नेपाली समाजको पुँजीवादी चरित्र

एक-डेढ दशकअघिसम्म अर्थात् २०६२/६३ को जनआन्दोलनभन्दा अगाडिसम्म नेपालका प्रायजसो सबै कम्युनिस्ट पार्टीहरूले घोषित रूपमा नै नेपालको अर्थराजनीतिक चरित्रको संश्लेषण नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर गरेका थिए । अपवादका रूपमा केही वाम बुद्धिजीवी र नेताहरूले भने नेपालमा केही सामन्तवादका विशेषताहरू रहे पनि मूलतः पुँजीवादमा प्रवेश गरिसकेको बताउँदै आएका थिए । तर माओवादीको १० बर्से जनयुद्ध र २०६२/६३ को दोस्रो संयुक्त जनआन्दोलनपछि २३९ वर्षसम्म कायम रहेको राजतन्त्रको अन्त्य भएसँगै नेपालमा आफ्नै ढङ्गले जनवादी क्रान्ति सम्पन्न भएको भन्ने निष्कर्षमा नेकपा (माओवादी केन्द्र), नेकपा एमालेलगायत केही कम्युनिस्ट नाउँका पार्टीहरू पुगेपछि जनवादी क्रान्ति सम्पन्न भएको वा नभएको भन्ने विषयमा विभिन्न मतभिन्नता रहे पनि वर्तमान नेपाली समाज पुँजीवादमा सङ्क्रमण भएको भन्ने कुरामा लगभग सबै सहमत नै भएको पाइन्छ । आजको नेपाली समाजको प्रमुख अन्र्तविरोध नोकरशाही दलाल पुँजीवाद र उत्पीडित श्रमजीवी जनताबीचकै हो भन्ने कुरामा पनि नेपालका सबै वाम घटकहरू एकमत नै देखिन्छ तर अन्तरविरोधको हल कुन विधिबाट गर्ने भन्ने विषयमा आआफ्ना तर्क रहँदै आएका छन् । प्रस्तुत लेखमा विभिन्न पार्टीहरूको नेपाली समाजको अन्तरविरोधको हलबारेको धारणाभन्दा पनि नेपाली समाजको वर्तमान पुँजीवादी चरित्रबारे छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१. सीमान्तकृत दलाल प्रकृतिको

नेपालको पुँजीवाद पूणर् रूपमा विकास भइसकेको पुँजीवाद होइन । यो हिजोका सामन्तवादका प्रतिनिधिहरूले आफ्नो सम्पत्ति लगानी गरेर, सार्वजनिक प्रशासनका विभिन्न गौँडा कुरी सामन्तवादलाई सेवा गरेका लालफित्ताशाहीहरूले जम्मा गरेको पुँजी परिचालन गरेर र केही स्वदेश तथा विदेशमा रहेका व्यापारीहरूले लगानी, मुनाफा र पुनर्लगानीको चक्रीय प्रणाली र विस्तारको प्रक्रियाको बीचबाट जन्मेको पुँजीवाद हो । यो आत्मनिर्भर हुने किसिमको छैन । औद्योगिकीकरणमा प्रवेश गरिसकेको छैन । यसले आफ्नो उत्पादन गर्दैन र पनि पुँजीवादका सबै शोषणकारी, अतिकेन्द्रीयतावादी, एकाधिकारवादी, कथित प्रतिस्पर्धीजस्ता चरित्रहरूलाई ग्रहण गरेको छ ।

तसर्थ यो छिपछिपे पुँजीवाद हो, सीमान्तकृत पुँजीवाद हो । अर्काले उत्पादन गरेको माल बिक्री गरेर नाफा कमाउने दलाल पुँजीवाद हो । यसको आफ्नै स्वत्व धेरै कम छ र अर्कामा परनिर्भर भएर बाँचेको छ । यसको मूल चरित्र नै उत्पादन गर्नै नदिने, उत्पादन गर्न दिनैपर्ने अवस्था उत्पन्न भए आफ्नो मोडेलको उत्पादन वा सर्तसहितको उत्पादन गर्न लगाउने, आफूलाई व्यापारिक भूमिकामा उभ्याएर राज्यसंयन्त्र र राजनीतिमा प्रभाव पारी आफूअनुकूलको नीति निर्माणका लागि दबाब दिनु हो । यसले अलिअलि सामन्तवादका अवशेषहरू पनि बोकेको छ भने राष्ट्रिय पुँजीपति र प्रगतिशील पुँजीवादलाई विकास हुन नदिएर अर्थतन्त्रदेखि राजनीतिक निणर्यमा समेत आफ्नो प्रभुत्व जमाउँदै आइरहेको छ ।

२. वंश वा पुस्ता हस्तान्तरणमा आधारित

सामन्तवादमा राज्यसत्ताको हस्तान्तरण आफ्नो रक्तवंशमा हुने गर्दथ्यो र सत्तासँगै सम्पत्ति पनि स्वतः पुस्तान्तरण हुने भइहाल्यो । जसरी सामन्तवादले आफ्नो उत्तराधिकारी वंशमा खोज्ने गर्दथ्यो त्यसैगरी नेपालको वर्तमान पुँजीवादी चरित्रले पनि आफ्नो उत्तराधिकारीमा स्वतः आफ्नो वंश आउने सामाजिक संरचनाको निर्माण गरेको छ किनकि पैतृक सम्पत्तिमाथिको कानुनी अधिकारको व्यवस्था संविधानतः गरिएको छ । त्यसो भएको हुनाले भूमि, उत्पादनका स्रोत, साधन र नाफाको पुस्तान्तरण हुने गरैकै कारण सामन्तवादको शृङ्खलाकै केही विशेषता सीमान्तकृत पुँजीवादमा पाउन सकिन्छ । सम्पत्तिको स्वामित्वका विषयमा मात्र नभएर राजनीतिक स्वामित्वसमेत आफ्नो गुट, आफ्नो नजिकको पात्र, अझै परिवारमा केन्द्रित गर्न खोज्ने प्रवृत्ति र मनोवृत्ति वर्तमान राजनीतिक अभ्यासभित्र कायम रहनु नेपाली समाजको पुँजीवादभित्रको सामन्तवादी चिन्तनशैली र अवशेषको एक द्योतक हो ।

३.बहुराष्ट्रिय कम्पनीहरूको सेवक

अहिले नेपालमा भएका जति पनि प्रमुख व्यापारिक कम्प्लेक्सहरू, वित्तीय संस्थाहरू र अटोमोबाइल्सहरू छन्, यिनीहरूको प्रमुख कार्यभार भनेको बहुराष्ट्रिय कम्पनीहरूद्वारा उत्पादित माल बिक्री गरेर मुनाफा आर्जन गर्नु नै हो । व्यापारिक कम्प्लेक्सहरूले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्नै सक्दैनन् र आफ्ना विभिन्न शाखामार्फत साना गुजारामुखी व्यापार गर्ने साना व्यापारी र लगानीकर्ताहरूलाई सुनदेखि नुनसमेत एउटै छानोबाट बेच्ने एकीकृत व्यापारको पोलिसीमार्फत उठीबास लगाउने काम गरिरहेको छ । यस्ता व्यापारिक कम्प्लेक्सहरूले अनलाइन अर्डर, होम डेलिभरी, चाडपर्व अफरजस्ता जनता झुक्याउने तरिकाहरू अपनाएर आफ्नो विस्तार गरिराखेका छन् । त्यसैगरी नेपालमा सञ्चालित वित्तीय संस्थाहरू जो छन् यिनीहरूले आफ्नो लगानी उत्पादनशील क्षेत्रमा गरिराखेका छैनन् किनकि यिनीहलाई नियन्त्रण गर्ने नेपाल राष्ट्र बैङ्क नै स्वतन्त्र रूपमा आफ्नो मौद्रिक नीति जारी गर्न सक्दैन र अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्कलगायत अन्य पुँजीवादका आर्थिक केन्द्रहरूबाट प्रभावित हुनुपर्ने बाध्यतामा रहेको छ । तसर्थ यहाँ सञ्चालित वित्तीय संस्थाहरूले निगम पुँजीवादको स्वार्थअनुसार नै घर, घडेरी, गाडीजस्ता अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको छ भने हिजोका सामन्तीहरूले चक्रीय ब्याज लगाएजसरी विभिन्न शीर्षकमा दिइने ऋणको विज्ञापन गरेर जनतालाई उठ्नै नसक्ने गरी जीवनभरि ऋणी बनाएर दलाल पुँजीवादकै सेवा गरिरहेका छन् । त्यसैगरी यहाँका विभिन्न विदेशी नामका अटोमोबाइल्स सोरुमहरूले पनि अर्काकै सामान बेच्ने र प्रोत्साहन गर्ने काम गरिरहेका छन् । यी संस्थाहरूले केही नेपाली जनशक्तिलाई रोजगारी त उपलब्ध गराएका होलान् तर दीर्घकालीन रूपमा राज्य आत्मनिर्भरताको दिशामा जाने मार्गमा अवरोध खडा गरिदिएको छ । हाम्रो अर्थतन्त्रलाई सीमित व्यापारी, बैङ्कर्स, निगम पुँजीवादीहरूको स्वार्थमा कैद गरिदिएको छ । तसर्थ नेपालको अर्थराजनीतिले बहुराष्ट्रिय निगमहरूको सेवा गर्दै आएको स्पष्ट छ ।

४. साम्राज्यवादको सेवक

साम्राज्यवाद पुँजीवादकै विस्तार हो । आजको साम्राज्यवाद बीसौँ शताब्दीको जसरी प्रत्यक्ष हतियार र सेना लिएर सबै स्थानमा एकै प्रकारले एउटै रणनीतिले आउँदैन । यो जहाँ जुन तरिकाले उपयुक्त हुन्छ, प्रवेश गर्न सजिलो हुन्छ, त्यसरी नै आउँछ । अहिले नेपालमा शक्ति राष्ट्रहरूबाट प्राप्त हने अनुदान, सहुलियतपूणर् ऋण, एमसीसीजस्ता विभिन्न परियोजनाहरू, प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने नामका संरक्षित क्षेत्रहरू, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, भाषा/संस्कृति विस्तार गर्ने कन्सल्टेन्सीहरू आदि-इत्यादिको माध्यमबाट साम्राज्यवादी स्वार्थहरू बिनारोकटोक प्रवेश गरिराखेकै छन् । कुनै शक्तिराष्ट्रको राष्ट्र प्रमुखको नेपाल भ्रमण गराउनु नै सरकारी सफलता मानिने, धेरैभन्दा धेरै अनुदान र ऋण जुटाउन सक्ने अर्थमन्त्री नै सफल मन्त्रीका रूपमा दर्ज हुने र गैरसरकारी संस्थाहरूले छरेका भ्रममा नै जनता रमाउने संस्कृतिको विकास गर्न जसरी खोजिँदैछ यसले आगामी दिनको नेपाली समाजको यात्रा शुभ देखाउँदैन । उनीहरू हाम्रो स्वार्थअनुसार परिचालित भइराखेका छैनन् बरु हाम्रो सरकार र राज्यसंयन्त्रले सहयोगका नाममा साम्राज्यवादलाई नै सेवा गरिरहेको छ । हामी कसैबिरुद्ध लड्नु नै छैन तर संयुक्त सैन्य अभ्यासमा भाग लिइरहेका छौँ । एकातिर असंलग्न परराष्ट्र नीति हाम्रो परराष्ट्र नीति भनिराखेका छौँ तर गोर्खा भर्ती केन्द्रमार्फत हाम्रा दाजुभाइहरू कुनै न कुनै मित्रराष्ट्रहरूसँग लडिराखेकै छन्, छिमेकी राष्ट्रहरूसँग समदूरीको सम्बन्ध कायमको नीति एकातिर भनिराखेका छौँ भने अर्कातिर कहिले दक्षिणको कार्ड त कहिले उत्तरको कार्डको प्रसङ्ग सरकारका जिम्मेवार व्यक्ति र बुद्धिजीवीहरूबाट नै आइरहेका छन् । यसले के देखाउँछ भने नेपाली समाज, त्यसको नेतृत्व गर्ने राजनीति र राजनीतिज्ञ त्यसको आधार आर्थिक प्रणाली दलाल पुँजीवाद हुँदै साम्राज्यवादको सेवा गरिरहेको छ ।

५. अर्थ नियन्त्रित राजनीति

कुनै पनि देशको सबै नीतिको मूल नीति राजनीति नै हुन्छ । राजनीतिको मातहतमा सबै नीतिहरू हुनुपर्ने हो तर नेपालको विकृत पुँजीवादले राजनीतिलाई अर्थतन्त्रको मातहतमा पुर्‍याइदिएको छ । आज पैसा नै सबै चीज हो भन्ने मान्यता जबर्जस्ती स्थापित गरिएको छ । राजनीतिक आदर्श, इमानदारी, सामाजिक मूल्य, मान्यता, प्रतिष्ठा र योगदान पुँजीका सामु फिका हुने वातावण निर्माण गरिँदैछ । नेता भन्नेबित्तिकै अगाडिपछाडिको लावालस्कर, राजनीति भन्नेबित्तिकै व्यवसायीकरण हुँदै अपराधीकरण, निर्वाचन भन्नेबित्तिकै पैसा र शक्तिको छाडा रबाफ, लोकतन्त्र भन्नेबित्तिकै एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको चक्रजस्ता मान्यताहरूले राजनीतिलाई विकृत बनाइदिएका छन् । आफ्नो ऊर्जाशील समय पार्टी, राजनीति, क्रान्ति र परिवर्तनका लागि लगानी गरी राजनीतिक इतिहास बोकेका पात्रहरू बहिष्कृत हुनुपर्ने र नेताहरूलाई व्यवस्थापन गरिदिने व्यापारी, व्यवसायीहरू वा अन्य अवसरवादी पात्रहरूले पार्टीको नीति निर्माण तह हुँदै राज्यको नीति निर्माण तहमा पुग्ने आजको तितो यथार्थले राजनीतिमाथि अर्थतन्त्र हाबी भएको स्पष्ट हुन्छ । विनोद चौधरीको संविधानसभा हुँदै अहिलेको संसद्को यात्रा, विभिन्न ठेकेदार कम्पनीका मालिकहरूको प्रतिनिधिसभा सदस्य र स्थानीय जनप्रतिनिधिका रूपमा देखिएको राजनीतिक अवतार, संसदीय अङ्कगणित मिलाउन गरिएका सांसद किनबेच र अपहरणका घटनाहरूले पनि नेपालको पुँजीवादी राजनीतिमा अर्थवाद हाबी भएको प्रमाणित हुन्छ ।

पक्कै पनि श्रमव्यवस्थाको प्रकृति र श्रमसम्बन्धको संरचना, श्रमको स्थानान्तरण, उत्पादनको साधनको स्वामित्व, श्रम र वस्तुको किनबेच, पुनरुत्पादन र पुनर्लगानी सबै हिसाबले नेपाल केही सामन्तवादी अवशेषसहित मूलतः पुँजीवादमा सङ्क्रमण गरिसकेको छ । कृषि क्षेत्रकै श्रमलाई हेर्दा पनि आश्रित श्रम, गुजारामुखी श्रम, पर्म श्रम, मोही श्रम हुँदै श्रम संरचनामा ज्यालादारी श्रमको बोलवाला हुँदै जानु, औद्योगिक र उत्पादन क्षेत्रमा कम भए पनि सेवा क्षेत्रमा मजदुरी गर्नेहरूको सङ्ख्याको बढोत्तरी हुनु, विश्वका विभिन्न कुनाकाप्चामा पुगेर भए पनि नेपालका पचासौँ लाख युवा शक्तिहरू मुख्यतः मजदुरकै रूपमा काम (रोजगारी) गर्नु तथा श्रम बेचेबापतको ज्यालाबाट घपरिवार धान्नु र कृषि क्षेत्रबाट उत्पादित वस्तुहरूको पनि बस्तु विनिमयका रूपमा होइन, मुद्रा विनिमयका रूपमा किनबेच हुनु, गाउँगाउँसम्म बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन पुग्नु, सञ्चार, यातायातजस्ता सञ्जालहरूले गाउँ, नगर, देश हुँदै अन्तर्राष्ट्रसँगको भौगोलिक सम्बन्धलाई साँघुर्‍याइदिनु आदिजस्ता विशेषताहरूले नेपाललाई सामन्तवादबाट अगाडि बढिसकेको समाजका रूपमा चित्रित गर्न सकिन्छ तर पनि नेपाली समाजको मूल चरित्र भने प्रगतिशील पुँजीवादी नभएर दलाल पुँजीवादी प्रकृतिको नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :