नमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ

नमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ

ने क पा को केन्द्रीय नमुना निर्माणकार्यअन्तर्गत जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माणकार्य प्रारम्भ भएको छ । हाल यसको निर्माणकार्य कहाँ पुगेको छ ?

हो, हाम्रो पार्टीको २०७७ फागुनको दोस्रो साता सम्पन्न आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले कामको पहलकदमीका लागि यो प्रस्ताव पारित गरेको थियो तर यसको शिलान्यास भने हाम्रो पार्टीका विरुद्ध लादिएको कथित प्रतिबन्धभन्दा अगाडि अर्थात् २०७५ साल फागुनमा पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज क. चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले गर्नुभएको थियो । कथित प्रतिबन्धका केही वस्तुगत जटिलता, केन्द्रबाट प्रत्यक्ष नेतृत्व गर्नुपर्ने उक्त योजनामा जनशक्तिको अभावलगायत समस्याका कारण निर्माणकार्यमा केही ढिलाइ भइरहेको थियो । केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले मलाई उक्त जिम्मेवारी सुम्पेपछि हामीले पच्चीसौँ जनयुद्ध दिवसअन्तर्गत सहिद सप्ताहको अवसर पारेर २०७७ साल फागुन १८ गते स्थानीय जनभेला गरी मेरो नेतृत्वमा रहने गरी कमरेड चित्रबहादुर सेनको अध्यक्षतामा नौ सदस्यीय निर्माण कार्यसमिति गठन गरियो । हाम्रो पार्टीका महासचिव कमरेड विप्लवको अवधारणा, निर्देशन तथा केन्द्रीय समितिको निर्णयअनुसार अगाडि बढिरहेको यो बृहत्तर योजनाका लागि विभिन्न चरणमा इन्जिनियर तथा विभिन्न सरोकारवाला निकायहरूहरूसँगको छलफलपछि डीपीआरको अन्तिम चरणमा पुगेको छ । यसको आधारभूत व्यवस्थापकीय पूर्वाधारअन्तर्गत निवासका लागि चारकोठे भवन तयार भएको छ । २०७८ साल साउनमा पार्टीका महासचिव कमरेड विप्लवको उपस्थितिमा सम्पन्न विशेष भेलाले मेरो नेतृत्वमा नौ सदस्यीय व्यवस्थापन समिति पनि निर्माण गरेको छ । उक्त व्यवस्थापन समितिको निर्णयअनुसार आर्थिक सहयोगका लागि रसिद तथा चिठीहरू तयार गरी वितरण गरिएको छ । यो निकै बृहत्तर र बहुवर्षीय योजना भएकाले सोही योजनाअन्तर्गत पार्टी केन्द्रीय समिति, व्यवस्थापन समिति र निर्माण कार्यसमितिले समग्र योजना र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि वढाउने योजना बनाएको छ ।

यति ठूलो परियोजना निर्माणको लागि नेपाल कम्युनिस्ट पार्टीले कसरी सहयोग जुटाइरहेको छ ?

यो निर्माणकार्यको मूल अन्तरवस्तुमा सिद्धान्त र विचारको प्रश्न आउँछ अथवा हाम्रो पार्टीको नयाँ स्कुलको कुरा केन्द्र भागमा रहेको छ । हामीले अँगालेको सिद्धान्त र विचार संसारका उत्पीडित श्रमिक जनतालाई पुँजीवादको सम्पूर्ण रूपका उत्पीडनको साङ्लोबाट मुक्ति दिलाउने हो । दोस्रो प्रश्न वर्तमान पुँजीवादी विश्वव्यवस्थाको सम्पूर्ण उत्पीडनवाट मुक्ति पाउनका लागि वैज्ञानिक समाजवाद–साम्यवादको स्थापनाबाट मात्र सम्भव छ । तेस्रो– त्यसलाई प्राप्त गर्ने राजनीतिक कार्यदिशा अर्थात् बाटोको प्रश्न आउँछ । हाम्रो पार्टीले आठौँ महाधिवेशनबाट नेपाली राजनीतिक क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरी प्रयोग गरिरहेको छ । पार्टी कार्यदिशाबारे अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् गुरु तथा चिनियाँ क्रान्तिका नायक कमरेड माओ त्सेतुङले भन्नुभएको छ, ‘राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । कार्यदिशा सही भएमा हामीसँग नभएका सम्पूर्ण कुरा प्राप्त हुन्छन् । कार्यदिशा गलत छ भने हामीसँग भएका सम्पूर्ण कुराहरू गुम्छन् । कार्यदिशा जालको डोरी हो जो फाल्दा खुल्छ र तान्दा खुम्चन्छ ।’

हो आज हामी पार्टी कार्यदिशाबारे कमरेड माओ त्सेतुङको भनाइलाई अनुसरण गर्दै अगाडि बढिरहेका छौँ । यसर्थमा हाम्रो कार्यदशा आजको विश्वमा कम्युनिस्ट सिद्धान्त र विचारका विरुद्ध पुँजीवादले विकास गरेका अस्त्रहरूलाई पराजित गर्दै श्रमिक जनताको मुक्ति र परिवर्तनलाई सफल तुल्याउनका लागि दुनियाँमा स्थापित रहेका रुसी मोडेल र चिनियाँ मोडेलका सार्वभौमिक पक्षहरूको रक्षासहित विकास गरिएको कार्यदिशा हो । हामी हाम्रो पार्टी कार्यदिशाको यही वैज्ञानिकता र वस्तुवादितासम्बन्धी सैद्धान्तिक मान्यतालाई नमुना निर्माणकार्यको व्यावहारिक पक्षबाट पनि पुष्टि गर्न चाहन्छौँ । यद्यपि समग्र कार्यदिशाको कोणबाट हेर्दा यो नमुना निर्माणकार्य एउटा सामान्य अंशगत मामिला मात्र हो । यहाँ भन्न खोजिएको कुरा यो परियोजना निर्माणका लागि हाम्रो पार्टी कार्यदिशाको जगमा टेकेर हामीले आन्तरिक पार्टीपङ्क्तिको आर्थिक र भौतिक रूपमा परिचालन, अग्रभागीय जवस/मोर्चा तथा सम्पूर्ण जवस/मोर्चाहरूको परिचालन, देश र जनताको मुक्ति र स्वाधीनता चाहने उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य विभिन्न सहयोगहरूका अतिरिक्त जनपरिचालनको माध्यमवाट यो परियोजना सम्पन्न गरिनेछ ।

जनसङ्ग्रहालय तथा सहिद पार्कको भौतिक संरचना कस्तो रहनेछ ?

अहिले यो डीपीआरको प्रक्रियामा रहेको कुरा माथि बताइसकिएको छ । हाम्रो सामान्य अवधारणामा नेपालको सांस्कृतिक पहिचान झल्कने एउटा ठूलो र आधुनिक भवन बन्नेछ जहाँ नेपालका विभिन्न जाति, जनजाति तथा क्षेत्र र समुदायको संस्कृति झल्कने प्रतिमूर्तिहरूका साथै उनीहरूले प्रयोग गर्ने सामग्रीहरू राखिनेछ, यसले नेपालको सुदृढ राष्ट्रिय एकतालाई प्रतिबिम्बित गर्नेछ भने त्यसको अग्रभागमा देश र जनताको मुक्ति र परिवर्तनका लागि विभिन्न समयमा सञ्चालन गरिएका राजनीतिक आन्दोलन, जनसङ्घर्ष र जनयुद्धमा बलिदान दिनुहुने महान् सहिद तथा बेपत्ता योद्धाहरूको प्रतिमूर्ति राखिनेछ जसले बलिदानको महान्तालाई व्यक्त गर्नेछ । यसका साथै विभिन्न फूलबारीसहितका बगैँचा, पौडी पोखरी, फलफूल बगैँचा तथा बच्चाहरूका लागि प्ले ग्राउन्डहरू रहनेछन् ।

जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माण गर्नुको उद्देश्य के हो ? यसबाट जनतालाई कस्तो सन्देश दिन खोज्नुभएको छ ?

यसको मूल उद्धेश्य भनेको देश र जनतताको मुक्तिका लागि सञ्चालन गरिएका राजनीतिक जनआन्दोलन, जनसङ्घर्ष र जनयुद्धका क्रममा बलिदान दिने महान् सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान गर्ने, उनीहरूको महान् बलिदानी भावनाबाट शिक्षा लिने कुरामा अन्तरनिहित रहेको छ । आज देशको राजनीतिक अवस्था र राज्यव्यवस्थाबाट सम्पूर्ण जनता वाक्कदिक्क बनेका छन् । विभिन्न समयमा सञ्चालन गरिएका जनसङ्घर्षहरूमा जनताको सहभागिता र बलिदानहरू भएका छन् तर त्यसवाट आंशिक सुधार र मात्रात्मक परिवर्तनबाहेक जनताले केही पाएका छैनन् । यसले जनतामा निराशा मात्र पैदा गरेको छ । राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य र सङ्घीय गणतन्त्रको स्थापनापछि जनतामा राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरण र समृद्धिसहितको परिवर्तनको जुन स्तरमा आशा र विश्वास जागेको थियो त्यो आज निराशामा बदलिएको छ । विश्वकै राम्रो र उत्कृष्ट संविधान भनेर घाँटी सुक्ने गरी चिच्याउनेहरूले आज उनीहरूको असफलतालाई ढाकछोप गर्न विभिन्न षड्यन्त्र गरिरहेका छन् । असफलसिद्ध संसदीय राजनीतिक व्यवस्थाका कारण आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू सर्वाधिक सङ्कटग्रस्त बन्दै गएका छन् । यसको विकल्प सम्पूर्ण श्रमिक जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद–साम्यवाद स्थापना मात्र भएको कुरा हाम्रो पार्टीले जनयुद्धको प्रारम्भदेखि नै बताउँदै आएको छ । प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद र विर्सजनवादका विरुद्धको सङ्घर्ष र पार्टी विभाजन र पुनर्गठन पनि यसै कुरामा अन्तर्निहित रहेको छ । जुन समय, परिवेश र नारामा भए पनि देश र श्रमिक जनताको मुक्तिका लागि बलिदान दिनु अवश्य पनि महान् कार्य हो । यसर्थमा सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श तथा बलिदानको स्मरण गर्नु तथा देश र जनताको पूर्ण मुक्तिका लागि आमजनतालाई जागृत गर्दै निराशा होइन, उज्ज्वल भविष्यप्रति आशावादी बनाउनु यसको मूल उद्देश्य रहेको छ । हामीले श्रमिक जनतालाई निराश हुन दिनु हुँदैन । श्रमिक जनता नै निराश भए भने देशको अस्तित्व नै समाप्त हुने खतरा बढेर जान्छ । तसर्थ हामीले आमश्रमिक जनतालाई निराश होइन, आशावादी बनाउनुपर्छ । यो ऐतिहासीक जिम्मेवारी इतिहासले आज हाम्रो काँधमा सुम्पिएको छ । निष्कर्षमा यसो भन्न सकिन्छ– महान् सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान गर्नु, उनीहरूको बलिदानी भावनाबाट शिक्षा लिनु तथा जनतालाई निराश होइन, भविष्यप्रति आशा जागृत गर्नु नै जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माण गर्नुको मुख्य उद्देश्य हो ।

यसको निर्माणकार्य एक ठाउँमा मात्र हुनेछ कि अन्यत्र पनि बनाउने योजना रहेको छ ?

हामी अहिले केन्द्रीय स्तरमा यसको निर्माण गर्दैछौँ । त्यसैगरी कालीकोट, ललितपुर, चितवन, पाँचथरलगयत जिल्लाहरूमा विभिन्न नमुना निर्माणकार्य चलिरहेका छन् भने केही सम्पन्न भैसकेका छन् । आगामी दिनमा यो प्रक्रियालाई देशव्यापी विस्तारित गरिनेछ । जसरी हाम्रो पार्टीको आठौँ महाधिवेशनपूर्व हामीले रोल्पाको ऐतिहासिक गाउँ थबाङमा भव्य जनसभाहल निर्माण गर्यौँ, महाधिवेशनले देशव्यापी समाज घर निर्माण गर्ने कुरा संश्लेषण गरेको थियो र त्यो अहिले देशका विभिन्न जिल्लाहरूमा चलिरहेको छ । त्यसरी नै जनसङ्ग्रहालय, सहिद पार्कलगायत निर्माणकार्य पनि देशव्यापी नै विस्तारित गरिनेछ । अहिले पनि देशका विभिन्न भागहरूमा ससाना स्तरमा यसको निर्माणकार्य चलिरहेको छ । वडा, गाउँ, नगरस्तरमा सहिद पार्क, स्तम्भ तथा गेटहरू निरन्तर निर्माण भैरहेका छन । यसलाई भाबी दिनमा योजनाबद्ध र व्यवस्थित रूप दिँदै अगाडि बढाइनेछ ।

यो निर्माणाधीन जनसङ्ग्रहालय तथा सहिद पार्कले जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्मका सबै लिपि तथा इतिहासलाई समेटन सक्छ त ?

यसले जनयुद्धदेखि यताको मात्र नभई नेपालको समग्र राजनीतिक आन्दोलन, जनसघर्ष तथा जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्मका सहिदहरूको इतिहासलाई लिपिबद्ध र संरक्षण गर्नेछ । २००७ सालपूर्वको राणाशासन विरोधी प्रजापरिषद् पार्टीको आन्दोलन जहाँ गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीहरूले बलिदान दिएका थिए । २००७ हुँदै २०१७ सम्मको नेपाली काङ्ग्रेसको अगुवाइमा भएका सशस्त्र सङ्घर्षहरूका दौरानमा भएका बलिदान तथा सहिदहरू, २०२८ मा तत्कालीन नेकपा मालेको अगुवाइमा भएको झापा सङ्घर्षका महान् सहिदहरू, २०३६ देखि २०४६ वरिपरिसम्म देशका विभिन्न भागमा सञ्चालन गरिएका मुख्यतः किसान सङ्घर्ष र विभिन्न सङ्घर्षका दौरानमा भएका बलिदानहरू, २०५२ देखि २०६२/६३ सम्म चलेको महान जनयुद्धका क्रममा भएका वीरता, बलिदान र सहिदहरू तथा वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सञ्चालन गरिएको एकीकृत जनक्रान्तिका दौरानमा सहादत प्राप्त गर्ने वीर सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा यो परियोजना समर्पण गरिनेछ । यसरी हामीले नेपालको राजनीतिक आन्दोलनमा भएका धोका, गद्दारी तथा दलालीका तमाम नकारात्मक विरासतलाई भत्काउँदै वीरता, बलिदान तथा राष्ट्रिय स्वाभिमानको गौरवपूर्ण भावनालाई उच्च बनाउँदै नेपाल राष्ट्र र नेपाली जनताको मुक्ति र परिवर्तनको राजनीतिक अभिलाशा पूरा गर्ने प्रणका रूपमा निर्माण गर्ने प्रतिबद्धताका रूपमा यसलाई सम्पन्न गर्नेछौँ ।

तपाईंले पार्टीको केन्द्रीय सम्पर्क कार्यालय निर्माणको जिम्मेवारी पनि लिनुभएको छ । यसको निर्माणकार्य कहिलेदेखि प्रारम्भ गर्नुभयो र हाल कसरी अगाडि बढाइरहनुभएको छ ?

हो, पार्टीको केन्द्रीय समितिले यो कामको जिम्मेवारी पनि मलाई दिएको छ । यसको निर्माणका लागि मेरो नेतृत्व रहने गरी कमरेड नन्दलाल पुरीको नेतृत्वमा सात सदस्यीय निर्माण कार्यसमिति बनेको छ । कामको सुरुआत २०७७ साल वैशाख १ गते हाम्रो पार्टीका महासचिव कमरेड विप्लवले पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्नुभएको थियो । कोरोना महामारीको दोस्रो लहर, विभिन्न कारणहरूले गर्दा निर्माणसामग्रीको अभाव, मौसमी प्रतिकूलता, कैयाैँ अनुभवजन्य ज्ञानको समस्याका बाबजुद यसको निर्माणकार्य तीव्रतामा अघि बढिरहेको छ । आधुनिक प्रविधिसहित निर्माण गरिने पाँचतले कार्यालय भवनसँगै ४५० जना मानिस अटाउने क्षमताको जनसभा हल पनि सँगसँगै निर्माण भइरहेको छ । दुवै भवनको एक–एक तलाका लागि एक करोड बाह्र लाखको लागत र १८ महिनामा तयार हुने इन्जिनियरिङ गरिएको उक्त दुवै भवन हामीले आउँदो पुस महिना अर्थात् नौ महिनामा पूरा गर्ने लक्ष्य राखेका छौँ । हालसम्मको हाम्रो अनुभव र कार्यसम्पादनका आधारमा हामी विश्वस्त छौँ– हामीले हाम्रो लक्ष्यलाई व्यवहारतः साबित गरेर छाड्नेछौँ । यसको स्रोतका दृष्टिले पार्टीको रकम, श्रमका लागि विश्वका विभिन्न देशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग, देशभित्रका उद्योग–व्यवसायी तथा विभिन्न सहयोगहरूमार्फत अगाडि बढिरहेको छ । निर्माणकार्यको दृष्टिले सम्पूर्ण सामग्री हामीले उपलब्ध गराउने र प्रतिस्क्वायर फिट रु ३०,९९७ पैसाका दरले निर्माणकार्यको जिम्मा आरजीएल कम्पनीले लिएको छ जुन हामीले आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरेका थियाैँ । हालसम्म पार्टी, निर्माण कार्यसमिति र निर्माण कम्पनीका बीचमा राम्रो एकता र समझदारीका साथ काम अघि बढिरहेको छ । इन्जिनियरिङ कोणबाट हेर्दा प्रारम्भदेखि नै अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य कमरेड नमराज भट्टले दिशानिर्देशन गरिरहनुभएको छ ।

अन्तिममा रातो खबरमार्फत आमजनसमुदायलाई थप केही भन्न चाहनुहुन्छ कि ?

हाम्रो पार्टीको केन्द्रीय नमुना निर्माणकार्यअन्तर्गत सञ्चालन भैरहेका जनसङ्ग्रहालय तथा सहिद पार्क, पार्टीको केन्द्रीय सम्पर्क कार्यालय निर्माणको योजना तथा क्रियाकलापहरू र प्रगतिहरूवारे आमश्रमिक जनतालाई सुसूचित गर्ने अवसर दिनुभएकोमा लोकप्रिय तथा विश्वसनीय सञ्चारमाध्यम रातो खबर प्रकाशन गृहलाई धेरैधेरै धन्यवाद ज्ञापन गर्दछु ।

प्रस्तुति : जानकी चौधरी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :