अखिल क्रान्तिकारी पनि होमियो जनमतसङ्ग्रहमा

अखिल क्रान्तिकारी पनि होमियो जनमतसङ्ग्रहमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह’ भन्ने मूल नाराका साथ ‘विद्यार्थी जागरण अभियान २०७८’ सुरु गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्रिभुवन विश्वविद्यालय अडिटोरियम हलमा कार्यक्रम उद्घाटन गरी जागरण अभियान सुरु गरेका हुन् ।

प्रवक्ता प्रकाण्डले अभियान आरम्भ गर्दै विद्यमान अवस्थामा असफल र पतनको दिशाउन्मुख रहेको दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न अखिल क्रान्तिकारीले ऐतिहासिक एवम् उल्लेख्य भूमिका र दायित्व निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि जसरी नेकपाले जनमतसङ्ग्रहको कार्यनीति ल्याएको छ त्यो भनेको नेपाली श्रमिक जनताको कार्यनीति हो । एकीकृत जनक्रान्ति सफल बनाउने कार्यनीति हो ।’ देशभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरूलाई अखिल (क्रान्तिकारी) को जनआधार बनाई समाजवादी आन्दोलनलाई देशैभरि सशक्त बनाउन र जनमतसङ्ग्रहको मुद्दामा सबैलाई डोर्याउन उनले आह्वान पनि गरे । हजारौँ–लाखौँ विद्यार्थीको नेतृत्व गरेको सङ्गठन अखिल (क्रान्तिकारी) ले जसरी वैज्ञानिक समाजवादसहित वैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्न सङ्घर्ष गरिरहेको छ त्यो आफँैमा अग्रगामी र आवश्यकताको विषय रहेको उनले बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज मिलन, पार्टी केन्द्रीय सदस्य तथा अनेमसङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, पार्टी केन्द्रीय सदस्य तथा सहिद परिवार समाजकी अध्यक्ष खुमा सुवेदी, मजदुर सङ्गठनका अध्यक्ष विनोद थापा, विद्यार्थी सङ्गठनका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार चिरञ्जीवी ढकाल, युवा सङ्गठनकी महासचिव विदुषीलगायत नेता–कार्यकर्ता उपस्थित थिए ।

कार्यक्रमको अध्यक्षता सङ्गठनका अध्यक्ष प्रकाश शाहीले गरेका थिए । स्वागत मन्तव्य सङ्गठनका उपाध्यक्ष नरेन्द्र विकले राखेका थिए भने सञ्चालन सङ्गठनका महासचिव मिलन राईले गरेका थिए ।

अखिल क्रान्तिकारी नेपालको प्राकृतिक साधन, स्रोत र मानव संसाधनलाई जोड्ने शिक्षा, वैज्ञानिक/व्यावहारिक/आत्मनिर्भर शिक्षा, नेपालको वर्तमान विभेदकारी द्वैध शिक्षाप्रणाली अन्त्य गरी सबैका लागि क्षमताअनुसारको समान अवसर प्रदान गर्ने शिक्षा वैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्न सङ्घर्ष गरिरहेको छ । बिहीबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले पनि अभियान आरम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :