महासचिव विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, सहमति कार्यान्वयनमा देउवा सकारात्मक

महासचिव विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, सहमति कार्यान्वयनमा देउवा सकारात्मक

काठमाडौँ : नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न भेटवार्ता भएको छ । मुलुकको समसामयिक राजनीतिक विषय र विशेषगरी केपी ओली सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपा केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेकपा र पूर्ववर्ती ओली सरकारबीच भएको सहमति कार्यान्वयनमा आफू नेतृत्वको सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटवार्ताका क्रममा महासचिव विप्लवका साथ पार्टी प्रवक्ता प्रकाण्ड र केन्द्रीय सचिवालय सदस्य कञ्चन सहभागी रहेको बताइएको छ । महासचिव विप्लवले सरकारसँग भएको सहमतिअनुसार जेलमा रहेका नेकपाका नेता–कार्यकर्ताहरूको रिहाइ र झूट्टा मुद्दा खारेजीको विषय उठाएका थिए भने देउवाले सहमति कार्यान्वयन गर्न पहल गर्ने प्रत्युत्तर दिएका थिए ।

नेकपाका महासचिव विप्लव गत सातादेखि निरन्तर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता र छलफलमा व्यस्त छन् । विप्लवले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली, एमालेका नेता माधव नेपाल, पूर्वप्रधानमन्त्री एवम् जसपाका नेता डा. बाबुराम भट्टराईलगायत नेतासँग भेटवार्ता गरी मुलुकलाई सङ्कटबाट निकास दिन आफ्नो पार्टीले अघि सारेका प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको एजेन्डाबारे छलफल चलाउँदै आएका छन् । भेटवार्ताका क्रममा ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा पनि छलफल हुने गरेको बताइएको छ । विभिन्न राजनीतिक पार्टीका नेताहरूले आफ्नो पार्टीका तर्फबाट राखिएका प्रस्तावहरू गम्भीरतापूर्वक सुनेको प्रतिक्रिया भेटवार्तामा सहभागी नेकपाका नेताहरूले दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :