समाजवाद ल्याइ छाड्ने हो, यो हाम्रो अधिकार हो: विप्लव

समाजवाद ल्याइ छाड्ने हो, यो हाम्रो अधिकार हो: विप्लव

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले समाजवाद सबै श्रमिकहरुको व्यवस्था भएकाले समाजवाद आफूहरुको अधिकार भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीद्वारा प्रकाशित अंग्रेजी म्याग्जिन Red Front को विमोचन कार्यक्रममा सम्बोधन गर्दै विप्लवले आफूहरुले सोचेको वैज्ञानिक समाजवाद अहिलेको गएगुज्रेको दलाल संसदीय पुजीवादी व्यवस्था भन्दा हजार गुणा उत्तम र राम्रो  व्यवस्था हुने बताए ।

उनले भने,–‘ हामीले भनेको समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारीमा नयाँ गर्ने हो, अर्थतन्त्रमा पनि नयाँ, सबै क्षेत्रमा नयाँ गर्ने हो यो ल्याइ छोड्ने हो समाजवाद हाम्रो अधिकार हो ।’

महासचिव विप्लवले अहिलेको व्यवस्थालाई लुटेरा पुजीवादी व्यवस्थाको संज्ञा दिदै यो लुटी खाने पुजीवादी व्यवस्था कि समाजवादी व्यवस्था यसमा जनमत संग्रह गर्न माग गरे । दलाल पुजीवादी व्यवस्थाले नेपालीहरुको दुरावस्था भएको ठोकुवा गर्दै उनले भने, –‘यो राजनीतिको दलालीकरण हो, सरकार बनाउँदा विदेशी चाहिने, पार्टी बनाउदा विदेशी चाहिने, पार्टी फुटाउदा विदेशी चाहिने यो दलालीकरणको भद्या रूप हो, चाकरी, गुलामी गरेर सत्ता पाउनका लागि देशै बेच्ने !’

उनले २०३६ सालमा पञ्चायत र बहुदलका विषयमा जनमत संग्रह  गर्न हुने अहिले पूँजीवाद ठीक कि समाजवाद भन्ने विषयमा गर्न किन नहुने ? प्रश्न गर्दै  उनले भने,–‘२०३६ सालमा जनमत संग्रह गर्न हुन्छ, आज गर्न हुँदैन ? पन्चायत ठीक कि बहुदल ठीक जनमत संग्रह गर्न हुने, आज पुँजीवाद ठीक कि समाजवाद ठीक भनेर जनमत संग्रह गर्न नमिल्ने ? मिल्दैन ….?  मिल्दैन भन्नेहरू लुटेरा हुन् ।’ जनमत संग्रह हुँदा कुनै पनि हालतमा लुटेरा पुजीँवादले जित्‍न नसक्ने पनि उनले दाबी गरे ।

महासचिव विप्लवले हरेक कुराको आफैं निर्णय गर्ने र नयाँ गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटो जानुपर्ने बताए । उनले भने,–‘वैज्ञानिक समाजवादको लागि जनमत संग्रह गर्यौ त्यसमा हामी तयार छौँ, ‘यो दिइन्न भने विद्रोह गर्नु हाम्रो अधिकार हो ।’

रेड फ्रन्ट म्याग्जिन विमोचन समारोहमा साहित्यकार तथा सस्कृतिकर्मी इश्वरचन्द्र ज्ञवाली , राजनीतिक विश्लेषक पुरन्जन आचार्य , राजनीतिज्ञ एवम् अर्थशास्त्री हरी रोका , राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, पूर्व सचिव एवम् सिमाविद् द्वारिकानाथ ढुंगेल , जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी , माकर्सवादी विश्लेषक हस्त बहादुर केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए भने अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनका प्रमुख सम्पादक प्रेम दर्नालले पत्रिका प्रकाशनको औचित्यको बारेमा प्रकाश पारेका थिए ।

उक्त विमोचन समारोहलाई रेडफ्रन्ट म्याग्जिनका सम्पादक प्रमेश दर्नालले स्वागत गरेका थिए भने कार्यक्रम संचालन सम्पादक नरेन्द्र विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :