नेकपाको राष्ट्रिय प्रशिक्षण भेला : सङ्क्षिप्त चर्चा

गएको २०७८ असोज ११–१४ सम्म हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय प्रशिक्षण भेला चितवन जिल्लामा ऐतिहाीसक रूपमा भव्यतापूर्वक सम्पन्न भएको छ । पार्टीको ऐतिहाीसक आठौँ महाधिवेशनपछिको पहिलो यो स्तरका नेता/कार्यकर्ताहरूको केन्द्रीकरणले विकसित ज्ञान र व्यवहारको संयोजन गर्दै सिङ्गो पार्टीपङ्क्तिमा नयाँ क्रान्तिकारी जोस र कार्यतत्परताको रक्तसञ्चार गरेको छ । २०७७ फागुन २१ गते सरकार र हाम्रो पार्टीका बीचमा सम्पन्न ३ बुँदे सहमतिपछि गएको वैशाखमा सम्पन्न केन्द्रीय समितिको दसौँ पूर्ण बैठकले यो स्तरको केन्द्रीयकरणका अतिरिक्त जनपरिचालनसम्बन्धी कैयौँ अभियानात्मक कार्यक्रमहरूको योजना निर्माण गरेको थियो । दुर्भाग्य कोरोना महामारीको दोस्रो लहरका कारण यी कार्यक्रमहरू स्थगन गर्नुपरेको थियो । हाम्रो पार्टीका विभिन्न तहमा क्रियाशील नेता/कार्यकर्ताहरू, विभिन्न मित्र पार्टी, बुद्धिजीवी–व्यापारी र आमन्यायप्रेमी श्रमिक जनसमुदायको– पार्टीले छिटो आफ्ना नीति–कार्यक्रमहरू जनतामाझ पुर्याउनुपर्छ भन्ने सुझाव र हाम्रो आफ्नै सचेत पहलकदमीको पृष्ठभूमिमा बन्दीपुर, तनहुँमा सम्पन्न केन्द्रीय समितिको ऐतिहासिक एघाराैँ पूर्ण बैठकको निर्णयअनुसार यो केन्द्रीकरण सम्भव भएको हो । पूर्वीएसिया, मध्यपूर्व र युरोप शाखाबाहेक भारत प्रवाससहित देशभरिका जिल्ला सेक्रेटरी, विशेष समितिका सेक्रेटरी, जनसेवक, जवस/मोर्चाका केन्द्रीय अध्यक्षहरूसहित झन्डै तीन सयजना प्रशिक्षार्थी सहभागी यो राष्ट्रिय प्रशिक्षण भेलामा ११६ जना कमरेडले उच्च जनवादी वातावरणमा आआफ्नो कार्यक्षेत्र र जिम्मेवारीको रिपोर्ट राखेका थिए । आफ्नो कार्यक्षेत्रमा सम्पन्न भएका कामहरू, सीमा तथा समस्याहरू र सुझावहरू समेटेर राखिएका रिपोर्टहरू आलोचनात्मक कम्युनिस्ट चेत र निरन्तर क्रान्तिको सिद्धान्तद्वारा निर्देशित भएकाले निकै जीवन्त र उत्साहवद्र्धक रहेका थिए ।

रिपोर्टको सार खिच्दै महासचिव कमरेड विप्लवले रिपोर्ट ज्ञानको केन्द्रीकरण भएकाले यसले हाम्रो ज्ञानचेतना बढाउनुका साथै एकअर्कालाई प्रशिक्षित गरेको, रिपोर्टले हाम्रो पार्टीको अवस्था मात्र नभई देशको वर्तमान परिस्थितिका तथ्यहरूलाई केन्द्रीकरण गरेको, पार्टीलाई कम्युनिस्टहरूको पार्टी बनाउदै सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुका साथै सही विचार र त्यसको सही प्रयोगद्वारा मात्र पार्टीले आफ्नो विजयलाई सुनिश्चित गर्न सम्भव हुने, पार्टी निर्माण गर्दा पुँजीवादी तथा सबैखाले अवसरवादी विचारका विरुद्ध पूर्ण रूपले हावी भएर मात्र सम्भव हुने, समाजवादी सत्तामा भएका प्रतिक्रान्तिको चर्चा गर्दै कम्युनिस्ट पार्टीले निरन्तर श्रमिक वर्ग जन्माउन नसक्दा हार बेहोर्नु परेकाले पार्टीले निरन्तर श्रमिक वर्ग जन्माउने र उनीहरूलाई कम्युनिस्ट बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारीबारे विस्तृत व्याख्या गर्नुभयो । प्रचण्ड–बाबुरामको आत्मसमर्पणवादका विरुद्ध विचारधारात्मक सङ्घर्ष, पार्टीको पुनर्गठन र नयाँ कार्यदिशाको संश्लेषण तथा त्यसको प्रयोग, कथित प्रतिबन्ध र प्रतिरोध, तीनबुँदे सहमतिको पृष्ठभूमि र प्रयोगका साथै पार्टीका आगामी योजनाबारे विस्तृत व्याख्यासहित उच्च जनवादी वातावरणमा ऐतिहासिक र भव्यतम् रूपमा सम्पन्न भएको छ । ऐतिहासिक रूपमा सम्पन्न भएको राष्ट्रिय प्रशिक्षण भेलालाई सङ्क्षेपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ–

पहिलो– बृहत् जनवादको प्रयोग

हाम्रो पार्टी जनवादी केन्द्रीयताको लेनिनवादी सङ्गठनात्मक सिद्धान्तद्वारा निर्देशित रहेको पार्टी हो । यसको सार पक्ष ‘छलफलमा स्वतन्त्रता र काम–कारबाहीमा एकरूपता’ गर्नु हो भने रूप पक्षका दृष्टिले हरेक व्यक्ति सङ्गठनको अधीनस्थ रहने, तल्ला समितिहरू उपल्लो समितिको अधीनस्थ रहने, अल्पमत बहुमतको अधीनस्थ रहने, सम्पूर्ण पार्टी समितिहरू केन्द्रीय समितिको अधीनस्थ रहने र केन्द्रीय समिति राष्ट्रिय महाधिवेशन वा सम्मेलनको अधीनस्थ रहने भन्ने हो । जनवादी केन्द्रीयताको प्रयोग सही ढङ्गले गर्न सकिएन भने पार्टी सङ्गठन लथालिङ्ग हुन पुग्छ । जनवादको अभावमा प्रयोग हुने केन्द्रीयता नोकरशाही र केन्द्रीयताको अभावमा प्रयोग हुने जनवाद अराजक हुने भएकाले पार्टी सङ्गठनमा यसको प्रयोग सही ढङ्गले गरिनुपर्छ । जनवादी–केन्द्रीयताको प्रयोगका सर्तहरू निम्नानुसार हुनुपर्छ– क–पार्टीलाई बलियो बनाउने उद्देश्यमा आधारित हुनुपर्छ । ख– पार्टी कार्यक्रमहरूको कार्यान्वयनमा प्रभावकारिता हुनुपर्छ । ग– सबैखाले अवसरवादमाथि विजय हासिल गर्ने हुनुपर्छ । घ– जनतासँगको सम्बन्ध बलियो बनाउने हुनुपर्छ । ङ– वर्गसङ्घर्षको धारलाई अझ स्पातिलो बनाउने हुनुपर्छ । च– अन्तर्राष्ट्रिय भाइचारा तथा साम्राज्यवादविरोधी सम्बन्धलाई बलियो बनाउने हुनुपर्छ । यसका आधारहरू– पार्टीका संश्लेषण र कार्यक्रमहरूमा प्रतिबद्धता, वर्गसङ्घर्षमा समर्पण, त्याग तथा समर्पणको भावना र सिद्धान्त–व्यवहारबीचको एकरूपता हुनुपर्छ । हामीले प्रयोग गरेको बृहत् जनवाद यही सैद्धान्तिक मान्यताद्वारा निर्देशित रहेकाले यसको ऐतिहासिक महत्व रहन गएको छ ।

दोस्रो– पार्टीको अवस्थाबारे तथ्यपरक जानकारी

हाम्रो पार्टीका विरुद्ध केपी ओली नेतृत्वको सरकारले कथित प्रतिबन्ध लगाएपछिको प्रतिकूल राष्ट्रिय परिवेशका कारण जिल्ला पार्टीहरू, विशेष पार्टी समितिहरू, जवस/मोर्चा तथा भारत प्रवासलगायत पार्टी समितिहरूले प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष रिपोर्ट राख्ने वातावरण बनेको थिएन । अप्रत्यक्ष रिपोर्ट प्रणाली अर्थात् सम्बन्धित च्यानलमार्फत रिपोर्टहरू केन्द्रीय कार्यालयमा आउने प्रक्रिया नियमित नै थियो । यो हाम्रो पार्टीको रिपोर्टिङ प्रणालीको आमनियम पनि हो तर त्यसमाथि मात्र भरपर्दा कैयाैँ महत्वपूर्ण विषयहरू अस्पष्ट हुन पुग्छन् र औपचारिकतामा मात्र सीमित हुन पुग्छन् । त्यसले केन्द्रीय रूपमा योजना निर्माण र कार्यान्वयनमा पनि एकरूपताको समस्या पैदा हुनपुग्छ । त्यसैले पार्टी आन्दोलनका खासखास बेलामा यसप्रकारका केन्द्रीकरणहरू आवश्यक पर्छ जसले नेतृत्वलाई पार्टीको आत्मगत अवस्था र वस्तुगत अवस्थाको वास्तविकतालाई गहिरो गरी बुझ्न र योजना निर्माण गर्न मद्दत गर्न सकोस् । त्यसका साथै पार्टीको समग्र अवस्था, त्यहाँ विद्यमान र विकसित भइरहेका अन्तरविरोधहरू, सीमा तथा समस्याहरूका बारेमा मुख्य नेतृत्वले प्रत्यक्ष रूपमा बुझ्ने र नेतृत्वद्वारा विकास गरिएका योजनाहरूको मूल अन्तरवस्तुलाई पार्टीका आम नेता/कार्यकर्ताहरूले एकरूपतामा बुझ्न र लागू गर्न सहजता पैदा गर्दछ । यो राष्ट्रिय प्रशिक्षण भेलाले विकसित योजना, त्यसप्रतिको बुझाइ र कार्यान्वयनलाई एकीकृत रूपमा बुझ्न र प्रयोग गर्नका लागि मार्गप्रशस्त गर्न सफल भएको छ ।

तेस्रो– पार्टी योजनाबारेको बुझाइमा स्पष्टता र एकरूपता

यो केन्द्रीकरणले पार्टीको केन्द्रीय समितिद्वारा निर्माण गरिएको योजनालाई स्पष्ट रूपमा बुझ्न र कार्यान्वयनमा एकरूपता ल्याउन यो प्रशिक्षण भेलाले मद्दत गरेको छ । हुनत हाम्रो पार्टी केन्द्रीय समितिका हरेक बैठकहरू ऐतिहासिक र दूरगामी महत्वका रहेका छन् । त्यसमा पनि बन्दीपुर, तनहुँमा सम्पन्न केन्द्रीय समितिको एघारौँ पूर्ण बैठक हाम्रो पार्टी जीवनमा विशेष महत्वको रहन गएको छ । झन्डै साढे तीन दर्जन वैकल्पिक केन्द्रीय सदस्यहरूसहित एकाधबाहेक शतप्रतिशत केन्द्रीय समितिका सदस्यहरूको उपस्थिति, केही ऐतिहासिक महत्वका केन्द्रीकरण र जनपरिचालनका निर्णयहरू, नवौँ महाधिवेशनका लागि राजनीतिक–वैचारिक बहसको ढोका खौल्दै सम्पन्न भएका बैठकका निर्णयहरूलाई बुझाउने र बुझ्ने कुरा निकै महत्वपूर्ण छ । देशभित्र र बाहिर, पार्टी र जवस/मोर्चा, उपल्लो पार्टी समिति र तल्ला समितिहरूले सापेक्षित रूपमा एउटै बुझाइ र स्पष्टताले मात्र पार्टी योजनाको कार्यान्वयन प्रभावकारी हुनसक्छ । केन्द्रीय योजनाको बुझाइमा पैदा हुने अनेकताले त्यसको प्रयोगमा ठूलो अन्तर पैदा गर्दछ । कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य–उद्देश्य त्यतिबेला मात्र प्राप्त गर्दछ जतिखेर सिङ्गो पार्टी समितिहरू एउटै स्वर, कदम र चालमा व्यक्त हुन सक्छन् । यो राष्ट्रिय प्रशिक्षण भेलाले सिङ्गो पार्टीलाई एउटै स्वर, कदम र चालमा व्यक्त हुनका लागि मार्गप्रसस्त गर्न मूलभूत रूपमा सफल भएको छ ।

चौथो– उत्साहको नयाँ रक्तसञ्चार

यो राष्ट्रिय प्रशिक्षण भेला सिङ्गो पार्टीमा उत्साहको नयाँ रक्तसञ्चार प्रवाह गर्न सफल भएको छ । एउटा क्रान्तिकारी पार्टीमा विकसित परिस्थितिको सापेक्षतामा निर्माण गरिने हरेक योजनाहरूले उत्साहको नयाँ रक्तसञ्चार प्रवाह गर्नुपर्छ । त्यसले मात्र पार्टीका लक्ष्यहरू प्राप्त गर्न आधार तयार गर्दछ । उत्साहको नयाँ रक्तसञ्चार त्यतिबेला मात्र पैदा हुन्छ जब योजनाको वैज्ञानिकता एवम् वस्तुवादिता, त्यसको बुझाइ र प्रयोगमा एकरूपता आउँछ, तब त्यसले हरेक नेता/कार्यकर्तामा सङ्कल्प र प्रतिबद्धताको विकास गर्न पुग्छ । हाम्रो पार्टीले नेपालको विद्यमान सङ्कटको समाधान संसदीय व्यावस्थाद्वारा होइन, वैज्ञानिक समाजवादद्वारा मात्र हुने कुरा गर्दै आइरहेको छ । यो आजको विषय नभई संविधानको घोषणा, तीन तहको निर्वाचनलाई खारेज अभियानसहित राष्ट्रिय स्तरमा सङ्घर्ष र बहस सिर्जना गर्दै आएको छ । पार्टी पुनर्गठनदेखि कथित प्रतिबन्धको पूर्वअवस्थासम्म राजनीतिक रूपले जनतालाई जागृत गर्ने र जनसङ्घर्षको सञ्चालन, कथित प्रतिबन्धपछि राजनीतिक रूपले राज्यसत्ताको भण्डाफोर र फौजी रूपले प्रतिरोध गर्ने कार्यनीतिक शृङ्खलामार्फत हाम्रो पार्टीले नेपाली समाजको रूपान्तरण अभियानलाई निरन्तरता दिइरह्यो ।

सरकार र हाम्रो पार्टीका बीचमा सम्पन्न तीनबुँदे सहमतिपछि हाम्रो पार्टीद्वारा अगाडि सारिएको प्रगतिशील संयुक्त सरकार–जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिक शृङ्खलाअन्तर्गत तय गरिएका कार्यक्रमहरूलाई आमजनता, मित्र पार्टी, बुद्धिजीवी–व्यापारी, सुरक्षाकर्मीसम्म पुर्याउने पार्टी कार्यनीतिको सम्प्रेषणले राष्ट्रिय प्रशिक्षण भेलामा सहभागी नेता/कार्यकर्ताहरूमा नयाँ क्रान्तिकारी जोस र कार्यतत्परताको रक्तसञ्चार गर्न सफल भएको छ ।

पाँचौँ– जनमतसङ्ग्रहको कार्यनीतिलाई आमजनताको तहसम्म पुर्याउने

हाम्रो पार्टीले यतिखेर जनमतसङ्ग्रहको कार्यनीतिक नारालाई अगाडि सारेको छ । नेपाल राष्ट्र र नेपाली जनताका विद्यमान समस्याहरू वर्तमान संसदीय व्यवस्थाबाट किमार्थ सम्भव छैन । त्यसको एक मात्र विकल्प भनेको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नु हो । त्यसका मुख्यतः दुईवटा बाटाहरू रहेका छन् । पहिलो– सशस्त्र बलद्वारा, दोस्रो– जनमतद्वारा । हुनत पहिलो बाटोमा पनि जनमत नै व्यक्त हन्छ । किनकि राजनीतिक परिवर्तन आमजनताको सहभागितामा मात्र सम्भव रहन्छ । जनताको सहभागिताबिना गरिने राजनीतिक परिवर्तनको नारा केवल रोमान्स (रोमान्टिज्म) मात्र हुने गर्दछ । जहाँसम्म दोस्रो बाटो छ यो पनि आमजनताको सहभागिता र सक्रियतामा निर्भर रहन्छ । संसारभरका साम्राज्यवादी तथा पुँजीवादीहरूले कम्युनिस्टहरूलाई लगाउने आरोप भनेको कम्युनिस्टहरू हिंसाप्रिय हुन्छन् । उनीहरू केवल बम र बन्दुकको कुरा गर्छन् । यो कुरा सरासर झूट्टो छ । पेरिस कम्युनका कम्युनार्डहरूले पितृभूमिको रक्षाको माग गरेका थिए, के त्यो नारा सम्बोधन गर्न तत्कालीन थियर शासक वर्ग तयार भयो त ? लेनिनको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले रुसमा शान्ति, रोटी र जमिनको माग गरेको थियो । के त्यो माग पूरा गर्न तत्कालीन रुसी जारशाह तयार भयो त ? चीनमा माओले जापानी साम्राज्यवादका विरुद्ध लड्न र जनतालाई अधिकार दिने माग गर्दा तत्कालीन च्याङ्काइसेक तयार भयो त ? के नेपालमा जनयुद्ध थालनीको पूर्वसन्ध्यामा पेस गरिएको ४० बुँदे माग पूरा गर्न तत्कालीन देउवा सरकार तयार भयो त ? अहँ, शासक वर्गहरू इतिहासदेखि वर्तमानसम्म जहाँ र जहिले पनि जनताको शान्तिपूर्ण आवाजलाई सुन्न तयार भएनन् र हुँदैनन् । जब शान्तिपूर्ण जनताको आवाजलाई शासकहरू जबर्जस्ती निषेध गर्छन्, तब जनता सशस्त्र प्रतिरोध/बल प्रयोगको बाटोमा जान बाध्य हुन्छन् र त्यसको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने गरेको छ । यसले के कुरालाई पुष्टि गर्छ भने वास्तवमा हिंसाप्रिय त कम्युनिस्ट होइनन्, बरु पुँजीवादीहरू नै हुन् । साँचो कुरा के हो भन् उनीहरूको हिंसा र उत्पीडनबाट मुक्त हुन् र स्थायी शान्तिका लागि कम्युनिस्ट पार्टीले संसारभर जनपक्षीय सशस्त्र युद्धको नेतृत्व गरेका छन् ।

हाम्रो पार्टीको पुनर्गठनपछि हामीले वर्तमान संविधान जनपक्षीय छैन भन्यौँ । हाम्रो कुरा कसैले सुनेन । जब हामीले राज्यका जनविरोधी नीतिका विरुद्ध सङ्घर्ष गर्न जनतालाई अपिल गर्यौँ तब हामीमाथि प्रतिबन्ध थोपरियो यो त दिनको घामजस्तै छर्लङ्ग छैन र के यो वास्तविकतालाई कुनै ढङ्गले विषयान्तर गर्न सकिन्छ– सकिँदैन । हामीले अहिले जनमतसङ्ग्रहको प्रस्ताव गरेका छौँ । यसको सारतत्व भनेको व्यक्तिका लागि निर्वाचन गर्नु नभई व्यवस्थाका पक्षमा जनतालाई फैसला गर्न दिनु हो । के वर्तमान संसदीय दलका नेता तथा शासकहरू यसका लागि तयार छन्, यसप्रकारको शान्तिपूर्ण र प्रजातान्त्रिक अभ्यासमा पनि उनीहरू तयार भएनन् भने जनताले कुन बाटो रोज्ने, यो भविष्यको गर्भभित्र रहेको छ । हामी खुला दिलले, खुला बहस अगाडि बढाइरहेका छाैँ । आमनेपाली जनतालाई आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकार जनतालाई दिनु एउटा उच्चतम् प्रजातान्त्रिक विधि र प्रक्रिया हो । हाम्रो पार्टीद्वारा अगाडि सारिएको जनमतसङ्ग्रहको नारा र प्रस्तावलाई आमजनवर्गमा पुर्याउन सिङ्गो पार्टीले जोडदार बल लगाउनुपर्छ । यो राष्ट्रिय बहसमा सिङ्गो पार्टी एकीकृत र केन्द्रित बन्न सक्नु यो राष्ट्रिय प्रशिक्षण भेलाको ऐतिहासिक महत्व रहन गएको छ ।

हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध विचारधारात्मक सङ्घर्ष र दलाल संसदीय व्यवस्थाका विरुद्ध वर्गसङ्घर्ष सञ्चालन गर्दै आएका छौँ । हाम्रो पार्टीको के प्रतिबद्धता रहेको छ भने जनताको अन्तिम विजय नहुन्जेल यो प्रक्रिया निरन्तर चलिरहनेछ । हाम्रो पार्टीले अगाडि सारेको कार्यनीतिबारे विभिन्न कोणहरूबाट टिप्पणीहरू पनि सतहमा आइरहेका छन् । कतै यो पार्टी पनि नेपालको राजनीतिक आन्दोलनको इतिहासमा झैँ राज्यसत्तासामु आत्मसमर्पण गर्ने त होइन भन्ने चिन्ता र जिज्ञासाहरू पनि देखिएका छन् यसप्रकारको चिन्तामिश्रित बुझाइलाई पार्टीको विचार र हाम्रो व्यवहारद्वारा स्पष्ट गर्दै जानुपर्छ । अर्कोतर्फ जनतालाई योजनाबद्ध रूपले भ्रममा पार्न अब नेकपा पनि राष्ट्रिय राजनीतिको मूल धारमा समावेश भयो भन्ने प्रचार पनि चलाइएको छ, त्यसप्रकारका गलत विचारका विरुद्ध विचारधारात्मक सङ्घर्ष गर्दै हल गर्नुपर्छ । आफूलाई नेपालमा नयाँ जनवादी क्रान्तिका पक्षधर बताउने केही कम्युनिस्ट पार्टीहरू जो अत्यन्त रूढिवादी रोगले ग्रसित छन्, उनीहरूले पनि हाम्रो पार्टीको पछिल्लो कार्यनीतिबारे विभिन्न भ्रम र आशङ्का उत्पन्न गरिरहेका छन् त्यसप्रकारका भ्रम र आशङ्काहरूलाई पनि हामीले जिम्मेवारीपूर्वक छलफल र आमजनतालाई स्पष्ट गरेर हल गर्नुपर्छ ।

आज देशको वर्तमान संसदीय व्यवस्थाका कारण उत्पन्न अवस्थाबाट कोही पनि नेपाली नागरिक सन्तुष्ट छैनन् । यो अवस्थाबाट नेपाल राष्ट्र र नेपाली जनतालाई मुक्त गर्न हाम्रो पार्टीका सामु ऐतिहासिक जिम्मेवारीहरू उपस्थित भएका छन् । ती ऐतिहासीक जिम्मेवारीहरू पूरा गर्न वैज्ञानिक विचार, वस्तुवादी योजनाको जगमा सिङ्गो पार्टी सङ्गठनको बुझाइलाइ एकताबद्धताका साथ कार्यान्वयन गरेर मात्र सम्भव छ । यो ऐतिहासिक र दूरगामी महत्वको राजनीतिक सङ्कल्प पूरा गर्ने कुरामा राष्ट्रिय प्रशिक्षण भेला सफल भएको छ । राष्ट्रिय प्रशिक्षण भेला– जिन्दावाद ! एकीकृत जनक्रान्ति– जिन्दावाद !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :