नमुना निर्माणकार्यका आधारभूत सर्तहरू

नमुना निर्माणकार्यका आधारभूत सर्तहरू

हाम्रो पार्टीले व्यवस्थित र योजनाबद्ध रूपले नमुना निर्माणकार्यलाई अगाडि वढाइरहेको छ । यो निर्णय आजको नभई पार्टीको २०७३ साल फागुनमा रोल्पा थबाङमा सम्पन्न आठौँ महाधिवेशनद्वारा पारित दिशानिर्देशनमा आधारित रहेको छ । आठौँ महाधिवेशनद्वारा पारित पार्टी सङ्गठनलाई व्यवस्थित गर्ने, नमुना निर्माणका कामहरूका साथै अन्य विभिन्न निर्णयहरूको कार्यान्वयन गर्न नपाउँदै नेपाली जनतामाथि लादिएका स्थानीय तथा संसदीय निर्वाचन, एनसेल प्रकरण तथा देश र जनताका विरुद्ध तत्कालीन सरकारद्वारा लिइएका घातक निर्णयहरूका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध सङ्घर्षलाई प्रधान वनाउन पुग्यो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दादल्दा समस्याहरूका पक्षमा सङ्घर्ष सञ्चालन गरेको पृष्ठभूमिमा हाम्रो पार्टीमाथि थोपरिएको प्रतिबन्ध र दमनका कारण नमुना निर्माणका कामहरू व्यवस्थित रूपमा अगाडि बढाउन सकिएको थिएन । सरकार र हाम्रो पार्टीका बीचमा चलेको करिब चार वर्षको दमन र प्रतिरोधपछि गत फागुन २१, २०७७ मा सम्पन्न वार्ता र तीनबुँदे सहमतिपछि वनेको नयाँ राष्ट्रिय राजनीतिक परिवेशमा हाम्रो पार्टीले नमुना निर्माणकार्यलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाइरहेको छ जसअन्तगत समाज घर, जनसभा हल, स्कुल, जनस्वास्थ्य केन्द्र, पार्टी कार्यालय, जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माण, कृषि उत्पादनअन्तर्गत अन्न, फलफूल, तरकारी उत्पादन, पशुपालनलगायत छन् । हाम्रा यी निर्णयहरू कार्यान्वयनको पृष्ठभूमिमा केही मान्छेहरू के तर्क गरिरहेका छन् भने अब विप्लवको पार्टी पनि सकियो । के–के न गर्छौं भन्थे उही त रहेछ । यसप्रकारको तर्क गर्ने राजनीतिक पार्टीका मान्छेहरू न हाम्रो पार्टीको नयाँ संश्लेषणलाई बुझ्ने प्रयत्न गर्छन्, न त आफूले नै नयाँ गर्ने हिम्मत गर्छन् । अरूको आलोचनामा मात्र रमाउने यो प्रवृत्ति र व्यक्तिहरूले राजनीतिक र दर्शनका बारेमा ठूलठूला पुस्तक तयार गर्ने र व्याख्या गर्ने तर सारमा अर्थात् व्यवहारमा राजनीति र दर्शनलाई केवल जड वस्तुका रूपमा बुझ्छन् र त्यसको नयाँ प्रयोग गर्ने विषयलाई कुनै भड्काउको संज्ञा दिने गर्छन् । यो नेपालको राजनीतिक आन्दोलन र मुख्यतः कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि रहिआएको शास्त्रीय पण्डित प्रवृत्ति हो । दोस्रो, पार्टी बिग्रने हो कि भन्ने आमचिन्ता र जनचासोको विषय पनि यदाकदा रहेको पाइन्छ किनकि नेपालमा हाम्रो पार्टी नै त्यस्तो पार्टी हो जसले केवल राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर आफूलाई समर्पण गरेको छ । यसर्थमा जनचासो र चिन्ताका साथ प्रश्नहरू आउनुलाई अन्यथा लिन सकिँदैन । त्यसलाई हामी पार्टीको सही विचार, योजना र कार्यक्रमद्वारा आमजनतालाई प्रशिक्षित गर्दै र व्यवहारतः साबित गर्दै गएर हल गर्दै जानेछौँ । सङ्क्षेपमा यसो भन्नु उपयुक्त हुन्छ– राजनीतिमा रणनीति र कार्यनीतिको सही तालमेल मिलाउन सक्ने विषयले सामाजिक क्रान्तिको विजयलाई सुनिश्चित गर्दछ । यसर्थमा हामीले सञ्चालन गरिरहेका नमुना निर्माणका कामहरू वैज्ञानिक समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्ने कार्यनीतिक मामिलाहरू हुन् । यसलाई हामीले सैद्धान्तिक रूपमा निम्न आधारभूत सर्तहरूका रूपमा बुझ्न र प्रयोग गर्न आवश्यक छ—

१) मालेमावादी विज्ञानका दृष्टिले

मालेमावादी विज्ञान एउटा राजनीतिक तथा सामाजिक विज्ञान हुनुका नाताले यो समाजसँग अभिन्न रूपमा जोडिएको हुन्छ । यसले सामाजिक अन्तरविरोधहरूको अध्ययन, त्यसको सञ्चालन र परिचालनका साथै त्यसलाई अग्रगामी दिशातिर बदल्न प्रयत्न गर्दछ । हामी मालेमावादलाई गतिशील विज्ञानका रूपमा ग्रहण गरेर त्यसलाई निरन्तर विकास गर्नु पर्दछ भन्ने मान्यता राख्छौँ । इतिहासमा के भएको थियो भनेर अध्ययन गर्ने, त्यसबाट शिक्षा लिने, त्यसलाई आधार मान्ने र त्यसलाई निरन्तर विकास गर्ने विषयले नै सामाजिक क्रान्तिको विजयलाई सुनिश्चित गर्दछ । हामीले अगाडि बढाइरहेको नमुना निर्माणकार्य मालेमावादी विज्ञानलाई दह्रोसँग आत्मसात गर्ने र प्रयोग गर्ने मामिलासँग जोडिएको छ । केही मानिसहरू क्रान्तिको प्रधान कार्य ओझेलमा पारेर यी सहायक कामलाई प्रधान बनाएर मालेमावादलाई नै विषयान्तर गर्न चाहेको हो कि भन्ने तर्क गर्दछन् तर हाम्रो यो निष्कर्ष छ– आजको परिवेशमा यसरी मात्र वैज्ञानिक समाजवादी क्रान्तिको विजय सम्भव छ किनकि वैज्ञानिक समाजवादी क्रान्ति राजनीतिक क्रान्ति मात्र नभएर समग्र क्रान्ति हो । यसमा पार्टीले समग्र रूपमा आफूलाई अग्रगामी साबित गर्दै आमजनताको नेतृत्व गर्नुपर्छ । नमुना निर्माणकार्यको मुख्य ध्येय र उद्देश्य यसै कुरामा केन्द्रित रहेको छ ।

२) क्रान्ति र प्रतिक्रान्तिको संश्लेषणका दृष्टिले

विगत इतिहासमा सर्वहारा–श्रमिक वर्गले पुरानो राज्यसत्ताका विरुद्ध सशस्त्र राजनीतिक क्रान्तिको माध्यमबाट समाजवाद स्थापना गर्दै आफूलाई श्रेष्ठ साबित गरेको थियो । तर त्यसलाई निरन्तरता दिन सकेन । पुँजीवादी तत्वहरूको बाह्य हमला तथा पार्टीभित्र पैदा भएका प्रतिक्रान्तिकारी तत्वहरूको हमलालाई रोक्ने विचार र विधिको अभावमा समाजवादी राज्यसत्तामा प्रतिक्रान्ति हुन पुग्यो । पुँजीवादीहरूले कम्युनिस्टहरू सदाका लागि हारेको, पुँजीवाद निर्विकल्प रहेको, भविष्यमा कम्युनिस्ट सत्ता कहिल्यै पनि आउन नसक्ने हल्ला चलाए । एउटा तथ्य के रहन गयो भने कमरेड माओको निधनपछि दुनियाँमा कतै पनि समाजवादी सत्ताहरू स्थापना हुन सकेनन् । हाल चीन, जनगणतन्त्र कोरिया, क्युबा, भेनेजुयलालगायत मुलुकहरूमा चलिरहेको व्यवस्थालाई उनीहरूले आफ्नै विशेषताको समाजवाद भनेका छन् । वैज्ञानिक समाजवाद स्थापनाका लागि पेरू, फिलिपिन्स, टर्की, भारत, नेपाललगायत देशहरूमा सशस्त्र सङ्घर्षहरू एउटा बिन्दुसम्म पुगे पनि निर्णायक विजयसम्म पुग्न सकेनन् । त्यसका पछाडि कैयौँ कारणहरू भए पनि मुख्य कारण भनेको क्रान्तिकारीहरूले मालेमावादको विकास गर्न नसक्नु हो । आजको युगमा विज्ञान–प्रविधि तथा सूचना–सञ्चारको विकासले पैदा गरेको भूमण्डलीकृत विश्व–व्यवस्थाका कारण मालेमावादको विकास अपरिहार्य बनेको छ । हाम्रो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले विषयको यही आवश्यकतालाई बोध गरेको छ । पार्टी कार्यदिशाको दिशानिर्देशनमा हामीले अगाडि बढाइरहेको नमुना निर्माणकार्य क्रान्ति सम्पन्न गर्न मात्र होइन, त्यसलाई प्रतिक्रान्तिबाट रक्षा गर्ने विषयसँग राजनीतिक तथा सैद्धान्तिक रूपमा अविभाज्य रूपले जोडिएको छ ।

मालेमावादी विज्ञान, हाम्रो पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा, पार्टीको जनसम्बन्ध एवम् श्रमसम्बन्धी सही दृष्टिकोण र काम गराइमा हाम्रो इच्छाशक्ति र समर्पणको कुल योगमा हामी नमुना निर्माणकार्यसम्बन्धी योजनाहरूलाई अगाडि बढाउँदै जानेछाैँ । जसले नेपाल राष्ट्र र जनतालाई नेपाली हुनुमा र हाम्रो देश नेपाल भएकोमा ह्युमुलेसन होइन, बरु गर्व गर्नलायक नयाँ पुस्ता निर्माण गर्दै जाने कुरामा दिशानिर्देशन गरिरहनेछ ।

३) स्वाधीनता र समृद्धिका दृष्टिले

वैज्ञानिक समाजवादी राज्यसत्ता स्वाधीनता र समृद्धिमा आधारित रहेको हुन्छ । हाम्रोजस्ता संसारका तेस्रो मुलुकहरू जो विकसित तथा साम्राज्यवादी राष्ट्रहरूद्वारा औपनिवेशिक रूपमा रहन बाध्य पारिएका छन्, वैज्ञानिक समाजवादमा उनीहरू त्यसप्रकारको उत्पीडनबाट मुक्त हुनेछन् । त्यसका लागी आत्मनिर्भर अर्थतन्त्रको निर्माण एउटा अपरिहार्य आवश्यकता हुन जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा यो विषयलाई सुदूर भविष्यको विषय अर्थात् समाजवादी क्रान्तिपछि मात्र हुने कुराका रुपमा विश्लेषण गरिएको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो स्कुल हो । एउटा सन्दर्भमा चिनियाँ मजदुर–किसानले क्रान्ति कहिले र कहाँबाट सुरु गर्ने भन्ने जिज्ञासा राख्दा कमरेड माओ त्सेतुङले ‘क्रान्ति आजैबाट सुरु गर्ने, जहाँ छौँ त्यहीँबाट गर्ने’ भन्ने जबाफ दिएका थिए । हो, स्वाधीनता र समृद्धिको काम पनि हामीले आजैबाट र जहाँ छौँ त्यहीँबाट सुरु गर्नु पर्दछ । स्वाधीनता र समुद्धि वैज्ञानिक समाजवादी सत्ता प्राप्त भएपछि रातारात निर्माण हुने कुरा होइन । त्यसका लागि आधार निर्माण गर्दै जानु पर्दछ । यसर्थमा हामीले अगाडि बढाएको नमुना निर्माणकार्यले सर्वहारा तथा श्रमिक जनतालाई स्वाधीनता र समृद्धिको वैचारिक र आर्थिक आधार तयार गर्नुका साथै सिङ्गो देशको विकासको खाका कोर्दै हाम्रो पार्टीले राष्ट्र र जनताको पूर्ण मुक्तिपछि सञ्चालन हुने वैज्ञानिक समाजवादी राज्यसत्ताको पूर्वाभ्यासका रूपमा बुझ्नु उपयुक्त हुनेछ ।

४) श्रमसम्बन्धी सैद्धान्तिक दृष्टिले

साँचो अर्थमा कम्युनिस्टहरू श्रमका धनी सर्वहारा–श्रमिक जनताका पक्षपाती हुन्छन् । उनीहरूले आफूलाई सर्वहारा–श्रमिक वर्गका लागि समर्पण गरेका हुन्छन् तर नक्कली कम्युनिस्टहरूको बिगबिगी बढिरहेको आजको दुनियाँमा श्रमशोषण गर्ने, सर्वहारा–श्रमिकविरोधी तत्वहरू नै कम्युनिस्ट पार्टीका नेता हुन पुगेका छन् । उनीहरूलाई न कम्युनिस्ट सिद्धान्त र विचारको जानकारी छ, न त उनीहरू कम्युनिस्ट बन्ने प्रयत्न नै गर्दछन् । आजको नेपाली राजनीति र कम्युनिस्ट राजनीतिको एउटा तथ्य यही रहेको छ । साथै अर्को तथ्य के रहेको छ भने त्यसप्रकारका नक्कली कम्युनिस्टहरूद्वारा सर्वहारा–श्रमिक वर्गका विरुद्ध आफूलाई उभ्याउने, सर्वहारा–श्रमिक वर्गलाई अपमान गर्ने र सारमा पुँजीवादको प्रगतिशील चरित्रभन्दा पनि पछौटे चेतनामा व्यक्त हुने गर्दछन् । त्यसका विरुद्ध हामीले यो नीति अवलम्बन गरेका छौँ– सबै कम्युनिस्ट नेता–कार्यकर्ता अनिवार्य श्रममा सहभागी बन्ने, सर्वहारा–श्रमिक वर्गलाई माया र सम्मान गर्ने, श्रम र पुँजीको संयोजनबाट उद्योग, कृषि, प्राविधिक क्षेत्रको विकास गर्ने नीतिको अनुसरण गरेका छौँ । यसको प्रयोगका सन्दर्भमा हामीले व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाइरहेको नमुना निर्माणकार्यलाई सैद्धान्तिक रूपले कम्युनिस्टहरूको श्रमसम्बन्धी नीतिको शुभारम्भका रूपमा बुझ्नु र प्रयोग गर्नु उपयुक्त हुनेछ ।

५) जनसम्बन्धका दृष्टिले

हामीले सुरुआत गरेको नमुना निर्माणकार्यले हाम्रो पार्टी र श्रमिक जनतालाई एकाकार गर्न मद्दत गरेको छ र भविष्यमा सुदृढ एकता निर्माण गर्दै जाने कुरामा हाम्रो पार्टी विश्वस्त रहेको छ ।

वास्तवमा कम्युनिस्ट पार्टी र जनताबीचको सम्बन्ध नङ र मासु, पानी र माछा, माटो र बिउका रूपमा रहनुपर्छ । त्यसप्रकारको सम्बन्धबिना न वैज्ञानिक समाजवादी क्रान्ति सम्भव छ, न त वैज्ञानिक समाजवादको रक्षा र विकास नै सम्भव छ । अक्सर कम्युनिस्टहरूको संश्लेषण के रहने गरेको छ भने ‘सङ्गठित जनता नै इतिहासका निर्माता हुन् ।’ ‘जनता हाम्रा गुरु हुन् र उनीहरूबाट हामीले सिक्नुपर्छ ।’ हामीले यही मान्यतालाई गहिरो गरी आत्मसात गरेका छौँ र व्यवहारतः प्रयोग पनि गर्दै अगाडि बढिरहेका छौँ । जनसम्बन्धलाई केवल औपचारिक रूपमा होइन, बरु सही विचार एवम् राजनीतिको जगमा र वैज्ञानिक संयन्त्रको निर्माणद्वारा वास्तविक जीवन व्यवहारमा बदल्ने कुरामा हामी सचेततापूर्वक अगाडि बढ्नु पर्दछ । हामी यो कुरामा विश्वस्त छौँ– सही विचारको जगमा हामीले यो जननीतिलाई अवलम्बन गर्यौँ भने हाम्रो विजयलाई कसैले रोक्न सक्नेछैन । हाम्रो पार्टीद्वारा व्यवस्थित र योजनाबद्ध रूपले अगाडि बढाइएको नमुना निर्माणकार्यले हामीलाई यही पथमा बढ्न दिशानिर्देशन गरेको छ र गरिरहनेछ ।

निष्कर्ष

हाम्रो पार्टीले व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाइरहेको नमुना निर्माणकार्यसम्बन्धी यी सामान्य आधारभूत सैद्धान्तिक पक्षहरू हुन् । आगामी दिनमा हामीले यसको नयाँ संश्लेषण, प्रयोग एवम् व्याख्या र बृहत्तर योजनाहरू सञ्चालन गर्दै जानेछौँ । यसको सुरुआती चरणमा नै यसले देश र जनताको स्वाधीनता र समृद्धि चाहने विभिन्न जनवर्गलाई उत्साहित र आशावादी तुल्याएको छ । यसका लागि सहयोगी मनहरूको लामबन्दी भएको छ । श्रमका लागि युरोप तथा खाडी मुलुकमा रहनुभएका देशभक्त नेपाली श्रमिक जनहरूबाट नमुना निर्माणकार्यका लागि नगद राशि सहयोग प्राप्त भएको छ भने देशभित्र र स्थानीय स्तरमा पनि भौतिक रूपले राम्रो जनसहयोग प्राप्त भैरहेको छ । आगामी दिनमा यसप्रकारको सहयोग अभियानले थप आकार ग्रहण गर्नुका साथै नयाँ उचाइ हासिल गर्दै जानेछ । सङ्क्षेपमा यसो भन्नु उपयुक्त हुन्छ– मालेमावादी विज्ञान, हाम्रो पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा, पार्टीको जनसम्बन्ध एवम् श्रमसम्बन्धी सही दृष्टिकोण र काम गराइमा हाम्रो इच्छाशक्ति र समर्पणको कुल योगमा हामी नमुना निर्माणकार्यसम्बन्धी योजनाहरूलाई अगाडि बढाउँदै जानेछाैँ । जसले नेपाल राष्ट्र र जनतालाई नेपाली हुनुमा र हाम्रो देश नेपाल भएकोमा ह्युमुलेसन होइन, बरु गर्व गर्नलायक नयाँ पुस्ता निर्माण गर्दै जाने कुरामा दिशानिर्देशन गरिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :