनतामा भ्रम छरेका छन् । जनतालाई भ्रमबाट मुक्त गराउनुपर्छ र सत्य र क्रान्तिको बाटोमा अग्रसर गराउनुपर्छ । यो हामी सबै क्रान्तिकारीहरूको दायित्व हो ।’

महासङ्घका केन्द्रीय सचिव सुवेदी, नेकपाका केन्द्रीय सदस्य रणवीर, नेकपाका जिल्ला नेताहरू शशी राई, गोपाल ब्लोनलगायतले महासङ्घको नयाँ नेतृत्वलाई बधाई दिँदै सफलताको शुभकामना प्रदान गरेका थिए ।

महासङ्घ सिन्धुलीले जिल्लामा छरिएर रहेका जनयुद्धकालीन साहित्यकार, कलाकार खोजी गरी सङ्गठित गर्ने, सांस्कृतिक–साहित्यिक कार्यक्रमहरू गर्ने, जनसांस्कृतिक टोलीहरू निर्माण गर्नेलगायत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :