लक्ष्य प्राप्त भएमात्र कुमारी बुढाको सपना पूरा हुनेछः कञ्चन

लक्ष्य प्राप्त भएमात्र कुमारी बुढाको सपना पूरा हुनेछः कञ्चन

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले जुन लक्ष्य प्राप्तीका लागि कुमारी बुढाको बलिदान भयो त्यो लक्ष्य प्राप्त भएमा मात्र कुमारी बुढाको सपना पूरा हुने बताएका छन् ।

महान शहिद कुमारी बुढाको स्मृतिमा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको २५ औँ बलिदान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता कञ्चनले भने,–‘कुमारी बुढाले आफ्नो एउटा प्रतिबद्धता, दृढताले सिङ्गो पार्टीको गोपनियता जोगिन्छ, नेतृत्वहरु जोगिन्छन्, सिङ्गो देश आमूल परिवर्तन हुन्छ, जनताको नयाँ व्यवस्था वैज्ञानिक समाजवाद आउँछ अनि सबैले समान शिक्षा पढ्न पाउँछन्, समान ढंगले बस्न पाउँछन् भनेर दुश्मनसामु एक सेकेण्ड पनि झुक्नु भएन । दुश्मनले उहाँलाई झुकाउनका लागि बाबुलाई रुखमा झुण्डायो, बाबुकै अगाडि बलात्कार गर्यो, जिउँदै आँखा झिकिदियो तर पनि तर कुमारी बुढा झुक्नु भएन, गल्नु भएन र जीवनको भिख पनि माग्नुभएन बरु राज्यको बर्बरतापूर्ण मृत्युलाई स्वीकार्नु भयो ।’

कुमारी बुढाको बलिदानको त्यो लक्ष्य अहिले पूरा भएको छैन भन्दै उनले भने, ‘मान्छेको जीवनको मूल्य अरु कुनैप्रकारले पूर्ति गर्दैन । यदि युद्धमा मान्छे घाइते भयो, शहादत भयो वा अंग गुमायो भने त्यसको क्षेतीपूर्ति कुनै प्रकारले हुँदैन, अंग ल्याएर पनि गर्न सकिदैन त्यसको क्षेतीपूर्ति एउटै कुराले गर्छ जब उसले लिएका लक्ष्य प्राप्त हुन्छ ।’


त्यही कुमारी बुढाले लिएका लक्ष्य प्राप्तीका लागि आफूहरुसँग त्यो दृढता, विचार र प्रतिबद्धता रहेको दाबी गरे । आफूहरु अहिले पनि क्रान्तिको निम्ति सडकमा रहेको नेता कञ्चनको भनाई थियो । दलाल पूजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न, सिङ्गो देशलाई आमूल परिवर्तन गर्नका लागि, देशलाई दरिद्रताबाट बचाउनका लागि, राष्ट्रिय स्वाधिनता र सबै जनताको समान अधिकार स्थापना गर्ने व्यवस्थाका लागि आफूहरुले संघर्ष गरिरहेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य आस्थाले जबसम्म देशमा वैज्ञानिक समाजवादी व्यवस्था आउदैन तबसम्म कुमारी बुढाले देखेको सपना, तपाई हामीले देखेका पूरा नहुने बताइन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कुमारी बुढाको शहादत अभूतपुर्व रहेको स्मरण गर्दै उहाँलाई क्रुर यातना दिईदिई हत्या गरेको व्यवस्थामा गएर आज प्रचण्डहरुले ठूलो धोका दिएको गद्धारी गरेको बताए । जनअधिकार अभियान नेपालका अध्यक्ष समेत रहेका भण्डारीले भने,‘हिजो टाउकाको मुल्य तोक्ने र तोकी माग्नेहरुको सरकार छ, व्यवस्था छ तर त्यो व्यवस्था असफल भएको छ, त्यो असफलता आज न्यायलयसम्म सरेको छ, अब यसको काल पनि धेरै छैन । अबको सम्भावना भनेको क्रान्तिको हो, परिवर्तनको हो । कुमारीले चाहेको व्यवस्था ल्याउन जुटौँँ ।’

कार्यक्रममा शहिद परिवारका अध्यक्ष खुमा सुबेदी र जनअधिकार अभियान नेपालकी सरला रेग्मीले पनि कुमारी बुढाको सपना पूरा गर्नका लागि फेरि अर्को बलिदानको मुल्य चुक्ता गर्न तयार हुनुपर्ने बताए ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका महासचिव राजकुमारी शाहीले र स्वागत मन्तव्य कोषाध्यक्ष कमला लिम्बुले राखेकी थिइन् ।

कुमारी बुढाको जनयुद्धकाल २०५४ साल मंसिर १ गते रोल्पाको मिरुलमा तत्कालिन राज्यसत्ताका प्रहरीहरुले र्बबर यातना दिई, बलात्कार गरी, जिउँदै आँखा झिकी  विभत्स हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :