खेलाडीलाई पुरस्कार वितरण गर्दै पार्टी पुनर्गठन दिवस मनाइयो

नेता–कार्यकर्ताको पारिवारिक मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खेलाडीलाई पुरस्कार वितरण गर्दै पार्टी पुनर्गठन दिवस मनाइयो

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा दाङले बिहीबार विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण, नेता–कार्यकर्ताहरूको पारिवारिक मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ७ गते आयोजित ब्याडमिन्टन प्रतियोगिता, फुटबल प्रतियोगिता, घैँटोफोड प्रतियोगिता र कुर्सी दौड प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शीतलले नेता–कार्यकर्ताका परिवारहरूलाइ पार्टी पुनर्गठन दिवसको हार्दिक शुभकामना व्यक्त गरेका थिए । उनले परिवारलाई पार्टीकरण गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्य पूरा गर्ने उद्घोष पनि गरे ।

नेता शीतलले नेता–कार्यकर्ताका परिवारलाई आफूहरू महान् लक्ष्य र उद्देश्य प्राप्तिका लागि वर्गसङ्घर्षमा होमिएकाले परिवारले त्यो लक्ष्य र उद्देश्य चुम्न जनयुद्धमा जस्तै दृढताका साथ क्रान्तिमा सहभागी बन्न आह्वान गरेका थिए ।

कार्यक्रमका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविनले आफ्नो पार्टीका विरुद्ध संसद्वादी दलहरूले अनेक भ्रम फिँजाएकाले नेता–कार्यकर्ताहरूलाई भ्रमित नहुन आग्रह गरे । नेता सविनले राजनीतिक रूपमा पार्टीले लिएका एजेन्डाहरूदेखि संसदीय दलहरू अत्तालिएको पनि बताए ।

कार्यक्रममा अतिथि नेकपा विशेष समिति सदस्य सम्झनाले जनयुद्धमा वीरताका साथ लड्ने महिलाहरू आज घरको चुलोचौकामा सीमित हुनुपरेको बताइन् । उनले एकपटक महिलाहरू फेरि दलाल पुँजीवादी राज्यसत्तालाई ध्वस्त पार्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिलसमेत गरिन् । नेत्री सम्झनाले वैज्ञानिक समाजवादमा मात्रै सबैखाले विभेद, उत्पीडिनको अन्त्य सम्भव भएकाले जनताको आफ्नै शासन व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गर्न आह्वान गरिन् ।

कार्यक्रममा नेकपा विशेष समिति सदस्य विक्रम, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, ब्याडमिन्टन निर्णायक लालबहादुर केसी, फुटबल रेफ्री प्रकाश रोकाया र अर्जुन नेपालीको आतिथ्य रहेको थियो ।

नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले गरेका थिए भने सहजीकरण जिल्ला पार्टी कार्यालय सदस्य किरणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :