क्रान्तिमा जेल-हिरासत मोर्चाको महत्व

जेल तथा हिरासत राज्यसत्ताको क्रान्तिकारी शक्तिलाई दमन गर्ने साधन हो भने क्रान्तिकारी शक्तिहरूका लागि एउटा महत्वपुर्ण मोर्चा । प्रारम्भमा यसको सुरुआत दासयुगको अन्तिम समयदेखि प्रचलनमा आएको पाइन्छ । मान्छे-मान्छेबीचको लडाइँमा जित्नेहरू मालिक तथा हार्नेहरू दास बनाइएका तथा उनीहरूलाई नियन्त्रणमा राख्नका लागि यो अवधारणाको विकास भएको इतिहासमा पाइन्छ । प्रारम्भिक समयमा अहिलेजस्तो व्यवस्थित प्रकारका भवन तथा तारबारहरूको विकास नभएको कारण मालिकहरूद्वारा दासहरूलाई ठूलाठूला गुफाहरू, ठूला नदीका किनारहरू, अप्ठ्यारा भिर तथा पाखाहरू र घना जङ्गलका बीचमा ढुङ्गाका अग्ला पर्खालहरू बनाएर तथा अन्य विभिन्न तरिकाहरू प्रयोग गरेर राखेको पाइन्छ ताकि कम जनशक्तिद्वारा उनीहरूलाई नियन्त्रण गरी आफ्नो उद्देश्यअनुरूप काममा परिचालन गर्न सकियोस् । त्यसबेला विकासका विभिन्न संरचना निर्माणका लागि अहिलेको जस्तो प्राविधिक सामग्रीहरू नभएका कारण सम्पूर्ण निर्माणका कार्यहरू मानवीय शक्तिद्वारा सम्पन्न गरिनुपथ्र्यो । त्यसका लागि अधिक मानवीय जनशक्तिको आवश्यकता पथ्र्यो । उक्त मानवीय जनशक्तिको आवश्यकता पूरा गर्नका लागि एउटा बलियो दास युवालाई बन्दी दासीहरूलाई गर्भवती बनाउनका लागि प्रयोग गरिएको थियो । उनले दासीहरूसँग यौनसम्पर्क गर्नुको सट्टा मालिकहरूका विरुद्ध सङ्घर्ष गर्नका लागि गोप्य रूपमा सङ्गठन निर्माण गरेर ठूलो विद्रोह गरे जसलाई स्पार्टाकस दास विद्रोहको नामले चिनिन्छ । मालिकहरूद्वारा मनोरञ्जनका लागि दासहरू एकअर्कोलाई भिडन्त गर्न लगाउने, मान्छेलाई तड्पाएर मार्ने, इच्छाअनुसार बेचबिखन गर्नेजस्ता अनेक प्रकारका दासकालीन दमन र हथकण्डाका विरुद्ध विभिन्न प्रकारका सङ्घर्षहरूमार्फत सामन्तवादले दासयुगलाई पराजित गरेर छोड्यो ।

दुनियाँमा लामो समय चलेको सामन्तवादी राज्य व्यवस्थामा जेल तथा हिरासतहरू निकै व्यवस्थित निर्माण गरिए । राज्यसत्ताले यसलाई व्यवस्थित रूपमा आफ्नो सुरक्षाका लागि महत्वपूर्ण साधनका रूपमा विकास गर्यो । लिखित-मौखिक रूपमा कस्ता ऐन-कानुनहरू जारी गरिए भने राज्यसत्ताका विरुद्ध वोल्ने वा विद्रोह गर्ने व्यक्ति वा समूहलाई राजद्रोही, देशद्रोही तथा महाअपराधीको सङ्ज्ञा दिइन्थ्यो र त्यसप्रकारको कार्य गर्ने व्यक्ति वा समूहलाई मृत्युदण्ड, आजीवन काराबास तथा आफू बसेको स्थानविशेषबाट निकाला गरिन्थ्यो । जेल तथा हिरासत राज्यको त्यस्तो साधनका रूपमा विकास गरियो जसले पुँजीवादको स्थापनार्थ सञ्चालन गरिएका थुप्रै शान्तिपूर्ण र सशस्त्र सङ्घर्षहरूका क्रममा त्यसका नेता–कार्यकर्ता तथा जनतालाई दमन गर्नका लागि निकै महत्वपूर्ण साधनको काम गर्यो । एकाध मानिस मात्र होइन, हजारौँ-लाखौँ मानिस अट्ने व्यवस्थित प्रकारका काँडे तारबारसहितका भवनहरू बन्न थाले । सुरक्षासंयन्त्रलाई सोहीअनुसार व्यवस्थित गर्न थालियो । जतिसुकै व्यवस्थित कानुन तथा जेल-नेलको अवधारणा र प्रयोग गरे पनि अन्ततः पुँजीवादले सामन्तवादलाई पराजित गरेर छाड्यो । त्यसका दौरानमा हजारौँ-लाखौँ नेता-कार्यकर्ता तथा जनताले गरेको वीरतापूर्ण बलिदानी भावना पनि कम चानचुने भने थिएन । पुँजीवादकै छत्रछायामा गोरा जातिको उत्पीडनका विरुद्ध सङ्घर्षको नेतृत्वका क्रममा नेल्सन मण्डेलाले ३५ वर्ष जेल तथा हिरासतको जीवन बिताउनुपर्यो । नेपालमा राणा शासनका विरुद्ध सङ्घर्षका क्रममा नेपालका प्रथम सहिद लखन थापा १९३३ फागुन २, धर्मभक्त माथेमा १९९७ माघ १३, शुक्रराज शास्त्री १९९७ माघ १०, दशरथ चन्द १९९७ माघ १५ र गङ्गालाल श्रेष्ठ १९९७ माघ १५ मा हत्या गरिएको थियो । समष्टिमा सामन्तवादी राज्यसत्ताका विरुद्ध आजीवन काराबास, मृत्युदण्ड तथा देश निकालाका लागि तयार हुने महान् बलिदानी भावनालाई आजको मानव समुदाय तथा क्रान्तिकारीहरूले आत्मसात गर्दै स्यालुट गर्नै पर्दछ जसले हामीलाई निरन्तर वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अघि बढिरहन दिशानिर्देश गरिरहेको छ र गरिरहनेछ ।

जव सामन्तवादका विरुद्ध लामो समय सशस्त्र सङ्घर्ष गर्दै प्रगतिशील पुँजीवादले विश्वव्यापी रूपमा आफूलाई हाबी बनायो तब यसले जेल तथा हिरासतलाई त्यही रूपमा प्रयोग गर्यो जसरी दासयुग र सामन्ती युगले आफ्ना विरोधीहरूलाई दमनका लागि प्रयोग गरेको थियो । अझ पुँजीवादले साम्राज्यवादी युगमा प्रवेश गरेपछि त जेलका बारेमा अन्तर्राष्ट्रिय रूपमा विभिन्न परिभाषा र ऐनकानुनहरू जारी गरिए । जेलमा विभिन्न सेवा-सुविधाहरू जस्तो कि ससाना उद्योग, मनोरञ्जन तथा खेलकुदका साधन एवम् अध्ययन सामग्रीहरू उपलब्ध गराउने तथा कयौँ देशहरूले खुला जेल तथा हिरासतको अवधारणा पनि विकास गर्न थाले । अर्कोतर्फ राज्यसत्ताद्वारा आफ्ना विरोधीहरूलाई पक्राउ गरी गोप्य रूपमा हत्या एवम् बेपत्ता पार्ने, मृत्युदण्ड दिने, मानसिक तथा शारीरिक रूपमा अमानवीय यातना दिने तथा उनीहरूद्वारा परिभाषित गरिएको मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यलाई व्यापक रूपमा बढाइएको छ । अहिले साम्राज्यवादी मुलुकहरूले जेल-हिरासत तथा मानवअधिकारसम्बन्धी विषयलाई बडो गजबको राजनीतिक दाउपेचको विषय बनाएका छन् । जस्तो कि उनीहरूको स्वार्थअनुकूल चल्ने मुलुकहरूमा मानवअधिकारको गम्भीर उल्लङ्घन भए पनि त्यो सामान्य विषय बन्दछ भने उनीहरूको स्वार्थअनुकूल नचल्ने मुलुकहरूलाई मानवअधिकार उल्लङ्घन गरेको आरोपमा राजनीतिक तथा फौजी रूपले घेराबन्दी गर्ने र ध्वस्त बनाउने गरिँदै आएको छ ।

वर्तमान पुँजीवादी राज्यसत्ताको मानवताविरोधी सारतत्वका विरुद्ध वैज्ञानिक समाजवाद-साम्यवाद स्थापनाका लागि सञ्चालन गरिएका कम्युनिस्ट क्रान्तिहरूका विरुद्ध पनि राज्यसत्ताले यसलाई भारी रूपमा प्रयोग गर्दै आएको छ । १९७१ म सम्पन्न पेरिस क्रान्तिको प्रतिक्रान्तिका सन्दर्भमा लाखाैँको गिरफ्तारी, हजाराैँको जेल तथा हिरासत तथा सयौँलाई मृत्युदण्ड दिइएको थियो । तत्कालीन रुसी जार शासक वर्गले अक्टोबर क्रान्तिका नायक कमरेड लेनिनलाई पक्राउ गरी जेल–हिरासतमा राख्नुका साथै देशनिकाला गरेको थियो । करिब दस वर्ष लेनिनले निर्वासनमा रहनुपर्यो । उहाँ त्यहीँबाट सशस्त्र क्रान्तिको तयारीमा लाग्नुभयो । अक्टोवर क्रान्तिपूर्व पनि त्यहाँ जारशाहीको विरोध गर्ने हजारौँ विद्रोही नेता-कार्यकर्ता तथा जनतालाई बन्दी वनाइएको थियो । चीन, कोरिया, भियतनाम, क्युबालगायत समाजवादी क्रान्ति सम्पन्न गरिएका मुलुकहरूमा पनि क्रान्तिका क्रममा जेल-हिरासत मोर्चाका सङ्घर्षहरू निकै महत्वपूर्ण रहेका छन् । हाल ल्याटिन अमेरिकी मुलुक पेरूका कमरेड अभिमायल गुज्मान रेनोसो (गोन्जालो) लगायत सयाैँ नेता-कार्यकर्ता तथा जनता, भारत, फिलिपिन्स, टर्की, नेपाललगायत मुलुकहरूमा वैज्ञानिक समाजवाद-साम्यवादी राज्यसत्ता स्थापना गर्न लडिरहेका नेता-कार्यकर्ता तथा जनता जेललाई मोर्चा वनाएर सङ्घर्ष गरिरहेका छन् । मुख्यतः पेरू, भारतलगायत मुलुकमा पचासौँ वर्षदेखि जेलजीवन बिताइरहेका हजारौँ बन्दी कमरेड जसले समाजवादी राज्यसत्ता स्थापना गर्न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि महत्वपूर्ण योगदान गरिरहेका छन्, उनीहरूको क्रान्तिकारी जोसलाई आत्मसात र रेड स्यालुट गर्दै वैज्ञानिक समाजवादी-साम्यवादी राज्यसत्ता स्थापना गर्ने महान् बाटोमा निरन्तर अघि बढ्नु आजका क्रान्तिकारीहरूको दायित्व बनेको छ ।

नेपालमा वैज्ञानिक समाजवाद-साम्यवाद स्थापना गर्न स्थापना गरिएको कम्युनिस्ट पार्टी र आन्दोलनले ७२ वर्ष पूरा गरेको छ । यसबीचमा नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न वीरता-बलिदान, उतार-उभार, पराजय-विजय, फुट-एकता तथा ध्वंस र निर्माणका अनेकौँ शृङ्खला पार गरेको छ भने नकारात्मक कोणबाट अध्ययन गर्दा कम्युनिस्ट आदर्श र मूल्यबाट स्खलन, धोका तथा गद्दारी, आत्मसमर्पण तथा दलालीजस्ता प्रवृत्तिहरूमा पनि यो व्यक्त भएको पाइन्छ । यसको संस्थागत नेतृत्व कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनद्वारा महासचिवमा निर्वाचित डा. केशरजङ्ग रायमाझीद्वारा गरिएको छ । कम्युनिस्ट पार्टीमा देखिएको संशोधनवादका विरुद्ध विद्रोह गर्दै २०१० सालतिर भीमदत्त पन्तद्वारा पश्चिम नेपालको तराईका जिल्लाहरूमा सञ्चालन गरिएको सशस्त्र किसान सङ्घर्ष, २०२५/२६ तिर कमरेड कामी बुढाको नेतृत्वमा पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा सञ्चालन गरिएको किसान सङ्घर्ष निकै महत्वपूर्ण रहन गएका छन् जहाँ कमरेड कामी बुढालाई गिरफ्तारीपछि हत्या गरिएको थियो भने सयौँ नेता-कार्यकर्ता तथा जनताले जेल मोर्चाको सङ्घर्षमा भाग लिन पुगे ।

पूर्वी नेपालका थुप्रै किसान सङ्घर्षहरू र मुख्यतः झापाको वर्गसङ्घर्ष निकै महत्वपुर्ण रहन पुगेको छ जहाँ सयौँ कमरेडको वीरतापूर्ण सहादत भएको छ भने हजारौँ कमरेड गिरफ्तारीपछि जेल मोर्चाको सङ्घर्षमा भाग लिन पुगेका थिए । झापा सङ्घर्षका क्रममा गिरफ्तार गरी थुप्रै कमरेडलाई गुपचुप हत्या गरियो भने गिरफ्तार गरी बन्दी बनाइएकाहरूमध्ये कृष्ण कुइँकेल, बिरेन राजवंशी, नेत्र घिमिरे, रामनाथ दाहाल र नारायण श्रेष्ठलाई २०२९ फागुन २१ गते जेल सार्ने बहानामा गोली हानेर हत्या गरिएको थियो । झापा आन्दोलनका क्रममा गिरफ्तार भई लामो समय जेल वसेकाहरूमा मुख्यतः केपी ओली, सीपी मैनालीलगायत थुप्रै नेता-कार्यकर्ता अहिले महत्वपूर्ण स्थानमा रहेका छन । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत थुप्रै नेता-कार्यकर्ताले पनि पञ्चायतविरोधी आन्दोलनका क्रममा लामो समय जेलजीवन बिताएका थिए । कथित पञ्चायती अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका क्याप्टेन यज्ञ थापालाई जेल सार्ने बहानामा काठमाडौँबाट लगेर मकवानपुरको जङ्गलमा गोली हानेर हत्या गरिएको थियो । यी नेपाली राजनीतिक आन्दोलनका केही महत्वपूर्ण जेल-हिरासत तथा बलिदानका दृष्टान्तहरू हुन् । नेपालमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी गणतन्त्रात्मक राज्यसत्ता स्थापनाका लागि सञ्चालन गरिएको जनयुद्धमा थुप्रै कमरेडले जेल-हिरासतको मोर्चामा सङ्घर्ष गर्न पुगेका थिए । जनयुद्धका क्रममा गिरफ्तार गरेर २,२०० भन्दा बढी नेता–कार्यकर्ता तथा जनतालाई बेपत्ता बनाइएको छ र उनीहरूको अवस्था अहिले पनि अज्ञात रहेको छ । कमरेड कृष्ण सेन ‘इच्छुक’ लाई हिरासतमा यातना दिएर हत्या गरियो । कमरेड सुरेश वाग्ले, लली रोकालगायत ८,५०० नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी हत्या गरिएको छ र युद्धको मैदानमा वीरतापूर्ण सहादत भएको छ । यसप्रकारका घटना–परिघटनाहरू मुख्यतः नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको सरकारको पालामा भएको छ । जुन पार्टीले पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्दा सबैभन्दा बढी हत्या र जेल तथा हिरासत मोर्चा बेहोर्नु परेको थियो भने नामधारी कम्युनिस्ट सारमा सामाजीक दलाल पार्टीको नेतृत्वको सरकारले वैज्ञानिक समाजवादी सताका लागि सङ्घर्षरत कम्युनिस्ट पार्टीका विरुद्ध प्रतिबन्धसहित दमन गर्न पुग्यो । यस अवधिमा देशव्यापी रूपमा २,२०० भन्दा बढी नेता-कार्यकर्ता तथा जनतालाई गिरफ्तार गरी जेल-हिरासतमा शारीरिक तथा मानसिक यातनासहित बन्दी बनाइयो । सरकार र हाम्रो पार्टीका बीचमा सम्पन्न तीनबुँदे सहमतिको करिब तीन महिना भैसकेको छ तर पनि करिब डेढ सयजना कमरेड जेल-हिरासत मोर्चामा रहेका छन् । त्यसो त कम्युनिस्ट पार्टी र वर्तमान सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरूले पनि पञ्चायती व्यवस्थाद्वारा अराष्ट्रिय तत्व एवम् उग्रवादीको आरोपसहित कडा प्रतिवन्ध र दमनसहित जेल-हिरासतको दमन भोगेर आएका थिए । रूपमा हेर्दा अनौठोलाग्दा देखिने यी राजननीतिक घटनाक्रमहरू सारतत्वमा समाज विकास र वर्गसङ्घर्षका अनिवार्य परिणामहरू हुन् जुन घटनाक्रमहरू राजनीतिक विज्ञानअन्तर्गत समाज विकास र वर्गसङ्घर्षको क्रममा निरन्तर विकसित भैरहने प्रक्रिया हुन् ।

इतिहास र वर्तमानका उल्लिखित सङ्क्षिप्त घटनाक्रमहरूले के कुरालाई स्पष्ट गर्दछन् भने क्रान्तिकारीहरूले जेल-हिरासत मोर्चालाई अनिवार्य रूपमा समाल्नु पर्दछ । जेल-हिरासत मोर्चाको अभावमा कुनै पनि राजनीतिक क्रान्ति न इतिहासमा सम्पन्न भएका थिए, न वर्तमानमा भैरहेको छ, न त भविष्यमा नै हुनेवाला छ । यसर्थमा क्रान्तिकारीहरूले यसलाई क्रान्ति पूरा गर्ने एउटा महत्वपूर्ण मोर्चाका रूपमा परिभाषित गर्दै यसलाई प्रयोग गर्नुपर्छ । हामीले प्रयोग गरिरहेको एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशानिर्देश छ- संसदीय राज्यसत्ताविरुद्धको सङ्घर्षमा उच्च प्रकारको अनुशासन, सतर्कता र गोपनीयता अपनाउने कुराका अतिरिक्त आवश्यक पर्यो भने राज्यसत्ताको जेल-हिरासतलाई भरिभराउ गर्नसक्ने तत्परता पनि रहेको छ । यसको तात्पर्य के हो भने हामी समाजको क्रान्तिकारी परिवर्तनका लागि जुनसुकै मोर्चाका लागि पनि तयार रहनुपर्छ । केपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध र दमनका क्रममा हाम्रो पार्टीका नेता-कार्यकर्ता तथा जनतालाई बेलगाम गिरफ्तार गरिएकोमा अधिकांश न्यायालयको मोर्चाबाट छुटेका छन् भने करिब डेढ सय नेता-कार्यकर्ता हालसम्म पनि जेल तथा हिरासत मोर्चामा सङ्घर्षरत छन् । केही महत्वपूर्ण कमरेडलाई गिरफ्तार गरी कथित इन्काउन्टरका नाममा हत्या गरिएको छ । अहिले हामी वार्ताको प्रारम्भिक प्रक्रियामा छौँ र नेपाल सरकार तथा हाम्रो पार्टीका बीचमा केही महत्वपूर्ण सहमतिहरू भएका छन् । त्यसमध्ये एउटा जेल तथा हिरासतमा रहेका बन्दीहरूलाई रिहा गर्ने र विभिन्न झूट्टा मुद्दा खारेज गर्ने रहेको छ । उक्त सहमति भएको करिब तीन महिनामा पनि सरकारका तर्फवाट सहमति कार्यान्वयनमा गम्भीरता देखाइएको छैन । त्यसप्रकारको सरकारी रबैयाका विरुद्ध हामीले वैचारिक सङ्घर्ष सञ्चालन गरिरहेका छौँ र आवश्यक पर्यो भने सडक सङ्घर्षका लागिसमेत हामी तयार रहनुपर्छ । जे होस्, यो एउटा महत्वपूर्ण कार्यनीतिक मामिला हो । यही कार्यनीतिक शृङ्खलामार्फत हामी वैज्ञानिक समाजवाद-साम्यवाद स्थापनाको महान् रणनीतिक उद्देश्य र लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका छौँ । जहाँ हामीले देश र जनताको मुक्तिका लागि थुप्रै बाङ्गाटिङ्गा मोडहरू पार गर्नुपर्नेछ र स्वाभाविक रूपमा जेल-हिरासत मोर्चालाई झेल्नु पर्नेछ । यसर्थमा आगामी दिनमा जेल-हिरासत मोर्चालाई योजनाबद्ध र व्यवस्थित रूपमा अगाडि बढाउन पार्टीले निम्नकुरामा ध्यान दिनुपर्छ :

(१) पार्टीको जेलनीति–

क्रान्तिकारीहरूका लागि जेल एउटा अनिवार्य मोर्चा रहेको कुरा हामीले माथि सङ्क्षिप्त चर्चा गरिसकेका छौँ । यो क्रान्तिकारीहरूले बेहोर्नुपर्ने एउटा अनिवार्य मामिला हो । यति निष्कर्षमा पुगिसकेपछि हामीले यसबारेमा योजनावद्ध जेलनीति र त्यसको प्रयोगमा ध्यान दिनै पर्दछ । यसको अभावमा सिङ्गो पार्टी आन्दोलन विकेन्द्रित हुन पुग्छ । राज्यसत्ताद्वारा गिरफ्तार भइसकेपछि हरेक नेता-कार्यकर्ता कसरी प्रस्तुत हुने, पार्टी नीति र योजनाको रक्षा कसरी गर्ने तथा हामीलाई दमन गर्नका लागि प्रयोग गरिएका विद्यमान कानुनी मामिलाहरूमा कसरी प्रतिवाद र सामना गर्ने आदि विषयहरू आधारभूत रूपमा एकरूपताका साथ स्पष्ट गरिनु पर्दछ र त्यसको कडाइपूर्वक कार्यान्वयन गरिनु पर्दछ । पार्टीले निर्माण गरेको जेल नीतिविपरीत प्रस्तुत हुने कुनै पनि स्तरका नेता-कार्यकर्ताहरूलाई प्रकृति हेरी कारबाहीको दायरामा ल्याउनु पर्दछ । कारबाहीका रूपहरूमा गल्तीको प्रकृतिलाई अध्ययन गरी आलोचना, निश्चित समयका लागि सम्बन्धित पार्टी समितिबाट निलम्बन, आफ्नो समितिबाट एक तह घटुवा, पार्टीबाटै निष्कासन आदि रूपहरू हुन सक्छन् । यसो गर्दा उनीहरूलाई पार्टी नीतिका आधारमा सच्चिने अवसर पनि दिनुपर्छ । कतिपय समयमा त पार्टी आन्दोलनले डरलाग्दा र अकल्पनीय विश्वासघात र गद्दारी पनि बेहोर्नुपर्ने हुन्छ । त्यसप्रकारका समस्याहरूलाई वर्गसङ्घर्षको तरिकाद्वारा समाधान गरिनु पर्दछ ।

(२) पारिवारिक रेखदेख

हामी अहिले दोहोरो भूमिकामा छौँ । अर्थात् हामीसँग धेरथोर निजी पुँजी पनि छ । हाम्रा परिवारका अन्य सदस्यहरू विभिन्न पेसा-व्यवसायमा रहेका छन् । हामी आफू बिरामी पर्दा वा विभिन्न समस्यामा रहँदा पार्टीले व्यवस्थापन गर्दछ तर आफ्ना पारिवारिक समस्याहरू सबै पार्टीले हल गर्न सक्दैन । त्यसैले हाम्रो पार्टीको निर्णय र निष्कर्ष के छ भने हरेक नेता-कार्यकर्ताहरूले आआफ्नो परिवारलाई आत्मनिर्भर बनाउने । यो प्रक्रिया हाम्रो पार्टीमा प्रयोगको तहमा प्रवेश पनि गरेको छ तर पूरा भइसकेको छैन । केही नेता-कार्यकर्ताका परिवारहरू आर्थिक रूपमा आत्मनिर्भर रहेका छन् भने केही आधारभूत रूपले आत्मनिर्भर तथा केही समस्यामा रहेका हुन्छन् । उनीहरूको आवश्यकतालाई हेरेर पार्टीका सम्बन्धित समितिहरूले व्यवस्थापन गर्न ध्यान दिनुपर्दछ । त्यसो गर्दा निरपेक्ष समानताको माग गर्ने कुरालाई अस्वीकार गर्नुपर्छ । यस सन्दर्भमा हाम्रो पार्टीआन्दोलनमा दुईथरी समस्या देखापरिरहेका छन् : पहिलो, आफ्नो परिवारका सदस्यहरू जेल-हिरासत मोर्चामा रहेकाले पारिवारिक सम्पूर्ण समस्याहरू पार्टीले व्यवस्थापन गर्नुपर्दछ भन्ने बुझाइ र दोस्रो, समस्याग्रस्त पारिवारिक समस्याका बारेमा सम्बन्धित पार्टी समितिले आधारभूत रूपमा ध्यान दिन नसक्ने समस्या । यी दुवै समस्यालाई हल गर्न पार्टीले नीतिगत र विधिगत रूपमा हल गर्न प्रयत्न गर्नु पर्दछ । यस सन्दर्भमा के कुरा विशेष ध्यान दिन योग्य छ भने जेल-हिरासतमा रहेका हरेक नेता-कार्यकर्ताका परिवारहरूलाई सम्बन्धित पार्टी समितिहरूले वैचारिक र साङ्गठनिक रूपमा निरन्तर छलफल चलाइरहनु पर्दछ ता कि उनीहरूले आफ्नो परिवारको सदस्य जेल-हिरासत मोर्चामा रहेकोमा आत्मग्लानि नहोस्, बरु गर्व गर्न सकून् । हामीले यो नीति बनाउनैपर्छ- हाम्रो परिवारका हरेक सदस्यहरू कुनै न कुनै जनसङ्गठनका सदस्य होऊन् । उनीहरूले पार्टीका नीति–योजनाका बारेमा आधारभुत ज्ञान हासिल गरून् र पार्टी सङ्गठनलाई सहयोग गर्न सकून् । यो कुरामा सिङ्गो पार्टी समितिहरूले कुनै ढिलो नगरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ ।

(३) जेलमा पार्टी समिति निर्माण

पार्टीले सञ्चालन गर्ने आन्दोलन र क्रान्तिको उचाइसँगै पार्टीका धेरै नेता-कार्यकर्ता राज्यसत्ताको जेल-हिरासतमा पर्दै जान्छन् । उनीहरू बाहिर पार्टीका विभिन्न समितिमा रहेर नेतृत्वदायी काम गरिरहेका हुन्छन् । उनीहरूको अभावमा पार्टी योजनाको कार्यान्वयनमा समस्या मात्र होइन, अवरुद्धता नै पैदा हुन जाने भएकाले पार्टीले यता नयाँ कमरेडहरूलाई जिम्मेवारी दिएर अगाडि बढाउनुपर्ने हुन्छ । यो अवस्थामा उनीहरूलाई यथास्थानमा राख्ने, सम्भव भएका ठाउँहरूमा जेलभित्रै पार्टी समितिहरू बनाउने, पार्टीका सर्कुलर तथा प्रकाशनहरू अध्ययन गर्ने वातावरण मिलाउन प्रयत्न गरिनुपर्दछ । यो सम्भव नभएमा पार्टीका महत्वपूर्ण निर्णयहरू मौखिक रूपमा जानकारी पाउने कुराको व्यवस्था गरिनु पर्दछ । यी कुराहरू त्यति सहजै नहुने भएकाले विभिन्न उपायहरूको खोजी गर्नुपर्छ । जेलमा पार्टी समिति निर्माण गर्दा कार्यक्षेत्रमा रहँदाकै पदीय जिम्मेवारीअनुसार मिलान गर्नुपर्छ ।

(४) पार्टी र बन्दीहरूबीचको सञ्चार

पार्टी र जेल-हिरासतमा रहेका राजबन्दीहरूका बीचमा निरन्तर सम्पर्क र सम्बन्ध हुन जरुरी छ । पार्टीले के निर्णयहरू लिएको छ, कामहरूलाई कसरी अगाडि बढाउन लागिरहेको छ भन्ने कुराको जानकारी भएन भने राजबन्दीहरूमा दिशाविहीन र अकर्मण्यताको अवस्था पैदा हुन्छ । राज्यसत्ताका पहरेदारहरूले विभिन्न सञ्चारमाध्यमहरूमार्फत पार्टी र क्रान्तिविरोधी भ्रम तथा अफवाह फैलाइरहेका हुन्छन् । शासकहरू कतिसम्म निच प्रचार पनि गर्दछन् भने राजबन्दीहरूलाई पार्टीले नभनेका र नगरेका निर्णयहरूसमेत गरेको तथा राजबन्दीहरूका सन्दर्भमा आत्मसमर्पण गर्न चाहेको, राज्यविरुद्धको कसुर तथा अपराध स्वीकार गरेको जस्ता बेतुकका प्रचारहरू गरिरहेका हुन्छन् । यसप्रकारको प्रचारले पार्टीपङ्क्ति र राजबन्दीहरूमा अन्योल र भ्रम पैदा हुन जान्छ । यसप्रकारका समस्याहरूको निवारणका लागि जीवन्त सम्पर्क र सम्बन्ध जरुरी हुन्छ जसले तथ्य कुराहरूको जगमा खडा भएर एकताबद्धताका साथ सङ्घर्षमा जान सजिलो होस् । यसप्रकारको सम्पर्क तथा सम्बन्धका लागि पार्टीले योजनाबद्ध रूपमा संयन्त्रहरू निर्माण गरी परिचालन गर्न ध्यान दिनुपर्छ ।

(५) राजनीतिक तथा वैचारिक दृढता

मालेमावादका सार्वभौम सिद्धान्तहरूप्रतिको लगाव, वैज्ञानिक समाजवाद-साम्यवाद स्थापनाको महान् उद्देश्यप्रति दृढसङ्कल्प तथा वर्गविरोधी तत्वहरूद्वारा देखाइने विभिन्न डर-त्रास, प्रलोभनहरूको तिरस्कार, निजी तथा पारिवारिक समस्याहरूलाई पचाउनसक्ने क्षमता यस्ता अनिार्य सर्तहरू हुन् जसले हामीलाई हरेक प्रतिकूलताहरूमा क्रान्तिकारी आशावाद पैदा गर्दछ । त्यसका लागि हामीलाई पार्टीको विचार, राजनीति र सङ्गठनात्मक सिद्धान्तहरूको गहिरो अध्ययन आवश्यक पर्दछ । सङ्घर्षरत पार्टीका हरेक नेता-कार्यकर्ताहरूको वास्तविक पहिचान वर्गसङ्घर्ष र जेल-हिरासत मोर्चामा हुने गर्दछ । सहज अवस्थामा राजनीतिक–वैचारिक रूपमा आफूलाई अब्बल देखाउने, आफूलाई सबैभन्दा क्रान्तिकारी देखाउने तर वर्गसङ्घर्षको मोर्चाभन्दा बाहिर रहन मनपराउने, जेल–हिरासतमा विभिन्न प्रलोभनमा परी आत्मसमर्पण र गद्दारी गर्ने, मानसिक र शारीरिक यातना सहन नसकेर पार्टीका गोपनीयता भङ्ग गर्नेजस्ता समस्याहरू पनि पार्टी आन्दोलनमा यत्रतत्र देखापरिरहेका छन् । हामीले समय छँदै यसप्रकारका समस्याहरू हल गर्न प्रयत्न गर्नुपर्छ । हुनत यो एकपटक समाधान गरेपछि आउँदैन भन्ने होइन । आन्दोलन र क्रान्तिको विकाससँगै यसप्रकारका समस्याहरू पनि विकसित र विस्तारित भैरहन्छन् । यसो भनेर समस्यालाई छूट दिने प्रवृत्तिको अन्त्य गर्नै पर्दछ । यसको समाधान नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माण गरेर मात्र सम्भव छ । राष्ट्र र जनता तथा पार्टी र क्रान्तिका लागि जुनसुकै बलिदानका लागि पनि तयार हुनसक्ने हजाराैँहजार नेता-कार्यकर्ताहरूको निर्माण र विकास तथा एउटा सीमासम्म आमजनसमुदायलाई क्रान्तिका लागि तयार गरेर मात्र सम्भव छ ।

(६) तथ्यगत रिपोर्ट लिने परिपाटी

पार्टीले हरेक क्षेत्रमा झैँ जेल-हिरासत मोर्चामा रहेका नेता–कार्यकर्ताहरूका सन्दर्भमा पनि तथ्यगत रिपोर्ट लिने परिपाटीलाई व्यवस्थित गर्नुपर्छ । यसको मूल मर्म जेल-हिरासत मोर्चामा राज्यसत्ताका विभिन्न अङ्गहरूका विरुद्ध निर्भीकतापूर्वक लडेका नेता-कार्यकर्ताहरूमाथि अन्याय नहोस् र गल्ती गरेका व्यक्तिहरूलाई सच्याउन मद्दत गरोस् भन्ने हो । जेल-हिरासत मोर्चामा उच्च मनोबलका साथ सङ्घर्ष गर्नेहरूलाई सही मूल्याङ्कनसहित सम्मान गरिनुपर्छ भने मोर्चामा पार्टी नीतिविपरीत प्रस्तुत हुने व्यक्तिहरूलाई उचित नसिहत दिनु पर्दछ । लामो समय जेल बसेका नेता–कार्यकर्ताहरूको पार्टीेले उच्च रूपमा मूल्याङ्कन गर्दै उचित जिम्मेवारी दिनुपर्छ । कहिलेकहीँ पार्टी आन्दोलनमा कस्तो पनि देखापर्छ भने लामो समय जेल मोर्चाको जीवन बिताएर बाहिर सङ्घर्षको मोर्चामा पुग्दा आफ्ना सहयोद्धा कमरेडहरू उपल्लो समितिमा पदोन्नत भैसकेका हुन्छन् । क्रान्ति र आन्दोलनको आवश्यकताले यसो हुनुलाई अन्यथा लिन सकिँदैन तर यसप्रकारका मामिलाहरूलाई सकेसम्म मिलाउने गरी ध्यान दिनुपर्छ किनकि जेल मोर्चामा भौतिक रूपले सम्भव नभए पनि वैचारिक सङ्घर्ष त निरन्तर चलिरहेकै हुन्छ । यसका साथै कुन कुरामा पार्टी सतर्क र चनाखो हुनैपर्छ भने अनावश्यक हल्लाको भरमा जेल-हिरासत मोर्चामा रहेका नेता-कार्यकर्ताहरूलाई वाहिरै प्रचार हुने गरी साङ्गठनिक कारबाही गरिनु हुँदैन । सम्बन्धित व्यक्तिले कमजोरी नै गरेको रहेछ र कारबाही गर्नैपर्ने भएमा आन्तरिक पार्टी समितिमा सर्कुलर जारी गर्नु पर्दछ किनकि त्यो व्यक्ति राज्यसत्ताको नियन्त्रण, निगरानी र शारीरिक तथा मानसिक यातनासहित जेल-हिरासत मोर्चाको सङ्घर्षमा नै रहेको हुन्छ । यसप्रकारका समस्याहरू हेर्दा ससाना लागे पनि समयमै हल गर्न नसक्दा प्रकारान्तरले आन्दोलनलाई क्षति पुर्याइरहेका हुन्छन् ।

निष्कर्ष

जेल-हिरासत मोर्चा क्रान्तिकारीहरूका लागि एउटा परीक्षा पनि हो । उक्त मोर्चामा कैयौँ आफूलाई विद्वान् ठान्ने मान्छेहरू पनि फेल हुने गर्दछन् । देश र जनता तथा पार्टी र क्रान्तिको स्वार्थभन्दा कहिल्यै अरू कुरा नसोच्ने तर जेल-हिरासतमा विभिन्न विषयमा आरोपित हुँदै शारीरिक र मानसिक यातनासँगै सङ्घर्ष गर्नु चुनौतीपूर्ण कार्य अवश्य नै हो । आन्तरिक रूपले पार्टी आन्दोलन, पारिवारिक समस्या जस्तो कि पारिवारिक सदस्यहरूको शिक्षा, स्वास्थ्य, खानपान, लत्ताकपडालगायत समस्याहरू तथा बाह्य रूपमा राज्यसत्ताको पहरेदारहरूबाट दिइने शारीरिक तथा मानसिक यातना, बाह्य दुनियाँको सञ्चारको अभाव, उचित खानपिन र बिरामीहरूका हकमा औषधीउपचारको अभावका बीचबाट उक्त मोर्चामा जिउने कुरा क्रान्तिकारी विचारबाट मात्र सम्भव छ । वर्गसमन्वयवादी प्रवृत्ति, पार्टीको विचार-राजनीतिक ज्ञानको अभावमा पैदा हुने कमजोर मानसिक चेतनाको विकास यसको अन्त्यबिना जेल-हिरासत मोर्चाको सङ्घर्षमा विजय पाउन असम्भव छ । यी यावत् मामिलाहरूका साथै जेल-हिरासत मोर्चामा राज्यसत्ताको स्थानीय प्रशासन, प्रहरी कर्मचारी र जेलजीवनमा रहेका अनेक मानिसहरूसँगको सहकार्य, अध्ययन तथा अध्यापन र जीवन भोगाइका कारण जेललाई विश्वविद्यालय पनि भन्ने गरिन्छ । क्रान्तिमा सहिद तथा बेपत्ता हुनु, घाइते तथा अङ्गभङ्ग हुनु, जेल-हिरासतमा रहनु, निजी सम्पत्ति ध्वंस हुनुलाई अन्यथा लिनु हुँदैन । हामीले यी बलिदानमा विजय हासिल गरेर मात्र आफूलाई एउटा खरो क्रान्तिकारी सिपाहीका रूपमा परिचय दिन सक्नेछौँ । पार्टीको सही र वैज्ञानिक विचार-राजनीति, कार्यदिशा र सङ्गठन तथा उपरोक्त बलिदानी भावनाको कुल योगमा सुन्दर वैज्ञानिक समाजवादी-साम्यवादी राज्यसत्ताको फूलबारीको स्थापना हुनेछ जहाँ हामी सबैखाले मानवीय उत्पीडनबाट मुक्त हुनेछौँ र स्वतन्त्र एवम् निर्भीकतापूर्वक बाँच्न पाउनेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :