सबैखाले अवसरवाद र छद्म संशोधनवादसँग विद्रोह गर्दै पार्टी पुनर्गठनको औचित्य साबित भएको छ : रणवीर

सबैखाले अवसरवाद र छद्म संशोधनवादसँग विद्रोह गर्दै पार्टी पुनर्गठनको औचित्य साबित भएको छ : रणवीर

मन्थली (रामेछाप) : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज भरत बम ‘रणवीर’ ले कम्युनिस्ट नाउँका पार्टीहरूमा प्रवेश गरेको अवसरवाद, संशोधनवाद, छद्म संशोधनवाद, पलायन र गद्दारीका विरुद्ध विद्रोहको झन्डा बोकेको नेकपाको पुनर्गठनको औचित्य साबित भइसकेको बताएका छन् । आठौँ पार्टी पुनर्गठन दिवसका प्रमुख अतिथिका रूपमा चियापान तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता रणवीरले भने, ‘कम्युनिस्ट नाउँधारी पुराना सत्ताधारीहरूले प्रतिबन्ध लगाउनु, हत्या गर्नु र फेरि सत्तामा राजनीतिक सङ्कट छ भनेर स्वीकार गरी प्रतिबन्ध हटाउनुले नेकपाको पुनर्गठनको औचित्य साबित गरिसकेको छ ।’

श्रमिक जनताका नाउँमा चुनावमा जाने र सरकारमा पुग्ने तर जनताको मत र विचारलाई दुरुपयोग गर्ने नाउँधारी नक्कली कम्युनिस्टहरूसँग विद्रोह गरेर नेकपा पुनर्गठन गरेको स्मरण गराउँदै नेता रणवीरले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर नेकपाले वैज्ञानिक समाजवाद स्थापना गर्न लागेकाले श्रमिक जनतालाई निराश नहुन आह्वान गरे । उनले भने, ‘मानिसले आफ्ना लागि बनाएको निर्जीव पुँजीले मानिसलाई नै शासन गरेको छ । यसलाई उल्ट्याउनु अत्यावश्यक छ । यो उल्टिनेबित्तिक्कै समाजवाद स्थापना हुन्छ । दलाल पुँजीवाद मरणोन्मुख अवस्थामा रहेकाले छिट्टै नै वैज्ञानिक समाजवाद स्थापना हुन्छ । हामी सबै मिलेर यो मक्किइसकेको पुँजीवादलाई एक धक्का दिऊँ ।’

प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रह गराएरै दलाल पुँजीवादलाई समाप्त पारेर वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने विश्वास नेता रणवीरले व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले पार्टी पुनर्गठन दिवसको औचित्य र सार्थकतासम्बन्धी विषयवस्तु प्रस्तुत गरेपछि अन्तरक्रियामा सहभागी अतिथि वक्ताहरूले आआफ्ना धारणा राखेका थिए । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेदेखि जनयुद्ध र एकीकृत जनक्रान्ति आरम्भ हुँदासम्म मुलुकले मुक्ति र समानताका नाउँमा धेरै आन्दोलन, सङ्घर्ष, युद्ध र विद्रोह झेले पनि क्रान्तिका अगुवाहरू दलाल पुँजीवादी सत्तामा बिक्री भएकाले जनताले बारम्बार क्रान्तिमा लामबद्ध हुनुपरेको धारणा राख्दै सुवेदीले जनयुद्धका नायक भनिएकाहरू प्नि क्रान्तिको बाटो परित्याग गरेर दलाल सत्तामा डुबेपछि नेकपाले सचेत रूपमा विद्रोह गरी क्रान्तिको झन्डा उठाएको प्रस्ट्याएका थिए ।

अन्तरक्रियामा नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष तथा मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत, माओवादी केन्द्रका मीनप्रसाद घिमिरे, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, महासङ्घका पूर्वअध्यक्ष हिमाल ढुङ्गेल, व्यवसायी अर्जुन कटुवाललगायतले पार्टी पुनर्गठन दिवसका अवसरमा शुभकामना दिएका थिए ।

नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठको अध्यक्षता÷सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा रामेछापका पूर्वसेक्रेटरी यमन बस्नेत ‘गुन्जन’ ले अतिथिको स्वागत गरेका थिए । पार्टी पुनर्गठन दिवसका अवसरमा पार्टी इन्चार्ज, सेक्रेटरी, अतिथि, जिल्ला समिति सदस्यहरू, विभिन्न जवस र मोर्चाका पदाधिकारी, सदस्यहरू र पत्रकार सबैले एकआपसमा अबिर लगाएर शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :