शान्ति–स्वाधीनता–समृद्धि र वैज्ञानिक समाजवाद

विगत डेढ दशकयता अर्थात् सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हाम्रो देशमा शान्ति, स्वाधीनता र समृद्धिका बारेमा राजनीतिक तथा सामाजिक क्षेत्रमा निकै चर्चा र बृहत् बहसहरू हुने गरेका छन् । हाम्रोजस्ता अल्पविकसित मुलुकहरूमा यो विषयको आवश्यकता र चर्चा हुनु स्वाभाविक पनि छ किनकि आजको भूमण्डलीकृत विश्व, विज्ञानप्रविधि तथा सूचना–सञ्चारको विकासले विश्वव्यापी भैरहेका चामत्कारिक विज्ञानप्रविधिको आविष्कार तथा नमुना विकास निर्माणका कामहरू आफ्नै ठाउँमा बसेर नियाल्न सकिन्छ भने रोजगारीका सिलसिलामा नेपालका ७५ देखि ८० लाख नागरिक विश्वका अधिकांश मुलुकहरूमा पुगेका छन् । उनीहरूले त्यहाँ भएका आधुनिक विज्ञानप्रविधिको विकास तथा नमुनायोग्य विकास निर्माणका कामहरूबाट प्रभावित भई आफ्नो देशलाई पनि सोही स्तरमा विकास गर्ने सङ्कल्पसहित देश प्रेमको भावनालाई माथि उठाएका छन् । यसका साथै विज्ञानप्रविधिको विकास तथा प्रयोगले मानवीय आवश्यकतालाई झन्पछि झन् माथि उठाउँदै लगिरहेको पृष्ठभूमिमा यसप्रकारको बहस सतहमा आउनुलाई स्वाभाविक मान्नुपर्छ । २०४८ सालको संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले नेपाललाई सिङ्गापुर बनाउने बहस अगाडि सारेर चुनावमा भोट मागेका थिए । यो विषयले निकै चर्चा पनि पायो । त्यसयता नेपालमा सञ्चालित संसदीय व्यवस्थाअन्तर्गत क्रियाशील संसद्वादी पार्टीका नेताहरूले देशको विकास र समृद्धिका गुलिया नारालाई व्यापक बनाए पनि सारतत्वमा ती गुलिया नारा केवल आफू र आफ्ना सीमित नेता–कार्यकर्ताको विकास र समृद्धिमा सीमित गरेर जनतालाई गुमराहमा राखिरहेको तथ्य आज घामझैँ छर्लङ्ग भएको छ । आज देशको वास्तविकताले देखाउँछ– विकासको सूचकाङ्कमा हामी कहाँ छौँ ? राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था के रहेको छ ? हाम्रो देशको आयात र निर्यातको असन्तुलन, व्यापारघाटा र वैदेशिक ऋण कसरी वृद्धि भइरहेको छ, हाम्रो देशको कृषि तथा औद्योगिक पुँजीको अवस्था के रहेको छ ? राजनीतिक दाउपेच र सरकारको खिचातानीले देशको अवस्था कसरी डामाडोल भइरहेको छ ? सारांशमा तथ्यहरूका आधारमा के कुरा प्रमाणित हुन्छ भने नेपालमा संसदीय व्यवस्था असफल भएको छ । देश र जनताका लागि अग्रगामी राजनीतिक व्यवस्थाको अपरिहार्यता खड्किएको छ जसले नेपालको विद्यमान समस्याको समाधान गरी युगानुकूल देश र जनताको शान्ति, स्वाधीनता र समृद्धिको आवश्यकतालाई सम्बोधन गर्न सकोस् । यसको वैज्ञानिक र वस्तुवादी समाधान अग्रगामी राजनीतिक व्यवस्था वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ । यो आलेखमा वैज्ञानिक समाजवादअन्तर्गत शान्ति, स्वाधीनता र समृद्धिका लागि अवलम्बन गरिने केही महत्वपूर्ण र आधारभूत नीतिगत विषयहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिनेछ ।

१) वैज्ञानिक समाजवाद र राष्ट्रियता

हामी कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुन्छाैँ किनकि श्रमिक जनसमुदाय विश्वव्यापी छरिएर रहेको छ । संसारभरका श्रमिक जनसमुदायको साझा विषय के रहेको छ भने उनीहरूमाथि साम्राज्यवाद तथा उनीहरूका घरेलु दलाल पुँजीवादी शासकहरूद्वारा शोषण र उत्पीडन लादिएको छ र त्यसका विरुद्ध उनीहरूले सङ्घर्ष गर्नुपरेको छ । उत्पीडित श्रमिक जनसमुदायले त्यसप्रकारको शोषण र उत्पीडनका विरुद्ध सङ्घर्ष गर्दा आआफ्नो देशका दलाल शासकहरूका विरुद्ध केन्द्रित गर्नुपर्छ । आआफ्नो देशको विशेषता, वर्गअन्तरविरोध, सामाजिक तथा आर्थिक सम्बन्ध र वर्ग शक्ति सन्तुलनका आधारमा सङ्घर्षको नीति तथा कार्यक्रम तय गर्नु पर्दछ । यसै नीतिअन्तर्गत हामीले नेपालमा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गरी प्रयोग गरिरहेका छाैँ जसअन्तर्गत हामीले हाम्रो राष्ट्रियतालाई सुदृढ गर्ने विषय अगाडि सारेका छौँ । यो अन्तर्राष्ट्रिय कामकै अभिन्न अङ्ग हो किनकि हामी राष्ट्रवादी भएर नै अन्तर्राष्ट्रियतावादी हुन सक्छौँ । आज हाम्रो देश भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले पराधीन अवस्थामा रहेको छ । हाम्रो देशको छ दर्जनभन्दा बढी स्थानमा भारतीय साम्राज्यवादद्वारा अतिक्रमण गरिएको छ र नेपालको माइक्रोम्यानेजमेन्ट पनि उनीहरूले नै गर्ने गरेका छन् । यो प्रक्रियाको सुरुआत सन् १८१६ को इस्ट–इन्डिया कम्पनीसँगको सन्धिपछि सुरु भएको हो । कुनै बेला बेलायतीहरूको गुलाम बनेको भारतीय साम्राज्यवादले युगौँदेखि हाम्रो राष्ट्रियतामाथि गिद्देदृष्टि लगाउँदै आएको छ । वैज्ञानिक समाजवाद स्थापनापछि हाम्रो स्वाधीनता तथा राष्ट्रिय हितविपरीत लाडिएका सम्पूर्ण सन्धिसम्झौताहरू खारेज गरिनेछन् र राष्ट्रिय हितअनुकूल नयाँ सम्झौताहरू गर्न सकिनेछ जसले हामीलाई बलियो र शक्तिशाली भन्ने मुलुकहरूको गुलामी गर्ने बाध्यकारी अवस्थाबाट मुक्त गर्नेछ । हामी सार्वभौम र स्वतन्त्र मुलुकका रूपमा अन्तर्राष्ट्रिय परिचय दिँदै विश्वका विभिन्न मुलुकसँग विकास, खोज–अध्ययन–अनुसन्धान गर्दै विश्व–भ्रातृत्वसहित स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्नेछौँ ।

२) वैज्ञानिक समाजवाद र जनतन्त्र

नेपाली जनताले लामो समयदेखि वास्तविक जनतन्त्रका लागि बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएका छन् । जहानिया राणाशासन, पञ्चायती व्यवस्था, संसदीय व्यवस्थाविरुद्ध नेपाली जनताले थुप्रै निःशस्त्र र सशस्त्र, शान्तिपूर्ण र हिंसात्मक सङ्घर्षमा आफूलाई सहभागी बनाउँदै आएका छन् । यी सङ्घर्षको प्रक्रियामा थुप्रै नेता–कार्यकर्ता तथा जनताले सहादत प्राप्त गर्ने, अङ्गभङ्ग हुने, बेपत्ता पारिने तथा देश निकालाजस्ता ज्यादतीहरू बेहोर्नुपरेको थियो र छ । यसप्रकारको राजनीतिक सङ्घर्ष तथा आन्दोलनमा आमरूपमा के देखापर्दै आएको छ भने राजनीतिक पार्टीहरू राज्यसत्ताका विरुद्ध सङ्घर्ष गर्ने एउटा सीमासम्म पुगेपछि त्यसलाई सम्झौतामा टुङ्ग्याउने र सरकारमा सहभागी बन्ने । सरकारमा सहभागी भएपछि आफूले उठाएका राजनीतिक एजेन्डाहरूलाई बिर्सने, त्याग गरेका नेता–कार्यकर्ता, सहिद–बेपत्ता, घाइते तथा अङ्गभङ्ग भएका योद्धाहरूलाई बिर्सने, उतै रमाउने र अभिजात वर्गमा परिणत हुने प्रवृत्तिहरू रहन गएका छन् । हाम्रो पार्टीले त्यसप्रकारको प्रवृत्तिबाट आफूलाई मुक्त गर्दै जनतासँग एकाकार भएर देशको विकास गर्ने सैद्धान्तिक प्रस्थापना अगाडि सारेको छ जसअन्तर्गत स्थापना गरिने वैज्ञानिक समाजवादमा जनतालाई इतिहासको निर्माता मानेर नीति निर्माण गरिनेछ । उच्चस्तरीय जनतन्त्रको अभ्यासद्वारा जनताका सुझावहरूका आधारमा राज्यका महत्वपूर्ण कानुनहरू निर्माण गरिनेछन् । यति मात्र होइन, सरकार र पार्टी जनताप्रति उत्तरदायी नभएको अवस्थामा प्रत्याह्वानको अधिकारलाई सुनिश्चित गरिनेछ । जनताको वाक् स्वतन्त्रतालाई ग्यारेन्टी गर्दै सरकार र पार्टीको रचनात्मक आलोचना र सुझावलाई विकासको अभिन्न अङ्गका रूपमा स्वीकार गरिनेछ जसले गर्दा सरकार तथा पार्टीमा रहेका मानिसहरूले आफूलाई जनताको शासक होइन, सेवकका रूपमा प्रस्तुत गर्ने वातावरण निर्माण हुनेछ । सरकार र पार्टीको रचनात्मक आलोचना र सुझाव, सुधार नभएमा प्रत्याह्वानले जनताको वास्तविक जनतन्त्रको अभ्यासलाई सुनिश्चित गर्नेछ र देश र जनताले सुदृढ राष्ट्रिय एकतासहित सिङ्गो राष्ट्र अद्भुत विकासको चरणमा प्रवेश गर्नेछ ।

३) वैज्ञानिक समाजवाद र जनजीविका

अहिलेको संसदीय व्यवस्थाको संविधान र कानुनमा जे लेखिए पनि जनताका केही नैसर्गिक अधिकारहरू वास्तवमा जनताले कहिल्यै पनि भोगचलन गर्न नपाएका मात्र होइन, बरु यो विषय ज्यादै कष्टकर बन्दै गएको छ । आजको दुनियाँ र हाम्रो देशमा लागू भैरहेको संसदीय विश्वव्यवस्थामा जनजीविकाको विषय हुनेखाने र हुँदा खाने जनताका बीचमा ठूलो खाडल पर्दै गएको छ । केही मानिसका हातमा अथाह पुँजीको केन्द्रीकरण हुँदै जानु र आमरूपमा जनता अभावको दुनियाँमा पिल्सिँदै जानुले संसीदय विश्वव्यवस्थाको सार चरित्रलाई स्पष्ट गरेको छ । वैज्ञानिक समाजवादमा जनताका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, सञ्चार तथा मनोरञ्जन राज्यको दायित्वमा रहेको हुन्छ । यो कुनै काल्पनिक विषय होइन, बरु जीवन्त र यथार्थ विषय हो । सर्वहारा वर्गको नेतृत्वमा विगत इतिहासमा सम्पन्न गरिएका समाजवादी मुलुकहरूमा यो जीवन्त रूपमा प्रयोग गरिएको थियो । केही मानिसलाई लाग्न सक्छ– यति ठूलो वैदेशिक ऋण, व्यापारघाटा तथा हाम्रो आफ्नो पछौटे कृषि तथा औद्योगिक अवस्थामा रहेको हाम्रो मुलुकको यो परिवेशमा के यो सम्भव होला त भन्ने जिज्ञासा र प्रश्नहरू पनि रहेका छन् । हाम्रो विचारमा यो कुरा पूरापूर सम्भव छ । हामीसँग भएका जल, जङ्गल, जडीबुटी, जमिन, खानी र जनशक्तिको सही रूपमा सदुपयोग गर्दा यो सम्भव छ । मूल प्रश्न राज्यसत्ता र इच्छाशक्तिको हो, साधन–स्रोतको होइन । हाम्रो देशको साधन–स्रोत तथा कच्चा पदार्थहरूको स्रोत र हाम्रो जनसङ्ख्यालाई तुलना गर्दा हामीलाई धनी देशका गरिब नागरिक पनि भन्ने गरिन्छ । यस विषयमा हामी अर्को सन्दर्भमा विस्तारपूर्वक चर्चा गर्नेछौँ । वैज्ञानिक समाजवादमा सरकारले आमजनताको चेतनास्तरलाई विकास गर्दै इच्छाशक्तिको विकास गरिनेछ र जनताको जीवनस्तरलाई नयाँ उचाइमा उठाइनेछ ।

४) वैज्ञानिक समाजवाद र विकास निर्माण

वैज्ञानिक समाजवादमा विकास निर्माणकार्यलाई जनताको आवश्यकता र प्राथमिकताका आधारमा श्रेणीकरण गरिन्छ । यसका साथै पुँजीमा मात्र आधारित विकास निर्माण गर्ने परम्परालाई क्रमभङ्ग गर्दै आमजनसमुदायलाई पनि सक्रिय सहभागी गराउने मोडेलको प्रयोग गरिन्छ । राष्ट्रको विकास– राष्ट्रको गौरव भन्ने मान्यतालाई आमजनतामा स्थापित गर्दै जलविद्युत्, शैक्षिक संस्था, हस्पिटल, मोटर तथा रेलमार्ग, पर्यटन क्षेत्रहरूको संरक्षण–संवद्र्धन तथा विकास, खेलक्षेत्रका लागि भौतिक संरचनाको निर्माण आदि विषयहरूलाई प्राथमिक सूचीमा राखेर समग्र विकास निर्माणको गुरुयोजना अगाडि बढाइनेछ । वर्तमान संसदीय व्यवस्थामा जस्तो लापरबाहीपूर्ण ठेक्काप्रकरण, ढिलाढाला तथा घूसप्रकरण, पहुँचका आधारमा गरिने ठेक्का–पट्टा तथा नाफा र घाटालाई मात्र केन्द्रबिन्दु बनाउने तरिकालाई पूर्णतः अन्त्य गरिनेछ । वैदेशिक सहयोगमा मात्र निर्भर हुने संस्कृतिको अन्त्य गर्दै आत्मनिर्भर अर्थतन्त्रमा आधारित योजनाबद्ध विकास निर्माणप्रक्रियालाई अगाडि बढाउनुपर्छ । समग्र विकास निर्माणको अध्ययन, अनुगमन तथा सुपरीवेक्षणका लागि विभिन्न तहमा निष्पक्ष र शक्तिशाली संयन्त्रको निर्माण, पार्टी तथा राज्यका विभिन्न ओहोदामा बसेका व्यक्तिहरूको विकास निर्माणकार्यमा संलग्न हुने परिपाटीको अन्त्य तथा आमजनजागरणलाई आधार बनाएर विकास निर्माण कार्यलाई एउटा लहरका रूपमा अघि बढाइनेछ । आज हामी वैदेशिक ऋणमा आधारित पुँजी तथा साधन–स्रोतमा आधारित विकास निर्माणप्रक्रियामा अघि बढिरहेका छौँ । केही बाटाघाटा, पर्यटन, विद्युत्, ससाना औद्योगिक क्षेत्रहरूको विस्तार, भवन तथा पूर्वाधारहरूको निर्माण भएको तथ्य देखाए पनि सारमा हाम्रो वैदेशिक ऋण दिनानुदिन बढिरहेको छ । यसप्रकारको वैदेशिक ऋणमा आधारित विकास निर्माणकार्यले हामीलाई आत्मनिर्भरतातर्फ होइन, बरु परनिर्भर मात्र बनाउनेछ । तसर्थ हामीले आत्मनिर्भर अर्थतन्त्रमा आधारित निर्माणको कामलाई अगाडि बढाउनुपर्छ । यसो गर्दा हामीले छोटो समयमा नै देश विकासको समग्र क्षेत्रमा गुणात्मक रूपले प्रगति हासिल गर्नेछौँ ।

५) वैज्ञानिक समाजवाद र राजनीतिक प्रतिस्पर्धा

अक्सर केही मानिसहरूले के चर्चा गर्दछन् भने कम्युनिस्ट व्यवस्थामा प्रतिस्पर्धा गर्न पाइँदैन । कम्युनिस्टहरू एकदलीय र तानाशाह हुन्छन् । उनीहरू दलीय प्रतिस्पर्धाको राजनीति गर्न चाहँदैनन् । दल खोल्ने कुरामाथि प्रतिबन्ध लगाउँदै दमन गर्छन् । यो झूटो कुरा र बकबासपूर्ण प्रचार मात्र हो, बरु तथ्य कुरा के हो भने कम्युनिस्टहरू दलीय राजनीतिक प्रतिस्पर्धादेखि डराउँदैनन् । यसका साथै यो कुरा पनि साँचो हो– राष्ट्र र जनविरोधी तत्व जस्तो कि– वैदेशिक शक्तिकेन्द्रका दलाल तथा नोकरशाही पुँजीपति तत्व र सामन्तवादी तत्वलाई राजनीतिक प्रतिस्पर्धामा रोक लगाइन्छ किनकि उनीहरू देश र जनताका विरोधी हुन्छन् र उनीहरूको वर्गचरित्र राष्ट्रघात र जनघातमा आधारित हुने गर्दछ । विगतमा सशस्त्र क्रान्तिबाट समाजवादी राज्यसत्ता स्थापना गरिएका मुलुकहरू– सोभियत सङ्घ, चीन, जनगणतन्त्र कोरिया, भियतनाम, क्युबालगायत मुलुकहरूमा दर्जनौँ पार्टीहरूलाई प्रतिस्पर्धा गर्न दिइएको तथ्य सबैको अगाडि छर्लङ्गै छ । हामीले स्थापना गर्ने वैज्ञानिक समाजवादमा पनि माथि भनिएझैँ दुईवटा तत्वहरूका विरुद्ध भने प्रतिबन्ध लगाइनेछ किनकि उनीहरू नेपाल राष्ट्र र नेपाली जनताका पक्षमा होइन, उनीहरूका वैदेशिक मालिकहरूको इशारामा राष्ट्रघाती तथा जनघाती काम गर्दछन् र देश तथा जनतालाई कङ्गाल बनाउन पुग्छन् । प्रतिस्पर्धामा पुँजीको प्रभाव, शक्तिको प्रयोग तथा वैदेशिक शक्तिकेन्द्रको सहयोगलाई पूर्णतः अन्त्य गरिनेछ । त्यसप्रकारका तत्वबाहेक देश र जनताका पक्षमा क्रियाशील राजनीतिक पार्टीहरूका बीचमा मजाले प्रतिस्पर्धा गर्न पाइनेछ । प्रतिस्पर्धामा सहभागी पार्टीहरूमध्ये जुन पार्टीले देश र जनताका पक्षमा काम गर्दछ उसले स्वतः जनताको समर्थन पाउँदै जानेछ भने देश र जनताका पक्षमा काम गर्न नसक्ने पार्टीहरू लोप हुँदै जानेछन् । यो बहुपार्टी प्रतिस्पर्धाको सुन्दर र सार पक्ष हो । विगत होस् वा वर्तमान जसले देश र जनताका पक्षमा साँचो दिलले काम गर्नसक्ने ल्याकत राख्दैनन्, बरु वैदेशिक शक्तिकेन्द्रको आडभरोसामा राजनीति गर्न पल्केका छन्, उनीहरूले नै कम्युनिस्ट तानाशाह हुन्छन् भन्ने मिथ्या आरोप लगाउने गरेका छन् ।

६) वैज्ञानिक समाजवाद र जनसम्बन्ध

वैज्ञानिक समाजवादी राज्यसत्तामा पार्टी, सरकार र जनसमुदायका बीचमा सुमधुर तथा बलियो जनसम्बन्ध निर्माण भएको हुन्छ र गर्न सक्नुपर्छ । यसको मुख्य आधार कम्युनिस्ट पार्टी र सरकार आफ्ना नागरिकप्रति हरेक कुरामा संवेदनशील र जबाफदेही रहेको हुन्छ । त्यति मात्र होइन, राज्यसत्ताअन्तर्गत क्रियाशील पार्टी तथा सरकारले आफ्ना प्रतिबद्धताविपरीत काम गरेमा रचनात्मक सुझाव, आलोचनाका साथै प्रत्याह्वानको अधिकारलाई समेत सुनिश्चित गरिएको हुन्छ । राज्यसत्ताको जनताप्रतिको जबाफदेही र जनतालाई दिइने अधिकारको पृष्ठभूमिमा जनसमुदाय पनि कम्युनिस्ट पार्टी र सरकारप्रति समर्पित रहन पुग्छन् । राजनीति साँचो अर्थमा देश र जनताको युगानुकूल नेतृत्व गर्ने सामाजिक विज्ञान पनि हो । यसर्थमा जनताका दीर्घकालीन आवश्यकताका साथै तत्काल केको खाँचो परिरहेको छ भन्ने कुराको गहिरो अध्ययन र जाँचपड्ताल गरिनु पर्दछ । वर्तमान संसदीय विश्व–व्यवस्थाको राजनीतिमा साम, दाम, दण्ड, भेद प्रयोग गरी जसरी पनि चुनाव जित्ने, भ्रष्टाचार गर्ने तथा देश र जनताप्रति अनुत्तरदायी हुने विषयहरूलाई वैज्ञानिक समाजवादमा पूर्णतः अन्त्य गरिन्छ । राज्यसत्ता, सरकार र पार्टीहरू जनताबाट अलग होइन, सँगसँगै विकास निर्माण, आर्थिक उत्पादनमा रमाउने कम्युनिस्ट संस्कृति निर्माण गर्दै जानुपर्छ । यसका साथै उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई राष्ट्रको मूल धारमा ल्याउने गरी विभिन्न नीतिहरूको निर्माण र योजना तर्जुमा गर्नु पर्दछ । यसले सुनमा सुगन्धको काम गर्नेछ । विभिन्न जनसंस्कृतिहरूको पहिचान, तिनको संरक्षण र युगानुकूल विकास गर्न सक्दा हामी बलियो जनसम्बन्ध निर्माण गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्न सफल हुनेछौँ ।

७) वैज्ञानिक समाजवाद र खोज, अध्ययन तथा अनुसन्धान

वैज्ञानिक समाजवादमा खोज, अध्ययन तथा अनुसन्धानलाई राज्यको अभिन्न अङ्गका रूपमा विकास गर्दै लगिन्छ किनकि आजको युगमा त्यसको अभावमा देश र जनताको विकास र समृद्धि असम्भव छ । यसका साथै हरेक खोज, अध्ययन तथा अनुसन्धानबाट प्रमाणित हुने वस्तुहरूको उपयोगमा आमजनसमुदायको पहुँचलाई सुनिश्चित गरिन्छ । अहिलेको दलाल संसदीय विश्व–व्यवस्थामा विज्ञानप्रविधिको जेजति विकास र आविष्कार भएको छ त्यसको प्रयोग सीमित पुँजीपति वर्गले मात्र गर्दै आएको छ जस्तो कि श्रमिक वर्गले हवाईजहाज तथा हेलिकोप्टर बनाउँछ तर ऊ एकचोटि पनि हवाईजहाज तथा हेलिकोप्टर नचढीकनै मर्छ । आजको विश्वबजारमा आधुनिक मोबाइल फोनहरू आएका छन् । ती पनि श्रमिक वर्गले नै निर्माण गरेका हुन् तर त्यसको प्रयोग गर्न नपाएर नै उनीहरू मरिरहेका हुन्छन् । गगनचुम्बी महलहरू पनि श्रमिक वर्गले नै निर्माण गर्दछ तर उसले झोपडीमा नै प्राण त्याग गर्दछ । आजको दुनियाँमा यस्ता सयाैँ दृष्टान्तहरू हामीले देखिरहेका छौँ । वैज्ञानिक समाजवादमा यसप्रकारको असमानताको पूर्णतः अन्त्य गरिन्छ । यसका साथै यो विश्व–ब्रह्माण्ड असीमित ज्ञान भण्डारले भरिएको छ । आज हामीले रेडियो, टेलिभिजन, मोबाईल, हवाई, स्थल तथा जलमार्गमा प्रयोग भइरहेका साधनहरू, कम्प्युटर तथा त्यसका सफ्टवेयर सैन्य विज्ञानअन्तर्गत विभिन्न आधुनिक हतियारको आविष्कार र प्रयोग गर्दै आएका छौँ । यी साधन–स्रोतहरूको आविष्कार र प्रयोगबाट मानव समुदाय सन्तुष्ट छैन । फलतः उसले थप खोज, अध्ययन र अनुसन्धान अगाडि बढाइरहेको छ । अबको केही दशकमा अहिले हामीले प्रयोग गरिरहेका साधनस्रोतहरू रूढिवादी साबित हुनेछन् किनकि यसको स्थान आधुनिक साधनस्रोतहरूले लिनेछन् । हो, हामीले तिनै प्रविधिहरूको खोज, अध्ययन र अनुसन्धान गर्नुपर्दछ जसले मानव जातिको युगानुकूल आवश्यकतालाई पूरा गर्न सकियोस् । आज हामीले विज्ञान–प्रविधिका क्षेत्रमा जेजति वस्तुहरूको उपयोग गरिरहेका छौँ, हामीले गर्ने खोज–अध्ययन–अनुसन्धानबाट सिङ्गो मानव जातिको सेवा गर्नु नै वैज्ञानिक समाजवादी राज्यसत्ताको ध्येय रहेको छ ।

सारांश

हामीले माथि वैज्ञानिक समाजवादमा प्रयोग हुने र गरिने नीतिगत विषहरूका वारेमा संक्षेपमा चर्चा गर्यौँ । ती विषयहरूको प्रयोगले मात्र वास्तविक शान्ति, स्वाधीनता तथा समृद्धि प्राप्त हुन सक्छ । यी त्यस्ता मामिलाहरू हुन् जसको प्रयोग गर्दा जनता राज्यसत्ता– सरकार र राजनीतिक पार्टीहरूप्रति सम्मानभाव प्रकट गर्छन् तब राष्ट्रमा शान्तिको सुरुआत हुन्छ । जब देशमा शान्ति स्थापना हुन्छ तब समृद्धिको युग सुरु हुन थाल्छ । हो, आज नेपाल राष्ट्र र जनतालाई शान्ति–स्वाधीनता र समृद्धि चाहिएको छ । त्यो केवल वैज्ञानिक समाजवादमा मात्र सम्भव छ । यही आवश्यकतालाई परिपूर्ति गर्न हाम्रो पार्टीले प्रगतिशील संयुक्त सरकार–जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिक नारा अघि सारेको छ । यो हाम्रो पार्टीको मात्र मामिला नभएर देश र जनताको आजको अपरिहार्य आवश्यकता हो । तसर्थ विना अङ्ग्रह र पूर्वाग्रह वैज्ञानिक समाजवाद स्थापनाको महान् राजनीतिक यात्रामा सम्पूर्ण राजनीतिक पार्टी, उद्योगी–व्यवसायी, सुरक्षाकर्मी, नागरिक समाज र आमजनसमुदाय एकाकार भएर अघि बढौँ । यही नै नयाँ नेपाल निर्माणको आजको राष्ट्रिय राजनीतिक आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :